Saturday, May 26, 2012

बावियाचौरमा उज्यालो अभियान
७७ किलोवाटले वावियाचौरका सबै घरमा बत्ती

दीपक बुढा
सुर्खेत (बावियाचौर), १२ जेठ ।

बावियाचौर गाविसमा उज्यालो अभियान सञ्चालन गरिएको छ । गाविसका सम्पूर्ण घरमा बत्ती पु¥याई गाउँलाई उज्यालो पार्न स्थानीयबासीन्दाले अभियान थालेका हुन् । तीन वटा साना लद्यु जलविद्युत आयोजना संचालनमा ल्याएर प्रत्येक घरमा बत्ती पु¥याउने योजना बनाईएको छ ।
संचालनमा आएको २४ किलोवाट र निर्माणाधिन ५३ किलोवाट लद्यु जलविद्युत आयोजनाले गाविसका सम्पूर्ण घरमा बत्ती पुग्ने छ । बावियाचौर गाविस वडा नं. २ को २४ किलोवाट लद्यु जलविद्युत आयोजना संचालनमा आएको छ । बावियाचौर लद्यु जलविद्युत सहकारी संस्था लिमिटेडले आयोजना संचालनमा ल्याएको हो ।
उक्त आयोजना मार्फत बावियाचौर–२,३,४ र ५ वडाका तीन सयबढी घरधुरी लाभाविन्त भएको सहकारी पूर्व अध्यक्ष केशवराज पाठकले जानकारी दिए । २०६४ सालदेखि निर्माण सुरु गरिएको लद्यु जलविद्युतको २०६७ मा निर्माण सम्पन्न भएको थियो भने २०६८ देखि आयोजना संचालनमा ल्याईएको थियो ।
करिव ५५ लाख लागतमा निर्माण सम्पन्न भएको सो आयोजना निर्माणार्थ गाविसबाट ९ लाख, जिल्ला विकास समितिबाट ६ लाख, उर्जा विकास केन्द्रबाट १२ लाख ७५ हजार, स्थानीय विकास मन्त्रालयबाट २ लाख ५० हजार सहयोग प्राप्त भएको जनाईएको छ । त्यसैगरी सभासद खड्क वसेलले २ लाख ५० हजार, सभासद नरबहादुर विष्टले ३३ हजार र स्थानीयबासीन्दाले २० लाख बराबर आर्थिक तथा जनश्रमदान गरेको जनाईएको छ ।
‘एउटा जलविद्युतले पुरै गाविस समेटन सकेन, गाविसका प्रत्येक घरमा बत्ती बाल्ने योजना अनुरुप अर्को आयोजना सुरु गरेका छौं’ आयोजना संचालक सहकारीका पूर्व अध्यक्ष पाठकले भने ‘दोस्रो आयोजना एक महिनाभित्र संचालनमा ल्याउँछौं । त्यसले पनि नपुगे तेस्रो आयोजना संचालन गर्छौं ।’
लामो समय लगाएर पहिलो लद्यु जलविद्युत आयोजना सम्पन्न गरेका स्थानीयबासीन्दाहरुले आफ्नो सक्रियता बढाएका छन् । ५३ किलोवाट क्षमताको अर्को जलविद्युत निर्माण गरिरहेका छन् ।
बावियाचौर–८मा पर्ने खमारी खोला लद्यु जलविद्युत आयोजनाको २०६८ चैत्र १ गते नेपाल सरकार बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र मार्फत स्वीकृति लिइएको थियो । बावियाचौर लद्यु जलविद्युत सहकारी संस्थाका पूर्व अध्यक्ष एवंम् निर्माणाधीन आयोजनाका अध्यक्ष पाठकले गाउँमा पहिलो पटक बत्ती बलेपछि स्थानीयबासीन्दाले सक्रियता बढाएको बताए । आयोजना निर्माणमा सुन्दर नेपाल संस्थाले सहजिकरण गरिरहेको छ ।
एक करोड २० लाखको लागतमा निर्माणाधिन सो आयोजनाका लागि नेपाल सरकार बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र मार्फत ६६ लाख, गाविसबाट ६ लाख र समुदायबाट ५० लाख बराबरको रकम तथा जनश्रमदान जुटेको आयोजनाका अध्यक्ष पाठकले बताए ।

‘बन्दका कारण मेसिन आउन ढिला भएको हो । बन्द, हडताल नभए एक महिनाभित्र हामी आयोजना संचालनमा ल्याउँछौं’–अध्यक्ष पाठकले भने ‘गाउँमा झिलिमिलि बत्ती बलेपछि स्थानीयबासीन्दामा हर्ष छाएको छ ।’ पोल गाड्ने काम सकिएकाले मेसिर ल्याएर जडान गर्न मात्रै बाँकी रहेको जनाईएको छ । आयोजना संचालनमा आएपछि ६ सय २० घरधुरी लाभान्वित हुने जनाईएको छ ।
गाविस भरी विद्युत अपुग भएमा अर्को आयोजनाको समेत सम्भावित अध्ययन गरिएको छ । खमारी खोलाकै अर्को प्वाईन्टबाट १८ देखि २० किलोवाट क्षमताको लद्यु जलविद्युत आयोजना संचालन गर्न सकिने जनाईएको छ ।
अध्यक्ष पाठकले गाविस भरी बत्ती पु¥याउन अपुग भएमा अन्य सम्भावित आयोजनाहरुको समेत अध्ययन गरिएको बताए । वावियाचौरमा बत्ती बलेपछि मिल संचालन, कम्प्यूटर तालिम केन्द्र संचालन गर्न सहज भएको छ भने बावियाचौरमा पेय पदार्थ कोक, फेन्टा, पु्रmटी, पेप्सीको व्यवसायमा समेत बृद्धि भएको स्थानीय व्यवसायीको भनाई छ ।

प्रेस, एफएम र केवुल टिभी संचालनको तयारी
सुर्खेत, १२ जेठ ।

विकासका पूर्वाधारले पछाडी परेको सुर्खेतको पश्चिम क्षेत्रको मुहार विस्तारै फेरिँदै आएको छ । सामान्य खालको मोटरबाटो बाहेक अन्य विकास भन्दा पछि परेको उक्त क्षेत्रमा पहिलो पटक बत्ती बलेको छ ।
स्थानीयबासीन्दाको सक्रियतामा बावियाचौरमा लद्यु जलविद्युत मार्फत पहिलो पटक बत्ती बालिएको हो । पश्चिम बावियाचौर गाविसका सबै घरमा बत्ती पुग्ने भएपछि प्रेस, एफएम रेडियो र केवुल लाईन समेत संचालनको तयारी गरिएको छ । डाँडादरा संचार सहकारी संस्था लिमिटेडले उक्त तयारी थालेको हो ।
३० जना सेयर सदस्यहरु रहेको डाँडादरा संचार सहकारीले सम्भाव्यता अध्ययन कार्य गरिरहेको छ । तीन सदस्यीय सम्भाव्यता अध्ययन समिति गठन गरी प्रेस, एफएम र केबुल संचालनको तयारी गरिएको सहकारीका अध्यक्ष केशवराज पाठकले बताए ।
सहकारीका अध्यक्ष केशवराज पाठकको संयोजकत्वमा पत्रकार अमर कार्की र कृपा थापा सदस्य रहेको अध्ययन समिति गठन गरिएको हो । ‘पहिलो चरणमा प्रेस ल्याउँछौं, बत्ती प्रयाप्त भएकाले एफएम रेडियोको अनुमतिका लागि संचार मन्त्रालय सम्म फाईल पठाईसकेका छौं’ पाठकले भने –‘केवुल लाईन संचालन गरी केबुल टिभी समेत संचालन गर्नेछौं ।’
सुर्खेतको पश्चिम क्षेत्रलाई विभाजन गर्दा परापूर्व कालदेखि डाँडादरा भनिएको हुँदा त्यही नामबाट एफएम संचालन गर्ने तयारीमा सहकारी रहेको जनाईएको छ । तीन वटै संचारका माध्यम संचालन गर्ने तयारीमा रहेको उक्त सहकारीले लागत पुँजी अनुसार सेयर सदस्य बृद्धि गर्ने समेत जनाईएको छ ।
सुर्खेतमा संचारका माध्यमहरु खुल्नेक्रम तिव्र रुपमा बृद्धि भैरहेको छ । चालु आर्थिक बर्षमा मात्रै १० वटा भन्दाबढी पत्रपत्रिका जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको रेकर्ड रहेको छ । पाँच वटा एफएम रहेकोमा ४ वटा एफएम संचालनमा रहेका छन् ।
६ वटा दैनिक पत्रिका, ५ वटा भन्दाबढी साप्ताहिक पत्रिका नियमित प्रकाशनमा रहेका छन् । केही दिन भित्रै भेरी खवर, मानसरोवर, छरछिमेक, सुर्खेत पोष्टलाई समेत दैनिक रुपमा प्रकाशित गर्ने तयारी भैरहेको ंजनाईएको छ । रारा र इन्द्रेणी दुई वटा केवुल टिभी संचालन भैरहेका छन् ।

Wednesday, May 23, 2012

जनजाति भन्छन् ः ठुला दल टुक्रयाइदिन्छौ
सुर्खेत, १० जेठ ।
आदिवासि जनजाति महासंघ सुर्खेतका अध्यक्ष मोहन गुरुङ्ले ठुला दलहरुलाई टुक्राईदिने बताएका छन् । तीन दिनको बन्द पछि वीरेन्द्रनगरमा भएको धन्यवाद सभालाई सम्बोधन गर्दै गुरुङ्ले ठुला दलहरुले आदिवासी जनजातिहरुलाई हेर्ने दृष्टिकोण नबदले दलहरुलाई टुक्राइदिने बताएका हुन् ।
उनले आदिवासिहरुलाई राज्यले हेला गरेको भन्दै जातीय राज्य बनाउँदैमा देश नटुक्रने बताएका छन् । गुरुङ्ले संविधान सभाको म्याद थप्नु भनेको देशलाई विखण्डन गर्नु हो भने । सभामा आदिवासी जनजाति संयुक्त सघर्ष समितिका संयोजक हरि थापामगरले ७० प्रतिशत जनसंख्या भएका आदिवासीहरुलाई पाखा लगाएर केही पनि हुन नसक्ने भन्दै आवश्यक परे जनजातिले बन्दुक पनि उठाउन सक्ने चेतवानी दिएका छन् ।
उनले सबै ठुलादलहरु चित्रबहादुर केसिको पछि लागेको भन्दै यसो गरे नछोड्ने समेत बताएका छन् । थापाले राज्यले जनजातिलाई हेला गर्दै गएमा शासकहरुलाई हटाई आफुहरु शासक बन्ने बताएका छन् ।
त्यस्तै सभामा अगुवा जनजाति नेता धनबहादुर रानाले अव जनजातिहरु धर्ती उल्टेपनि पछाडि नपर्ने बताए । उनले नेपालमा राज गर्ने अवको पालो जनजातिको भएको भन्दै राज गरेरै छोड्ने बताए ।
सभामा एमाओवादीका तर्फबाट जनजाति नेता खडकबहादुर घर्तीमगर, नेपाली कांग्रेसबाट लालबहादुर चौधरी, एमालेका तर्फबाट रेशम रानामगर, जनजाति महासंघकी सदस्य नन्दा गुरुङ्ले बोलेका थिए ।
संघर्ष समतिका संयोजक हरि थापामगरको सभापतित्वमा सम्पन्न भेलामा सुर्खेतका जनजातिहरुको उल्लेख्निय सहभागिता रहेको थियो । 
होटल अर्गनाईजेशनमा प्यानल विजयी
सुर्खेत, १० जेठ ।
सुर्खेतका होटल व्यवसायीहरु छाता संगठन होटल अर्गनाईजेशन सुर्खेतको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न भएको छ । प्राप्त मतपरिणम अनुसार लोमनबहादुर बुढाको प्यानलै विजयी भएको निर्वाचन अधिकृत दुर्गा सापकोटाले जानकारी दिए ।
अध्यक्षका विजयी लोमनबहादुर बुढाले १ सय ८ मत उनका प्रतिद्धन्द्धी शशिराम देवकोटा ७६ मत , प्रथम उपाध्यक्षमा कलमबहादुर शाही ७३, तर्कबहादुर शाही ९६ मतले विजयी भएका छन् । द्धितीय उपाध्यक्षमा ऐनबहादुर शाही ७७, मोहनलाल राना ७०, सन्तबहादुर क्षेत्री ५ मत प्राप्त गरेका थिए ।
सचिवमा जयबहादुर बुढा ६७ मत, शेरबहादुर शाही १२ मत, सनत आचार्य ८९ मतले विजयी भएका छन् । कोषाध्यक्षमा उदयबहादुर शाहीले १ सय १ मतले विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी हर्षबहादुर चन्दले ६० मत प्राप्त गरेका थिए ।
सदस्यहरुमा कविलाल जैसी ७२ मत, चिन्तामणि शर्मा ७० मत, तेजबहादुर थापा १९ मत, देवेन्द्रमान थापा ५८ मत, मानबहादुर बडुवाल ८६ मत, मोहनबहादुर शाही ९६ मत, रामलाल भट्टराई ८५ मत र हरिप्रसाद अधिकारीले ९१ मत ल्याएका छन् ।
महासचिव धर्म आचार्य, आरक्षित सदस्य खड्कबहादुर विश्वकर्मा, महिला सदस्यमा लालसरी लामा गुरुङ, पार्वती थकाली निर्विरोध भएका छन् । २ सय ८३ मतदातामा २ सय १५ मत खसेको थियो भने २५ भोट बदर भएको जनाईएको छ । बिहिबार सपथ तथा पदबाल हुने जनाईएको छ ।
विजयी कार्यसमिति
अध्यक्ष ः लोमन बुढा
प्रथम उपाध्यक्ष ः तर्कबहादुर शाही
द्धितीय उपाध्यक्ष ः ऐनबहादुर शाही
महासचिव ः धर्म आचार्य (निर्विरोध)
सचिव ः सनत आचार्य
कोषाध्यक्ष ः उदयबहादुर शाही
सदस्यहरुमा
मानबहादुर बडुवाल
मोहनबहादुर शाही
हरिप्रसाद अधिकारी
रामलाल भट्टराई
खड्कबहादुर विश्वकर्मा (दलित सदस्य)
लालसरी लामा गुरुङ (महिला सदस्य)
पार्वती थकाली (महिला सदस्य)

Tuesday, May 22, 2012

होटल व्यवसायी चुनावी रौनकमा
सुर्खेत, ८ जेठ ।
सुर्खेतका होटल व्यवसायीहरु चुनावी रौनकमा छन् । होटल अर्गनाईजेसन सुर्खेतको नयाँ नेतृत्वका लागि छुट्टा छुट्टै प्यानल खडा गरी चुनावी मैदानमा उत्रिएका हुन् । होटल व्यवसायीहरु पनि राजनीतिक विभाजनमा परेका छन् ।
सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा घुसेको राजनीतिले होटल व्यवसायीलाई समेत प्रभावित पारेको छ । उद्योग वाणिज्य संघकै झल्को दिनेगरी होटल व्यवसायीहरु चुनावी प्रचार–प्रसार, पर्जा पम्पलेटिङमा जुटेका छन् ।
वामपन्थी र प्रजातान्त्रिक पक्षका दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । अर्गनाईजेसनको प्रथम साधारण सभाले सर्वसहमत कार्यसमिति चयन गर्न नसकेपछि चुनावी प्रक्रिया सुरु भएको हो । मतदान यही जेठ १० गते तोकिएको छ ।
१३ सदस्यीय कार्यसमितिमा महासचिव, प्रथम उपाध्यक्ष र तीन सदस्य निर्विरोध भैसकेका छन् । प्रथम उपाध्यक्षमा तर्कबहादुर शाही, महासचिवमा धर्मराज आचार्य, महिला सदस्यमा लालसरी लामा गुरुङ, दलित सदस्यमा खड्कबहादुर विश्वकर्मा र महिला सदस्यमा पार्वती थकाली निर्विरोध भएका हुन् ।
अध्यक्ष, द्धितीय उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र चार जना सदस्यका लागि निर्वाचन हुने भएको छ । प्रथम कार्यसमितिको निर्वाचनमा शशीराम देवकोटाको अध्यक्षतामा संयुक्त प्यानल चुनावी मैदानमा उत्रिएको छ । उक्त प्यानलबाट द्धितीय उपाध्यक्षमा मोहनलाल राना, सचिवमा जयबहादुर बुढा, कोषाध्यक्षमा हर्षबहादुर चन्द, सदस्यमा चिन्तामणि शर्मा, मोहनबहादुर शाही, कविलाल जैसी, देवेन्द्रमान थापा निर्वाचनमा उमेदवारी दिएका छन् ।
त्यसैगरी लोमनकुमार बुढाको अध्यक्षतामा अर्को समावेशी प्यानल निर्वाचनमा होमिएको छ । द्धितीय उपाध्यक्षमा ऐनबहादुर शाही, सचिवमा सनत आचार्य, कोषाध्यक्षमा उदयबहादुर शाही, सदस्यहरुमा हरिप्रसाद अधिकारी, मोहन शाही, मानबहादुर बडुवाल र रामलाल भट्टराईले उमेदवारी दिएका छन् ।
आगामि १० गते हुने होटल अर्गनाईजेशनको निर्वाचनमा आफुहरुको नाम फरक प्यानेलमा समावेश भएकोमा कमलबहादुर शाही, रत्नबहादुर क्षत्री र शेरबहादुर शाहीले आपत्ती जनाएका छन् । उनीहरुले संयुक्त रुपमा प्रेश विज्ञप्ति निकाली आफुहरु अन्य कुनै प्यानलमा नभई लोमनकुमार बुढाको अध्यक्षतामा भएको प्यानललाई सहयोग गर्ने बताएका हुन् ।
उनीहरुले बुढाको अध्यक्षताको प्यानललाई समर्थन गर्दै आफुहरुले अर्काे प्यानलबाट उम्मेदवारी फिर्ता लिएको बताएका छन् । पत्रपत्रिकारितामा आफुहरुको फोटो सहितको समाचारमा भ्रम नपार्न सबैलाई अनुरोध समेत गरिएको छ ।
असिना पीडित कृषकले ज्ञापन बुझाए
सुर्खेत, ८ जेठ ।
सुर्खेतको जुर्वटा र गढी गाउँ बिकास समितिका असिना पीडितले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमबार ज्ञापन पत्र पेश गरेका छन् । क्षतिपूर्ति सहित राहतको माग गर्दै उनीहरुले निमित्त प्रमुख जिल्ला अधिकारी बुद्धिप्रसाद सापकोटालाई बुझाईएको थियो ।
असिनापानीले तरकारी खेती अन्नवालीमा व्यापक क्षती पु¥याएको छ । असिनापानीले गढी–९ को चन्दने र रातानाङला तथा जर्वुटा–८ को नलखोला र रातानाङलामा लगाएको तरकारी खेती नष्ट गरेको किसानले जनाएका छन् ।
जेठ–५ गते दिउँसो २ बजेदेखि ६ बजेसम्म लगातार परेको असिना पानीले आलु, सिमी, टमाटर, फर्सी लगायतको तरकारी खेती सखाप पारेको किसान कृष्णप्रसाद ढकालले बताए । हावाहुरीसँगै आएको असिनापानीले २० देखि २५ वटा बाख्रा र ४ देखि ५ वटा गाईगोरुपनि मरेको किसानहरुको भनाई रहेको छ ।
असिनापानीबाट दुई करोड बढीको क्षति भएको कृषकहरुले बताएका छन् । ‘मन्डीबाट पहिलेनै हामी चामल, दाल लिन्छौं अनि आलु उत्पादन गरेर पठाउँछौं तर यस पटक आलु सबै असिनाले नष्ट ग¥यो कसरी छाक टार्ने’–कृषक कृष्णप्रसाद ढकालले बताए ।
आम्दानीको मुख्य स्रोत तरकारी खेती नष्ट भएपछि करिव डेढ सय किसान पिरलोमा परेका छन् । तरकारी खेतीमा मात्रै आश्रित रहेका चन्दने, रातानाङला र नलखोला किसानहरुले गाउँमा बेलैमा भोकमारी समस्या उत्पन्न हुनसक्ने दावी गरेका छन् ।
राहतको माग गर्न बीरेन्द्रनगर आइपुगेका किसानहरुले जग्गा जोत्नै नमिल्ने गरी चिरा परेको भन्दै उचित राहतको माग समेत गरेका छन् । एक किसानले भने ‘एक क्वीन्टलबाट १० क्वीन्टल सम्म आलु फल्छ ।’
ज्ञापन पत्र बुझदै निमित्त प्रमुख जिल्ला अधिकारी सापकोटाले असिना पीडित किसानको विवरण संकलन गर्न जिल्ला कृषि विकास कार्यालयलाई अनुरोध सहितको पत्र पठाईने र कृषि विकासको रिपोर्ट अनुसार राहतका लागि सिफारिस गरिने जानकारी दिए ।

Monday, May 21, 2012

अपराध नियन्त्रणमा सफलता ः प्रहरी
खेमराज वली
सुर्खेत, ६ जेठ ।

जिल्लाको समग्र अपराध नियन्त्रणमा प्रहरीले सफलता प्राप्त गरेको जनाईएको छ । गुण्डागर्दी, लागुऔषध ओसारपसार, घरेलु मदिरा नियन्त्रण, काठ तस्कर, जुवतास नियन्त्रणमा सफलता मिलेको प्रहरीको भनाई रहेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी चालु आर्थिक बर्षमा अपराध नियन्त्रणमा गरिएका कार्वाहीको जानकारी गराएको थियो ।
प्रहरीले २०६८ साउनदेखि २०६९ बैशाख मसान्त सम्म १३ सय बढीलाई कार्बाही गरिएको छ । जिल्ला  प्रहरी कार्यालय सुर्खेतले आफ्नो बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शनिबार यस्तो बताएको हो । प्रहरीले गुण्डागर्दी, लागुऔषध ओसारपसार तथा सेवन, लुटपाट, यौन व्यवसाय, काठ तस्करी, जुवतास खेल्ने, फरार अभियुक्त लगायतलाई कार्वाही गरिएको बताइएको हो ।
सबै भन्दाबढी मादक पदार्थ सेवन गर्ने एक हजार ५० जनालाई कार्वाही गरेको छ । त्यस्तै गुण्डागर्दी गर्ने एक सय ७५ जना, जुवातास खेल्ने ५३ जना, फरार अभियुक्त १६ जना, लागु औषध विक्रिवितरण तथा सेवन गर्ने १२ जना, एक जना  बिस बर्षे मुद्धाको  फरार प्रतिबादी पक्राउ  र अन्य  (कर्तब्य ज्यान ,ज्यान मार्ने उद्योग, मानब बेचबिखन , देहब्यापार, कारबाही) ३१ जनालाई कार्वाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख गोविन्दराम परियारले जानकारी दिएका छन् ।
प्रहरीले यो अवधिमा करिब आठ–नौं लाख बराबरको १६ हजार चार सय ५४ लिटर तयारी मदिरा, मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ ३४ हजार तीन सय ७० लिटर, मदिरा बनाउने औषधी १५ सय किलोग्राम, मदिरा तयार गर्ने भा“डा एक सय ६३ थान बरामद गरेको थियो । त्यस्तै ब्राउन सुगर १६ ग्राम ५८ मिलीग्राम र चरेस दुई किलो दुई ग्राम  प्रहरीले बरामद गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रमुख (एसपी) गोविन्दराम परियारले सुर्खेतमा हुने सम्पूर्ण अराजक क्रियाकलापको नियन्त्रण गर्ने प्रतिबद्ध रहेको बताएका छन् । उनले यस्तो अभियानमा सबैले साथ दिनुपर्ने बताए । सुर्खेतमा प्रहरीले केही समय यता आफ्नो सक्रियता बढाएको हो ।
सोही अवसरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले रामकुमार गन्द्रमाको मृत्युबारे छानविन गर्न गठित छ सदस्यिय समितिको प्रतिवेदनप्रति आफ्नो ध्यानाकर्षन भएको बताएको छ । शनिबार जिल्ला प्रहरी कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी कार्यालयले ध्यानाकर्षण भएको बताएको हो ।
मानव अधिकार तथा शान्ति समिति शाखा सुर्खेतका अध्यक्ष पार्वती गिरीको अध्यक्षतामा गठित समितिको प्रतिवेदनमा गन्द्रमाको मृत्यु प्रहरीको लापर्वाहीले भएको उल्लेख गरिएको थियो । प्रहरीले शव परिक्षण रिपोर्टमा गन्द्रमाको मृत्युको कारण चोकिङ्ग (खाना खा“दा घाटिमा केही अड्किएको) भनेर स्पष्ट रुपमा उल्लेख भईसकेको अवस्थामा पनि मृत्युको वास्तविक कारण बङ्ग्याएको बताइएको छ ।
छ वजे देखि रोगले च्यापी व्यहोस भई सक्दा राती १० वजे मात्र अस्पताल पु¥याईएको भन्ने कुरा वास्तविक नभएको प्रहरीको भनाई छ । थुनुवा गन्द्रमा राती १०ः४० वजे बिरामी भएको र १०ः४५ मै अस्पतालमा पु¥याईएको प्रहरीले  दावि गरेको छ ।
विद्यालयको बेवारिसे काठ छुटाउन दवाफ
सुर्खेत, ७ जेठ ।विद्यालयको कक्षा कोठामा भेटिएको बेवारिसे काठका विषयमा अनुसन्धान भैरहेको छ । इलाका वन र इलाका प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान थालेको हो ।  पूर्वी मैनतडा–१ घारीवनको नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालयको कक्षा कोठामा ठूलो परिणाममा सालका चिरान काठ भेटिएको थियो ।
विद्यालय कक्षा कोठा भित्र भेटिएको वेवारिसे काठ सोही विद्यालयका प्रधानाध्यापक शिवजंग वलीको भएको स्थानीयबासीन्दाले बताए । ‘केही काठ आफ्न्त पहलमान वली र केही काठ विद्यालयमा राखेका थिए ।’–स्रोतले भन्यो ‘निर्दोष व्यक्तिलाई फसाईयो तर काठ हेडसरको नै हो ।’
इलाका प्रहरी कार्यालय, इलाका वन कार्यालय, जिल्ला वन कार्यालय सुर्खेत, सशस्त्र प्रहरी बेस क्यापको संयुक्त टोलीले जेठ ५ गते काठ बरामद गरेको थियो । विद्यालय नजिकै घर भएका पहलमान वलीको घरगोठबाट र विद्यालयको कक्षाकोठाबाट करिव २ सय ५० थान सालको चिरान काठ नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरिक्षक रमेश तामाङले जानकारी दिएका थिए ।
विद्यालयमा भएको काठ सोही विद्यालयको नाममा भरपाई गरी जिम्मा लगाईएको र अन्य ८१ थान काठ इलाका वन कार्यालय छिन्चुमा ल्याईएको जनाईएको छ । विद्यालयमा काठ भेटिएको घटनालाई कमजोर बनाउन प्रहरी र वन कार्यालयमा दवाफ भैरहेको स्रोतले जानकारी दिएको छ ।
पहलमान वली हाल सम्पर्क विहिन भएकाले विद्यालयमा भएको काठ समेत उनकै हुन सक्ने प्रहरीले अनुमान गरेको थियो तर उक्त काठ विद्यालयका प्रधानाध्यापक शिवजंग वलीको भएको बुझिएकाले अनुसन्धान जारी रहेको जनाईएको छ ।
इलाका वन कार्यालय छिन्चुका सहायक वन अधिकृत अमरबहादुर मण्डलले मुद्धा अगाडी बढिसकेकाले त्यसलाई फिर्ता लिन नसकिने बताएका छन् । उनले भने –‘घटनाको अनुसन्धान प्रक्रिया बढेको छ । दोषिलाई कार्वाहि हुन्छ ।’
सोही काठ र दोषिको बचावटका लागि पूर्व गृहमन्त्री तथा सभासद पूर्णबहादुर खड्काले जिल्ला वन कार्यालय प्रमुख देखि प्रहरी उपरिक्षक सम्मलाई टेलिफोन मार्फत मुद्धा नलगाउन दवाफ दिएको जनाईएको छ ।
नेपाली कांग्रेस निकट प्रधानाध्यापक भएकाले उनीहरुले आफ्नो बचावट र पहुँच देखाउनका लागि पूर्व गृहमन्त्रीलाई गुहारेको स्रोतले जानकारी दिएको छ । पूर्व गृहमन्त्रीको दवाफ नआएको जिल्ला वन अधिकृतले बताए ।
उनले घुमाउरो तरिकाले भने –‘कुनै दवाफ आएको छैन् । जनप्रतिनीधि, जनवर्गिय संगठनहरु धेरै छन् । कसैले छोडिदिनुस भन्नु सामान्य हो । तर हामी दोषिको पहिचान गरी कार्वाहि गर्छौ ।’ कसैले फोन गरेर दवाफ दिन खोजेपनि हामी कार्वाहि गरेरै छाड्छौं ।