Wednesday, September 12, 2012

कर्णाली लोकमार्ग बन्यो मृत्युमार्ग बस दुर्घटनामा २९ को मृत्यु, ११ घाइते

सुर्खेत, २६ भदौ ।
कालिकोटको पाखा—१ सेरावाडास्थित विर्तामोडमा कर्णाली यातायातको एक यात्रुबाहक बस दुर्घटना हुँदा २९ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११  जना सक्त घाइते भएका छन् । 
कालिकोटको सदरमुकाम मान्मबाट जुम्लाका लागि सोमबार बेलुकी ८ बजे छुटेको ना ४ ख ६८७७ नम्बरको यात्रुबाहक बस कर्णाली राजमार्गको विर्तामोडमा राति ११ बजे ब्याक गरी मोड्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट ५ सय मिटर तल तिला नदीको तिरमा खसेको थियो । बस दुर्घटनाको खबर पुगेपछि मान्मबाट राति दुई बजे उद्दारका लागि प्रहरी निरीक्षक बरुणवहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
बसमा कति यात्रु थिए भन्ने यकिन नभए पनि मान्मबाट ३७ जनाको चलानी लिएर गएको कर्णाली यातायात समितिका इन्र्चाज हिक्मत खडकाले जानकारी दिए । घाइतेलाई उपचारका लागि मान्म ल्याइएको थियो त्यहाँ सम्भब नभएपछि थप उपचारका लागि हेलिकप्टर मार्फत ११ जना घाईतेलाई नेपालगंज लगिएको छ ।
२५ जना पुरुष र ४ जना महिला सहित २९ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।

विज्ञान तथा प्रविधि भवन शिलान्यास

सुर्खेत, २६ भदौं ।मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको विज्ञान तथा प्रविधि भवन मंगलबार एक कार्यक्रमवीच शिलान्यास गरिएको छ । मप विश्वविद्यालयका उपकुलपति डा.पदमलाल देवकोटाले भवनको शिलान्यास गरेका हुन् ।पाँच करोड ९९ लाख ९७ हजारको कुल लागतमा निर्माण सुरु गरिएको भवन २१ देखि २३ कोठाको हुने जनाईएको  छ । ठेकेदार दिपकराज पन्त (जयन्ती निर्माण सेवा) मार्फत भवन निर्माण गर्न लागिएको विश्वविद्यालयका रजिष्ट्रार डा ठगेन्द्रप्रसाद गिरीले जानकारी दिए ।

Wednesday, September 5, 2012

सरकारी र गैरसरकारी संस्थाले आयव्यय बुझाएनन

सुर्खेत, १९ भदौ ।
प्रत्येक आर्थिक बर्षको सुरुमा बार्षिक कार्यक्रमको बारेमा र आर्थिक बर्षको अन्त्यमा कार्यप्रगतिका बारेमा संस्थाको विवरण जिल्ला विकास समिति सुर्खेतमा पेश गर्नुपर्ने प्राव्धान रहेको छ ।
जिल्ला स्थित सरकारी र गैरसरकारी संघ संस्थाहरुले बुझाएको विवरणका आधारमा बार्षिक कार्ययोजना र बार्षिक प्रगति मूल्याङ्न गर्ने गरिन्छ तर सबै सरकारी कार्यालय र गैरसरकारी संस्थाबाट विवरण भने प्राप्त हुने गरेको छैन् ।
सुर्खेतमा रहेका २३ वटा सरकारी कार्यालयहरु मध्य १७ वटा कार्यालयले मात्रै बार्षिक प्रगति प्रतिवेदन बुझाएको जिल्ला विकास समितिले जानकारी दिएको छ ।
जिल्ला विकास समिति सुर्खेतले मंगलबार पत्रकार सम्मेलन गरी गत आर्थिक बर्षको कार्यप्रगति समिक्षा तथा आर्थिक बर्ष २०६७÷०६८ को न्यूनतम शर्त मापन तथा कार्यसम्पादन मूल्यांकनको जिल्लाको अवस्थाका बारेमा जानकारी गराईएको थियो ।
त्यस्तै गरी जिल्लामा दर्ता भएका साढे पाँच सयबढी गैरसरकारी संस्थाहरु मध्ये २८ वटा गैरसरकारी संस्थाले मात्रै बार्षिक प्रगति प्रतिवेदन जिविसलाई बुझाएको जनाईएको छ ।
गत आर्थिक बर्षमा गैरसरकारी संघ संस्थाहरुमार्फत १६ करोड ९ लाख ७९ हजार र सरकारी कार्यालयको तर्फबाट ७९ करोड ८९ लाख बराबरको बजेट जिल्लामा खर्च भएको सोही अवसरमा जानकारी गराईएको थियो ।
बार्षिक समिक्षा गोष्ठीमा एनजिओ डेस्क प्रभावकारी बनाउनुपर्ने, विकास निर्माण गर्दा वातावरण प्रभाव मूल्याङ्कन गराउनुपर्ने, टुक्रे योजनालाई निरुत्साहित गर्नुपर्ने सहभागिबाट सुझाव आएको जनाईएको छ ।
स्थानीय निकाय वित्तिय आयोगले गरेको शर्त मापन तथा कार्यसम्पादन मूल्यांकन (एमसिपिएम) मा सुर्खेत जिल्ला अनुत्तिर्ण भएको छ । मूल्याङ्कनका ८ वटा क्षेत्र र ६२ वटा सूचक मध्य अनुगमन तथा मूल्याङ्कन क्षेत्रमा जिविस अनुत्तिर्ण भएको हो ।
एमसिपिएममा अनुत्तिर्ण भएपछि जिल्ला विकास समिति सुर्खेतको २० प्रतिशत अनुदान कटौती हुने भएको छ । २० प्रतिशत अनुदान कटौती भनेको करिव ३३ लाख रकम कटौती हुने जनाईएको छ ।
त्यसैगरी सुर्खेतका ५० वटा गाउँ विकास समिति मध्ये तीन वटा गाउँ विकास समिति अनुत्तिर्ण भएको जनाईएको छ । घोरेटा, काप्रीचौर र लेखफर्सा गाविस अनुत्तिर्ण भएका हुन् । अनुत्तिर्ण गाविसको अनुदान बजेटमा भने कटौती हुने भएको छ ।
जिल्ला विकास समितिको समिक्षा गोष्ठी, एमसिपिएमको नतिजा विवरणका बारेमा निमित्त स्थानीय विकास अधिकारी ओमदत्त रेग्मी, सामाजिक शाखा अधिकृत टंकप्रकाश लामिछाने, सूचना शाखा प्रमुख धनबहादुर खत्री सहित आ—आफ्नो भनाई राखेका थिए ।

बेचविखनमा तीन गाविस जोखिममा

सुर्खेत, १९ भदौ ।
महिला बेचविखनमा सुर्खेतको एउटा नगरपालिका सहित थप तीन वटा गाउँ विकास समिति उच्च जोखिममा रहेका छन् । गरिवि, अशिक्षा, बेरोजगारीका कारणले महिला बेचविखनमा जोखियुक्त रहेको बताईएको छ ।
मानव बेचविखन विरुद्धको छैठौं राष्ट्रिय दिवसको तयारीका बारेमा जानकारी गराउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराईएको हो ।
महिला तथा बालबालिका कार्यालय सुर्खेतले महिला बेचविखनको जोखिममा वीरेन्द्रनगर नगरपालिका सहित कल्याण, मैनतडा, रामक गाविस रहेको जनाईएको थियो ।

तीन विश्वविद्यालयको पाठ्यक्रम बन्यो, पढाउने ठाउँ छैन

सुर्खेत, १९ भदौ ।
सरकारले दुई वर्षअघि घोषित कृषि तथा वनविज्ञान, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको पाठ्यक्रम तथा पाठ्यसामग्री तयारी बनेको छ । तर अहिले कहाँ र कुन ठाउँमा पठनपाठन गराउने भन्ने टुँगो लागेको छैन । ऐनअनुसार त्रिभुवन विश्वविद्यालयले आफू अन्तर्गतको जग्गा तथा भौतिक संरचना हस्तान्तरण नगर्दा यो स्थिति आएको हो ।
सरकारद्धारा निर्मित ऐनमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसहरु र कृषि तथा वनविज्ञान अध्ययन संस्थानलाई नयाँ विश्वविद्यालयमा परिणत गर्ने उल्लेख छ । ‘हामीले पाठ्यक्रम, पाठ्यसामग्री निर्माण गरेर विद्यार्थी भर्ना लिने तयारीमा छौं’ कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति कैलाशनाथ प्याकुरेलले भने, तर ऐनमा व्यवस्था भएअनुसार त्रिभुवन विश्वविद्यालयबाट उसको कुनै पनि सम्पत्ति हस्तान्तरण नहुँदा कहाँ पढाउने भन्ने अन्योलमा गुज्रिरहेका छौं ।’ शिक्षा पत्रकार सञ्जालले मंगलबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा उक्त विचार व्यक्त गरेका हुन् ।