Friday, August 31, 2012

छोरा छोरीसंगै अंग्रेजी सिक्दै आमाहरु

दीपक बुढा÷सुर्खेतसुर्खेत, १५ भदौ ।
नाम सम्म भन्न डराउने, लेख्न नसक्ने वीरेन्द्रनगर—११ चनौटेकी बालिका सारु आजभोलि पत्र समेत लेख्ने भएकि छन् । घरदेखी टाढा रहेका आफ्ना साथी, आफ्न्त, विद्यालय, सामुदायिक वनमा सजिलै निवेदन लेख्न सक्ने भएकी छन् ।

Friday, August 24, 2012

मध्यपश्चिममा साढे दुई सय स्वास्थ्यकर्मी अभाव

दीपक बुढा÷सुर्खेत
वीरेन्द्रनगर, ७ भदौं ।
रोगहरुबाट बढी संक्रमण हुने बर्षा यामका बेला मध्यपश्चिमका जिल्लाका स्वास्थ्य संस्थाहरुमा औषधीसंगै स्वास्थ्यकर्मीको संकट देखिएको छ । यस क्षेत्रका १५ जिल्लामा १ सय ८० दरवन्दीमा स्वास्थ्यकर्मी मध्य ८० भन्दा बढी डाक्टरहरु नै अनुपस्थित रहेको जनाएको छ । यस्तै १ सय ५५ जना पारामेडिक्स र नर्सिङको दरवन्दी खाली रहेको मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएको छ ।
मध्यपश्चिमका जिल्लामा दरवन्दी भएका ८० भन्दा वढी डाक्टरहरु विभिन्न तालिम तथा अध्ययनमा गएकाले अभाव देखिएको जनाईएको छ । सिअहेव तथा अनमीको अध्ययनका लागि ५५ जना स्वास्थ्यकर्मी सुर्खेतमा रहेका छन भने अन्य विदा तथा सरुवा भएर दरवन्दी खाली रहेको छ ।
दरवन्दी खाली भएका ठाउँहरुमा जिल्लाले नै पदपूर्ति गर्न मिल्ने व्यवस्था भए स्वास्थ्य संस्था कहिल्यैपनि खाली नहुने जानकारी दिईएको छ । स्वास्थ्य संस्थामा भएका स्वास्थ्यकर्मीहरुले जनचेतना फैलाउने काम गरिरहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत खेमराज उपाध्यायले बताए ।  सरकारले स्थानीयस्तरमा खाली दरवन्दी भएको ठाउँमा पदपूर्ति गर्ने व्यवस्था गरे प्रत्येक स्वास्थ्य संस्थामा बाह्रै महिना स्वास्थ्यकर्मीको उपस्थिति हुने उनको भनाई छ ।
झाडापखालालाई रोक्नका लागि सुदूरपश्चिमसंग सीमाना जोडिएका बर्दिया, दैलेख, कालिकोट, मुगु लगायतका जिल्लाहरुमा उच्च सर्तकता अपनाउनका लागि परिपत्रसमेत गरिसकेको छ । औषधी अपुग भएका जिल्लाहरुले माग गरे अनुसार औषधि पु¥याउने व्यवस्था समेत मिलाइएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
अघिल्लो बर्ष जाजरकोटमा फैलिएको महामारीले चेतना जगाएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अधिकृत उपाध्यायले बताए । त्यसैगरी सुर्खेतका सवै स्वास्थ्य संस्थाहरुलाई आवश्यक पर्ने औषधि करिव माघसम्म पुग्ने गरी पठाइएको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख मुकुन्दराज गौतमले बताए । यसवर्ष औषधि नपाएर मान्छे मर्ने अवस्था नहुने दावी उनको छ । सरकारले स्वास्थ्य संस्थाको स्तर हेरी निःशुल्क वितरण गर्ने एक र दुई प्रकारका औषधि बाहेक सवै औषधि स्वास्थ्यसंस्थामा रहेको जानकारी उनले दिए ।

स्वीकृति नलिई कार्यक्षेत्र बढाउँदै सहकारी

सुर्खेत, ७ साउन ।
बचत तथा ऋणको कारोबार गर्ने जिल्लाका केही सहकारीहरुले स्वीकृतिनै नलिई कार्यक्षेत्र विस्तार गरिरहेका छन् । डिभिजन सहकारी कार्यालय, सहकारी विभाग मार्फत कार्यक्षेत्र विस्तारको लागि स्वीकृति दिने प्राव्धान रहेको छ तर स्विकृतिनै नलिई कार्यक्षेत्र विस्तार गरेको जनाईएको छ ।
‘कार्यक्षेत्र विस्तार गर्दा स्वीकृति लिनुपर्छ तर धेरै सहकारीले आफूखुशी कार्यक्षेत्र विस्तार गरिरहेका छन्’ डिभिजन सहकारी कार्यालयका प्रमुख आनन्द सारुले भने । जिल्लाका विभिन्न गाविसमा कार्यक्षेत्र बढाउँदा सहकारीले सेवा केन्द्र भनेर संचालन गर्न स्वीकृति पाउँछन् तर गाउँ गाउँमा शाखा, उपशाखा भन्दै्र सहकारीले काम गरेकाले त्यो नियम विपरित भएको उनले बताए ।
‘कुन कुन सहकारी स्वीकृति विनानै कार्यक्षेत्र बढाएका छन् । हामी अनुगमन गरिरहेका छौं । पहिलो पटक लिखित मौखिक जानकारी गराउँछौं अटेर गरे कार्वाहिका लागि सिफारिस गछौं’ डिभिजन सहकारी प्रमुख सारुको भनाई थियो । जिल्लाका केही सहकारीहरुले लद्युवित्त कार्यक्रम संचालनको नाममा आफुखुशी जिल्लाका विभिन्न गाउँ विकास समितिमा आफ्नो शाखा, उपशाखा कार्यालयका साईनबोर्ड राखी कार्यालय संचालन गरिरहेका छन् ।
जिल्लामा चार सय ८४ वटा सहकारी दर्ता छन् भने जिल्लाका एक दर्जनबढी सहकारी संस्थाहरुले उद्युवित्त कार्यक्रम संचालन गरिरहेका छन् । बचत तथा ऋणको कारोवार गर्ने सहकारीले वचत तथा ऋणको कारोबार गर्नका लागि जिल्लाव्यापी कार्यक्षेत्र बढाउन पाउने प्राव्धान भने छैन् तर पनि लद्युवित्तको नाममा सहकारीहरुले आफ्नो कार्यक्षेत्र विस्तारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
सहकारीको संचालन अनुमति, अनुगमन तथा नियमन गर्ने निकाय डिभिजन सहकारी र सहकारी विभाग भएकाले यी निकायको स्वीकृतिनै नलिई आफ्नो कारोबार संचालन गरिरहेको डिभिजन सहकारी प्रमुख सारुले बताए । राष्ट्र बैंकबाट स्वीकृत लिएर मात्रै बैंकिङ कारोबार संचालन गर्न पाउने कानूनी प्राव्धान रहेको छ ।
सहकारीको प्रकृति अनुसार कार्यक्षेत्र जिल्लाव्यापी गराउन पाईने भएक छन् । सहकारी अनुगमन तथा नियमन मापदण्ड २०६८ ले यस्तो व्यवस्था गरेको हो । जिल्ला व्यापी कार्यक्षेत्र बनाउने अधिकार भने सहकारी विभागमा रहेको छ ।
कम्तिमा २५ जना एउटै पेशा वा पेशागत संगठनका व्यक्तिहरु मिलि प्रारम्भिक सहकारी संस्था दर्ता गर्न सक्नेछन् । यस आधारमा संस्था दर्ता गर्नका लागि पेशा वा पेशागत संगठन खुल्ने प्रमाणहरु समेत पेश गर्नु पर्नेछ । यस्ता संस्थाको कार्य क्षेत्र सदस्यहरुको प्रकृति अनुसार सम्बन्धित निकायको परिसर वा आवेदक सदस्यहरुको ठेगानाका आधारमा बढीमा जिल्लाभर सम्म कायम गर्न सकिनेछ प्राव्धान रहेको छ ।
कानून बमोजिम गठित एउटा पेशागत संगठन अन्तर्गत एक भन्दा बढी संस्थाको दर्ता गरिने छैन । सम्बन्धित पेशागत संगठनको आधिकारिक सहमतिमा मात्र पेशागत संगठनको आधारमा संस्था दर्ता गर्न सकिनेछ । सरकारी संस्थान वा प्राधिकरणका कर्मचारीहरु, सार्वजनिक, सहकारी र निजी कलकारखानामा कार्यरत मजदूरहरु, शैक्षिक संस्थामा कार्यरत शिक्षक तथा  कर्मचारीहरु, अस्पतालमा कार्यरत कर्मचारीहरु, शहरमा आई बसोबास गरेका कुनै भौगोलिक क्षेत्रका समाजमा संगठित रहेका व्यक्तिहरु मात्र सदस्य हुन सक्ने आधारमा निर्दिष्ट भौगोलिक क्षेत्र वा कार्यालयको परिसर भित्र मात्र कार्यक्षेत्र रहने गरी आफ्ना सदस्यहरु माझ बचत तथा ऋणको कारोवार, सदस्यहरुको सामूहिक हित प्रबद्र्धनका लागि सामाजिक कामहरु र सांस्कृतिक क्रियाकलापहरु संचालन गर्ने उद्देश्य राखी सहकारी संस्था दर्ता गर्न सकिने प्राव्धान  रहेको छ ।
औद्योगिक क्षेत्र परिसर भित्रका बहुसंख्यक मजदूरहरुको सदस्यता रहने गरी दर्ता गरिने सहकारी संस्थालाई बचत तथा ऋण, पसल, शिशु स्याहार केन्द्र, स्वास्थ्य क्लिनिक, वाचनालय, जस्ता परिसर भित्र संचालन गर्न सकिने बहुमुखी काम गर्न पाउने गरी उद्देश्यहरु राख्न दिइनेछ ।
राष्ट्रिय सहकारी बैंकका संचालक हरिहरनाथ योगीले सहकारीको प्रकृति अनुसार कार्यक्षेत्र जिल्लाव्यापी गराउन सक्ने भएकाले सहकारी आन्दोलनमा उपलब्धि भएको बताए । उनले भने ‘पेशागत, उत्पादन, वितरणको पहुँचका आधारमा कार्यक्षेत्र जिल्लाव्यापी बनाउन सकिने भएको छ ।’
बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थालाई एक गाउँ विकास समिति कार्यक्षेत्र राखी भिन्न परिवारका २५ जना सोही गाविसका बासिन्दाहरुले आवेदन गर्दा एक गाउँ विकास समिति कार्यक्षेत्र दिई संस्था दर्ता गर्ने प्राव्धान रहेको जनाईएको छ । तर प्रत्येक जोडिएका गाउँ विकास समितिका थप भिन्न परिवारका २५ जना स्थानिय बासिन्दाहरुको आबेदनका आधारमा बढीमा जोडिएका ५ गाउँ विकास समितिसम्म कार्यक्षेत्र कायम गरी संस्था दर्ता गर्न सकिनेछ ।
नगरपालिकाको हकमा जोडिएका २ वटा वडा कार्य क्षेत्र राखी भिन्न परिवारका २५ जना सोही वडाका बासिन्दाहरुले आवेदन गर्दा नगरपालिकाको २ वटा जोडिएका वडा कार्यक्षेत्र दिई संस्था दर्ता गरिनेछ । तर प्रत्येक जोडिएका २ वडाका भिन्न परिवारका २५ जना बासिन्दाहरुको आबेदनका आधारमा बढीमा नगरपालिका भर कार्यक्षेत्र कायम गरी संस्था दर्ता गर्न सकिनेछ ।
कृषि, उद्योग तथा व्यावसायिक प्रकृतिका सहकारी संस्थाको हकमा उक्त संस्थाले प्रदान गर्ने सेवा  वा उत्पादनको प्रकृति, सदस्यता र भौगोलिक अवस्था हेरी रजिष्ट्रारको स्वीकृतिमा एक जिल्लासम्म कार्यक्षेत्र राखी संस्था दर्ता गर्न सकिनेछ ।  तर ठूलो कार्यक्षेत्र चाहिने स्वास्थ्य सेवा, संचार, यातायात, विद्युत उत्पादन र वितरण, कृषि उत्पादन, भण्डारण, प्रशोधन र बजारिकरण एवं अन्य उद्योगहरु स्थापना गर्ने सहकारी संस्थाको  हकमा पेश गरिएको कार्य योजना, सम्भाव्यता र पुरानो संस्थाको हकमा प्रगति समेतको आधारमा एक जिल्ला भन्दा बढी कार्यक्षेत्रको लागि रजिष्ट्रारले स्वीकृति प्रदान गर्न सक्ने प्राव्धान रहेको छ । यस्तो व्यापक कार्यक्षेत्र भएका संस्थाहरुले बचत तथा ऋणको कारोवार गर्न पाउने गरी उद्देश्य निर्धारण गर्न पाउने छैनन् ।

Wednesday, August 22, 2012

सिटिहल निर्माण बारे जानकारी

सुर्खेत, ५ भदौं ।
सुविधा सम्पन्न सिटि हल निर्माणका बारेमा हाल सम्म भए गरेका गतिविधि, प्रगतिका बारेमा जानकारी गराईएको छ । सिटिहल निर्माण समितिको आयोजनामा सोमबार सरोकारवाला निकायका प्रमुख तथा प्रतिनीधिहरुलाई जानकारी गराईएको हो ।
२०६६ सालमा सम्पन्न अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवबाट ५१ हजार एक सय ५१ रुपैयाँ विनियोजन गरि सिटिहल निर्माणको औपचारीक प्रक्रिया सुरु गरिएको थियो । सिटिहल निर्माणका लागि लागत स्टीमेट डिजाई, जिल्ला विकास समिति र वीरेन्द्रनगर नगरपालिकाबाट थप अनुदान र केन्द्रिय तहमा डेलिगेसन सहितका गतिविधि सम्पन्न गरिएको जनाईएको छ ।
सिटिहल निर्माण समितिका संयोजक टिकाराम आचार्यले सर्वपक्षिय, सर्वदलिय प्रतिनिधित्व हुने गरी ५१ सदस्यीय मूल समिति र १३ सदस्यीय सचिवालय समिति गठन गरी सिटिहल निर्माणका लागि स्थानीय स्तरदेखि केन्द्रिय तह सम्म पहल थालिएको जानकारी दिए ।
उनले क्षेत्रीय स्तरका कार्यक्रमहरु सुर्खेतका संचालन गर्न अत्यावश्यक रहेको सिटिहल सुर्खेतमै निर्माण गर्न  राष्ट्रिय योजना आयोग, अर्थमन्त्रालय र भौतिक योजना तथा भवन निर्माण मन्त्रालयमा डेलिगेसन पेश गरिएको जानकारी दिए । त्यसैगरी राष्ट्रिय बजेटमा समावेश गर्न जिल्लाका ६ जना पूर्व सभासदहरुलाई समेत एक एक प्रति सिटिहल निर्माणको अवधारणा पत्र पेश गरिएको जनाईएको छ ।
वीरेन्द्रनगर नगरपालिकाबाट ६ लाख, जिल्ला विकास समितिबाट पहिलो बर्ष दुई लाख र दोस्रो बर्ष ४९ हजार रकम प्राप्त भएको जनाईएको छ । नगरपालिकाबाट प्राप्त रकम ६ लाख मध्ये तीन लाख लागत स्टिमेट र तीन लाख कम्पाउण्डीङमा खर्च हुने जनाईएको छ ।
सिटिहल निर्माणकै लागि सुर्खेत उद्योग वाणिज्य संघले १० लाख रकम दिने प्रतिवद्धता गरेको समेत जनाईएको छ । प्राप्त भएको जम्मा तीन लाख चार सय रकम मध्ये डेलिगेसनमा ४९ हजार ७ सय र खाना, स्टेशनरीमा १६ हजार खर्च भई समितिको खातामा दुई लाख ६३ हजार ८ सय ५६ रुपैयाँ मौज्दात रहेको जनाईएको छ ।
सहरी विकास तथा भवन निर्माण विभाग मार्फत देशका दिपायल, रत्ननगर चितवनगर र सुर्खेतको वीरेन्द्रनगर सहित प्रमुख तीन स्थानको सम्भाव्यता अध्ययन गरेकोमा सुर्खेत सबैभन्दा उत्कृष्ट भएको प्रतिवेदन विभागमा पेश गरिएको थियो । काठमाडौंको म्यानेक्स कन्सल्टेन्सीले तयार गरेको लागत स्टिमेटमा १३ सय सिट क्षमताको उक्त सिटिहल निर्माणमा १४ करोड रकम लाग्ने जनाईएको छ ।
उक्त वीरेन्द्रनगर नगरपालिका कार्यकारी अधिकृत यामलाल ढकाल, झुप्रा बृहद खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटा, राष्ट्रिय लोक तथा दोहोरी गित प्रष्ठिान सुर्खेतका यज्ञ गुरुङ, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुर्यमणि गौतम, जिल्ला अध्यक्ष दुर्गा थापा, नेकपा एमाले नगर अध्यक्ष पुर्णप्रसाद पौडेल, नेपाली काँग्रेस नगर सभापति देवकुमार सुवेदी, कांग्रेस क्षेत्रीय सभापति कमल रेग्मी, एमाले जिल्ला कमिटी सदस्य धुव्रकुमार शाही, एकीकृत नेकपा माओवादीका प्रताव सहितको उपस्थिति रहेको थियो । सहभागिहरुले सुर्खेतमा निर्माणको पहल गरिएको सिटिहल सुर्खेत जनताको हितमा भएकाले सबैले आ—आफ्नो तर्फबाट सक्दो सहयोग पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

Sunday, August 19, 2012

मप विश्वविद्यालय संचालन समायोजनले रोक्यो

दीपक बुढा÷सुर्खेत ।    साउन महिनादेखिनै कक्षा संचालन गर्ने तयारीमा रहेको मध्यपश्चिम विश्वविद्यालय समायोजन प्रक्रियामा रोकिएको छ । सुर्खेतका तीन वटा पव्लिक साईन्स क्याम्पस, वीरेन्द्रनगर बहुमुखी क्याम्पस र सुर्खेत क्याम्पस शिक्षालाई समायोजन गरी आफ्नो पाठ्यक्रम लागुगर्ने तयारी गरिएपनि त्रिभुवन विश्वविद्यालयले स्वीकृत नदिँदा ढिलाई हुँदै गएको छ ।
त्रिविको आंगिक क्याम्पसका रुपमा रहेको सुर्खेत क्याम्पस शिक्षामा हाल कार्यरत जनशक्ति, भौतिक संचरनाका सम्बन्धमा दुवै पक्षवीचमा सम्झौता हुनसकेको छैन् । राजधानी केन्द्रीत मप विश्वविद्यालयका पदाधिकारी, डिनहरु भने समायोजन प्रक्रिया चलिरहेको बताउँछन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले चालु शैक्षिक सत्रमा संचालन गर्ने कार्यक्रम, विषय, आंगिक क्याम्पसका सम्बन्धमा त्रिभुवन विश्वविद्यालयसंग सम्झौताको तयारी गरिरहेको जनाईएको छ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको सुर्खेत क्याम्पस शिक्षालाई विश्वविद्यालयमा समायोजन गरी कार्यक्रम संचालन गर्ने सम्बन्धमा सम्झौताको तयारी भैरहेको विश्वविद्यालय परिषद सदस्य एवंम् डिन डा. केशरसिं रानाले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग छलफल गरी त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सहित जनशक्ति, भौतिक पूर्वाधार हस्तान्तरणको काम हुने उनले जानकारी दिए । सम्झौताका लागि मप विश्वविद्यालयले आवश्यक रणनीतिक योजना सहितको अवधारणा पत्र त्रिभुवन विश्वविद्यालयमा बुझाईएको छ ।
सुर्खेतका पव्लिक साईन्स क्याम्पस, वीरेन्द्रनगर बहुमुखी क्याम्पस समायोजनका लागि सहमति सहित निर्णय गरेका छन् भने सुर्खेत क्याम्पस शिक्षालाई समायोजन गर्ने सम्बन्धमा आवश्यक छलफल भैरहेको डिन रानाले जानकारी दिए । सुर्खेत क्याम्पस शिक्षाको समायोजन प्रक्रिया लामो भएकाले विश्वविद्यालयले आवश्यक कार्यक्रम समेत ल्याउन नसकेको उनले जानकारी दिए ।
उनले भने ‘साउन महिनादेखिनै कक्षा संचालन गर्ने तयारी गरेका थियौं तर प्राविधिक कुराहरु मिलाउँदै जाँदा समय लागेको छ ।’ उनले थपे ‘दशैं लगत्तै शैक्षिक कार्यक्रम सहित नयाँ भर्नाको कार्यक्रम सुरु गरिन्छ ।’
केही काममा पूर्णता दिएको छ भने धेरै काम सुरुवात चरणमा रहेका छन् । पाठ्यक्रम निर्माणदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञसंग समन्वय गरी नमूना विश्वविद्यालय बनाउन पहल थालिएको म.प. विश्वविद्यालयका उपकुलपति डा. पदमलाल देवकोटाले बताए । विश्वविद्यालयको रणनीतिक पञ्चबर्षिय योजना र चार वटै संकायको शैक्षिक क्यालेण्डर निर्माण कार्य पुरा गरिएको जनाईएको छ । विश्वविद्यालयको शैक्षिक नीति समेत तयार भएको छ । विश्वविद्यालय लक्ष्य, उद्देश्य, कार्यक्रम, नीति सहितको पञ्चबर्षिय कार्ययोजना तयार गरिएको हो । मध्यपश्चिमका १५ जिल्लाको विज्ञान र प्रविधिको विकासमा योजना तयार गरिएको छ ।
विभिन्न तीन चरणमा योजना निर्माण गरिएको छ । प्रत्येक जिल्लामा एउटा साईन्स क्याम्पस स्थापना गर्ने र तीन वटा उच्च माविमा साईन्स विषय अध्यापनको सुरुवात गर्ने योजना बनाईएको छ । पहिलो चरणमा हुम्ला, जुम्ला, मुगु, जाजरकोट जिल्ला, दोस्रो चरणमा दैलेख, कालिकोट, प्यूठान, सल्यान, रोल्पा, रुकुम जिल्ला र तेस्रो चरणमा दाङ, सुर्खेत, बाँके र बर्दिया जिल्लालाई राखिएको जनाईएको छ ।
‘अन्तर्राष्ट्रिय सहयोग जुटाउनेदेखि नयाँ आर्थिक बर्षमा धेरै बजेट विनियोजन गराउन हामी जुटेका छौं’–उपकुलपति डा. देवकोटाले भने ‘विश्वविद्यालयलाई एसियामै नमूना बनाउन हामी त्यसै अनुसारका पाठ्यक्रमको निर्माण गरी अध्ययनको सुरुवात गर्ने गरी अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय विस्तार गरिरहेका छौं ।’ ‘साउन महिनादेखि कक्षा संचालन गर्ने गरी काममा तिव्रता दिईएको भएपनि प्राविधिक काममा ढिलाई हुँदा केही समस्या भएको छ । दशैं लगत्तै हामी कक्षा संचालनको तयारीमा छौं’—उनले बताए ।
जिल्लाका वीरेन्द्रनगर बहुमुखी क्याम्पस, शिक्षा क्याम्पस समायोजनमा सहभागि नभएपनि विश्वविद्यालयले भवन भाडामा लिएर भएपनि कक्षा संचालन गर्ने जनाईएको छ । गत आर्थिक बर्षमा सरकारले दुई करोड ७१ लाख रकम विनियोजन गरेको थियो । उक्त बजेटबाट विश्वविद्यालयको साईन्स एण्ड टेक्नोलोजिको ६ करोड लागतको शैक्षिक भवन निर्माणको प्रक्रिया सुरु भएको छ ।
मध्यपश्चिम विश्वविद्यालयले सुर्खेतमा राष्ट्रिय स्तरको जलस्रोत अध्ययन केन्द्र र व्यवसायीक तालिम केन्द्र संचालनार्थ शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, अर्थ मन्त्रालयमा प्रस्तावित कार्यक्रम पेश गरिएको छ ।
यसै शैक्षिक सत्रदेखि कक्षा संचालन गर्ने गरी कर्मचारी, प्राध्यापक दरबन्दी, भौतिक संरचना निर्माणमा धेरै भन्दा धेरै बजेट विनियोजनका लागि शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, विश्वविद्यालय अनुदान आयोगमा कार्ययोजना पठाईएको छ ।
भारतसंग ८ अर्ब लगानीको भौतिक पूर्वाधार निर्माण र चिन सरकारसंग १५ सयको शैयाका टिचिङ हस्पिटल स्थापना गर्न पहल थालिएको बताईएको छ । ‘चिन र भारत सहयोग गर्न इच्छुक छन् । अन्य देशसंग पनि शैक्षिक तथा भौतिक सहयोगका लागि पहल थालेका छौं’ नेपाल र बाह्य देशमापनि दुर्लभ तथा लोकप्रिय रहेका विषयमा अध्यापन कार्य सुरु गरिने जनाईएको छ ।
भौतिक पूर्वाधार, जनशक्ति, प्रशानिक खर्च सहित ६१ करोड बजेट तथा कार्यक्रम आयोगमा पेश गरिएको हो । बजेट स्वीकृत भएलगत्तै विश्वविद्यालय भित्रको सेवा आयोगको स्वीकृति लिएर खुल्ला विज्ञापन गरी विभिन्न संकायका प्राध्यापक, प्रशासनिक कर्मचारीको पदपूर्ती गरिने छ ।  ८ सय ९ जना दरबन्दी  माग गरिएको छ ।

Thursday, August 16, 2012

हिमाली सहकारीलाई उत्कृष्ट पुरस्कार

दीपक बुढा
सुर्खेत, ३२ साउन ।

हिमाली बचत तथा ऋण सहकारी संस्था लाटीकोइली राष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित भएको छ । सहकारीले संचालन गरेको लद्युवित्त कार्यक्रम मार्फत गरिवि निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सहकारीलाई सम्मान गरिएको हो ।
केन्द्रिय बचत तथा ऋण सहकारी संघ (नेफ्सकोन) काठमाडौंको २५ औं स्थापना दिवसका अवसरमा सुर्खेतको हिमाली बचत तथा ऋण सहकारीलाई उत्कृष्ठ सहकारीका रुपमा सम्मान गरिएको छ । नेप्सकोन मार्फत देशभर संचालित लद्युवित्त कार्यक्रममा उत्कृष्ठ योग्दान पु¥याउने सहकारीहरुलाई राष्ट्रिय स्तरको सम्मान मार्फत सम्मानित गरिएको हो ।

२०६२ सालमा स्थापना भएको हिमाली सहकारीले नेफ्सकोन मार्फत २०६५ देखि लाटीकोइली, उत्तरगंगा, साटाखानी, गढी, जर्वुटा, वीरेन्द्रनगर गाउँ विकास समितिमा लद्युवित्त कार्यक्रम संचालन गरेको थियो ।
संस्थाका अध्यक्ष वीरबहादुर रावतले भने ‘जिल्लाको सहकारी इतिहाँसमा हामीले गरेको कामको राम्रो मूल्याङ्कन भएकोमा हामी खुशी छौं ।’ सहकारी क्षेत्रमा लामो संघर्ष गर्दै अगाडी बढ्को बताउँदै उनले राष्ट्रिय स्तरको सम्मानले सहकारीका क्षेत्रमा थप सृजनशिल कार्यगर्न प्रेरणा मिलेको बताए ।
६ वटा गाउँ विकास समितिका दुई सय ७० वटा महिला समूहमार्फत तीन हजारबढी महिलाहरु लद्युवित्त कार्यक्रममा सहभागि भएको संस्थाले  जानकारी दिएको छ । सहकारीका प्रवन्धक बालकुमारी बडुवालले एउटा समूहमा पाँच जनादेखि ३० जनासम्म महिलाहरु सहभागि रहेको बताईन । उनले भनिन ‘न्यूनआयस्रोत भएका महिलाहरुलाई पहिले उद्यमशिलता सिपको विकास गर्छौं अनि मात्रै विनाधितो सामूहिक जमानतमा १० हजारदेखि ७५ हजार सम्म ऋण लगानी गर्छौं ।’
Add caption

ज्ञान, सिप, साधन, स्रोत नभएका महिलाहरुलाई क्षमता विकास गरी उनीहरुलाई विनाधितो ऋण लगानी मार्फत गरिवि निवारण र महिलाहरुलाई आयआर्जन कार्यमा सहभागि बनाउन सफल भएको प्रबन्धक वडुवालको भनाई थियो ।
सहकारीले बचत तथा ऋण, सिपमूलक कार्य, उद्यमशिलता, युवा स्वरोजगार कार्यक्रम, एम्बुलेन्स सेवा, माइक्रो बस सेवा संचालन गरिरहेको छ भने निकट भविष्यमा सुविधा सम्पन्न बृद्धाश्रम संचालनको तयारीमा रहेको जनाईएको छ ।
६ हजारबढी सेयर सदस्य रहेको सहकारीले वैदेशीक रोजगार, कृषि, शिक्षा, घुम्ती व्यवसाय, औषधी उपचार, अनुशासन ऋण लगायतको क्षेत्रमा ऋण लगानी गर्ने गरिएको सहकारीका अध्यक्ष रावतले जानकारी दिए । साधारण, ऐच्छिक, बाल, जीवन, दिदिबहिनी, पर्व, दैनिक, मुद्धती, चल्ती बचतका कार्यहरु सहकारीले गरेको जनाईएको छ ।
नेफ्सकोन सहकारी सफ्टवयर र लेजरमार्फत सहकारीको हिसाव राख्ने गरिएको बताउँदै सहकारीका प्रवन्धक वडुवालले बचतमा १० प्रतिशत व्याज र ऋण लगानीमा १८ प्रतिशत व्याज अशुली गर्ने गरेको जानकारी दिए । युवा स्वरोजगार कोष, राष्ट्रिय सहकारी बैंक मार्फत युवा स्वरोजगार कार्यक्रम संचालन गरिरहेको हिमाली सहकारीले उक्त कार्यक्रम मार्फत सयौं युवाहरुलाई स्वरोजगारमूखी बनाएको जनाईएको छ ।
सहकारी यस अघि डिभिजन सहकारी कार्यालय सुर्खेत, नेफ्सकोन, राष्ट्रिय सहकारी बैंक मार्फत पुरस्कृत तथा सम्मानित भएको थियो । लद्युवित्तका क्षेत्रमा उल्लेख्य योग्दान पु¥याउन सफल देशभरका सहकारी मध्यमा छनोट भई सन २०११ म अन्तर्राष्ट्रिय सहकारी बर्ष सम्मेलनमा सहभागि हुन मलेसियामा सहकारीका अध्यक्ष रावत सहभागि भएको जनाईएको छ । जिल्लामा एक सयबढी बचत तथा ऋण सहकारी रहेका छन् भने दर्जनौं सहकारीले लद्युवित्त कार्यक्रम संचालन गरिरहेका छन् ।

बुलबुले एफएमको अध्यक्षमा बडुवाल

दिपक बुढा
सुर्खेत, ३१ साउन ।
बुलबुले संञ्चार केन्द्रद्धारा संञ्चालित बुलबुले एफ एम १०३ बिन्दू ४ मेगाहर्ज सुर्खेतको नवौं बार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । साधारणसभाले संञ्चार केन्द्रको ९ सदस्यिय नयाँ कार्यसमिती चयन गरेको छ ।
जसको अध्यक्षमा मोहन बडुवाल, उपाध्यक्षमा कृष्णबहादुर खड्का, सचिबमा हिमालय बम, सहसचिवमा विरबहादुर रावत, कोषाध्यक्षमा खिमबहादुर रेग्मी चयन भएका छन् भने अन्य सदस्यहरुमा रेनु आचार्य, लक्ष्मि शर्मा, बसन्ता योगी र महेश्वर तिवारी चयन भएका छन् ।
संस्थाका अध्यक्ष मोहन बडुवालको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैङक सुर्खेतका अध्यक्ष हरीहरनाथ योगीको प्रमुख आथित्यतामा गत आर्थिक बर्ष २०६८÷०६९ को बार्षिक, आर्थिक तथा प्रगति प्रतिबेदन पारीत गर्दै साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा कार्यक्रमका प्रमुख अथिती तथा राष्ट्रिय सहकारी बैङकका केन्द्रीय संचालक हरिहरनाथ योगीले देशका ग्रामिण भेगहरु सम्म पुगेर सामुदायीक रेडियोहरुले जनतालाई सूचना दिई सुशुचित बनाउन सफल भएको बताए ।
उनले समाजमा सदियौदेखी पछि पारिएका वर्गहरुको उत्थानका लागि सामुदायीक रेडियोले महत्वपूर्ण भुमिका खेल्न सफल भएको बताए ।  सामुदायीक रेडियो समाजकै ऐना भएकाले समाजमा पिछडीएका जाती, बर्ग, तथा समुदायको हक अधिकार स्थापित गर्नकालागी महत्वपूर्ण भुमिका खेलेका खण्डमा मात्र सम्रग देशको बिकाशमा टेवा पुग्ने उनको भनाई थियो ।
समाजमा व्याप्त अबस्थामा रहेको जातीय छुवाछुत, भ्रष्टाचार, बिसङगती र बिक्रिती नियन्त्रण गर्नका लागी सामुदायीक रेडियो समाजकै सच्चा प्रहरी सावित बन्नुपर्ने उनले सुझाव समेत दिए । सामुदायीक रेडियोहरु लोकतन्त्रका पर्याबाचीका रुपमा रहेको उनले बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष मोहन बडुवालले रेडियो स्थापनाकालदेखी नै थुप्रै चुनौतिहरु पार गर्दै आएको बताउँदै श्रोता, बिज्ञापन दाता शुभचिन्तक बिभिन्न संघ संस्थाको सहयोग र सहकार्यमा यहाँसम्म पुग्न सफल बनेको बताउँदै सबैलाई धन्यबाद दिए ।
श्रोताहरुको चाहनालाई मध्यनजर गर्दै आगामी दिनमा रेडियोले नयाँनयाँ बिषयबस्तुहरु ल्याउँदै जाने बताए । उनले बर्तमान संक्रमणकाललाई अन्त्यगर्न समेत सामुदायीक रेडियोको मुख्य जिम्वेवारी रहेको बताए ।
सामुदायीक रेडियोको कर्तव्यनै स्थानीय स्तरलाई महत्व दिई समाजको विकाश र परिबर्तनका लागि रेडियोले महत्वपूर्ण भुमिका खेल्दै आएको भन्दै मानब अधिकार तथा सर्वोतम बिकासकालागी अझ शशक्त भएर लाग्ने बताए ।
उनले समाजमा पछि पारिएका बर्ग जाती तथा समुदायको समाबेसी आवाज बनेर रेडियो सदै समाजको साथमा रहने बताए । कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष धुब्रकुमार शाहीले बर्तमान संञ्चारको यूगमा नयाँ प्रबिधिको साथसाथै संस्थाको गुणात्मक प्रगतीलाई जोड दिए । सभाले आर्थिक बर्ष २०६८÷०६९ को १७ लाख ३५ हजार १०८ रुपैयाँको आय व्यय पारित गर्दै आर्थिक बर्ष २०६९÷७० को लागी ३८ लाख १० हजार बराबरको प्रस्तावित कार्य योजना अघि सारेको छ ।

Monday, August 13, 2012

माओवादी प्रशिक्षणमा कार्यकर्ताको आक्रोश

गणेशकञ्चन भारती
सुर्खेत, २९ साउन ।
एकीकृत नेकपा माओवादीको सोमबारदेखि वीरेन्द्रनगरमा सुरु भएको अगुवा कार्यकर्ता प्रशिक्षणका सहभागि कार्यकर्ताहरुले नेताप्रति आक्रोश पोखेका छन् । नेताहरु सुविधामूखी, सहर केन्द्रित भएको भन्दै आक्रोश गरेका हुन् ।
‘पार्टी भित्र बढ्दै गएको गुटगत राजनीति र नेताहरुको स्वार्थीपनाले हामी कार्यकर्तालाई निरास बनाएको छ’ नाम नबताउँने सर्तमा एक कार्यकर्ताले भने ‘नेताहरु जिल्ला र राजधानी केन्द्रित भएका छन् ।’
प्रशिक्षणका कार्यकर्ताहरुले भने ‘नेताहरु गाउँ मुखी नभएर सहरमुखी भए जनता र सामान्य कार्यकर्ताहरुका मागका सम्वन्धमा गम्भीर भएनन्’ क्यान्टोनमेन्टबाट आएका जनमुक्ति सेनालाई योजनामा नलिएको र संगठित नगरेको, नेताहरु कार्यकर्तामा भर पर्ने भन्दा पनि माथि नेताको चाकडी गर्ने,  गुट बनाउने र नेता बन्न प्रयासमा लागेको जस्ता आरोप र प्रश्न राखेका थिए । कार्यकर्ताहरुले नेताहरुवाट चित्तवुझ्दो उत्तर नआएको समेत आरोप लगाएका थिए ।
देशै भरी कार्यकर्ता प्रशिक्षण गर्ने बताएको एकीकृत नेकपा माओवादीले सुर्खेतका आफ्नो कार्यकर्ताहरुलाई प्रशिक्षण दिन थालेको छ । जिल्लामा अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएपछि माओवादी गाउँ गाउँ सम्म पस्ने कार्ययोजनाका साथ अगाडी बढेको छ ।
पार्टी विभाजन पछि पहिलो पटक गाउँ गाउँ सम्म आफ्ना कार्यकर्ता र जनताका माझमा कार्यक्रम लिएर गएको माओवादीले सुर्खेतका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्न प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । सोमवार सुर्खेत जिल्ला भरीका करीव ५ सय कार्यर्ताहरुलाई माओवादीले पार्टी विभाजन र माओवादीले पछिल्लो समयमा अपनाउनुपर्ने कार्यक्रमका बारेमा छलफल भएको हो ।
कार्यक्रममा एनेकपा माओवादीका पोलिटव्युरो सदस्य तथा पश्चिम कमाण्ड इन्चार्ज शक्तिबहादुर वस्नेतले बैद्य माओवादीले पार्टी फुटाउनु भनेको आफ्नै खुट्टामा बन्चरोले हान्नु भएको परीभाषित गरे । उनले कुनै पनि नयाँ ऐजेण्डा भएर पार्टी फुटाएको भन्दा पनि पदलोलुपताका कारण पार्टी फुटाएको ठोकुवा गरे ।
‘उहाँहरुको अहिले कुहिरो भित्रको काग जस्तो हुनुभएको छ’ वस्नेतले भने ‘यसरी कहाँ सम्म पुग्नुहुन्छ थाहा छैन ।’ काग्रेस एमालेले सहमति गर्न भन्दा पनि देश विगार्न र भाड्न लागीरहेको भन्दै बेलैमा संविधान बन्न नदिने र देशलाई परिवर्तन हुन नदिने तथा जनतालाई परिबर्तनको अनुभुति हुन नदिने षड्यन्त्र भएको बस्नेतको भनाई थियो ।
‘अहिले सरकारको बिरुद्धमा भन्दै सडकमा विभिन्न दलका युवा संगठनहरुले नौटकीं गरीरहेको भन्दै उनेले भने सहमति गरेर आए हामी वालुवाटार छोड्दिन्छौ नि । यदि एमाले कांग्रेसले सडक बाटै सबै गर्न कस्सीने हो भने आफुहरु पनि सडक बाटै जवाफ फर्काने छांै’ भन्दै उनले आफ्ना कार्यकर्ताहरुलाई त्यो योजना बनाईराख्न र तयारी गरेर बस्न निर्देशन दिए ।
बस्नेतले अव शान्ति प्रकृयामा आएर सुरुका दिनमा जसरी पार्टी नचल्ने भन्दै कस्सीएर लाग्न र नयाँ ढगंले रुपान्तरीत भएर क्रान्तिको कार्यभार पुरा गर्न निर्देशन दिए । उनले भने ‘अझै पनि करोडौ नेपाली जनताले हामी बाटै आश गरिरहेका छन् त्यो आशालाई पुरा गर्न हामी गाउँ गाउँ गएर नयाँ शैलीले काम गर्नुपर्छ ।’

स्याकको १८ औं बार्षिकोत्सव अवको लगानी शिक्षा स्वास्थ्य र आयआर्जनमा

खेमराज वली
सुर्खेत, २९ साउन ।
समाज जागरण केन्द्र (स्याक) नेपालको १८ औं बार्षिकोत्सव तथा १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । एक कार्यक्रमकाबीच संस्थाको बार्षिकोत्सव तथा साधारण सभा सोमबार वीरेन्द्रनगरमा सम्पन्न भएको हो ।
१८ औं बार्षिक उत्सव तथा १७ औं साधारण सभामा स्याक नेपालले आर्थिक बर्ष ०६८÷०६९ को आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी आर्थिक बर्ष ०६९÷०७० को लागि नीति कार्यक्रम तथा प्रस्तावित बजेट प्रस्तुत गरिएको छ ।
कार्यक्रममा संस्थाले गत वर्षमा सञ्चालन गरेका कार्यक्रम र तिनको प्रगतिको बारेमा जानकारी तथा आगामी बर्षको संस्थाको नीति कार्यमक्रमको बारेमा जानकारी गराउँदै स्याक नेपालका महासचिव खगेन्द्रप्रसाद सापकोटाले अबको आर्थिक बर्षमा संस्थाले शिक्षा, स्वास्थ्य, आयआर्जन तथा जिविकोपार्जन, शान्ति प्रबद्र्धन र संस्थाको विकासमा क्षेत्रमा काम गर्ने बताए ।
शिक्षा अन्तर्गत निःशुलक शिक्षा घोषण अभियानलाई निरन्तरता दिने, आधारभूततहको लागि विद्यार्थीहलाई आवश्यक पर्ने स्थानीय शैक्षिक सामाग्रीको उत्पादन गर्ने, सूचना केन्द्रको व्यवस्थापन तथा विद्युतिय पुस्तकालयको विकास गर्ने कार्य आगाडी सारिएको छ ।
त्यस्तै स्वाथ्य अन्तर्गत खुला दिसामुक्त क्षेत्र घोषणा तथा खानेपानी गुरु योजना निर्माण गरी स्वच्छ खानेपानीको व्यवस्था गर्ने, मातृ तथा शिशु मृत्युदर कम गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने, एच.आई.भि नियन्त्रण तथा प्रकोप व्यवस्थापनका गर्न जनचेतना जगाउने कार्य संस्थाले अगाडि सारेको छ ।
संस्थाले आयआर्जन तथा जिविकोपार्जनमा कृषि पशुपालनमा जोड दिनक्षमता, सीप, प्रविधिमा सहयोग, पूर्वाधार विकासका कार्यक्रम सञ्चालन, व्यवसायमूलक तालिम, बेमौसमी तरकारी खेती, टनेल प्रविधिलाई नमूनाको रुपमालिने योजना बनाएको छ ।
साथै लघु उद्यम विकास तथा स्वरोजगारमूलक तालिम सञ्चालन गर्ने, सामूहिक खेती प्रणालीको व्यवस्थापन गर्ने बताएको छ । यसैगरी महिला, बालबालिका, फरक क्षमता भएकाहरुका लागि कार्यक्रम सञ्चालन गर्ने द्वन्द्व पीडित र मानविय सहयोग कार्यक्रम लगायतका शान्ति प्रबद्र्धनमा सहयोग गर्ने कार्यक्रमहरु पनि सञ्चालनमा ल्याउने बताइएको छ ।
संस्थाले आगामी कार्यक्रमहरुमा आन्तरिक तथा सम्पूर्ण कार्यक्रमहरुमा जम्मा तीन करोड २८ लाख ४३ हजार ६७ प्रस्तावित गरेको छ भने त्यती नै रकम खर्चको प्रस्ताव गरेको छ जसमा आन्तरिक स्रोतको प्रस्तावित आम्दानी रकम ३० लाख ९३ हजार चार सय ६५ रहेको छ ।
सोही कार्यक्रममा बोल्दै प्रमुख अतिथी स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले संस्थाको आगामी कार्यको लागि शुभाकामना दिँदै ग्रामीण स्तरमा सेवा उपलब्ध गराई गरिबी न्यूनिकरणमा ध्यानदिनुपर्ने बताए ।
उनले संस्था मेहनत, लगनशिल तथा अनुशासनका कारणले सफल भएको भन्दै गैरसरकारी संस्थाको समाज रुपान्तरणमा अझै महत्वपूर्ण भूमिका रहने बताए । त्यस्तै संस्थाका संरक्षक डा.शुरेशकुमार तिवारीले संस्थाले राजनीतिबाट टाढा रहन प्रयास गरेको बताए । अर्का अतिथी नेपाली कांगे्रसका कोषाध्यक्ष गोविन्द कोइरालाले राज्यले मात्रै सबै क्षेत्रमा कामगर्न नसक्ने भएकोले सरकारी निकाय नपुगेका ठाउँहरुमा काम गर्न सुझाब दिए ।
उनले संस्थालाई राजनीतिबाट टाढा राख्नुपर्ने भन्दै जनजाति, महिला, दलित तथा पिछडिएका बर्गहरुलाई लक्षित बनाएर कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष शिवप्रसाद उपाध्यायले सञ्चालन गरेका कार्यक्रमले प्रभाव पार्नुपर्ने बताएका थिए ।
साधारण सभामा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत बुद्धिप्रसाद सापकोटा, राप्रपा सुर्खेतका सचिव टोपबहादुर वली, राप्रपा नेपालका सचिव अमृत राना, समाजवादी जनता पार्टीका अध्यक्ष भगवानप्रसाद अधिकारी, स्थानीय शान्ति समितिका संयोजक मोहन थापा, जिल्ला कृषि बिकास कार्यालयका प्रमुख विजयकुमार गिरी, गैरसरकारी संस्था महासंघका शाखा सुर्खेतका अध्यक्ष डिल्लु घिमिरे लगायत विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरुले संस्थालाई शुभकामना दिएका थिए । यसै कार्यक्रममा संस्थाले संस्थाका उत्कृष्ट कर्मचारी खिम रेग्मी लगायत विभिन्न उत्कृष्ट बाल समूह, क्लव, आमा समूह र उत्कृष्ट कार्यक्रमलाई पनि सम्मान तथा प्रसंशापत्र वितरण गरेको थियो ।

Sunday, August 12, 2012

युवाहरु भन्छन् ः ‘सरकारी निकायले वास्ता गरेनन्’

दिपक बुढा
सुर्खेत, २८ साउन ।
सुर्खेतका युवाहरुले जिल्लाका सरकारी निकायहरुले युवाहरुलाई वास्ता नगरेको गुनासो गरेका छन् । नेपालको जनसंख्याको आधा जनसंख्या ओगटेका युवा बर्गलाई सरकारी निकायले नै वास्ता नगरेकोमा युवाहरुले दुःख व्यक्त गरेका हुन् ।
१३ औं विश्व युवा दिवसको अवसरमा ‘सुन्दर विश्वनिर्माणका लागि युवासंग सकार्य गरौ’ं भन्ने मूलनाराका साथ सुरक्षित समाज र सेभ द चिल्ड्रेनको सहयोगमा निभा अभियान सुर्खेत र फ्रेन्स क्लव सुर्खेतको आयोजनामा भएको युवाको सवालमा सरकारी निकायको चासो विषयक अन्तरक्रिया कार्यक्रममा युवाहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा आयोजकले सबैजसो सरकारी कार्यालयलाई खबर गरेपनि जिल्ला बिकास समिति, जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रतिनीधि बाहेक अरु कुनै कार्यालयका प्रतिनिधिहरुको सहभागिता नहरेको बताएको छ । सहभागि भएकाहरु निर्धारित समय भन्दा ढिलो आएको बताइएको छ । कार्यक्रममा युवाहरुको समेत कम उपस्थित थियो । कार्यक्रम १२ बजेको लागि तय गरिएको भएपनि एक बजे पछि मात्रै सुरु भएको हो ।
सोही अन्तरक्रियामा बोल्दै जिल्ला बिकास कार्यालय सुर्खेतका योजना तथा अनुगमन अधिकृत कृष्ण खरेलले अघिल्ला आर्थिक बर्षहरुमा युवाहरुका लागि बजेट तथा कार्यक्रमहरु आएको भएपनि यो आर्थिक बर्षमा भने युवाका लागि भनेर छुट्टै कार्यक्रमहरु नआएको बताए । उनले छुट्टै कार्यक्रमहरु नआए पनि युवाहरुलाई सहयोग पुग्ने किसिमका कार्यक्रमहरु भने अन्य कार्यक्रमसंग जोडिएर आएको बताएका छन् ।
खरेलले अन्य कार्यालयले जे गरे पनि जिल्ला बिकास समितिले युवाहरुलाई प्राथमिकतामा राखेको भन्दै युवा नै चलाखभएर जिल्ला परिषद्बाट युवाहरुलाई युवाको बजेट छुट्याउन सुझाब दिए । उनले राजनीतिकदलहरु जस्तै युवाले पनि आफ्नो लागि परिषदबाटै बजेट छुट्याएपछि जिविसले कार्यान्वयनमा ल्याउने बताए ।
साथै जिल्ला प्रहरी कार्यालयका सहायक प्रहरी निरिक्षक देवेन्द्रकुमार मल्लले जिल्ला प्रहरी कार्यालयले विभिन्न दुव्र्यसनमा लागेका युवाहरुलाई सजक बनाउने प्रयास गरेको बताएका छन् । लागु औषधमा लागेका युवालाई नियन्त्रण गर्ने प्रयास गरेको उनले बताएका छन् ।
उनले यो खाना खाए जस्तो लुकि छिपि गरिने कार्य भएकोले यस्तो दुव्र्यसनिबाट युवालाई मुक्त गर्न चुनौति भएको बताए । कार्यक्रममा बोल्ने अन्य अधिकांश युवा तथा युवासंग सम्बन्धित संघ–संस्थाका प्रतिनिधिहरुले युवालाई सरकारी तवरबाट पछि पारिएको बताए छन् ।
अन्तरक्रियामा बोल्दै सुरक्षित समाज सुर्खेतका कार्यक्रम संयोजक रत्ना वि.क.ले बिकास निर्माणमा युवाहरुलाई साझेदार बनाउनुपर्ने भन्दै युवाको विषयमा सरकारी निकायको भूमिका महत्वपूर्ण हुने बताइन् ।
त्यस्तै युवा शसक्तिकरण मञ्च सुर्खेतका अध्यक्ष शिव संगीतले युवाहरुले योजना बनाएका कार्यक्रमहरु जिल्ला बिकास समितिले प्रस्तावनै पारित नगरेको बताए । कार्यक्रम युवा सशक्तिकरण मञ्च, शान्तिका लागि युवा सञ्जाल, जागरण एफएम, सुर्खेत, स्वास्थ्य अधिकार तथा सुर्ती निवारण जिल्ला युवा सञ्जालको समन्वयमा सम्पन्न गरिएको हो । कार्यक्रम सुरु हुनु अघि ग्लोबल पिस एशोसियशन नेपाल, ग्लोवलपिस युथकोर, युवा रेडक्रस सर्कल बहुमुखि क्यापस वीरेन्द्रनगर र क्याम्पस (शिक्षा) को आयेजनामा वीरेन्द्रनगरको मंगलगढी चौकबाट ¥यालीनिकालि बजार परिक्रम गरी कार्यक्रम स्थल पुगेका थिए । कार्यक्रममा करिब ६० जना युवाको सहभागिता रहेको थियो ।

दुर्जम जिल्लामा नून र चामल अभाव

दिपक बुढा
र्सुखेत, २८ साउन ।
ढिके नुनको प्रयोग गर्न बाध्य मध्य तथा सुदूरपश्चिमका जिल्लाका बासिन्दा अलिनो खान बाध्य भएका छन् । हिमाली र पहाडी जिल्लाका दुर्गम क्षेत्रका बासिन्दा स्थानीय बजारमा ढिकेनुनको अभाव भएपछि यस्तो समस्यामा परेका हुन् ।  सडकले नछोएका यहाँका पहाडी तथा हिमाली जिल्लाका दुर्गम गाविसमा नुन र चामलदेखि साबुन र तेलसम्मका दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ । सर्वसाधारणले सरकारी सहुलियतको नुन र चामल त परको कुरा, व्यापारीले लैजाने सामान पनि पाउन छाडेका छन् ।
सडक यातायातले छोएका जिल्लाका दुर्गम क्षेत्रमा वर्षाका कारण सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तुको अभाव भएको छ भने हवाई यातायात पुगेका जिल्लामा भने जति दैनिक उपभोग्य वस्तु नपुग्दा समस्या भएको छ । हवाई मार्गबाट पुगेको नुन, तेल, खाद्यान्न सदरमुकाम र आसपासका हुनेखानेहरुले पहिले नै लगिसक्छन, दुर्गममा भने सधैँ अभाव भइरहन्छ ।
निजी विमान कम्पनीले काग्रो भाडा वृद्धिसँगै नियमित रुपमा दैनिक उपभोग्य वस्तुको ढुवानी प्रभावकारी बनाउन नसक्दा उपभोग्य वस्तुको अभाव हुनाका साथै मूल्य अकासिएको जुम्लाका व्यापारी भूपेन्द्र लामा बताए । उनका अनुसार १२० मा पनि एक किलो चिनी आउन छाडेको छ भने त्यति नै पैसा तिर्न तयार हुँदा पनि आधा लिटर खानेतेल पाइँदैन । यसैगरी, चिउरा, मैदा, चाउचाउ पनि पाउन छाडिएको छ ।
ढुवानी नहुँदा सरकारले कर्णालीका मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालीकोट जिल्लामा वितरण गर्ने गरेको सहुलियतको आयोडिन नुन पनि सधैँ अपुग हुँदै आएको छ । ढुवानी समस्याकै कारण सुदूरपश्चिमको बझाङ, बाजुरा, बैतडी लगायतका जिल्ला पनि नुन र खाद्यान्न सङ्कटमा छन । नुन र चामल ढुवानीको जिम्मा पाएका साल्ट ट्रेडिङ कर्पाेरेसन र खाद्य संस्थानका क्षेत्रीय कार्यालयको सेवा निष्प्रभावी हुँदा स्थानीयवासी एक किलो नुन र चामलका लागि दुई दिनसम्म सरमुकाममा भौँतारिन बाध्य छन् । जाजरकोटको दुर्गम गाविस बारेकोटका स्थानीय व्यापारी झगुवीर रोकाय भन्छन– ‘दुई÷तीन दिन हिँडेर खोज्दा बरु भनेजति सुन पाइन्छ, नुन पाइँदैन ।’
सहुलियतको नुनसँगै चामल पनि नपाएपछि जाजरकोटका बारेकोट, दह, पैक, अर्छानी, नायकबाडा, रग्दा, भगवती, रोकायगाउँ र लह मुगुका भिइफोतु, नार्थपु, जिमा, रारा, कालै, धैनकोट, खमाले, सेरी, गम्था, श्रीकोट, कोटडाँडा र ह्याङ्लु गाविस तथा अन्य जिल्लाका दुर्गम गाविस भोकमरीको खतरामा रहेका छन् । यी गाविसका धेरै घरपरिवारले नुनको अभाव झेलेको पाँच महिना हुन लागिसक्यो ।
त्यसैगरी डोल्पाका याला भन्ज्याङ, चिडी, कराङ, मुरसिंगाउँ, बिजोरगाउँ, सिमेनगाउँ, पत्रासी, बझाङका धुली, काँगरकोट, साइपा, गारफ, हलचौर, छुरपानी डोटीका खप्तड, दौडा, भल्मा तथा डडेल्धुराका बाजिमारा, दिव्यापुर, बाजिमारा लगायतका दुर्गम क्षेत्र पनि नुन, चामल, तेल लगायतका दैनिक उपभोग्य वस्तुको चपेटामा परेका छन् । यहाँका नागरिक पनि आधा वर्षदेखि अलिनो तरकारी खान बाध्य छन् ।
जनताले यस्तो समस्या खेपिरहनुपरे पनि सम्बन्धित निकायका कर्मचारी भने आ–आफ्नै तर्क गरेर जागिर पकाइरहेका छन । साल्ट ट्रेडिङ कार्यालय, नेपालगन्जका एक कर्मचारी नाम नबताउने सर्तमा ढुवानी समस्याले भन्दा पनि जिल्लामा हुने राजनीतिका कारण नुन, चामल लगायत दैनिक उपभोग्य वस्तुको अभाव भएको बताउँछन् । उनका अनुसार, पहाडी जिल्लाका सदरमुकाममा रहेका डिपोमा पु¥याइएको नुन स्थानीय नेता, कर्मचारी र उनीहरुका आफन्तले दुरुपयोग गर्ने गरेका छन् । उनी भन्छन –‘कतिपय जिल्लामा सहुलियतको नुन बजारमा बिक्रि गर्ने गरिएको  छ ।’
केही वर्षअघिसम्म मध्य र सुदूरपश्चिमको पहाडमा व्यापारीले तिब्बतबाट भेडाच्याङ्ग्रामार्फत बोकाएर ल्याएको नुन स्थानीय उपजसँग साटासाट गर्थे तर, अहिले तिब्बती नुन व्यापारीलाई निरुत्साहन गरिएको अवस्थामा वर्षासँगै कर्णाली राजमार्ग अवरुद्ध भएपछि नेपालगन्ज र सुर्खेतबाट हुने ढुवानी पनि पटक–पटक अवरुद्ध हुँदै आएको छ । साल्ट ट्रेडिङ कर्पाेरेसन मुगुका अनुसार ढुवानी ठप्प भएको छ, त्यो नुन र चामल कहिले पुग्ने हो, थाहा छैन ।
ती जिल्लाका लागि साल्ट ट्रेडिङ कर्पाेरेसन र नेपाल खाद्य संस्थानले विभिन्न परिमाणमा कोटा तोकेका  छन् तर गत वर्षायामसँगै सडक अवरुद्ध भएपछि साल्ट ट्रेडिङ र खाद्य संस्थानले ढुवानीलाई व्यवस्थापन गर्न नसक्दा मध्य तथा सुदूरपश्चिमका दुर्गम गाविसमा नुन, चामल लगायत दैनिक उपभोग्य सामानको चर्काे अभाव सिर्जना भएको छ । यस विषयमा जानकारी लिन खोज्दा साल्ट ट्रेडिङ र खाद्य संस्थान अञ्चल कार्यालयका प्रमुख सम्पर्कमा आउन चाहँदैनन ।
नुनका लागि तीन दिन पैदल हिँडेर सदरमुकाम पुग्नुभएका जाजरकोट अर्छानी गाविसका लालबहादुर बुढा भने– ‘आयोडिनयुक्त नुनको कुरा छाड्नुस, ढिके नुन नपाएको पनि महिनाँै भइसक्यो ।’ बुढाका अनुसार, साल्ट टे«डिङले सदरमुकामबाहेक जाजरकोटका अन्य गाविसमा व्यवस्थित रुपमा डिपो सञ्चालन गर्न नसकेकाले अर्छानी लगायतका दुर्गम गाविसमा अहिले ढिके नुनसमेत पाइन छाडेको छ ।

२५ प्रतिशत युवा रोजगारी खोज्दै भारत

दीपक बुढा÷सुर्खेत, २८ साउन । सुर्खेतका २५ प्रतिशत युवा रोजगारी खोज्दै भारतर्फ जाने गरेका छन् । बढ्दो बेरोजगारीसँगै युवा पलायनको क्रम पनि पछिल्लो समयमा अत्यधिक बढेको छ । भारतबाट मात्रै सुर्खेतमा वार्र्षिक एक करोडभन्दा बढी रेमिटयान्स भित्रिने गरेको तथ्यांक छ । हरेक वर्ष सुर्खेतबाट मात्रै २५ प्रतिशत युवा रोजगारीका लागि भारत जाने गरेका छन् । विशेषगरी १२ वर्षदेखि ४० वर्षसम्मका युवा भारत जानेगरेका छन भने ६५ वर्षसम्मका व्यक्ति पनि कामका लागि भारतमा आश्रित रहेको यसैक्षेत्रसँग कार्यरत विभिन्न संघरसंस्थाले बताएका छन् ।
जिल्लाका अधिकांशको आयआर्जनको मुख्य स्रोत नै रेमिटयान्स बनेको छ । जिल्लाका करिब ३० प्रतिशत घरपरिवारले भारतबाट भित्रिने रेमिटयान्सले नै जीविकोपार्जन गर्दै आएका छन् । उनीहरुले वर्षमा दुईपटक भारतमा गएर पैसा कमाउने र त्यसैले घर खर्च चलाउने गरेका छन् । सुरक्ष्ाित रेमिटयान्स तथा सुदृढ जीविकोपार्जन परियोजना सञ्चालन गरिरहेको वातावारण सुधार समाजका अनुसार जिल्लाको बाबियाचौर, कुनाथरी, राकम, मेहेली, मालारानी लगायतका गाविसबाट अधिकांश युवा भारत गएका छन् ।
उच्च शिक्षा हासिल गरे पनि स्वदेशमा रोजगारी नपाएपछि युवाहरु बिदेसिने गरेको सुरक्षित रेमिटयान्स तथा सुदृढ जीविकोपार्र्जन परियोजनाका कार्यक्रम संयोजक जगत केसीले बताए । विशेषगरी सुर्खेत पश्चिम क्षेत्रका युवाहरु बिदेसिने गरेका छन् । तीमध्ये ८२ प्रतिशत व्यक्ति हरेक वर्ष घरर्खच चलाउनकै लागि भारत जाने गरेको केसी बताउँछन् ।
परम्परागत खेतीले वर्षभरि खानसमेत नपुग्ने भएपछि घरखर्च चलाउन भारतकै भर पर्नुपर्ने उनले बताए । भारत जानेमध्ये ७ प्रतिशत महिला रहेको समेत उनले जानकारी दिए । विशेषगरी ग्रामीण क्षेत्रमा व्याप्त गरिबी, असमानताले गर्दा पनि युवा बिदेसिने क्रम बढेको छ ।

Wednesday, August 8, 2012

लाटीकोइली नमूना बनाउन सुझाव

दिपक बुढा
सुर्खेत, २४ साउन ।
लाटीकोइली गाउँ विकास समितिलाई जिल्लाकै नमूना बनाउन एक कार्यक्रमका सहभागिहरुले सुझाव दिएका छन् । साधन, स्रोत र जिल्लाको पहुँचमा रहेको गाविस भएकाले यसलाई नमूना बनाउन सबै पक्षले सहयोग गर्नुपर्ने बताईएको छ । लाटीकोइली गाविसद्धारा आयोजित गत आर्थिक बर्षको बार्षिक प्रगति समिक्षा एवंम् सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागिहरुले उक्त सुझाव दिएका हुन् ।
जिल्लाकै महत्वपूर्ण पर्यटकिय क्षेत्रहरु लाटीकोइली गाविस भित्रै पर्ने भएकाले त्यसको संरक्षण, प्रचार प्रसारका साथै गाविसको दिर्घकालिन तथा अल्पकालिन नीति, कार्यक्रम तयार गरी गाविसलाई नमूना बनाउन सुझाव दिईएको हो ।
सोही अवसरमा बोल्दै निवर्तमान गाविस अध्यक्ष अमृत वि.सी.ले गाविस भित्र योजना बनाउँदा, विकास निर्माण गर्दा सबै राजनीतिक दल, नागरिक समाज, लक्षित वर्गसंग छलफल, समन्वय गरी निर्माण र कार्यान्वयन गर्नुपर्ने बताए । उनले भने ‘नगरउन्मुख गाविस भएकाले गाविस सचिवको अगुवाईमा स्थानीयबासीन्दा, राजनीतिक दल, नागरिक समाजको सहयोगमा नमूना गाविस निर्माण गर्नुपर्छ ।’
गाउँ विकास समितिलाई अनिवार्य तथा निःशुल्क शिक्षा प्रदायक घोषणा गरिएको भएपनि गाउँ विकास समितिले प्रोत्साहनमुलक कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव दिईएको थियो । उपभोक्ता समिति गठन गर्दा सार्वजनिक रुपमा सूचना जारी गर्नुपर्ने, प्रत्येक आयोजनाको छुट्टा छुट्टै सार्वजनिक लेखापरिक्षण गर्नुपर्ने, विकास निर्माणको प्राथमिकता निर्धारण गर्नुपर्ने, काँक्रेविहार संरक्षित वनको संरक्षणका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव दिईएको थियो ।
त्यसैगरी लक्षित वर्ग कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने, गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्न परिचय पत्र वितरणमा कडाई गर्नुपर्ने, कर्मचारी नियुक्ति गर्दा सार्वजनिक सूचना जारी गर्नुपर्ने लगायतका सुझावहरु दिईएको थियो ।
सोही अवसरमा गाविस सचिव एवंम् शाखा अधिकृत नवराज थापाले गत आर्थिक बर्षमा गाविसको कुल ६७ लाख ९४ हजार ६ सय १२ रुपैयाँ बरावरको आय—व्यय विवरण, विकास निर्माण आयोजना, खर्च विवरण, प्रगति विवरण प्रस्तुत गरेका थिए । अनुदान, स्थानीय राजश्व, थप अनुदान, बाह्य संघ संस्थाबाट प्राप्त अनुदान कार्यक्रमका बारेमा जानकारी गराईएको थियो ।
एक घर एक चर्पी निर्माण अभियानका लागि क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय, झुप्रा बृहद खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले शौचालयको पिन खरिद गर्न दिएको सहयोग र गाविसको रकममा डुव्लिकेशन भएको सहभागिले गुनासो गरेका थिए । त्यसैगरी बाटो ग्राभिलमा वितरण गरिएको रकममा उपभोक्ता समितिहरुले काम सम्पन्न नगरी अनियमितता गरेकाले लक्ष्य अनुसार काम सम्पन्न गर्नुपर्ने सुझाव दिएका थिए ।
तीनकुने—भेरीपुल सडक निर्माण गर्न गठन गरिएको उपभोक्ता समिति गाविस सचिवले कसैसंग समन्वय नगरी आफुखुसी गरेको सहभागिको आक्रोश थियो । त्यसैगरी आर्थिक बर्ष २०६६÷०६७ मा कोपिला मावि पर्सेनीलाई उच्च मावि स्थापना गर्न दिईएको ३ लाख ३६ हजार रकममा प्रधानाध्यापकले अनियमितता गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागिले बताएका थिए ।
गाविस सचिव नवराज थापाको सभापतित्व एवंम् जिल्ला विकास समितिका प्रतिनीधि श्यामदास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निवर्तमान गाविस अध्यक्ष अमृत वि.सी., जनसेवा उच्च मावि घुस्राका विव्यस अध्यक्ष गणेश वली, एकीकृत नेकपा माओवादीका तारा आचार्य, नेपाली काँग्रेसका प्रेमबहादुर शाही, नेकपा एमालेका नन्दलाल शर्मा सहितका व्यक्तिहरुले आ—आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजिकरण पत्रकार दिपक बुढाले गरेका थिए ।

प्रध्यानाध्यापकको तलब बर्षमा २८ हजार

खेमराज वली
सुर्खेत,२४ साउन ।
विकासका दृष्टिले होस या अन्य कुनै सेवा सुविधाका दृष्टिले हो सुर्खेतको पश्चिम क्षेत्र पछाडि परेको गुनासो छ पश्चिमा सुर्खेतका जनताहरुको । पश्चिम क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सञ्चार लगायतका सबै विकासका पूर्वाधारका क्षेत्रमा अभावै अभाव छ ।
यस्तै समस्यासंगै अगाडि बढेको छ सुर्खेत हरिहरपूर १ काफगैराको भैरब प्राथमिक विद्यालय । बिक्रम सम्बत् २०५७ मा स्थापना भएको यस विद्यालयमा हालसम्ममा पनि दरबन्दिवाला शिक्षक छैनन् । नत विद्यालयको भौतिक अवस्था नै सुधार भएको छ नत शिक्षकको दरबन्दिनै छ । बिचका बिचका  बिभिन्न समयमा बन्द समेत हुँदै आएको उक्त विद्यालयका प्रध्यानाध्यापक राजकुमार भण्डारी पिसिएफको तलव खाएर विद्यालयमा काम गरिरहेको बताउँछन् ।
आफु मात्रै विद्यालयको शिक्षक भएको र आफुले एक बर्षको तलब २८ हजार छ सय लिएको बताए । उनले गत बर्षको मंसिरदेखि विद्यालयमा अध्यापन गरेको उक्त रकम लिएका हुन् । विद्यालयका परिचर दुर्गा भण्डारीको तलब  भने बर्षमा ४२ हजार एक सय ११ रहेको उनले बताए ।
विद्यालयमा सबै अभाव भएको भन्दै उनले अभावकै कारण विद्यालय सञ्चालन गर्न नसकेर बिचबिचमा बन्द हुनुका साथै शिक्षक फेरिरहने बताए । भण्डारिले भने ‘न त अध्यापनबाट आएको तलबले नै केही गर्न सकिन्छ यसरी बिद्यालयमै समय दिन सक्दिन म पनि अब यसको विकल्प खाज्दै छु’ यस भन्दा अघि २०६८ मा निर्मला भारतीले विद्यालयमा अध्यापन गर्न छोडेपछि भण्डारीले विद्यालयमा अध्यापन गर्दै आएका छन् ।
विद्यार्थी बसेर सहज तरिकाले पढ्नका लागि गतिलो भवन थिएन् तर गत आर्थिक बर्षमा मात्रै गाविसको ८० हजार सहयोगमा दुई कोठे भवन निर्माण गरिएको छ । विद्यालयका प्रशासनिक कामहरु सञ्चालन गर्नका लागि कुनै निश्चित स्थान समेत छैन् । विद्यालय सञ्चालनका लागि आवश्यक कागजातहरु समेत एउटा बाकसमा राखेर विद्यार्थी पढ्ने कोठामै राख्ने गरिएको बताइएको छ ।
शिक्षक भण्डारीले भने ‘विद्यालयको कार्यालय समेत बाकसमै छ, नयाँ बनाएको भवनमा विद्यार्थी बस्छन त्यही कोठाको एकातर्फ विद्यालय प्रशासकिय कार्यका लागि आवश्यक कागजात भएको बाकस राखिएको छ ।’
विद्यालयलाई हाल भने बर्दिया राष्ट्रिय निकुञ्ज मध्यबर्ती क्षेत्रले १५ हजार सहयोग गरेको छ । यही रकमले अहिले भने एउटा दराज र चार वटा रवटका कुर्ची किनिएको छ । यी सामानहरु पनि राख्ने उचित ठाउँ नभएको शिक्षक राजकुमारले बताएका छन् । नयाँ बनाएको भवनको पनि रकम अभावका कारण झ्याल, ढोका बनाउन नसकेको बिद्यालयले बताएको छ ।
यस्ता समस्या सुर्खेतका हरिहरपूरमा मात्रै नभई कुनाथरीका बिभिन्न विद्यालयमा पनि देखिएको छ । कुनाथरीको भट्टेघारीको बिद्यालय, कुनाथरी—९ कै कुमीकोटमा रहेको निमाविमा पनि यस्तै समस्या छन् । यस्तै बिभिन्न समस्या परेकोले पश्चिम क्षेत्रका केही बिद्यालयले भने आफै आर्थिक स्रोत जुटाउने प्रयास पनि गरेका छन् ।
उक्त तीन कक्षा सम्म पढाई हुने विद्यालयमा हाल ३० जना बिद्यार्थी भएको र परिचर र आफुले पढाइरहेको भण्डारीले बताएका छन् । ‘यो बिद्यालय बन्द भए पछि यहाँका बिद्यार्थीहरुलाई अझै समस्या हुन्छ यहाँबाट नजिकैको बिद्यालय जानका लागि करिब साढे एक घण्टा लाग्छ ।’ उनले भने ‘बिद्यार्थीलाई नजिकैको बसन्त प्राथमिक बिद्यालयमा जान पनि बिचमा खोलाहरु पर्छन् बाटो पनि निकै अप्ठेरो छ ।’
यता जिल्ला शिक्षा कार्यालय सुर्खेतले भने यस्ता विद्यालयहरु जिल्लामा दर्जनौको संख्यामा रहेकोले बिद्यालय भएकै समुदायले बिद्यालयलाई सहयोग गर्नुपर्ने बताएको छ । जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले समुदायलेनै बिद्यालय सञ्चालन गर्छु भन्ने प्रतिबद्धता गरेर निवेदन दिएपछि अनुमति दिईने र पछि समस्या आउने गरेको बताएका छन् । पिसिएफको रुपमा दिइने रकम हाल घटेर १९ हजारमा आएको छ ।

विद्यालयको सरसफाई अवस्था चिन्ताजनक

दिपक बुढा
सुर्खेत, असार ।
सरकारी विद्यालयहरुमा शिक्षक र विद्यार्थीले प्रयोग गर्ने छुट्टा छट्टै शौचालय हुने गरेका छन् । शिक्षक स्टाफले प्रयोग गर्ने शौचालयमा ताला लगाईएको हुन्छ भने विद्यार्थीले प्रयोग गर्ने शौचालयको अवस्था चिन्ताजनक हुनेगरेका छन् । विद्यार्थीले प्रयोग गर्ने शौचालय प्रदुषित हुने गरेको जनाईएको छ ।
यस अघि विद्यालयमा स्वास्थ्य, सरसफाईको अवस्थाको अनुगमन गरिएको थियो । क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतको अगुवाईमा जिल्लाका विभिन्न विद्यालयको स्थलगत अनुगमन गरिएको हो । अनुगमनका क्रममा विद्यार्थीले प्रयोग गर्ने शौचालयको अवस्था चिन्ताजनक रहेको कार्यालयले जनाएको छ ।
मेहलकुना, मैनतडा, साटाखानी, लाटीकोइली र उत्तरगंगा गाविसका विभिन्न विद्यालयमा पुगि सर्वपक्षिय टोलीले विद्यालयको सरसफाई अवस्थाका बारेमा अनुगमन सहित अध्ययन गरेको थियो । अनुगमनका क्रममा विद्यालयका शौचालय प्रदुर्षित, प्रयोग विहिन, जिर्ण रहेको जनाईएको छ ।
‘विद्यार्थी अनुपातमा शौचालय छैनन् । भएका शौचालय पनि प्रयोग भएका छैनन् । मर्मत सम्भारको अभाव छ ।’ क्षेत्रीय अनुगमन कार्यालय प्रमुख सुरेश महाजुले भने ‘विद्यार्थीको अगुवाईमा पूर्ण सरसफाई कार्यक्रमको प्रभावकारीताको अध्ययन गर्न स्थलगत अवलोकन गरिएको थियो ।’
शिक्षकले प्रयोग गर्ने शौचालय फरक हुने गरेको हुँदा शिक्षकको शौचालय मात्रै नियमित प्रयोग भएका तर अन्य शौचालयको अवस्था भने चिन्ताजनक रहेको जनाईएको छ । जिल्ला शिक्षा, जिल्ला विकास समिति, सम्बन्धित गाउँ विकास समिति, विभिन्न गैरसरकारी संघ संस्था, पत्रकारको संयुक्त सहभागितामा अनुगमन गरिएको थियो ।
गाविसको खुल्ला दिसामुक्त घोषणालाई सहयोग पु¥याउन विद्यार्थीहरुको महत्वपूर्ण भूमिका हुने भएकाले सबैले विद्यार्थी परिचालन आवश्यक रहेको बताएका छन् । दुई सय सामुदायिक विद्यालय शौचालय बिहीन सरकारले विद्यालयमा शौचालय निर्माणको लागि वर्षेनी ठूलो रकम खर्च गरे पनि सुर्खेतका थुप्रै विद्यालयहरु शौचालयविहीन अवस्थामा रहेका तथ्यांक सार्वजनिक भएको छ । जिल्लाका करिब दुई सय सामुदायिक विद्यालयहरु अहिले पनि शौचालयबिहीन रहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वाटर एडको तथ्यांकमा उल्लेख छ ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा सुर्खेतले प्रस्तुत गरेको तथ्याङ्कमा उक्त कुरा उल्लेख गरिएको छ । तथ्यांकअनुसार सुर्खेतका पाँच सय २२ सामुदायिक विद्यालयहरुमध्ये तीन सय ३० मा मात्र शौचालय सुविधा रहेको छ भने बाँकी स्कुलका विद्यार्थी र शिक्षकहरु अहिले पनि खुला दिशापिशाव गर्नेगरेका छन् ।
शौचालय भएका विद्यालयहरुमध्ये छात्राशुलभ शौचालयको संख्या अत्यन्त कम छ । जिल्लाभरका विद्यालयहरुमा दुई सय ५१ वटा यस्ता शौचालय छन् । समग्रमा एक शौचालय बराबर एक सय २६ विद्यार्थीको अनुपात रहेको जनाइएको छ । सबै विद्यालयमा शौचालय त निर्माण भएका छैनन् । निर्माण भएका शौचालय पनि  दुर्गन्धीत हुने गरेका छन् । विद्यालयका शौचालयहरु दुर्गन्धित हुँदा विद्यालयको शैक्षिक गुणस्तरमा समेत असर पर्ने भएकाले जिल्ला व्यापी रुपमा विद्यालय सरसफाई अभियान चलाउनुपर्ने उपभोक्ता महासंघका केन्द्रीय सदस्य एवंम जिल्ला अध्यक्ष कुलमणि देवकोटाले बताए ।
शौचालय नभएको ठाउँमा शौचालय निर्माण गर्नुपर्ने, शौचालय भएको ठाउँमा प्रयोग गर्ने पानीको व्यवस्था गर्नुपर्ने, बालिकाहरुका लागि महिनावारी हुँदा प्रयोग गर्ने प्याडको व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।
नेपाल शिक्षक युनियन सुर्खेतका अध्यक्ष धनसिंह खड्काले विद्यालयमा शौचालय निर्माण गर्दा आङ्गता मैत्री पूर्वाधार निर्माण गर्नुपर्ने बताए । ‘विद्यालयमा शौचालय सफा गर्ने छुट्टै कर्मचारी छैन् । कार्यालय सहयोगीले मात्रै सबै काम गर्न भ्याउँदैन, त्यसैले सरकारलेनै छुट्टै कर्मचारीको व्यवस्था गर्नुपर्छ’–अध्यक्ष खड्काको भनाई थियो ।
उपभोक्ता महासंघका जिल्ला अध्यक्ष देवकोटा तथ्यांकमा उल्लेख भएझैं सुर्खेतका विद्यालयहरुमा शौचालय र सरसफाईको अवस्था अत्यन्त नाजुक रहेको बताए । ‘विद्यालयमा स्वास्थ्य र सरसफाईको अवस्था राम्रो बनाउन सबै निकायबीच समन्वय हुनुपर्छ,’ उनको भनाई छ ।
जिल्ला शिक्षा कार्यालयका उपसचिव भक्तबहादुर खड्का भने शौचालय निर्माणको लागि सरकारी कोषबाट वर्षेनी ठूलो रकम गए पनि त्यसको उपयोगिता राम्रो नदेखिएको बताए । उनका अनुसार दुई वर्षयतामात्र जिशिकाबाट शौचालय निर्माणको लागि ६ करोड ४६ लाख रुपैयाँ निकासा विद्यालयमा गएको छ । यसबाट एक सय २७ वटा छात्रासुलभ र एक सय ९६ सामान्य शौचालय बनेका उनको भनाई छ । ‘शौचालय त बनेकै छन्, तर तिनको प्रयोग राम्रोसँग भएको छैन,’–उनले भने ।

अनुगमनपछि बरामद अखाद्य बस्तुको नष्ट

दिपक बुढा
सुर्खेत, २३ साउन ।
अनुगमन टोलीले निरिक्षण गर्दा जफत गरेका अखाद्य बस्तुहरु नस्ट गरिएको छ । विभिन्न तीन चरणमा निरिक्षण गर्दा जिल्लाका विभिन्न स्थानबाट जफत गरिएको करिब एक लाख मूल्य  बराबरका सामानहरु जलाएर नष्ट गरिएको हो । 
प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कँुवरको रोहोबरमा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले आगो लगाएर सामानहरुको नष्ट गरिएको हो । निरिक्षणका क्रममा अनुगमन टोलीले साउन २२ गते सोमबार राम जानकी सहकारी नेवारेबाट म्याद नाघेका ९ किलो चियापत्ती, ग्लुकोज २१ किलोग्राम र किरा परेको ९० किलोग्राम चामल बरामद गरेको थियो । सोमबारनै नम्रता पसल नेवारेबाट सोयाबोडि, जानकी खाद्य तथा किराना पसल नेवारेबाटै २१ प्याकेट म्याद नाघेका चकलेट, माछा ६ पाकेट, चाउचाउ एक पेटि नियन्त्रण गरेको थियो ।
त्यस्तै पंङ्गेनी किराना पसल कालिङचोकबाट अरहर दाल ३६ किलो ढुसि लागेको, केराउ गेडा आधा किलो किरा परेको, सुस्मिता कोल्ड सेन्टर कालिङ्चोकबाट म्याद नाघेको तीन पाकेट, आचार्य पसल धमलाचौकबाट एक पोका चाउमिन, ८ पोक दालमोट, एक पोका म्याद नाघेको खुर्सानी, राजु कोल्ड जनरल स्टोर्स धमलाचौकबाट म्याद नाघेका पाँच पाकेट माछा, तीन पोका बिस्कुट र १० किलोग्राम मोटरको दाल बरामद गरेको हो ।  
अनुगमन टोलीले असार १२ गते, साउन ८ गते र २२ गते निरिक्षणका क्रममा उक्त सामानहरु बरामद गरि जिल्ला प्रशासन कार्यालयमा राखेको थियो । अनुगमन टोलीले असार १२ गते केशव जनरल स्टोर हटियालाईनबाट ३२ बोत्तल म्याद नाघेका स्क्वास, दैलेखी स्टोर्स हटियालाईनबाट म्याद नाघेका बिस्कुट १२ दर्जन, दालमोट १ सय १७ पोका, आम रसिला ३० पोका, बेसार १० पोका, चकलेट १० र बेसन ४ पोका बरामद गरेको थियो ।
असार १२ मै टोलीले निरक जनरल स्टोर्स उत्तरगंगाबाट बिस्कुट खुला ४ बोरा, बनस्पति घ्यू १३ पोका नियन्त्रण गरेको थियो । त्यस्तै साउन ८ गते दुर्गा खाद्य स्टोर्स गोदामलाईन, सन्तोष जनरलस्टोर्स हटियालाइन, शिवशक्ति जनरलस्टोर्स गोदामलाईनबाट म्याद नाघेका भुजा २६ पोका, एम.एस.जी २० पोका, आम मसा ३७ पोका, चकलेट १४, काजु २१ पोका, एम.एस.जी ९२ पोका, चकलेट पाँच, दालमोट एक पोका बरामद गरेको थियो ।
उक्त सामानहरुलाई नष्ट गर्दै सहायक प्रमुख जिल्ला अधिकारी शर्माले पहिलोपटक निरिक्षण गर्दा सामानहरु बरामद गरी नष्ट गरिने र अर्काे पटक पनि त्यही पसलमा म्यान नाघेका वा अखाद्य बस्तु फेला परेमा कार्बाही गरिने बताएका छन् । त्यस्तै खाद्य निरिक्षक भेषबहादुर थापाले सामानहरु बरामद गर्दा पनि ब्यापारीहरुलाई केहीहद सम्मको सजाए भएको बताए । कार्यक्रममा प्रहरी निरिक्षक ऋषि ढुङ्गाना, राष्ट्रिय उपभोक्ता अधिकार मञ्चका अध्यक्ष आकाशतारा वयक तथा विभिन्न सञ्चार माध्यमका पत्रकारहरुको सहभागिता रहेको थियो ।

मजदुरहरु सामूहिक एमालेमा प्रवेश

दिपक बुढा
सुर्खेत, २४ साउन ।
वीरेन्द्रनगर—६ बजार क्षेत्रमा मजदुरी गरी जिविकोपार्जन गर्दै आईरहेका मजदुरहरुको एक समूह मंगलबार एक कार्यक्रमवीच नेकपा एमालेमा प्रवेश गरेको छ । स्वतन्त्र रुपमा स्थापना भएको स्वतन्त्र मजदुर संघमा आवद्ध मजदुरहरु एक कार्यक्रमवीच एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमाले केन्द्रीय सदस्य एवंम् नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय अध्यक्ष जितु गौतम (दर्जी) ले नेकपा एमाले नवप्रवेशि मजदुरहरुलाई अविर लगाई स्वागत गरेका थिए ।
आयोजित कार्यक्रममा बोल्दै मुक्ति समाजका केन्द्रिय अध्यक्ष गौतमले एकीकृत नेकपा माओवादीका कारण नयाँ संविधान निर्माण हुन नसकेको बताए । उनले भने ‘अबको विकल्प भनेको संसद र स्थानीय निकायको निर्वाचन हो । संविधान सभा पुर्नस्थापना वा संविधान सभाको पुनः निर्वाचन हुनै सक्दैन ।’
संविधान सभामार्फत प्राप्त उपलब्धीहरुलाई रक्षा गर्दै संसदिय निर्वाचन मार्फत बन्ने संसदलेनै संविधान जारी गर्ने गरी संसदको निर्वाचन आवश्यक रहेको उनले बताए । जनताको बहुदलिय जनवाद मार्फत सम्पूर्ण पेसा, व्यवसायमा आवद्ध, मजदुर, किसान, सुकुम्बासीको भनाई हुने उनको दावि थियो ।
आयोजित कार्यक्रममा बोल्दै मुक्ति समाजका केन्द्रिय महासचिव गणेश वि.क. ले एकीकृत नेकपा माओवादी नेतृत्वका सरकारले तत्काल राजीनामा दिए मात्रै देशले निकास पाउने बताए । उनले भने ‘देशमा संवैधानिक संकटको जड माओवादी हो । सडक आन्दोलन मार्फत यो सरकारको घुडा टेकाउनुपर्छ ।’
नेकपा एमालेले समेत सरकारको राजिनामा माग गर्दै विभिन्न भातृ संगठन मार्फत आन्दोलनलाई तिव्रता दिएको जानकारी दिए । पार्टी प्रवेश कार्यक्रममा बोल्दै स्वतन्त्र मजदुर संघ वीरेन्द्रनगरका अध्यक्ष मानबहादुर वि.क.ले विगतमा विभिन्न राजनीतिक दलहरुले झुक्काएपनि अब भने कसैबाट नझुक्किने बताए । उनले भने ‘पटक पटकको छलफल पछि संगठनमा आवद्ध सबै साथीहरु सामूहिक रुपमा नेकपा एमालेमा प्रवेश गर्ने निर्णयमा पुगेका छौं ।’
नेकपा एमालेको मजदुर संगठन जिफ्न्ट सुर्खेतका संयोजक डम्मर तिवारीको सभापतित्वमा सम्पन्न पार्टीमा नव प्रवेशिलाई स्वागत कार्यक्रममा एमाले प्रतिनिधी परिषद सदस्य वालाराम शर्मा, बालकृष्ण विसी, सुर्खेतका उपाध्यक्ष शिवप्रसाद उपाध्याय, पार्टी सचिव गगनसिंह सुनार, राजु गुईदेल सहितले आ—आफ्नो भनाई राखेका थिए । पार्टी प्रवेशीहरुलाई स्वागत कार्यक्रम नेकपा एमाले वीरेन्द्रनगर ६ को सक्रियतामा गरिएको हो ।