Sunday, March 3, 2013

भवनको अभाव हुँदा, जिविसलाई सास्ती अरुलाई मस्ती
दीपक बुढा
सुर्खेत, २० फागुन ।
जनसम्पर्कको सबै भन्दाबढी चाप हुने कार्यालय मध्यको जिल्ला विकास समिति पनि एक हो । दैनिक सयौंको संख्यामा सर्वसाधारणहरु विकास निर्माणदेखि घटना दर्ता सम्मका कार्य गर्न जिल्ला विकास समिति पुग्ने गरेका छन् ।
जिल्ला विकास समितिको हालको भवनमा कोठा अभाव हुँदा सेवाग्राहीलाई सास्ती भईरहेको छ । कर्मचारीहरु पनि एउटै कोठामा तीन÷चार जना बस्न बाध्य भएका छन् । एकातिर जिविसलाई भवनको अभाव खड्की रहेको छ भने अर्को तर्फ जिविसका भवनहरुमा सरकारी र गैरसकारी संस्थाले मस्ति गरिरहेका छन् । 
जिल्ला विकास समितिको ६ वटा भवन कब्जामा लिएर क्षेत्रीय प्रहरी कार्यालय, क्षेत्रीय प्रशासन कार्यालय, बागिना समूह सुर्खेत र नगर प्रहरीले मस्ति गरिरहेका छन् । जिविसको भवन प्रयोग गर्ने दुई कार्यालय सरकारको सुरक्षा निकाय हुन भने एउटा कलाकारहरुको संस्था हो ।