आचार संहिताको उलंघन गर्दै स्वास्थ्य शिविर
सुर्खेत, ३ असोज ।
नेपाली काँग्रेसको सुवेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघले निर्वाचन आचारसंहितको उलंघन गर्दै निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दैछ । निर्वाचनको मुखमा कुनै लक्षित कार्यक्रम संचालन गर्न नपाईने प्राव्धान रहेपनि स्वास्थ्यकर्मी संघले स्वास्थ्य शिविर संचालनको अन्तिम तयारीमा जुटेको छ ।
असोज ४ र ५ गते नेटा गाउँ विकास समितिको चारकुने उच्च माविमा निःशुल्क स्वास्थ्य शिरिव संचालनको अन्तिम तयारीमा जुटेको छ । स्वास्थ्य शिविरका लागि स्थानीय सम्पूर्ण व्यवस्थापन पुरा गरी शिविरका लागि विशेषज्ञ सहितको स्वास्थ्यकर्मीको टोली दशरमुकामदेखि कार्यक्रम स्थल तर्फ प्रस्थान गरेका छन् ।
संविधानसभा निर्वाचनको आचार संहिताले साउन ७ गते देखि सबै राजनीतिक दल, नागरिक समाज, संघ संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, संचार माध्यमलाई समेत धेरै कुरामा नियन्त्रण गरेको छ ।
संविधान सभा सदस्य निर्वाचन आचार संहित २०७० को परिच्छेद ४ अनुसार राजनीतिक दलका पदाधिकारी र सदस्य वा कुनै पनि उम्मेदवारबाट कुनै नयाँ योजनाको शिलान्यास वा उद्घाटन गराउने र अन्य यस्तैकाम गराउनु हुँदैन ।
आफ्नो नामबाट कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचार–प्रसार गर्नु वा गराउनु हुँदैन, आफ्नो संस्थाको कुनै पनि श्रोत, साधन कुनै राजनीतिक दल वा उम्मेदवारको प्रचार–प्रसारको लागि उपलव्ध गराउनु हुँदैन ।





