बाँचेर फर्केका नेपालीको पीडा
“सयौं मरेका थिए, हामी लासमा टेक्दै आयौं”
रासस
सुर्खेत, १२ असार ।
रातको करिब ९ बजेको थियो । चार पाँच जना युवा वीरेन्द्रनगर—६ मङगलगढी नजिकै रहेको तृप्ति मेडिकल हलको अगाडि सडकपेटीमा भेटिएका थिए । हतास मानसिकता जस्तो देखिने उनीहरु केही पीडित भएजस्तो लाग्थ्यो । उनीहरुको अनुहारमा निरासाका धर्साहरु प्रष्टै देख्न सकिन्थ्यो ।
भारतको बद्रीनाथ, केदारनाथको बाढीबाट बचेर आएका उनीहरुले बल्लबल्ल बाँचेर यहाँ आएको बताए । अहिले पनि आतङकित जस्तो देखिने ती युवा भारतको केदारनाथमा आएको बाढीबाट बचेर आएका कालीकोटका सुरेन्द्र शाही, मानबहादुर शाही, गोगनबहादुर शाही, दोर्जे रोकाय, नन्दाराम शाही, वीरबहादुर शाही र रामबहादुर बिष्ट रहेका छन् ।
उनीहरु सबै सुर्खेत आएपछि मात्रै भेट भएका हुन् । केदारनाथमा आएको बाढीबाट बचेर उनीहरु सात दिनपछि आ—आफ्नै ढङगले सुर्खेत आइपुगेका हुन् । शरीरमा रहेका एक जोर कपडाबाहेक केही पनि नभएका उनीहरुले आफूहरुलाई बाँच्छौं भन्ने विश्वास नलागेको बताए ।
आफ्नै आँखा अगाडि सयौं मान्छे मरिरहेको देखेका उनीहरुले आफूसँगै गएका साथीभाइ र आफ्नै गाउँलेलाई पनि उतै गुमाएर आएका हुन् । ‘हामीलाई बाँच्ने आशा थिएन’ कालीकोट मान्मा—८ ताडीका सुरेन्द्र शाहीले भने ‘सयौ“ मान्छेहरु उर्लिएको भेलमा बगिरहेका थिए । बगरिहेका तिनै लासहरु नाघ्दै आयौं ।’
उनले थपे ‘मृत नेपालीका हातमा भएका औंठीसमेत चोरहरुले लगे ।’ शाहीले आफूहरु जस्तै सयौं नेपालीले उद्धारको लागि अनुरोध गर्दा भारतीय प्रहरीले नेपालीलाई पछाडि फाल्दै भारतीयलाई मात्रै हेलिकोप्टरमा हालेको दुःखेसो पोखे । अर्का पीडित गोगन शाहीले आफूहरुसँगै रहेका ४० र ५० जना नेपालीको लासमाथि टेक्दै आएको भन्दै धेरै नेपालीले उद्धार नपाउँदा ज्यान गुमाउनु परेको बताए ।
बाढी आउँदाको क्षण सम्झिँदै उनले भने, “हामी काम गर्नका लागि वैशाख १३ गते घरबाट हिँडेर त्यहाँ १८ गते पुगेका थियौं । असार २ गते बिहान ठूलो पानी परिरहेको थियो । म बिरामी भएकाले कोठामै सुतिरहेको थिएँ । अरु साथीहरु सबै काममा जान सुरु गरेका थिए । अरु सबै जङगलतिर भागेछन् । म आफू भएको घरबाट सकिनसकि अर्काे घरमा हामफालेँ । एकै छिनमा सारा मान्छे बगे । बजार सबै बग्यो । मैले हेर्दाहेर्दै १२ जना नेपालीलाई एकैचोटी बाढीले लग्यो ।
उनले थपे “त्यहाँ हामीसँगै काम गर्ने गाउँकै घोरा सिंह पनि थिए । केदारनाथको एउटा मन्दिर र दुईवटा होटल बाहेक सबै बाढीले बगायो । त्यही मन्दिर र होटलमा भएका मान्छे मात्रै बाँचेका थिए ।” सुर्खेत आइपुगेका उनीहरुले आफूहरुसँग भएको एक दुई सय रुपैयाँ, मोबाइल, कपडा पनि त्यहाँका स्थानीय र प्रहरीले लुटेको गुनासो गरे । घर फर्कने क्रममा पैसा नहुँदा खानासमेत नखाएको उनीहरुको भनाइ छ ।
‘लुट्नेहरु कति त नेपाली नै थिए’ कालीकोटकै नन्दराम शाहीले भने । ‘कति नेपाली उद्धार नपाएर मरे, बाँचेकालाई त्यहाँका गुण्डाहरुले मारे, धन्न हामी बाँचेर आयौं ।’ उनले बाटोमा त्यहाँका गुण्डाहरुले नेपालीलाई कुटेर रगताम्य बनाएको देखेपछि आफूहरु भागेर आएको बताए । सुर्खेत आइपुगेका उनीहरु पनि सामान्य घाइते भएका छन् । उनीहरु भाग्ने क्रममा घाइते भएका हुन् । असार ३ गते त्यहाँबाट हिँडेका उनीहरु पहिलो दिन सोनप्रयाग, दोस्रो दिन फाटा, तेस्रो दिन कर्णप्रयाग, चौंथो दिन हलदवानी, पाँचौ दिन महेन्द्रनगर हुँदै सातांै दिनमा सुर्खेत आइपुगेका हुन् ।
कोही महेन्द्रनगरबाट कोहलपुर भएर आएका हुन् भने कोही महेन्द्रनगरबाट एकै दिनमा सुर्खेत आइपुगेका हुन् । त्यहाँ तीर्थयात्रीलाई बोकेर मन्दिरसम्म पु¥याउने काम गर्ने धेरै नेपालीको मृत्यु भएकोे उनीहरुको भनाइ छ । अहिले त्यहाँ रहेका कतिपय नेपाली घर आइपुगे पनि अझ कतिपय बेपत्ता छन् । सुर्खेत आइपुगेका उनीहरुसँग घर जाने भाडासमेत नभएपछि सुर्खेतमा रहेका आफन्तको घरमा बस्न बाध्य भएका छन् ।
No comments:
Post a Comment