एमाले र काँग्रेसको उम्मेदवारी सिफारिस
सुर्खेत, १५ भदौं ।
२०७० मंसिर ४ मा निर्धारित दोस्रो संबिधानसभाको निर्वाचनका लागि सुर्खेतका प्रमुख राजनीतिक दलहरु उमेदवार छनौटको अन्तिम चरणमा पुगेका छन् । नेकपा एमालेका तीन वटै क्षेत्रीय कमिटीले संभावित उम्मेदवारको नाम छनौट गरी जिल्ला कमिटिलाई सिफारिस गरेका छन् ।
संविधान सभाको निर्वाचनका लागि जिल्ला–जिल्लाबाट उम्मेदवारको नाम चयन गरी पठाउन थालिएको छ । पार्टी केन्द्रीय कमिटिले गरेको निर्देशन अनुसार भद्रौं २० गतेसम्म एमाले र काँग्रेस पार्टीले समानुपातिक र प्रत्यक्षतर्फ चुनावी प्रतिष्पर्धा गर्ने सम्भावित उम्मेदवारको नाम पठाइसक्नुपर्नेछ ।
नेकपा एमाले क्षेत्रीय कमिटीहरुले प्रत्येक निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फ एक महिला सहित तीन जना र समानुपातिका दुई जना उम्मेदवारको नाम जिल्ला कमिटीलाई सिफारिस गर्ने प्राव्धान रहेको छ । त्यसैगरी नेपाली काँग्रेसले क्षेत्रीय अधिवेशनबाटै प्रत्यक्षतर्फ ३ जना र समानुपातिकमा ५ जनाको उम्मेदवारको नाम चयन गरिएको कुरा पार्टी सचिव श्यामकुमार भारतीले बताएका छन् ।
यता चुनावी प्रतिष्पर्धामा रहेको नेकपा एमालेले क्षेत्र नं. १ बाट युवा नेताहरु धु्रव शाही, डण्डीप्रसाद शर्मा र तुल्सी शर्मा तीन जनाको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ पहिलो संविधान सभाकी सदस्य कमला शर्मा र हस्तबहादुर पुनलाई सिफारिस गरेको छ । १ नं. को उम्मेद्वार चयन गर्दा निर्वाचन प्रक्रियाबाट भएको एमाले स्रोतले जनाएको छ । शाही र शर्मा नेकपा एमाले सचिवालय सदस्य हुन । डण्डीप्रसाद शर्मा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय निवर्तमान सचिव समेत हुन । टिकटका लागि दुवै जनाले ठुलै शक्ति केन्द्रको आसिर्वाद पाउनुपर्ने देखिन्छ ।

