Tuesday, July 24, 2012

घडी नचल्ने सुर्खेतको घण्टाघर

खेमराज वली

सुर्खेत, ९ साउन ।
वीरेन्द्रनगरको बीचमा अर्थात खुला मञ्चको  आगनमै अझ भन्ने हो भने जिल्ला विकास समिति र नगरपालिकाको नाक नजिकै रहेको सर्खेतको घण्टाघरमा रहेका घडीहरुले पछिल्लो समयमा कहिल्यै सहि समय दिएका छैनन् ।
आज भोलीका दिनहरुमा घण्टा घरका चार वटै घडीहरुमा फरक–फरक बजिरहेको छ । हाल यहाँका  उत्तरमा रहेको घडीमा १२ बजेर ५६ मिनेट, दक्षिणको घडीमा ९ बजेर ३१ मिनेट, पूर्वको घडीमा ११ बजेर चार मिनेट र पश्चिमको घडीमा २ बजेर २५ मिनेट गएको अवस्थामा सधै स्थिर रहेका छन् । साथै घण्टा घरमा घडी विग्रिए पछि आलाराम पनि बज्न छाडेको छ ।  बाटोमा हिंड्ने सर्बसाधारणलाई सजिलो होस भनेर बिक्रम सम्बत २०४५ सालमा चीन सरकारद्धारा निर्माण गरिएको  घण्टाघरका चार दिशातर्फ राखिएका चारवटा घडीहरुले कहिल्यै सहि समय नदिदा सर्वसाधारणहरुले थप अन्यौलता खेप्नु परेको छ । कतिपय बाहिरबाट आउने मानिसहरुलाई यी घडीहरुले झुक्याएर समयको बर्बाद बनाएको समेत गुनासो सर्वसाधारणहरुको छ । सर्वसाधारणहरुलाई झुक्याउने भएकोले यी घडीलाई ठिक नबनाएसम्ममा घरमा नराख्न समेत उनिहरुले सुझाव दिएका छन् । 

मुख्य प्राकृतिक तथा सांस्कृतिक आकर्षणका लागि स्थापना भएको पश्चिम नेपालको एकमात्र घण्टाघर वीरेन्द्रनगरको गौरवपूर्ण सम्पदाको रहेपनि पछिल्लो समयमा त्यस क्षेत्रबाट आवातजावत गर्नेहरु समय हेर्नेवित्तिकै अनुहार खुम्च्याउदै अगाडि बढ्छन् । 
सौर्य शक्तिबाट सञ्चालन हुनेगरी घरमा राखिएका घडीले नत सहि समय दिन्छन् न त यो घरले उचित मर्मत सम्भार पाईरहन्छ । यसले केवल चर्काे घाम र नजिकैबाट हिड्ने मानिसहरुको तिरस्कार मात्र पाईरहेको छ । 
विभिन्न समयमा जिल्लामा सञ्चालन हुने मेला, महोत्वसवमा आएका हास्यव्यङ्य कलाकारहरुका समेत घण्टा घर व्यङग्य गर्ने आधार भएका छन् । कलाकारहरुले लोडसेडिङ्को प्रभाव त होइन यो भन्ने प्रश्न समेत गर्छन । लोडसेडिङ नहुने भए यो समस्या आउने थिएन होला । 
हाल घरको बाहिर आवरणमा समेत भेरेका गोला रहेका छन् भने घरको दक्षिणको भागको दोस्रो तलाको सिसा समेत फुटेको छ । घर  बाहिरबाट राम्रो देखिएपनि भित्र सोचेजस्तो नभएको घुम्न आउनेहरुले बताएका छन् । पार्कमा हाल कजेट सञ्चालन भई पार्कको वरिपरि भने सुधार गरिएको छ । यस्तै अवस्थामा घर विग्रीदै गएमा केही समयमै भग्नावस्यसमा परिणत हुने स्थानीयहरुको अनुमान छ । 
सिमेन्ट र फलामे छडहरुको सहायताबाट निर्मीत पश्चिम नेपालकै सबै भन्दा अग्लो टावरको रुपमा निनिने उक्त घण्टाघर मेला पर्वका समयमा भने मर्र्मत गर्ने गरिएको छ । घरको पार्कलाई केही हदसम्ममा सुधारिएपनि घण्टा घरको अवस्था भने उस्तै रहेको छ । २०६८ सालमा जिल्लामा सञ्चान भएको क्षेत्रीय महोत्सवमा घरको मर्मत गरिएको थियो । घण्टा घर वरिपरिका विभिन्न फुटपाथे ढेला घुम्टी व्यापारीहरुलाई नगरपालिकाले हटाए पनि हाल सम्ममा पनि यस्ता फुतपाथहरु पनि सञ्चालन भईरहेका छन् । 
यता नगरपालिकाले घण्टा घर पार्क चिन्तामणि शर्मालाई जिम्मा दिएको बताएको छ । सबै जिम्मा शर्मालाई नै दिइएको नगरपालिकाले काम नगरेको नगरपालिकाका प्रशासकिय अधिकृत प्रकाश पौडेलले बताए । पौडेलले घण्टा घरका लागि नगरपालिकाको त्यस्तो केही कार्यक्रम नभएको समेत बताए ।  
पार्कमा कटेज सञ्चालक गरेका शर्माले सोलरबाट घडीहरु सञ्चालनमा ल्याइएको भन्दै हाल सोलरले काम नगरेकोले समस्या आएको बताएका छन् । उनले सोलारले काम नगरेपछि आफुहरुले बत्तिबाट पनि घडी चलाउने प्रयास गरेको भएपनि बत्तिको चार्ज पनि बढी आउने भएकोले अझ समस्या आएको बताए । बत्तिको चार्ज बढि आए पनि लोडसेडिङ्ले गर्दा त्यो पनि असम्भव भएको शर्माले बताए । उनले जेनेरेटरको प्रयोगबाट भएपनि घडीलाई सञ्चालनमा ल्याउने भन्दै नगरपालिकासंग छलफल गरेर अगाडि बढ्ने बताए । शर्माले २०६७ साल असोज बाट पार्कको जिम्मा लगेका हुन् । उनले नगरपालिकालाई बार्षिक रुपमा ५० हजार भाडा तिर्दै आएका छन् । 

Saturday, July 21, 2012

निःशुल्क शिक्षा घोषणापछि वेवास्ता

दिपक बुढा
सुर्खेत, ६ साउन ।
जिल्लाका निःशुल्क तथा अनिवार्य शिक्षा प्रदायक घोषणा गर्न सरकारी निकायबाट प्रोत्साहन गरेपनि कार्यान्वयनमा भने वेवास्ता हुने गरेको बताईएको छ । घोषणा भएका गाउँ शिक्षा समितिहरुले कार्यान्वयन चुनौतिपूर्ण भएको बताएका छन् । जिल्ला शिक्षा कार्यालयले घोषित गाउँ शिक्षा समितिमा विशेष कार्यक्रम लागु गर्नुको साटो नयाँ गाविसमा घोषणा गर्न तर्फ मात्रै केन्द्रीत भएको बताईएको छ ।
शनिबार वीरेन्द्रनगरमा सम्पन्न निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा प्रदायक घोषणा गरेका गाविसको अवस्था विश्लेषण विषय अन्तरक्रिया कार्यक्रममा सहभागि घोषित गाउँ शिक्षा समितिले उक्त गुनासो गरेका हुन् ।
नेपालकै पहिलो घोषित गर्पन गाउँ शिक्षा समितिका प्रतिनीधि दण्ड वि.क.ले घोषणा कार्यान्वयन गर्न विद्यालयहरुलाई आर्थिक चुनौति परेको बताए । उनले भने ‘गाविस भित्रका सबै बालबालिका विद्यालयमा आएका छन् तर उनीहरुलाई टिकाई राख्न र विद्यालयको आर्थिक स्रोत जुटाउन समस्या भएको छ ।’ उनले भने ‘सरकारी नियकाले पनि हामीलाई कुनै प्रोत्साहन गरेन सबैलाई एउटै व्यवहार ग¥यो ।’
२०६५ साउन ३१ गते उक्त गाविसलाई निःशुल्क तथा अनिवार्य शिक्षा प्रदायक गाविसको रुपमा घोषणा गरिएको थियो । घोषणा कार्यान्वयन गर्न बनाईएको जोड कोषमा हाल पाँच लाख रकम जम्मा भएको जनाईएको छ ।
२०६७ सालमा निःशुल्क तथा अनिवार्य शिक्षा प्रदायक घोषणा भएको कुनाथरी गाउँ शिक्षा समितिले भने आफ्नो गाविसका विद्यालयहरुको आर्थिक स्रोतको बैकल्पिक उपाय खोजिएको जनाईएको छ । गाउँ शिक्षा समितिका सदस्य–सचिव एवंम् जनज्योति उच्च मावि बड्डीचौरका प्राचार्य नारायण सिग्देलले गाउँ शिक्षा समितिको कोषमा रहेको रकमबाट प्रत्येक विद्यालयलाई व्याजमा ऋण प्रदान गरी विद्यालयलाई आत्मनिर्भर बनाउने कार्य थालिएको बताए ।
कुनाथरी गाविसमा रहेका सबैजसो विद्यालयहरुले आर्थिक स्रोत जुटाउन व्यवसायीक रुपमा तरकारी खेती, बाख्रापालन, खरायोपालन, कम्प्यूटर शिक्षा, कुरिलो खेती, माछापालन सहितको व्यवसायीक कार्यको थालनि गरिएको छ । जनज्योति उच्च माविले माछापालन, तरकारीखेती, विद्यार्थीको पिसाव संकलन, कपुरखेती, कम्प्यूटर तालिम संचालन गरेको प्राचार्य सिग्देलले जानकारी दिए ।
कुनाथरी निबासी दुई सय ९६ जना व्यक्तिहरु विदेशका विभिन्न ठाउँमा पेशाव्यवसाय संचालन गरि बसेको हुँदा उनीहरुको रेमिटान्स भित्र्याउँदै विद्यालयको आम्दानीको स्रोत बनाउन आईएमई संचालन गर्ने तयारीमा रहेको उनले बताए ।
यस अघि जिल्लाका गर्पन, दशरथपूर, मालारानी, कुनाथरी, नेटा, रामघाट, लाटिकोईली, वावियाचौर र कल्याण सहितका ९ वटा गाउँ शिक्षा समितिले गाविसमा निःशुल्क तथा अनिवार्य शिक्षा लागु भइसकेको छ । चालु आर्थिक बर्षमा जिल्ला शिक्षा कार्यालय सुर्खेतले थप १४ वटा गाविसहरुलाई निःशुल्क शिक्षा प्रदायक गाविस बनाउने तयारी गरिएको बताएको छ ।
हाल सम्ममा जिल्लाका नौ गाविसमात्रै निःशुल्क शिक्षा प्रदायक गाविस भएका छन् । यस वर्ष १४ गाविस थपिए पछि निःशुल्क शिक्षा प्रदायक गाविसको संख्या जिल्लामा २३ पुग्ने छ । चालु आर्थिक वर्षमा गर्नुपर्ने कार्यक्रम भएपनि चालु आर्थिक बर्षको अन्त्यमा मात्रै परिपत्र आएको शिक्षा कार्यालयले बताएको छ ।
शिक्षा कार्यालयले यस वर्षमा घाटगाउँ, पोखरीकाँडा, तातापानी, उत्तरङ्गा, रतु, मैनतडा, मेहलकुना, धारापनी, लेखफर्सा, काप्रीचौर र डाँडाखाली लगायतका गाविसहरुलाई निःशुल्क शिक्षा प्रदायक गाविस बनाउने तयारी गरेको जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्याले बताए ।

साक्षरता अभियानमा सचिवको अनियमितता

दिपक बुढा
सुर्खेत, ६ असार ।
गत आर्थिक बर्ष ०६८÷०६९ को राष्ट्रिय साक्षरता अभियानको रकममा बेतानका गाविस सचिव नरबहादुर शाहीले अनियमितता गरेको वेतान गाविसका स्थानीयले आरोप लगायका छन् । वेतान गाविसमा सञ्चालन भएको साक्षरता अभियान कार्यक्रममा सचिव नरबहादुर शाहीले विभिन्न शीर्षकका लागि आएको रकम समेत खर्च नगरि अनियमितता गरेको आरोप लगाईएको हो ।
पहिलो चरणमा संचालित कक्षामा गाविस सचिवले ६ वटा कक्षाका लागि पुस्तक लगेपनि दोस्रो र तेस्रो चरणको साक्षरता कक्षाको कक्षानै संचालन नगरेको स्थानीयले बताएका छन् । उनले दोस्रो र तेस्रो चरणको सबै कक्षा संचालन नगरेको बताईएको छ । ‘पाठ्यपुस्तक समेत लिएनन भने सहजकर्ता र निरिक्षकले समेत आफ्नो जिम्मेवारी अनुसार काम गरेनन’–एक स्थानीयबासीन्दाले बताए ।
प्रत्येक चरणमा न्यूनमत ६ वटा कक्षा संचालन गर्नुपर्ने थियो । एउटा कक्षामा तीस जना विद्यार्थी उपस्थित हुने र उनीहरुका लागि पाठ्यपुस्तक, कापि, कलम खरिद गर्न गाउँ विकास समितिलाई जिल्ला शिक्षा कार्यालय सुर्खेतले भूक्तानी दिएको थियो । तीन पटकमा गरी मसलन्द ४० हजार पाँच सय, पाठ्यपुस्तकमा २९ हजार एक सय ६०, अनुगमनमा ७ हजार चार सय, सहजकर्ता प्रोत्साहन सहित लाखौं रकम गाविस खातामा पठाईएको भएपनि धेरै क्रियाकलाप संचालन नगरेरै रकम खर्च गरिएको जनाईएको छ ।
गाविस सचिव नरबहादुर शाहीले भने पहिलो पटक मात्रै पाठ्यपुस्तक खरिद गरेको तर अन्य दुई चरणमा भने पाठ्यपुस्तकनै खरिद नगरेको स्वीकारेका छन् । साक्षरता कक्षाका लागि गाविसमा आएको रकमका बारेमा थाहा नभएको बताउँदै आफुले अनियमतिता नगरेको दावि गरेका छन् । साक्षरता अभियानमा केही खर्च नभएको रकम भने जिल्ला शिक्षा कार्यालयलाई नै फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन् ।
जिल्ला शिक्षा कार्यालय सुर्खेतले भने साक्षरता अभियान सञ्चालन भएका सबै गाविसहरुमा आआफ्नै खातामा रकम जम्मा गरिदिएको बताएको छ । वेतानमा पनि कार्यालयले गाविसकै खाता नम्बर २.१÷८८ मा रकम जम्मा गरेको बताएको छ । शिक्षा कार्यालयले गाविसमा सञ्चालित साक्षरता अभियानका लागि तेस्रो किस्ता असार ११ गते खातामा राखिएको बताएको छ । तेस्रो किस्तामा प्रोत्साहन भत्ता पहिलो चरणको ३६ हजार जम्मा गरिएको शिक्षा कार्यालयले जानकारी गराएको छ ।
वेतानमा साक्षरता अभियान का लागि ६ कोटा परेको थियो । शिक्षा कार्यालयमा उक्त गाविसमा सञ्चालित साक्षरतामा अभियानमा १८० जना सहभागिता रहेको तथ्याङ्कमा छ । स्थानीयहरुले भने गाविसमा पाठ्य पुस्तक समेत नबाँडिएको बताएका छन् ।
जिल्लाका साक्षरता प्रतिशत कम भएका विभिन्न २४ गाविसमा साक्षरता अभियान सञ्चालन भएको छ । जिल्लाका वेतान घाटगाउँ, कुनाथरी, रतु, रानिबास, गुठु, साटाखनी, सालकोट, दहचौच, मटेला, वावियाचौर, काफलकोट, गर्पन, लेखपराजुल, सहारे, अवलचिङ्ग, मेहलकुना, मैनतडा, वीरेन्द्रनगर, छिन्चु, विद्यापूर, काप्रीचौर, गढी र मालारानीमा कार्यक्रम सञ्चालन गरिएको हो ।
जिल्लामा जम्मा एक सय १३ कोटा आएकोमा सबै भन्दा वढी मालारानीमा सात वटा कोटा परेको थियो भने सबै भन्दा कम घाटगाउँ र कुनाथरीमा एक एक कोटा परेको थियो । जिल्ला भरी सञ्चालन भएको कार्यक्रममा जम्मा तीन हजार तीन सय ९० जनाको सहभागिता रहेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । कार्यक्रमका लागि जम्मा छ लाख ७८ हजार रकम उपलब्ध गराईएको जिल्ला शिक्षाले जनाएको छ ।

माओवादी पार्टी कार्यालयमा बोर्ड फालाफाल

दिपक बुढा
सुर्खेत, ६ साउन ।
सुर्खेतका दुई माओवादीले पार्टी कार्यालयमा झुन्ड्याईएको बोर्ड फालाफाल गरेका छन् । एकीकृत नेकपा माओवादी रहेको भवनमा शनिबार नेकपा–माओवादीले आफ्नो जिल्ला कार्यसमितिको बोर्ड भुन्ड्याएको थियो ।
नेकपा–माओवादी जिल्ला संगठन समिति सुर्खेतको पार्र्टी कार्यालय बोर्ड एनेकपा माओवादीका कार्यकर्ताहरुले फालिदिएका छन् । जिल्ला कार्यालय उद्घाटन गरेको दुई घण्टा नवित्दै एनेकपा माओवादीका कार्यकर्ताहरुले बोर्ड तोडफोड गरी फालेका हुन् ।

पार्टी विभाजन हुनुपूर्व बनाईएको पाँच कोठे पार्टी कार्यालय भवनमा एनेकपा माओवादी जिल्ला कार्यसमितिको कार्यालय संचालनमा रहेको थियो । पार्टी भवन निर्माणमा सबैको बराबर लगानी भएको भन्दै नेकपा–माओवादीले शनिबार सोही भवनमा आफ्नो बोर्ड झुण्ड्याएका थिए ।
बोर्ड फालेपछि आक्रोशित बनेका नेकपा–माओवादीका कार्यकर्ताहरुले पुन एनेकपा माओवादी र अखिल नेपाल शिक्षक संगठनको बोर्ड फालिदिएका छन् । नेकपा–माओवादी नेता इश्वरभक्त सुनारको नेतृत्वमा गएका कार्यकर्ताहरुले अर्को पक्षको बोर्ड फालेका हुन् ।
नेकपा–माओवादी भेरी–कर्णाली राज्य समिति सह–सेक्रेटरी कृष्ण धमला ‘गम्भीर’, जिल्ला इन्चार्ज मंगल विश्वकर्मा नेतृत्वमा कार्यकर्ता सहित पार्टी कार्यालय उद्दघाटन गर्दै बोर्ड राखिएको थियो ।
पार्टी कार्यालय बोर्ड राख्नेक्रममा एनेकपा माओवादीका कार्यकर्ता र नेकपा–माओवादीका कार्यकर्ताहरुवीच सामान्य झड्प भएको थियो । त्यसक्रममा केही बेर पार्टी कार्यालय तनावपूर्ण स्थिति रहेको थियो । नेकपा–माओवादीले पार्टी कार्यालयको बोर्ड, भण्डा राखि पत्रकार सम्मेलन गरेका थिए । कार्यालयमा रहेका पाँच वटा कोठा मध्य दुई वटा आफ्नो र अन्य तीन वटा एनेकपा माओवादी पक्षको हुने भन्दै च्यानल गेटमा दुवैपक्षको ताला लगाईएको थियो ।
पार्टी कार्यालय स्थापना भएको घोषणापछि बैद्य पक्षिय नेता तथा कार्यकर्ताहरु फर्किएका थिए । दुई घण्टा नवित्दै एनेकपा माओवादी नेता प्रताप पौडेलको नेतृत्वमा आएका युवाहरुले बैद्य पक्षिय पार्टी बोर्ड निकालि तोडफोड गरी फालिएको हो ।
पार्टी कार्यालय स्थापनाका क्रममा बोल्दै जिल्ला इन्चार्ज मंगल विश्वकर्माले सहमतिका लागि पटक पटक आग्रह गर्दा पनि एनेकपा माओवादी पक्षिय जिल्ला नेतृत्वबाट वेवास्ता भएको बताए ।
उनले भने ‘हामी शान्तिपूर्ण तरिकाले सहमतिको पहल गरेका छौं तर पनि अर्को पक्ष छलफलमा बस्न तयार भएन’ उनले भने–‘पार्टी कार्यालय भएको भवन निर्माणमा संसद विकास कोषबाट मैले पनि ६ लाख सहयोग गरेको छु सबैको बराबर लगानी छ । हामीले पनि केही भाग पाउनुपर्छ ।’
पार्र्टी कार्यालयनै कव्जा गर्न सकिने भएपनि हार्दिकताका साथ संयमित भवनको आधा हिस्सामा मात्रै दावि गरेको उनले बताए । सोही अवसरमा बोल्दै भेरी–कर्णाली राज्य समितिका सह–सेक्रेटरी कृष्ण धमला ‘गम्भीर’ ले राष्ट्रियता खतरामा रहेकाले राष्ट्रिय स्वाधिन्ताका लागि लड्नुपर्ने आवश्यकता रहको बताए ।
विपा सम्झौता, माथिल्लो कर्णाली आयोजना राष्ट्रिय हित विपरित भएकाले त्यसलाई रोक्न पार्टी पंक्ति सक्रिय रहेको जानकारी दिए । उनले भने ‘साउन १५ गते पछि देशव्यापी रुपमा संगठन सुदृढिकरण, पार्टी गठन, पुर्नगठनको प्रक्रिया सुरु हुन्छ’ उनले भने ‘सरकारलाई ४० बुँद्धे माग पत्र पेश गर्ने तयारीमा छौं । राष्ट्रियताको विषयमा सरकार गम्भीर नभए पुनः जनसत्ता विउतनेछ ।’ राष्ट्रियता खतरामा रहेकाले राष्ट्रिय स्वाधिनताको लडाई लड्न आवश्यकता रहेको उनले बताए ।

Friday, July 20, 2012

द्घन्द्घ प्रभावितलाई ४ करोड २६ लाख राहत वितरण

सुर्खेत, ४ साउन ।
सशस्त्र द्धन्द्धका प्रभावित व्यक्ति तथा परिवारलाई गत आर्थिक बर्षमा चार करोड २६ लाख १७ हजार राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्याल, जिल्ला विकास समिति मार्फत उक्त रकम वितरण गरिएको हो ।
स्थानीय शान्ति समिति सुर्खेतले विहिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी आर्थिक बर्ष २०६८÷०६९ मा वितरण गरिएको राहतका बारेमा जानकारी गराएको थियो । द्धन्द्धका क्रममा ज्यान गुमाएका दुई सय एक जनाको परिवारलाई ३ करोड ६७ लाख ५० हजार, बेपत्ता ११ जनाको परिवारलाई प्रति परिवार दुई लाखका दरले २२ लाख, घाईते ४७ जनाको परिवारलाई २४ लाख ७० हजार रकम राहत स्वरुप वितरण गरिएको जनाईएको छ ।
त्यसैगरी अपहरण पीडित ३१ जनालाई २५ हजारका दरले ७ लाख ७५ हजार, बेपत्ता पत्नि दुई जनालाई ५० हजार, द्धन्द्धका क्रममा अपांगता भएका १५ जना व्यक्तिलाई जिवन निर्वाह भत्ता वापत ३ लाख ७२ हजार रकम वितरण गरिएको स्थानीय शान्ति समिति सुर्खेतका संयोजक मोहन थापाले जानकारी दिए ।
स्थानीय शान्ति समितिको सिफारिसमा द्धन्द्धप्रभावित लगत संकलन कार्यदलको छनोटमा परेका द्धन्द्धप्रभावित व्यक्ति र उनको परिवारलाई राहत प्रदान गरिएको हो । सुर्खेत स्थायी घर भएका द्धन्द्धका क्रममा सुरक्षाकर्मी, सर्वसाधारण सहित तीन सय एक जनाले ज्यान गुमाएका थिए ।
२६ जना प्रहरी, १४ जना सशस्त्र प्रहरी, ३९ जना नेपाली सेना र अन्य २०४ जना सर्वसाधारण सहित तीन सय एक जनाले ज्यान गुमाएको शान्ति समिति सुर्खेतले तथ्याङ्क दिएको छ । लाटीकोइली गाविसका सबैभन्दाबढी १७ जनाले ज्यान गुमाएको जनाईएको छ ।
त्यसैगरी दशरथुपरमा १६ जना, छिन्चुमा १६ जना, रामघाटमा १५ जना, वीरेन्द्रनगरमा १५ जनाले ज्यान गुमाएका थिए भने आग्रीगाउँ, गर्पन, घोरेटा, धारापानी, बजेडिचौर, रतु र राकम गाविसबाट द्धन्द्धका क्रममा कसैले ज्यान नगुमाएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
द्धन्द्धका क्रममा ज्यान गुमाएका दुई सय ७८ जनाको परिवारलाई विभिन्न चरणमा राहत वितरण गरिएको छ भने पटक पटक जानकारी गराउँदा पनि १८ जनाको परिवार राहत लिन सम्पर्कमा नआएको जनाईएको छ ।
सुर्खेतमा बेपत्ता भएका १३ जना मध्य ११ जनाको परिवारलाई समेत राहत प्रदान गरिएको जनाईएको छ । घाईते ६६जना मध्य ४७ जनाले राहत पाएका छन् । अपहरणमा परेका ४२ मध्य ३१ जनाले राहत पाएका छन् । द्धन्द्धका क्रममा क्षतिग्रत भएका भौतिक संरचनाहरुको पुनर्निमाण कार्य जारी रहेको छ । शान्ति तथा पुनर्निमाण मन्त्रालयको सहयोगमा जिल्ला प्राविधिक कार्यालय, सडक डिभिजन कार्यालय र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले भौतिक संरचना निर्माणको काम गरिरहेका छन् ।
समुदाय तथा ठेकेदारसंगको साझेदारीमा २०६५ सालदेखि २०६८ सम्म निर्माण प्रारम्भ भएका आयोजनाले अँझै सम्म पूर्णता पाउन सकेका छैनन् । स्थानीय शान्ति समिति सुर्खेतले निर्माणाधिन आयोजनाहरुको अनुगमन गरेको छ । १६ वटा आयोजना मध्य अधिकांश आयोजना निर्माणमा प्रभावकारीता नदिएको समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । निर्माणको जिम्मेवारी पाएका सम्बन्धित सरकारी कार्यालय र ठेकेदारको लापर्वाहिका कारण भौतिक संरचनाहरु निर्माण कार्यले पूर्णता पाउन सकेको छैन् ।

राहत वितरण
मृतक २०१ जनाको परिवारलाई ३ करोड ६७ लाख ५० हजार
बेपत्ता ११ जनाको परिवारलाई २२ लाख
घाईते ४७ जनालाई २४ लाख ७१ हजार
अपहरण ३१ जनालाई ७ लाख ७५ हजार
जिवन निर्वाह भत्ता १६ जनालाई ३ लाख ७२ हजार
बेपत्ता पत्नि राहत २ जनालाई ५० हजार

यी १८ जना मृतकको राहत बुझन कोही सम्पर्कमा आएनन्


अमर वि.क. कुनाथरी–४, जीवन सुनार रजेना–३, डमरबहादुर सिंह रानीवास–४, विक्रम सार्की साहारे–४, लल्लु वि.क. मेहलकुना–४, लालविर वादी मेहलकुना–६, प्रेमबहादुर घिमिरे साटाखानी–५, देवबहादुर थापा विद्यापुर–३, बमबहादुर कार्की लाटीकोइली–९, खगेन्द्र नेपाली वीरेन्द्रनगर–३, तिलक बुढा मैनतडा–७, अमर वि.क. मैनतडा–४, खगेन्द्र विटालु बावियाचौर–४, प्रेमकुमारी खत्री गढी–५ ।

विद्यालय संचालन गर्न बाख्रापालन , जिल्लाकै नमूना बाख्रा फार्म

दिपक बुढा
सुर्खेत
सुर्खेतको पश्चिम कुनाथरी–९ कुमिकोटमा रहेको श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय कहिले वन त कहिले बाख्रापालनबाट सञ्चालन हु“दै आएको छ । विक्रम संम्बत २०३३ सालमा स्थापना भएको विद्यालय स्थापनाकालदेखि नै सञ्चालनमा कठिन भएपनि विद्यालयलाई २०६८ सालमा अभिभावक र विद्यार्थीको चाहनालाई मध्यनजरमा राखि निमावी बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम कार्कीले बताए ।

विगतमा विद्यालयलाई विभिन्न सामुदायिक वनको सहयोगमा सञ्चालन गरिएको र हाल वनलाई पनि काठ वेच्न नपाईने भनेपछि विद्यालय सञ्चालनगर्न गाह्रो भएकोले विद्यालयमानै बाख्रा फार्म सञ्चालन गरिएको विद्यालयका प्रध्यानाध्यापक धर्मराज कार्कीले बताए । उनले विद्यालय सञ्चालनका लागि विद्यालयले विभिन्न पहल गरे पनि सफल हुन नसके पछि बाख्रापालन गर्न लागिएको बताए । कार्कीले विद्यालय क्षेत्रमा प्रशस्त वन भएकोले पशुपालनबाट आय–आर्जन गर्न सकिने विश्वासले बाख्रापालनमा लागेको बताए ।
स्थानीय अमरबहादुर वलीले विद्यालयमा सबैजसो शिक्षकहरुलाई निजी स्रोतबाट तलव दिई राखिएकोले तलव दिन समेत समस्या परेकोले विद्यालयमा बाख्रा फार्म सञ्चालन गरिएको बताए । करिब दुई सय विद्यार्थी भएको विद्यालयमा हाल परिचर सहित सात जना शिक्षकहरु रहेकोमा एक जना मात्रै स्थायी शिक्षक रहेको प्रअ कार्कीले जानकारी दिएका छन् । विद्यालयमा सरकारी स्रोतबाट तलव खाने एक जना अस्थायी, एक जना राहात र अरु बा“की सबै निजि स्रोतबाट तलव खाने शिक्षक छन् ।
विद्यालयले व्यबसायिक बाख्रापालनका लागि जिल्लाकै नमूना बाख्रा फर्मको घर निमार्ण समेत गरेको छ । दुईबर्ष पछि विद्यालयले फार्मका लागि करिब एक सय ५० भन्दा बढी बाख्रा सजिलै राख्न सकिने आधुनिक खोरको निर्माण गरेको छ । गाविस लगायतका अन्य कार्यालयको अनुदान रकम र विद्यालयका अभिभावकहरुको सहयोगमा खोरको निर्माण गरिएको खोर निर्माण समितिका अध्यक्ष विमलकुमार शाहीले जानकारी दिएका छन् ।
उनले कुनाथरी गाविसले खोर निर्माणका लागि एक लाख ७३ हजार, जिल्ला पशु सेवा कार्यालय सुर्खेतले १७ हजार, स्थानियहरुबाट अभिभावकहरुबाट चार हजार, स्रोत विकास केन्द्रबाट १२ हजार ५ सय अनुदान उपलब्ध भएको थियो ।
विद्यालयमा सञ्चालनमा गरिएको फार्ममा अभिभावकहरुले एक–एक वटा बाख्रा दिने सहमति भएको छ । हाल सम्ममा अभिभावकहरुले करिब ३७ वटा बाख्रा अभिभावकहरुले उपलब्ध गराएका छन् । अभिभावकले एक सय १० बाख्रा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । साथै १७ हजारमा एउटा उच्च जातको बोकाको समेत खरिद गरिएको छ । खोर निमांणका लागि करिब जम्मा १५ हजार जती रकम खर्च भएको बताइएको छ ।
खोर बनाउदा ५२ हजारको पाता, आवश्यक काठ चिरानमा ५३ हजार, २५ हजार ढुवानीमा खर्च, सिमेन्ट लगायतका सामानमा १८ हजार, घडेरी निमार्ण गर्न २० हजार खर्च भएको निर्माण समितिका अध्यक्ष शाहिले बताए । साथै उनले खोर निर्माणमा काम गर्ने श्रमिकलाई १४ हजार दुई सय ज्याला दिन बाँकि रहेको बताए । खोर निर्माणका लागि आवश्यक पर्ने काठ विभिन्न सामुदायिक वनले सहयोग गरेका हुन् ।
देउराली सामुदायिक वनले २०० क्यू फिट, भैरव सामुदायिक वनले २ सय क्यू फिट, कोईरालपानी सामूदायिक वनले २ सय क्यू फिट काठ सहयोग गरेका छन् । विद्यालयले अभिभावकको सहयोगमा बाख्रा फार्मको सञ्चालन गरे पनि भविष्यमा फाईदा हुने वा नहुनेमा भने स्थानीयहरु विश्वस्त हुन सकेका छैनन् । अझै पनि बाख्राको संख्या बढेमा बाख्रा हेर्ने एउटा मान्छेले नपुग्ने भन्दै वनमा विस्तारै घा“सको अभाव भएकोले पनि समस्या आउने बताए ।
हाल विद्यालयकै परिचरले बाख्रा चराउने गरेको बताइएको छ । स्थानीयले बाख्रालाई संख्या बढेमा खोरमै राखेर पनि पाल्न नसकिने भएकोले ठुलो चुनौती भएको बताएका छन् । यस बारेमा कार्ययोजना बनाएर अगाडि बढ्न सरोकारवालाहरुले सुझाव दिएका छन् ।
विद्यालयमा सञ्चालन भएको आयमूलक कार्यक्रमका लागि जिल्ला पशु सेवा कार्यालयले विद्यालय क्षेत्रमा मेहेन्दोला, किमु, दवदवे लगायतका विभिन्न किसिमका महंगा रुखहरुको वोट उपलब्ध गराएको छ । खोरको विहीबार एक कार्यक्रमकाबीच क्षेत्रीय पशु सेवा निर्देशक डा.अमर शाहले उद्घाटन गरेका छन् । शाहले उद्घाटन भन्ेयो कुने सानो कार्यक्रम होईन यो त फार्म तथा परियोजना हो ।
त्यस्तै कार्यक्रममा जिल्ला पशु सेवाका पशु चिकित्सक नारायण न्यौपानेले पशु फार्म चलाएर विद्यालयले शिक्षकको तलव खर्च निकाल्ने उद्देश्य राखेकोमा आफुहरुले सधै सहयोग गर्न तयार रहेको बताएका छन् । कार्यक्रममा पशु सेवा उप–केन्द्र कुनाथरीका मोहन गिरी, स्वास्थ्यका लागि पानी (नेवा) का निमबहादुर बुढा लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

Wednesday, July 18, 2012

पक्की पुल नबन्दा यातायातमा अवरोध

दिपक बुढा
सुर्खेत, ३ साउन ।
कर्णाली राजमार्गको सात्तला र लयैँटी विन्द्रासैनी जोड्ने रामघाट खोलामा पक्की पुल नहुँदा यातायात आवतजावतमा समस्या देखिएको छ । बर्षात महिनासंगै खोलामा पानीको सतह बढेपछि यातायातका साधन आवतजावत तथा पैदल यात्रुलाई समस्या भएको छ ।
पानीको सतह घटेपछि मात्रै बस, ट्रक, टे«क्टर सहितका सवारी साधन आवत जावत गर्ने गरेको स्थानीयबासी जीवनबहादुर थापाले जानकारी दिए । मोटरसाईकल तानुपर्दा एउटा मोटरसाईकलको पाँच सयदेखि एक हजार सम्म शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ ।
२०६५ सालदेखि बेलिव्रिज मार्फत यातायात आवतजावत गरिएको भएपनि पक्की पुल निर्माणको क्रम चलिरहेको अवस्थामा २०६८ मंसिरमा पानी घटेपछि बेलिव्रिज निकालिएको थियो । पक्की पुल निर्माण कार्य जारी रहेपनि समयमा निर्माण सम्पन्न नहुँदा समस्या बढेको हो ।
निर्माणाधिन अवस्थाको पक्की पुलको केही भाग गत जेठ महिनामा परेको अविर बर्षातले पुलको केही भागमा क्षति पु¥याएको थियो । बर्षातले क्षतिपुगेपनि पुनः निर्माणको काम सुरु गर्नुपर्ने भएकाले पक्की पुल निर्माण कार्य अँझै लम्बिने संकेत देखिएको छ । पैदल यात्रुलाई आवतजावतमा सहजताका लागि निर्माणाधिन अवस्थाको पुलमाथी काठको फल्याक राखिएको छ ।
बर्षातको समयमा रामघाट खोला र कर्णाली नदिको पानी सतह बढ्ने भएकाले रामघाट बजार समेत डुवानमा पर्ने गरेको स्थानीयको भनाई रहेको छ । असार, साउन र भदौ महिनामा यातायात आवतजावतमा खोलाले समस्या निम्त्याउँने भएकाले तत्काल बेलिव्रिज राख्न आवश्यक रहेको स्थानीयले बताए ।
स्थानीयबासी जीवनबहादुर थापाले तत्काल बेलिव्रिज राखेर सवारी आवागमनमा सहज नबनाए जुम्ला, हुम्ला जिल्ला सदरमुकाममा दैनिक उपभोग्य वस्तुको हाहाकार हुनुका साथै अस्वभाविक रुपमा बजार मूल्य बृद्धि हुनुका साथै ठुलो दुर्घटना समेत निम्तिन सक्ने चेतावानी दिएका छन् ।