किन बास फेरिरहन्छन् राउटे ?
दुर्गालाल केसी
धेरैलाई जिज्ञासा हुन सक्छ किन राउटे एकै ठाउँमा घर बनाएर बस्दैनन् ? जंगलमा पनि उनीहरू किन एकै ठाउँमा नबसेर बास सर्दै हिँडेका होलान् ? जवाफ आउन सक्छ, नयाँ ठाउँ घुम्ने या खानाको खोजीमा तर होइन रहेछ । बसेको ठाउँमा कुनै सदस्यको मृत्यु भएमा तत्काल त्यस ठाउँ छाड्नुपर्ने राउटेको चलन रहेछ ।
कुनै सदस्यको मृत्यु भए तत्काल त्यही ठाउँमा गाडेर सबै जना रुँदै कराउँदै अर्को बासको खोजीमा हिँड्नुपर्ने संस्कारले गर्दा उनीहरू एकै ठाउँ बस्न नसक्ने रहेछन् । कतिपयलाई लाग्छ होला राउटेलाई सरकारले कतै घरबास बनाइदिएर बसाले पनि हुने । 'तर सरकारले कति ठाउँमा घर बनाइदिन सक्छ ? त्यस घरमा कोही मान्छे मर्नेबित्तिकै हामीले छोडी हाल्नुपर्छ,' राउटेका मुखिया मैनबहादुर शाहीले भने, 'एकै ठाउँमा बस्न नहुने हाम्रो संस्कारको बाध्यता हो ।'
मान्छे मर्नेबित्तिकै त्यस ठाउँलाई अशुभ ठानेर उनीहरू नयाँ ठाउँको खोजीमा हिँड्छन् । नयाँ ठाउँमा पुगेर मृत्युको पीडालाई भुल्ने गरेको मुखिया शाहीले बताए । 'नयाँ बासमा पुगेपछि मृतकका परिवारलाई सबैले सम्झाउँछौं । अब नयाँ ठाउँमा आइपुगियो, मर्ने मरिहाल्यो । अब केही हुँदैन भनेर सम्झाइन्छ,' उनले भने, 'त्यसपछि विस्तारै मृत्युको कुरा बिर्सन्छ ।'
मरेको मान्छेलाई उनीहरू किन नजलाएर गाड्छन् ? यसको पनि पीडादायक कारण रहेछ । जीवनभर राम्रो घरबास नपाएकामा राउटेलाई पनि चिन्ता रहेछ । 'यस जुनीमा राम्राे घरमा बस्न नपाए पनि अर्को जुनीमा राम्रो घर पाओस् भनेर गाड्ने गरिएको हो,' सहायक मुखिया दिलबहादुर शाहीले भने, 'जंगल हिँड्दा दुःख त छ तर संस्कारले गर्दा यसरी हिँड्नुपरेको छ । अर्को जन्ममा यसरी हिँड्न नपरोस् भनेर सबैले कामना गर्छन् ।'
वषर्ा, चिसो र हुरी बतासको समयमा जंगलको बसाइ निकै कष्टकर हुने दिलबहादुरले बताए । 'बालबालिका र वृद्धवृद्धालाई बचाउन साह्रै गाह्रो हुन्छ,' उनले भने, 'यसै कारणले त धेरैको मृत्यु हुन्छ ।' बालबालिकाले उचित स्याहार र पोषण नपाउने भएकाले धेरै बालबालिकाले ज्यान गुमाउने गरेका छन् । भर्खर जन्मेका बच्चा र सुत्केरी आमासमेत चिसो भुइँमा सुत्छन् । ओढ्ने, ओछ्याउने पर्याप्त छैनन् । शरीरमा कपडा छैन । यस्तो कठिनाइबीच पनि बास छोड्दै हिँड्नुपर्ने राउटेको परम्परागत बाध्यता भएको उनले बताए ।
राउटे बास सरेपछि अर्को ठाउँको अध्ययन गरी उपयुक्त ठाउँको छनोट गर्दैनन् । हिँड्दै जाँदा जहाँनेर रात पर्छ, त्यसैलाई उपयुक्त बासस्थान ठान्छन् । 'रात पर्यो भने भगवान्ले यहीं बस भनेको छ जस्तो लाग्छ,' अर्का सहायक मुखिया धनबहादुर शाहीले भने, 'त्यसपछि सबै जनाले रूखका हाँगाहरू काटेर छाप्रा बनाउँछौं । अर्को सदस्य नमर्दासम्म त्यहीं बस्छौं । अब यहाँ केही नहोस् भन्ने कामना गर्दै बस्छौं ।'
खानपिन, अव्यवस्थित बसाइ र औषधि उपचारको अभावले गर्दा सरदर महिनामा एक जनाको मृत्यु हुने गरेको शाहीले बताए । यही कारण राउटेको संख्या वर्षौंदेखि १ सय ५० कै हाराहारीमा छ । संख्या बढ्न नसक्नुको कारण असामयिक निधन भएको उनले बताए । नयाँ ठाउँमा पनि कसैको मृत्यु भए फेरि अर्को ठाउँ खोज्ने क्रममा प्रायः राउटेहरू दाङ, सल्यान, सुर्खेत, कैलाली, दैलेख, जाजरकोट, कालिकोटजस्ता जिल्लामा पुग्ने गर्छन् । प्रायःजसो एकपटक मानिस मरेको ठाउँमा फेरि जाँदैनन् ।
लामो समयसम्म कसैको मृत्यु नभए पनि त्यस ठाउँमा अन्य मानिसको चहलपहल धेरै बढ्यो र असुरक्षा महसुस भयो भने पनि उनीहरू बास सर्छन् । 'कतिपय ठाउँमा गाउँका मान्छे आएर वन मासिदिए भनेर सताउने गर्छन्,' रतनबहादुर शाहीले सुनाए, 'त्यस्तो अवस्थामा मानिस नमर्दै पनि बास सर्नुपर्ने हुन्छ तर यस्तो कमै ठाउँमा मात्र हुन्छ ।'
एक्कासि बास छोड्दा कोही मानिस जंगलतिर घुम्न गएको भए नहराओस् भनेर प्रत्येक सदस्यले बस्ती छोड्दा मुखियालाई जानकारी दिनुपर्ने नियम छ । यसले गर्दा एक्कासि बास सर्नुपर्दा को कहाँ गएको छ भन्ने कुरा थाहा हुने मुखिया शाहीले बताए । सरकारले प्रतिव्यक्ति प्रतिमहिना १ हजार रुपैयाँका दरले भत्ता दिने व्यवस्था गरेको छ तर राउटेहरू जंगलमा हिँडिराख्ने भएकाले भत्ता दिनलाई भेटाउनसमेत समस्या भइरहेको छ ।
No comments:
Post a Comment