सुर्खेतका दुई सय ३ थान बन्दुक बर्दियालाई
दीपक बुढा÷सुर्खेत
सुर्खेत, १३ मंसिर ।
सुर्खेतका चार गाउँ विकास समितिबाट दुई सय तीन थान भरुवा बन्दुक संकलन भएका छन् । सुर्खेतका छिन्चु, लेखपराजुल, हरिहरपुर र तरंगाबाट ठूलो परिमाणको हतियार संकलन गरिएको हो । बर्दिया राष्ट्रिय निकञ्जले सुर्खेतबाट उक्त परिमाणको हतियार संकलन गरेको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जमा बढ्दो चोरी सिकारी नियन्त्रण गर्दै स्थानीयबासीन्दालाई चोरीसिकारी विरुद्धमा परिचालन गर्न स्थानीयकै सक्रियतामा चोरीसिकारीमा प्रयोग हुने हतियार संकलन गरिएको छ । लेखपराजुल गाविसबाट पहिलो पटक सुरु भएको भरुवा बन्दुक संकलन अभियान छिन्चु गाउँ विकास समितिमा पुगेर टुङ्गिएको छ ।
लेखपराजुलबाट ४४ थान, हरिहरपुरबाट ४५ थान, तरंगाबाट ८६ थान र छिन्चुबाट २८ थान भरुवा बन्दुक राष्ट्रिय निकुञ्जले स्थानीयबाट आफ्नो नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापाले जानकारी दिए । डेढ बर्षको अवधिमा ठूलो परिमाणको भरुवा बन्दुक निकुञ्जले आफ्नो नियन्त्रणमा लिएको हो ।
चोरी शिकार नियन्त्रणका लागि निकुञ्जले सुरक्षामा कडाई गर्न थालेपछि हतियार बुझाउने अभियान डेढबर्ष अघिदेखि सुरु भएको हो । स्थानीयवासिन्दाले निकुञ्जलाई बन्दुक हस्तान्तरण गर्छाै भनेपछि निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ, नेपाली सेना र अभियानकर्मीहरुले पहल थालेका थिए ।
‘मध्यर्वती क्षेत्रमा पर्ने सुर्खेतका चारवटै गाविसकावासिन्दाले घरमा भएका हतियार बुझाएर चोरी शिकार छाडेको र संरक्षणमा लागेको घोषणा गरेका छौं’—छिन्चु उपभोक्ता समितिका अध्यक्ष शान्ताबहादुर खत्रीले भने ।
यसैवीचसुर्खेतको छिन्चु गाविसका बासिन्दाले चोरी शिकारी गर्न राखेका २८ थान भरुवा बन्दुक बर्दिया राष्ट्रिय निकुञ्जलाई बुझाएका छन् । छिन्चु गाविसका विभिन्न गाउँका बासिन्दाले चोरी शिकारीका लागि बाउबाजेको पालादेखि घरमा राखिएका भरुवा बन्दुक बुझाएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापाले जानकारी दिए ।
चोरीसिकारी पेशा परिवर्तन गरेर बन्दुक राष्ट्रिय निकुञ्जलाई बुझाउने व्यक्तिलाई प्रतिव्यक्ति पाँच हजार नगद राष्ट्रिय निकुञ्जले प्रदान गरिरहेको छ । ‘निकुञ्जमा चोरीसिकारी गर्दा ज्यानै जोखिममा पर्छ । बाँचिने हो कि मरिने त्यसमा पक्राउ परे कार्वाहि हुने त्यो भन्दा त बन्दुक बुझायो पाँच हजार पाईने’—एक स्थानीयले बताए ।
गाउँ गाउँबाट भरुवा बन्दुक संकलन गरेर निकुञ्जलाई बुझाएपछि चोरीसिकारीमा कमि आएको छ । वातावरण संरक्षण मञ्च सुर्खेतले पहिलो पटक उक्त क्षेत्रमा विश्व वन्य जन्तु कोषको सहयोगमा चोरीसिकारी विरुद्धमा अभियान संचालन गरेको थियो । अभियानका क्रममा गाउँ गाउँमा युवा क्लव, विद्यालयमा इको क्लव गठन गरी चोरीसिकारी विरुद्धमा जनचेतनामूलक कार्यहरु संचालन गरिएको थियो ।
चोरीसिकारीकामा संलग्न व्यक्तिहरु भरुवा बन्दुक निकुञ्जलाई बुझाएर चोरीसिकारी विरुद्धमा उत्रिएपछि अहिले गाउँमा वन्य जन्तु समेत प्रशस्त देखिने गरेका छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा मध्यवर्ती सामूदायिक वन समेत दर्ता गर्दा स्थानीयमा वन तथा वन्य जन्तु संरक्षणको लहर चलेको छ ।
राष्ट्रिय निकुञ्जमा बच्चा समेत गरी १०० भन्दा बढी बाघ, २४ वटा गैँडा, ८० भन्दा बढी जङ्गली हाती, २० हजारजति चित्तल, २१६ कृष्णसार, पर्याप्त मात्रामा खरायो र बँदेल, १० संरक्षित सहित ५३ भन्दा बढी प्रजातिका स्तनधारी प्राणी, ६ वटा संरक्षित सहित ४३८ भन्दा बढी प्रजातिका पंक्षि, १२१ प्रजातिका माछा, २५ भन्दा बढी घस्रने वन्यजन्तु छन् ।
तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्र मानिने नौ सय ६८ वर्ग किमिको बर्दिया राष्ट्रिय निकुञ्ज मध्यपश्चिमाञ्चल विकास क्षेत्रको बर्दिया र बाँके जिल्लामा फैलिएको छ । बाघ लगायत अन्य वन्यजन्तुका लागि उपयुक्त वासस्थान, पारिस्थितिकीय प्रणाली र जैविक विविधताको दृष्टिकोणबाट निकै धनी मानिने निकुञ्जले बबइ उपत्यकाको मनमोहक प्राकृतिक दृश्य, घडियाल, गोही र डल्फिनको संरक्षण, बाह्रसिंगेको दोस्रो प्राकृतिक वासस्थान, जङ्गली हात्तीको बढ्दो सङ्ख्या, बाघको राम्रो घनत्व भएको विशेषता सँगालेको छ ।
No comments:
Post a Comment