झुप्रा वृहत खानेपानीलाई ६ करोड प्राप्त
दीपक बुढा÷सुर्खेत
झुप्रा वृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पुराना पाईपलाईन सुधार र बैकल्पिक थप स्रोतको अध्ययन गर्न झण्डै ६ करोड अनुदान सहयोग प्राप्त गरेको छ । एसियाली विकास बैंक मार्फत प्राप्त गर्ने उक्त रकम नयाँ बजेटसंगै खानेपानी विभाग मार्फत संस्थामा प्राप्त हुनेछ ।
बैंकले दिने दोस्रो चरणको अनुदान अन्तर्गतको उक्त रकम प्राप्त गर्न नेपाल सरकार र अर्थ मन्त्रालयले सहमति दिईसकेको छ । साना सहरी खानेपानी आयोजनामा एसियाली विकास बैंक (एडिवि) ले थप लगानी गर्ने क्रममा झुप्रा वृहत छनोट भएको हो ।
पुराना पाईप लाईनको मर्मत सुधार र नयाँ स्रोतको विस्तृत सर्वेक्षणका लागि खानेपानी विभागबाट प्राविधिक टोली अध्ययनका लागि आउँदैछ । ‘प्रक्रिया सुरु भएको छ । कार्तिक पछिको पुरक बजेटसंगै थप लगानी निकासाको प्रक्रिया अगाडी बढदै छ’—संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए ।
परामर्शदाता, प्राविधिकहरुको स्थलगत अध्ययन सिफारिसका आधारमा संस्थाले ५ करोड ९८ लाख रकम थप सहयोग प्राप्त गर्नेछ । संस्थाको २० प्रतिशत र नेपाल सरकारको ८० प्रतिशत लगानी रहने दोस्रो चरणको सहयोग अन्तर्गत बैकल्पिक स्रोत र आयोजना सुधारका लागि उपभोक्ता समितिले बनाएको योजना कार्यान्वयन हुने जनाईएको छ ।
संस्थाले सुर्खेत उपत्यकाको बढ्दो जनघनत्व र माग अनुसार खानेपानी आपूर्ति गर्न रतु, गर्पन र साटाखानी गाविसको सिमानामा पर्ने खरिखोला र बोरीखोलालाई बैकल्पिक स्रोतको रुपमा अगाडी सारिएको छ ।
खरीखोला र बोरीखोलाबाट प्रतिसेकेण्ड ७० लिटर पानी रहेकोमा ४० लिटर प्रतिसेण्ड पानी सुर्खेत उपत्यकामा भित्र्याउने लक्ष्य राखिएकोछ । खानेपानीका लागि मात्रै दिने हो भने प्रतिदिन ६० लाख लिटर पानीको आवश्यकता रहेको संस्थाले जनाएको छ । अन्य प्रयोग सहित हाल प्रतिदिन १ करोड २० लाख लिटर पानीको माग रहेको छ ।
झुप्रा बृहत खानेपानी आयोजना मार्फत वीरेन्द्रनगर, जर्वुटा, उत्तरगंगा र लाटीकोइली गाउँ विकास समिति ३४ वडामा खानेपानी सेवा पु¥याई रहेको छ । सरकारी, नीति, सार्वजनिक धारा गरी ११ हजार ६ सय धारा जडानबाट १ लाख ५० हजार जनसंख्या लाभान्वित भएको छ ।
करिव १५ सय पाईप लाईन जडान भएका छैनन् भने ५ देखि ६ हजार सम्म नयाँ धारा जडान गर्नका लागि माग भएको संस्थाका अध्यक्ष देवकोटाले बताए । ‘दैनिक २० देखि ३० जना सोधपुच्छ गर्न आउने गरेका छन् । स्रोत घट्न गएकाले पहिलेको तुलनामा पानी स्रोत कम भएको छ’—उनले बताए ।
संस्थाका प्राविधिकका अनुसार हाल सुख्खा मौसममा ५१ प्रतिशतले पानीको स्रोत घटेको छ । सुख्खा खडेरीमा ८० प्रतिशत धारामा पानी नियमित वितरण गर्न सकिन्छ । गत बर्षको अन्य मौसममा ४६ लाख ५ सय लिटर र खडेरी मौसममा २७ लाख लिटिर प्रतिदिन पानी आपूर्ति भएको थियो ।
पानीका पुराना पूर्वाधार हुनुका साथै स्थानीयबासीन्दाबाट समेत चुहावट भैरहेको जनाईएको छ । ४१ प्रतिशत पानी चुहावट भएको छ । चोरी, मिटर भन्दा बाहिरबाट, मुख्य लाईनबाट लिगेज भएको जनाईएको छ । निर्माणको चरणमा १०० सय लिटर प्रतिसेकेण्ड पानी उपत्यकामा झर्ने अनुमान गरिएको थियो । २०६७÷०६८ खडेरीमा ५५ लिटर प्रतिसेकेण्ड, २०६८÷०६९ मा ३१.५ लिटर प्रतिसेकेण्ड र हाल यस मौसममा ९५ लिटर प्रतिसेकेण्ड पानी आपूर्ति भैरहेको छ ।
विभिन्न स्थानमा गरी २० टयाङ्की रहेका छन् । एउटा निर्माणाधिन छ । २७ लाख ४० हजार लिटर (१९ टयाङकी) पानी अटने क्षमता रहेको जनाईएको छ । २ सय १० किलोमिटर वितरण, ३८.५ किलोमिटर मुहानदेखि पानीपोखरीसम्म भएकाले जम्मा भएको पानी वितरण गर्दा १२ लाख लिटर पानी पाईपमा मात्रै खर्च हुने जनाईएको छ ।
एसियाली विकास बैंक र उपत्यका नगर विकास कोषको ऋण लगानीमा आयोजना निर्माण सम्पन्न भएको हो । आयोजना २०५७ मा जलस्रोत समितिमा दर्ता गरी अन्य इत्राम र खोर्के खानेपानी आयोजना हस्तान्तरण लिईएको थियो । निर्माणका कार्य २०६४ असारमा सम्पन्न भएको थियो । खानेपानी आयोजनाको वितरण २०६१ बाट भएको थियो ।
३१ करोड ६९ लाखको कुल लागतमा निर्माण सम्पन्न भएको खानेपानी आयोजना नेपाल सरकारको ५० प्रतिशत अनुदान र जनसहभागिता ५० प्रतिशतमा निर्माण गरिएको थियो । नगर विकास कोषबाट ९ करोड २८ लाख १२ हजार ऋण संस्थाले लिइएको थियो । जसमध्ये ४ करोड २० लाख ४३ हजार रकम ऋण भुक्तानी गरिएको छ । बाँकी ८ करोड २३ लाख ६५ हजार रकम तिर्न बाँकी रहेको जनाईएको छ । बार्षिक व्याज र किस्ता गरेर १ करोड २० लाख बुझाउनुपर्ने हुन्छ ।
संस्थाले ० देखि ८ सम्म १०, ९ देखि १८ सम्म १२ प्रतियुनिट, १९ देखि २८ सम्म १५ प्रतियुनिट, २९ देखि ३८ सम्म २० प्रतियुनिट, ३९ देखि ४८ सम्म २५ प्रतियुनिट, ४९ देखि ५८ सम्म ४० प्रतियुनिट, ५९ देखि माथी ५० प्रतियुनिट शुल्क तोकिएको छ ।
No comments:
Post a Comment