सुर्खेत जिल्लाका ६ वटा विकट गाविसहरु खाद्यान्नको उच्च जोखिममा रहेका छन् । लगाम, बेतान, गुठु, घाटगाउँ, पोखरीकाँडा र तरंगा गाविस खाद्यान्न कम उत्पादन हुँदा जोखिममा परहेका हुन् । कम उत्पादकत्व, खेती योग्य जमिनको अभाव, सिचाई सुविधाको अभाव, आधुनिक र व्यवसायीक खेती प्रणालीका बारेमा जानकारीको अभाव हुँदा ती गाविसहरुमा खाद्यान्न कम उत्पादन हुने गरेको छ ।
जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जिल्ला खाद्यान्न संचित गर्न सफल भएको बताएको छ । बरिष्ठ कृषि विकास अधिकृत कमलराज गैरेले एक हजार ६ सय ७० मेक्ट्रीटन खाद्यान्न बार्षिक रुपमा संचित हुने गरेको बताए ।
उनले भने–“खाद्य उत्पादनमा अन्य जिल्ला भन्दा सुर्खेत अगाडी छ तर जिल्लाका ६ वटा गाविसको अवस्था भने कर्णाली अञ्चलका जिल्लाको जस्तो छ । खाद्य उत्पादन कम हुन्छ ।”
कृषि क्षेत्रको दिर्घकालिन नीतिको अभाव, कृषिमा बार्षिक सरकारको लगानी कम हुदा अन्य क्षेत्रको भन्दा कृषि क्षेत्रको विकास तीब्र गतिमा हुन नसकेको विज्ञहरुको भनाई रहेको छ । गत आर्थिक बर्ष सरकारले कुल बजेटको २.७५ प्रतिशत बार्षिक बजेट विनियोजन गरेको थियो । अन्य देशको तुलनामा उक्त रकम न्युन हुन्छ । “देश कृषि प्रधान भनेर चिनिन्छ तर खाद्यन्न अभाव भएर बाहिरी मुलुकबाट खाद्य बोक्न बाध्य भएका छौं । सरकारले स्पष्ट नीति र कार्यक्रम ल्याउन नसक्दा यस्तो अवस्था भएको हो ”– कृषि अधिकृत गैरेले बताए ।
गतआर्थिक बर्षको तथ्याङक अनुसार सुर्खेतमा धान ५० हजार ३ सय ७० मेट्रीटन, मकै ४१ हजार दुई सय १६ मेट्रीटन, गहुँ ४१ हजार ६ सय १२ मेट्रीटन, कोदो २७ सय मेट्रीटन उत्पादन भएको थियो । त्यसैगरी जौं १३ सय २९ मेट्रीटन, आलु १७ हजार ८ सय ४८ मेट्रीटन उत्पादन भएको थियो ।
जिल्लाको ५२ हजार २ सय हेक्टर क्षेत्रफलको खेती योग्य जमिनमा ३७ हजार ४ सय ४४ हेक्टर क्षेत्रफलमा खेती गरी कुल १ लाख ५५ हजार ७५ मेट्रीटन खाद्य उत्पादन भएको थियो । आलु सहित सुर्खेतमा १६ हजार ९ सय ८८ मेट्रीटन खाद्य वचत रहेको जनाइएको छ ।
अन्य जिल्लाको तुलनामा सुर्खेत आलु र अन्य ताजा तरकारी उत्पादनमा अगाडी रहेको छ । पाँच बर्षपहिले नेपालगंजबाट आलु भित्रिने गरेकोमा हाल जिल्लाकै आलु र हरियो ताजा तरकारी विक्रिका लागि बाहिरी जिल्ला सम्म पुग्ने गरेको जनाइएको छ ।
स्थानीय आलु र हरियो ताजा तरकारी सुर्खेत, दैलेख, कालिकोट, बाँके, दाङ लगायतका जिल्लाहरुमा खपत हुने गरेको छ । व्यावसायीक तरकारी खेतीले बाहिरी जिल्लाबाट भित्रिने तरकारीलाई विस्थापित गरिसकेको छ ।
व्यवसायीक रुपमा कृषकले उत्पादन गर्ने तरकारीलाई संकलन, विक्रि वितरण गर्नका लागि ठाउँ ठाउँमा तरकारी संकलन केन्द्र स्थापना गरिएका छन् । भने जिल्ला कृषि विकास कार्यालय सुर्खेतले साहारे, राकम, रामघाट, अवलचिङ, कुनाथरी र बाविचौर गरी ६ स्थानमा सेवा केन्द्र स्थापना गरेर कृषकलाई परामर्श जस्ता सहयोग उपलब्ध गराइरहेको ।
जिल्लाबाट गत बर्ष ३ हजार ७ सय ९८ मेट्रीटन तरकारी निकासी भएको थियो भने दाल ३ सय पाँच मेट्रीटन र तोरी १४ सय ५३ मेट्रीटन जिल्लामा निर्यात भएको जिल्ला कृषि कार्यालयको तथ्याङले देखाएको छ ।
No comments:
Post a Comment