Saturday, August 31, 2013

एमाले र काँग्रेसको उम्मेदवारी सिफारिस
सुर्खेत, १५ भदौं ।
२०७० मंसिर ४ मा निर्धारित दोस्रो संबिधानसभाको निर्वाचनका लागि सुर्खेतका प्रमुख राजनीतिक दलहरु उमेदवार छनौटको अन्तिम चरणमा पुगेका छन् । नेकपा एमालेका तीन वटै क्षेत्रीय कमिटीले संभावित उम्मेदवारको नाम छनौट गरी जिल्ला कमिटिलाई सिफारिस गरेका छन् ।
संविधान सभाको निर्वाचनका लागि जिल्ला–जिल्लाबाट उम्मेदवारको नाम चयन गरी पठाउन थालिएको छ । पार्टी केन्द्रीय कमिटिले गरेको निर्देशन अनुसार भद्रौं २० गतेसम्म एमाले र काँग्रेस पार्टीले समानुपातिक र प्रत्यक्षतर्फ चुनावी प्रतिष्पर्धा गर्ने सम्भावित उम्मेदवारको नाम पठाइसक्नुपर्नेछ । 
नेकपा एमाले क्षेत्रीय कमिटीहरुले प्रत्येक निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फ एक महिला सहित तीन जना र समानुपातिका दुई जना उम्मेदवारको नाम जिल्ला कमिटीलाई सिफारिस गर्ने प्राव्धान रहेको छ । त्यसैगरी नेपाली काँग्रेसले क्षेत्रीय अधिवेशनबाटै प्रत्यक्षतर्फ ३ जना र समानुपातिकमा ५ जनाको उम्मेदवारको नाम चयन गरिएको कुरा पार्टी सचिव श्यामकुमार भारतीले बताएका छन् । 

यता चुनावी प्रतिष्पर्धामा रहेको नेकपा एमालेले क्षेत्र नं. १ बाट युवा नेताहरु धु्रव शाही, डण्डीप्रसाद शर्मा र तुल्सी शर्मा तीन जनाको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ पहिलो संविधान सभाकी सदस्य कमला शर्मा र हस्तबहादुर पुनलाई सिफारिस गरेको छ । १ नं. को उम्मेद्वार चयन गर्दा निर्वाचन प्रक्रियाबाट भएको एमाले स्रोतले जनाएको छ । शाही र शर्मा नेकपा एमाले सचिवालय सदस्य हुन । डण्डीप्रसाद शर्मा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय निवर्तमान सचिव समेत हुन । टिकटका लागि दुवै जनाले ठुलै शक्ति केन्द्रको आसिर्वाद पाउनुपर्ने देखिन्छ । 


नेपाली काँग्रेस सुर्खेत क्षेत्र नं. १ मा क्षेत्रीय अधिवेशनले उम्मेदवारका लागि पूर्णबहादुर खड्का, अमृता शाहीको नामको चर्चामा रहेका छन् । शनिबारको क्षेत्रीय कमिटी बैठकले टुङ्गो नलगाएपछि आज (आइतबार) क्षेत्रीय कमिटिले सिफारिस गर्ने जनाइएको छ । तर, १७ गाविसका प्रतिनिधिहरुले भने प्रत्यक्षमा १ जना र समानुपातिकमा २ जनाबाहेक अरुको नाम सिफारिस नगर्ने भन्दै अधिवेशन टुङ्ग्याएको बुझिएको छ । 
एमालेले २ नं. क्षेत्रबाट पूर्वमन्त्री यामलाल कँडेल, जिल्ला उपाध्यक्ष शिवप्रसाद उपाध्याय र अनिता कोइरालालाई प्रत्यक्षतर्फ सिफारिस गरेको छ भने समानुपातिकतर्फ भूषण मानन्धर र राजु गुइँदेलको चर्चा भएपनि नाम टुङ्गो लागेको छैन । कँडेल दुई पटक संसद निर्वाचिन भएका उम्मेदवार हुन । 
प्रतिस्पर्धी दल नेपाली काँग्रेस ले क्षेत्र नं. २ बाट हृदयराम थानीलाई उम्मेदवारका लागि सिफारिस गरेको हुँदा थानीसंगको प्रतिस्पर्धा गर्न कँडेलनै उपयुक्त हुने एमाले कार्यकर्ताको भनाई छ ।  राजनीतिमा चातुर्य खेलाडीका रुपमा परिचित कँडेल प्रतिस्पर्धी दलका उम्मेदवारको मूल्याङकन गरी टिकट दिइए एमालेको विजय सुनिश्चित रहेको बताउँछन ।


नेपाली काँग्रेस क्षेत्र नं. २ को भेलाले प्रत्यक्षतर्फका ३ जना उम्मेदवारहरु हृदयराम थानी, गोविन्दबहादुर मल्ल र डम्बर जिसीको नाम प्रस्ताव गरेपछि भेलाले सर्वसम्मत रुपमा ३ जनाको नाममा सहमति जनाएको थियो । नेपाली काँग्रेसले समानुपातिक तर्फको ५ जनाको नाममा आइतबार मात्रै प्रक्रिया अगाडि बढाउने बताएको छ । तर कार्यकर्ताहरुबीच उठेको आवाजलाई सुन्दा दुर्गाकेशर खनाल, जनजातीमा कालीप्रसाद शाक्य, महिलामा जानकी सिं, अल्पसंख्यकमा अब्दुल गफुरको चर्चा चलेको छ । 
त्यसैगरी ३ नं. क्षेत्रमा भने नेपाली काँग्रेसका पार्टी सभापति तप्तबहादुर विष्ट, यज्ञबहादुर विसी र धर्मराज गिरी प्रत्यक्षतर्फ र शिवराज जोशी, खड्गबहादुर बस्याल, पदमदेव गिरी, नन्दा गिरी र रत्नबहादुर थापाको नाम समानुपातिक तर्फ सिफारिस गरिएको छ ।
यता एमालेले ३ नं. क्षेत्रमा पार्टी अध्यक्ष नवराज रावत, डिलाराम गिरी, र नन्दा गुरुङ तथा समानुपातिकमा नन्दा शर्मा र ताराप्रसाद देवकोटालाई सिफारिस गरेको एमाले स्रोतले बताएको छ । सुर्खेतको ३ नं. क्षेत्रबाट काँग्रेस र एमालेका पार्टी अध्यक्षहरुनै चुनावी मैदानमा उत्रेका छन् । दुवै बिचमा कडा प्रतिस्पर्धा हुने सर्वसाधारणको आँकलन रहेको छ ।
जिल्लाका अन्य पार्टीहरुले यसअघिनै आ–आफ्नो उम्मेद्वारहरु चयन गरी केन्द्रीय कार्यालयमा पठाइसकेका छन् । काँग्रेस र एमालेले पनि २० गतेभित्र सिफारिस गरिएका नाम पठाइसक्ने जनाइएको छ । 
एकिकृत नेकपा माओवादी भने उम्मेदवार छनौटमा अन्य दलभन्दा पछाडी परेको छ । माओवादीले भदौ अन्तिमसम्ममा उम्मेद्वार छनोट गर्ने जनाएको छ । क्षेत्रीय कमिटिबाट सिफारीस नामलाई जिल्ला कमिटिले नै टुङ्गो लगाई उम्मेदवारको निश्चित नाममात्रै केन्द्रीय समितिलाई पठाइने माओवादीले  जनाएको छ । एकिकृत माओवादीमा एक र तीन भन्दा क्षेत्र नं. दुईमा उम्मेदवार छनौटमा कठिनाई हुने देखिएको छ । 
एक मा नेकपा–माओवादीबाट एमाओवादीमा प्रवेश गरेका ठम्मर बिष्टको लगभग निश्चित देखिएको छ । दुई मा युवा नेता कृष्ण जिसी संगठन र सामाजिक रुपमा उम्मेदवारको आँकलमा परेका छन् भने अघिल्लो चुनावमा पराजय भोगेकी सीता नेपाली र जिल्ला संयोजक भिमबहादुर मल्ल पनि सम्ंभावित उम्मेदवारको उत्तिकै चर्चाको सुचिमा छन् । क्षेत्र नं ३ बाट भने निवर्तमान सभासद् नरबहादुर विष्ट र विन्दमान विष्टको नाम चर्चामा रहेको छ । 

No comments:

Post a Comment