Monday, December 10, 2012

अधिकांश साना होटलमा बाल श्रमिक
सुर्खेत, २५ मंसिर ।
सुर्खेतका २२ वटा ठूला होटलहरुलाई बाल श्रमिक मुक्त घोषणा गरिएको छ तर साना होटलहरुमा भने बाल श्रमिक रहेको पाईएको छ । सोमबार जिल्ला बाल कल्याण समितिले केहि होटलहरुमा पुगि बाल श्रमिकबारे जानकारी लिएको थियो ।
अनुगमनका क्रममा पुगिएका पाँच वटा होटलबाट तीन जना बाल श्रमिक भेटिएका थिए । वीरेन्द्रनगरको अनुपम मिठाई पसलमा भेटिएका १४ बर्षीय बालक दलबहादुर थनेलले आफू सानै देखि होटलहरुमा भाँडा माझने काम गरेको बताए ।
उनले भने ‘कक्षा २ सम्म पढेको छु । घरमा बुवा, आमा कोही छैनन् । सानै देखि काम गर्न बजार आएको हुँ ’ कल्याण घर बताउने उनी विगत एक बर्षदेखि अनुपम मिठाई पसलमा मासिक दुई हजार पारिश्रमिक पाउने गरी काम गरिरहेको बताए ।

त्यसैगरी जुम्लारोड स्थित आचार्य चिया नास्ता पसलमा दुई जना बालकहरु श्रमिकको रुपमा रहेको भेटिएका थिए । कक्षा—६ मा पढ्दा बढ्दै छोडेका सुरेन्द्र खड्का घर गर्पन भएपनि बढ्न छाडेर होटलहरुमा काम गर्न थालेको बताए ।
‘होटलमा भाँडा माझनु मेरो रहर होइन बाध्यता हो । पढ्ने लेख्न रकम धेरै लाग्छ मलाई सहयोग गर्ने कोही छैन् ।’ सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बाल श्रमिक राख्नेलाई कार्वाही हुने बताए । १४ बर्ष भन्दा कम उमेरका बालबालिकालाई श्रमिकको रुपमा राख्ने व्यक्तिलाई पचास हजार रुपैयाँ सम्म जरिवाना र ६ महिना सम्म कैद सजाय हुने कानूनि व्यवस्था रहेको उनले जानकारी दिए ।
सुर्खेतका होटल, ग्योरज, सवारी साधनमा गरी पन्ध्र सयबढी बालश्रमिकहरु रहेको अनुमान गरिएको छ । जिल्लामा बाल श्रमिक मुक्त गर्नका लागि होटल अर्गनाईजेसनले समन्वयकारी भूमिका निर्वाह गरेको छ ।
अर्गनाईजेसनकै सक्रियतमा जिल्लाका २२ वटा होटलहरुमा बाल श्रमिक मुक्त घोषणा गरिएको छ । जिल्लाका साना, ठूला सहितका अर्गनाईजेसनमा आवद्ध सम्पूर्ण होटलहरुमा बाल श्रमिक रहित निर्माण गर्ने तयारी रहेको जनाईएको छ । 
होटल तथा पसलहरुमा बाल श्रमिक मुक्त निर्माण गर्न सोमबार विभिन्न होटलहरुमा सन्देशमूलक फ्ल्यास बोर्ड झुण्डयाईएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शर्माले स्थानीय सगरमाथा मिठाई पसलमा फ्ल्यास टाँस गर्दै उद्घाटन गरेका थिए ।
मध्यपश्चिम क्षेत्रीय प्रशासक सारदाप्रसाद त्रितालले सामूहिक एकताले मात्र बालश्रम न्यूनिकरण गर्न सकिने बताए । सामाजिक, आर्थिक तथा साँस्कृतिक परिवेसका कारणले गर्दा अझैपनि अधिकाशं बालबालिक श्रम शोषणमा परेको भन्दै यसलाई न्यूकिरणका लागी सरोकारवाला पक्षहरुवीच एकताको खाँचो रहेको बताए । 
जिल्ला बाल कल्याण समिती सुर्खेतले बालश्रम बिरुद्ध सोमबार वीरेन्द्रनगरमा गरेको अन्र्तक्रिया कार्यक्रममा उनले यस्तो बताए । अशिक्षा, गरीबि लगायतका बिबिध कारणले गर्दा अझैपनि थुप्रै बालबालिकाहरु श्रम शोषणमा परेको उनको भनाई छ । शहरी क्षेत्रको तुलनामा ग्रामीण भेगमा अशिक्षा तथा गरीबीका कारणले अधिकाशं बालबालिकाहरु आफ्नो पढाई छाडेर बिभिन्न उद्योग, कलकारखाना, ग्यारेज, होटलहरुमा श्रमगर्न बाध्य भएको भन्दै यसलाई न्यूनिकरणका लागी ग्रामीण भेगसम्म चेतना मुलक कार्यक्रम लैजानुपर्नेमा जोड दिए । 
त्यस्तै कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कँुवरले बालअधिकार रक्षाका लागी सबैले चासो दिनुपर्ने भन्दै उनीहरुको अधिकार हनन गर्नेलाई कानुनि काबारही गरिनुपर्ने बताए । कार्यक्रममा जिल्ला बाल कल्याण समिती सुर्खेतकी प्रमुख रमा भन्डारीले जिल्लाका बिभिन्न होटल, ग्यारेज, वर्कसप, तथा चियानास्ता पसलहरुमा अझैपनि १५ सय बालबालिका श्रम गर्न बाध्य भएको जानकारी दिए । 

No comments:

Post a Comment