Sunday, December 2, 2012

विद्यालय बन्दैछन् राजनीतिक अखडा 
दीपक बुढा÷सुर्खेत
सुर्खेत, १७ मंसिर ।
२०६७ मंसिरमा कक्षा १० मा अध्ययनरत एक बालिकालाई जिस्काएको निहुँमा केहि हप्ता विद्यालय बन्द भयो । सुर्खेतको पश्चिम बिजौरास्थित जगन्नाथ उमाविमा अध्ययनरत छात्रहरुबीच छात्राकै विषयमा विवाद हुँदा अनिश्चितकालिन विद्यालय बन्द गरियो । विद्यालयमा अखिल क्रान्तिकारी र अनेरास्ववियुका विद्यार्थीहरुकावीचमा आरोप प्रत्यारोप हुनुका साथै झडप भयो । दुवै विद्यार्थी संगठनहरुले माउ पार्टी कार्यालयमै फरक—फरक पत्रकार सम्मेलन गरे । दुवै पक्षले घाईते विद्यार्थीहरुले हामी पनि घाईतै भन्दै आ—आफ्नो पक्षमा प्रचारबाजी गरे ।  विद्यालयमा असुरक्षा भएको भन्दै विद्यालय प्रशासनले केही समय विद्यालय बन्द भयो ।

२०६८ पुस देखि चैत्र सम्म तीन महिना सम्म विद्यालय नियमित हुन सकेन् । शिक्षक नियुक्ति प्रक्रिया विवादले राजनीतिक रुप लिएपछि पश्चिम सुर्खेतको लगाम गाविसस्थित नेपाल राष्ट्रिय उच्च मावि बन्द भएको थियो । विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षमाथि विद्यालय हाताभित्रै हातपात भएकाले शान्तिसुरक्षा नभएको भन्दै शिक्षकहरु सदरमुकाम वीरेन्द्रनगर आए र लामो समय विद्यालयमा फर्किएनन ।
विद्यालय बन्द हुँदा परीक्षा समेत संचालन हुन सकेन । कक्षा—८ को जिल्ला स्तरीय परिक्षा संचालन गर्न जिल्ला शिक्षा कार्यालय सुर्खेतले प्रहरी परिचालन गर्नुप¥यो । शिक्षक, शिक्षकवीचमा आरोप प्रत्यारोप भए । उक्त विवादको रुप राजनीतिक दलका पार्टी कार्यालयहरुमा समेत पुग्यो । प्रधानाध्यापक सहितका केहि शिक्षक नेपाली काँग्रेस पार्टी कार्यालय धाउन पुगे भने स्थानीय अभिभावक सहित शिक्षकहरु नेकपा एमाले पार्टी कार्यालय धाउन पुगे । सोही घटनालाई समाधान गर्न जिल्ला शिक्षा कार्यालय सुर्खेतले छानविन समिति समेत तयार ग¥यो । जिल्ला सुरक्षा समिति मार्फत उक्त क्षेत्रको शान्ति सुरक्षालाई ध्यानमा राख्दै अस्थायी प्रहरी चौकी समेत राखियो ।
२०६८ माघमा विद्यालय बन्द गरेर शिक्षकहरु सडकमा उत्रिए । एक हप्ता लामो विद्यालय बन्द गराएर शिक्षकहरु सडकमा उत्रिएर आन्दोलन गर्न थालेपछि विद्यालयको पढाई प्रभावित भयो ।  केन्द्रीय कार्यक्रम अनुसार शैक्षिक पेशागत हक हितका लागि शिक्षकहरुले सरकारसंग विगतमा गरेका सहमतिहरुलाई कार्यान्वयन गराउन दवाफ दिने भन्दै आफ्नै जिम्मेवारीको वेवास्ता गरियो । जिल्ला शिक्षा कार्यालयमा धर्नामा पुगेका शिक्षकहरुमाथी प्रहरीले दमन ग¥यो अन्धाधुन्दा लाठी प्रहार ग¥यो । केहि शिक्षकहरु समेत घाईते भए ।
यी प्रतिनीधिमूलक घटना हुन विद्यालय व्यवस्थापन समितिमा बढ्दो राजनीतिक हस्तक्षेपका कारण यस किसिमका घटनाहरु हुने गरेका छन् । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरी राजनीतिक क्रियाकलाप मूक्त गर्न निर्देशिका समेत तयार भएको छ । विद्यालय व्यवस्थापन समितिमा दलगत उमेदवार खडा गरी आफ्नो जनमत प्रदर्शन गर्ने माध्यम बनाएका कारण विद्यालयमा विक्रितिहरु मौलाएका छन् ।
एका तर्फ विद्यालय शान्ति क्षेत्र घोषणामै सिमित भएको छ भने अर्को तर्फ राजनीतिक खिचातानीकै कारण विद्यालयको पठन पाठन प्रभावित हुने गरेको छ । नेपाल शिक्षक युनियन सुर्खेतका अध्यक्ष धनसिंह खडकाले विद्यालयलाई राजनीतिमुक्त बनाउँनुपर्ने बताउँछन् ।
उनले भने ‘विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको छ तर त्यो कार्यान्वयन भएको छैन् । विद्यालयको नेतृत्व लिन राजनीतिक दलहरु शक्ति प्रदर्शनकै तहमा पुग्छन् ।  विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको छ । विद्यालयमा न त शिक्षक, न अभिभावक न कसैले राजनीति नै गर्न पाइदैन । तर पनि सवैभन्दा बढी राजनीति हुने क्षेत्र नै अहिले विद्यालय बनेको छ । 
सुर्खेतका अधिकांशका विद्यालयहरुमा विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा राजनीतिक दलका नेता तथा कार्यकर्तामात्रै रहेका छन् । उपत्यकाभित्र रहेका उच्च माविहरुमा शिव उच्च मावि लाटिकोइलीमा एमाले जिल्ला कमिटी सदस्य ऋषि गिरी, जनसेवा उच्च मावि घुस्रामा नेकपा एमालेका क्षेत्रीय अध्यक्ष गणेशबहादुर वली, लेखफर्सा उच्च माविमा एमाले सुर्खेतका सचिव गगनसिंह सुनार, सहारे उच्च माविमा एमाले जिल्ला कमिटी सदस्य धुर्बकुमार शाही, जन उच्च मावि वीरेन्द्रनगरमा नेपाली कांग्रेसका नगर सभापति देवकुमार सुवेदी, भैरव उच्च मावि अवलचिङमा एमाओवादीका भेरी–कर्णाली राज्य समितिका सदस्य जीतबहादुर राना अध्यक्ष छन् ।
त्यस्तै कोपिला मावि पर्सेनीमा नेकपा—माओवादीका मानबहादुर विक, हस्तविर सामुदायिक प्राविमा नेकपा एमाले नगर कमिटी अध्यक्ष पूर्णप्रसाद पौडेल, त्रिपुरेश्वर उच्च मावि ढोडेखालीमा एमाओवादीका रगवीर विश्वकर्मा र शिव उच्च मावि धुलियाविटमा एमाले क्षेत्रीय सदस्य विनोद ढकाल छन् । 
यी त प्रतिनीधिमूलक विद्यालय मात्रै हुन् । जिल्लाका अन्य स्थानहरुमा पनि नेतृत्व हत्याउनका लागि गुटउपगुट नभएका हैनन् । नेपाल राष्ट्रिय उच्च मावि गाग्रेताल विद्यालयमा विद्यालय स्थापना भएको ३७ बर्षपछि पहिलो पटक अभिभावकका विचमा नयाँ नेतृत्व चयन गर्न निर्वाचन भयो । सम्पूर्ण राजनीतिक दल एकातिर भने अर्को तिर नेकपा एमालेको एकल प्यानल चुनावी मैदानमा उत्रिए । निर्वाचन हुँदा एमालेको एकल प्यानल विजयी भयो ।
त्यस्तै भैरव उच्च मावि भैरवस्थाको अध्यक्षसहितको मतदानमा कांग्रेस र एमाओवादीको एउटा प्यानल थियो भने अर्काेतर्फ एमालेको एकल प्यानल थियो । मतदान हुँदा एमालेका नेत्रबहादुर कार्कीको प्यानलले एकतर्फी विजय हाँसिल ग¥यो । 
विद्यालय व्यवस्थापन समितिमा आउन राजनीतिक दलका नेताहरु किन मरिहत्ते गर्छन भन्ने प्रश्नपनि सर्वसाधारणहरुले उठाएका छन् । स्थानीय निकायको निर्वाचन नभइरहेको अहिलेको अवस्थामा विद्यालयमा मिनी निर्वाचन गराएर दलहरुले आफ्नो प्रभुत्व देखाउन खोजेको हुनसक्छ । अर्काेतिर विव्यसमा आइसकेपछि विद्यालयभित्र ‘हालीमुहाली’ गर्न पाइने लोभ हुनसक्छ । त्यति मात्र नभई विद्यालयको भौतिक विकासका लागि जिल्लातहमा पहुँच बृद्धि गराउन पनि नेताहरु अग्रसर भएको एकथरीको अनुमान छ ।
हस्तविर सामूदायिक विद्यालयका अध्यक्ष पूर्णप्रसाद पौडेल भने आफूहरु राजनीतिक दलको नेताको रुपमा भन्दापनि अभिभावकको रुपमा समितिमा आएको दावी गर्छन् । पाँचौं कार्यकालका लागि पुनः विव्यस अध्यक्षमा सर्वसहमत भएका पौडेल अभिभावककै अनुरोधमा समितिमा आएको बताउँछन् ।
राजनीतिक दलका नेताहरुले समितिको नेतृत्व गर्दा सकारात्मक र नकारात्मक दुवै पक्ष हुनेभएपनि समन्वय गरेर जान सक्नुपर्ने बताए । उनले विद्यालयको भौतिक अवस्थाको सुधारलगायत हरेक पाटोको विकास गर्न, जिल्ला तहमा आवाज उठाउन र पहुँच बढाउन सहज हुने दावी गरे ।
यता जिल्ला शिक्षा कार्यालय सुर्खेतले भने विद्यालय व्यवस्थापन समितिहरुमा राजनीतिक दलहरुका नेताहरु आउनुले राम्रो सन्देश नजाने जनाएको छ । जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले व्यस्थापन समितिहरुमा सहमतिमा आए राम्रो हुने भएपनि मतदानबाट आउँदा कुनै दलको छाप लाग्ने भएकोले यसले राम्रो सन्देश नगएको बताउँछन् । विद्यालय शान्ति क्षेत्र भएको बताउँदै उनले चुनावमा उठ्ने रहरले गर्दापनि यस्तो भएको उनको भनाई छ ।
विद्यालय शान्ति क्षेत्र निर्देशिका कार्यान्वयनको चरणमा रहेको जिशिअ उपाध्यायले बताए । उनले भने ‘विद्यालय शान्ति क्षेत्र घोषणा कार्यान्वयन गर्न स्रोत केन्द्र स्तरमा छलफल, तालिम, गोष्ठी संचालनको तयारीमा रहेका छौ ।’ गत शिक्षक सत्रमा दुई सय २० दिन विद्यालयमा खोल्नुपर्नेमा बढीमा दुई सय दिन सम्म मात्रै पढाई भएको जिल्ला शिक्षा अधिकारी उपाध्यायले बताए ।

No comments:

Post a Comment