Monday, June 24, 2013

मध्यपश्चिममा १० जातका नयाँँ धानको बीउ सिफारिस

एक लाख बढी हेक्टरमा धान खेती गरिदँै

सुर्खेत, ९ असार
सबैभन्दा धेरै धान उत्पादन हुने मध्यपश्चिमका ४ जिल्लामा यसवर्ष १० जातका नयाँ धानको बिउ सिफारिस गरिएको छ । सुचिकृत धानको बिउ मध्ये १० ओटा जात मध्यपश्चिमका सुर्खेत, बाँके, बर्दिया, र दाङमा सिफारिस गरिएको हो । 
मध्यपश्चिमका जिल्लाहरु मध्ये सबैभन्दा बढी धान उत्पादन हुने ४ जिल्लामा नयाँ धानको बिउ सिफारिस गरिएको सम्बद्ध जिल्ला कृषि विकास कार्यालयले जनाएका छन् । उक्त चार जिल्लाहरुमा एकलाख हेक्टर भन्दा बढी क्षेत्रफलमा धान खेती गरिदैँछ । सिफारिस गरिएका १० जातका धानको बिउँ सुर्खेत जिल्लामा लगाइदैछ भने, अन्य जिल्लामा केही मात्रामा लगाइदैछ । यी चार जिल्लामा तीन खालको जमिन भएकाले छुट्टाछुट्टै खालको धानको बिउ सिफारिस गरिएको छ । पानी कम हुने क्षेत्रमा सुख्खा १, २ र ३, बढी पानी जम्ने क्षेत्रमा स्वर्ण सबवन १, सादा सबवन १ रहेका छन् भने मध्यम क्षेत्रमा तरहरा १, अनमोल मन्सुली, वर्षे २०१४, पृथ्वी ६ र डिवाई ६९ रहेका छन् । 


सुर्खेतमा तरहरा १, मकवानपुर १, सादा सबवन १, स्वर्ण सबवन १, वर्षे २०१४, सुख्खा १, सुख्खा २, सुख्खा ३ लगाएतका जातका धानको विउ सिफारिस गरिएको जिल्ला कृषि विकास कार्यालय सुर्खेतका कृषि प्रसार अधिकृत सुरेशकुमार थापाले जानकारी दिए । सुर्खेत जिल्लामा किसानले सबै भन्दा बढी विन्देश्वरी धानको विउ लगाउने गरेका छन् । भने जिल्लामा करिब १४ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । गतवर्ष सुर्खेतमा ५४ हजार २ सय ९८ मेट्रिकटन धान उत्पादन भएको थियो । यसवर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ । वर्षा छिटो शुरु भएकाले सुर्खेतका पहाडी भौगोलिक क्षेत्रका विभिन्न ठाउँहरुमा रोपाई समेत शुरु भइसकेको छ । सिफारिस गरिएका १० ओटै धानको बिउ बाँके जिल्लामा यसै वर्षदेखि लगाईने जिल्ला कृषि विकास कार्यालय बाँकेका बरिष्ठ कृषि विकास अधिकृत राजेन्द्रप्रसाद प्रधानले बताए । जिल्लामा फरक फरक खालको जमिन भएकाले छुट्टाछुट्टै जमिन अनुसारको धानको बिउ सिफारिस गरिएको उनले बताए । जिल्लामा १० ओटा नयाँ धानको बिउ सिफारिस गरिएपनि करिब ८० प्रतिशत जमिनमा भने राधा ४ लगाउने गरिन्छ ।  उनका अनुसार यसवर्ष बाँके जिल्लाको करिब ३७ हजार हेक्टर जमिनमा धान खेती गरिँदैछ । गत वर्ष भने ३६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । उनका अनुसार गतवर्ष बाँकेका १ लाख ९ हजार २ सय २६ मेट्रिकटन धान उत्पादन भएको थियो । यसवर्ष भने समयमै पानी परेकाले २ देखि ३ प्रतिशतले धान उत्पादन बढ्ने प्रधानको अनुमान छ । यस्तै धेरै पानी जम्ने स्थानका लागि धानको बिउ सिफारिस गरिएकाले पनि धान उत्पादन बढ्ने उनले बताए । समयमै वर्षा भएपछि अधिकांस किसानहरुले धानको बिउ राखिसकेका छन् । 
यस्तै, बर्दियामा यसवर्ष सुख्खा १, २ र ३, स्वर्ण सबवन १ र २ जातका नयाँ धानको बिउ सिफारिस गरिएको छ । जिल्लाको ५० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदैछ । यस्तै, बर्दियाको धान उत्पादनका लागि मुख्य क्षेत्र मानिने राजापुर क्षेत्रको १५ हजार हेक्टरमध्ये १४ हजार हेक्टर क्षेत्रफलमा धान खेती गर्न लागिएको छ । जिल्लामा करिब ५० प्रतिशत क्षेत्रफलमा राधा ४ र २० प्रतिशत क्षेत्रफलमा सावित्री जातको धान लगाउने गरिन्छ । गतवर्ष बर्दियामा २ लाख ५७ हजार ५ सय ७५ मेट्रिकटन धान उत्पादन भएको थियो । जिल्लामा बढी मात्रामा सुख्खा क्षेत्र भएकाले सुख्खा जातको धानको बिउ सिफारिस गरिएकाले उत्पादन बढ्ने जनाइएको छ । 
यस्तै दाङमा सुख्खा १,२ र ३, मेगदुध, हर्दिनाथ जातको नयाँ धानको बिउ सिफारिस गरिएको छ । धेरैथरीका धानका बिउ विगतका वर्षमा सिफारिस भएकाले यसवर्ष कम धानको बिउ सिफारिस गरिएको बताए । जमिनको माग अनुसार धानको बिउ सिफारिस गरिएको उनको दावी छ । यसवर्ष दाङमा ३८ हजार ३ सय हेक्टर क्षेत्रफलमा धान खेति गरिँदैछ । यस्तै, गत वर्ष जिल्लामा १ लाख ५७ हजार ३० मेट्रिकटन धान उत्पादन भएको थियो । समग्रमा मध्यपश्चिमका ४ जिल्लामा धानको उत्पादन बढ्ने अनुमान गरिएको छ । यस क्षेत्रमा प्रर्याप्त मात्रामा सिँचाई सुविधा नभएकाले किसानहरु आकाशे पानीको भर पर्दछन् । तर, यसवर्ष भने यी ४ जिल्लाका लागि उपयुक्त समयमा पानी परेको विज्ञहरु बताउँछन् । 



No comments:

Post a Comment