Monday, June 24, 2013

गुणस्तरहिन इट्टा हटाउन प्रजिअको निर्देशन 
सुर्खेत, ९ असार .
सुर्खेतका प्रमुख जिल्लाा अधिकारी पुरुषोत्तम कुवरले कटकुवा स्वास्थ्य चौकी परिसरमा राखिएको गुणस्तरहिन ईट्टा दुई दिनभित्र हटाउन निर्देशन दिएका छन् । भुकम्प मापन केन्द्रबाट हटाउन निर्देशन दिइएको गुणस्तरहिन इट्टा पुनःस्वास्थ्य चौकीको भवनमा प्रयोग गर्न थालिएको समाचार सञ्चार माध्यममाबाट सार्बजनीक भएपछि प्रमुख जिल्ला अधिकारी कुवर र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख तपेन्द्रबहादुर खड्काले आईतबार निर्मार्णाधिन भवनको निरिक्षण गरेका थिए । भवनको निरीक्षण गर्दै कुवरले गुणस्तरहिन इट्टा दुई दिनभित्र हटाउन निर्देशन दिएका हुन् । प्रयोग भइसकेको इट्टाका बारेमा भने उनले कुनै निर्देशन र प्रतिक्रिया दिएका छैनन् । 
डिभिजन कार्यालयका प्रमुख खड्काले भवनमा गुणस्तरहिन इट्टा प्रयोग भइरहदा पनि प्रयोग भएको इट्टा गुणस्तरहिन नभएको जिकिर गरेका छन् । अनुगमनका क्रममा निर्माण कम्पनी जिएम कन्स्ट्रक्सनका प्रतिनिधि इन्द्र मानन्धरले गुणस्तरहिन इट्टा प्रयोगका लागि ल्याइएको स्वीकार गरेका छन् । उनले दुई दिनसम्ममा उक्त इट्टा हटाउने बताएका छन् । यही असार ११ गतेसम्म इट्टा नहटाए प्रशासनले उठाउने सहमति समेत भएको हो । भुकम्प मापन केन्द्रको भवन निर्माणमा प्रयोग गरिएको गुणस्तरहिन इट्टा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले हटाउन निर्देशन दिएपछि निर्माण कम्पनीले सोही इट्टा कटकुवा स्वास्थ्य चौकीको भवन निर्माणमा प्रयोगका लागि लगेको थियो । कुनैपनि सरकारी कार्यालयको भवन निर्माण गर्दा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले ल्यावबाट इट्टाको गुणस्तर परिक्षण गरेर मात्रै निर्माणका लागि अनुमति दिनुपर्दछ । तर वीरेन्द्रनगरमा निर्माणाधिन तीनवटै भवनमा प्रयोग गरिएको इट्टा ल्याव परिक्षण नै नगरि निर्माणमा प्रयोग गरिएको हो । ठेक्का सम्झौता अनुसार एक नम्बर इट्टा प्रयोग गर्नुपर्ने भएपनि  तीन नम्बर इट्टा प्रयोग गरी भवन निर्माण गर्न लागिएको हो । नेपालगन्जमा एक नम्बर इट्टाको मूल्य प्रति गोटा १० रुपैया ५० पैसा पर्दछ भने तीन नम्बर इट्टा प्रति गोटा ३ रुपैया मात्रै पर्दछ । २२ प्रतिशत कम दरमा ठेक्का सम्झौता गरेको जिएम कष्ट्रक्शनले १ करोड २ लाखमा १६ कोठाको तीन तले भवन निर्माण गर्न लागेको छ । आगामी असोज महिनामा सम्पन्न गर्ने गरी ३२ प्रतिशत कम दरमा वायर हाउस निर्माण गर्न २ करोड ९८ लाख रुपैयामा जिएम कष्ट्रक्शनले सम्झौता गरेको छ ।

No comments:

Post a Comment