Tuesday, November 26, 2013


सुर्खेत एमालेमा एचआईभी संक्रमण

छट्टुप्रसाद विसी÷लाटीकोइली–९, सुर्खेत
दोस्रो संविधान सभा निर्वाचन सकिएको पाँच दिन पछि जाजरकोटमा विरोध प्रदर्शन भयो । नेकपा एमालेका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरे । अरु कसैको विरोध गर्न कार्यकर्ता सडकमा उत्रिएका होइनन् । आफ्नै अञ्चल कमिटी सचिवको विरुद्धमा उत्रिएका हुन् । संविधानसभाको चुनावमा जाजरकोट क्षेत्र नं. २ मा एमालेका तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर बुढालाई हराउन अञ्चल सचिवले आर्थिक प्रलोभनमा परी नेपाली काँगे्रसका राजीवविक्रम शाहलाई सहयोग गरेर पार्टीलाई घात गरेको आरोप छ ।
पार्टी सङ्गठनमा बलियो मानिएको एमालेले चुनाव हारेपछि आन्तरिक समिक्षा गर्दै शर्माले पैसा खाएर काँग्रेस उम्मेदवारको पक्षमा लागेको एमालेका पराजित उम्मेदवार बुढा पक्षिय कार्यकर्ताहरुले लगाए । नेपाली काँग्रेसका उम्मेदवार शाहले बुढालाई २८६ मतको अन्तरले पराजित गरेका थिए ।
यो एउटा पछिल्लो उदाहरण हो । नेकपा एमाले सुर्खेतले पनि आत्म समिक्षा गर्न आवश्यक छ । पहिलो संविधान सभा निर्वाचनमा सुर्खेतका दुई–दुई सिटमा विजयी हाँसिल गरेको नेकपा एमाले सुर्खेत दोस्रो संविधान सभा निर्वाचनमा आईपुग्दा पराजयको सिकार बन्यो । सांगठनिक रुपमा बलियो, देशव्यापी रुपमा एमालेको जनलहर बढ्ेको बेला दोस्रो संविधान सभा निर्वाचनसम्म आई पुग्दा सुर्खेतका तीन वटै निर्वाचन क्षेत्र एमालेले गुमाएको छ । नेकपा एमाले आफै विग्रिएको होइन । यसका केही नेताहरुका कारण आज एमाले र एमालेमा आवद्ध सुर्खेतका तमाम नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुमा पराजयको चोट परेको छ ।

मानवको प्रतिरोधात्मक क्षमता कमजोर बनाउने जिवाणुलाई एचआईभी भनिन्छ । यो एउटा असुरक्षित यौन व्यवहारबाट मानिसमा लाग्ने संक्रमण हो । यो निको हुँदैन् । अन्यथा अर्थ नलागोस प्रसंग सुर्खेत एमालेसंग जोडेको छु । एमाले पार्टी आफैमा देशको लामो इतिहाँस बोकेको शक्तिशाली पार्टी हो । तर सुर्खेतमा एमाले हाँक्ने नेताहरुकै कारण आज एमाले एचआईभी संक्रमित जस्तै भएको छ । संगठनलाई तहस नहस बनाईएको छ । देशव्यापी एमालेको लहर आएको बेला अहिले सुर्खेतका तीन–तीन वटा निर्वाचन क्षेत्र अरुलाई बुझाउँदा एमाले नेताहरुलाई त्यति पिडा लागेको छैन् । एमालेको नाममा साँझ विहान अपमान सहनुपर्ने, अनावश्यक मुद्धामामिला व्यहोर्नुपर्ने, कुटपिट गाली–गलौज सहनुपर्ने कार्यकर्ताहरुलाई आज ठूलो चोट परेको छ । सुर्खेत एमालेको संगठनमा विगतदेखीनै एचआईभी संक्रमण भएको छ । गुट उपगुटको विभाजनलाई सडकमा पु¥याएर संगठन भित्र अराजकता मौलाउँदै एचआईभी संक्रमण जस्तै भएको हो ।
अराजकता मौलाएको छ । व्यक्तिगत पद लोलुपताले सांगठनिक क्षति पुगेको हो । त्यसलाई बढ्न दिनु हुँदैन् किन भने एचआइभीको संक्रमण बढ्यो भने मानवको मृत्यु हुन्छ तसर्थ एमालेभित्र समेत एचआईभी बढ्न नदिनका लागि सबैलाई न्याय हुने गरी आत्मसमिक्षा सहित गल्ती सच्याउँन तत्परता देखाउनुपर्छ र सांगठनिक रुपमा हुने कारवाहीको प्रक्रियालाई अगाडी बढाईनुपर्छ । यदि सच्चा एमालेको नेता भएपछि पार्टी विधान सम्बद्ध गर्ने कारवाहीको भागिदार हुँदै पछिल्ला दिनमा गल्ती नदोहो¥याउने बचन बद्धता गर्नुपर्छ ।
प्रसव पिडामा रहेकी महिलालाई जति पिडा हुन्छ त्यति पिडा नवजवान युवतिलाई थाहा हुँदैन् । जिल्ला तहमा रहेर माथि–माथिको राजनीति गर्नेलाई आज एमाले हार्दा त्यसको पिडा कम छ तर ग्रामिण स्तरमा रहेका आफ्नो एक मुठ्ठी शास रहुन्जेल नेकपा एमाले, सूर्य चिन्हलाई त्याग्न नसक्नेहरुलाई आज ठूलो चोट परेको छ । एमाले भएकै कारण विपक्षी दलमा आस्था राख्ने व्यक्तिहरुको नराम्रो नजरमा परेर संधै उनीहरुसंग मुकाविला गर्नेहरु आज गाउँ–गाउँमा अपमानित भएका छन् । काँग्रेसी चरित्रका ती व्यक्तिहरुले पटक पटक शारिरीक तथा मानसिक यातना दिई रहेका छन् । तर आज त्यो कार्यकर्तालाई खान मन लागेको छैन् , निन्द्रा लागेको छैन् । टोल समाजमा हिडन अप्ठयारो लागिरहेको छ ।
यसरी एउटा असल कार्यकर्ताको शिर निहुँराउने काम आज पदका लागि लड्ने जिल्ला तहका नेताहरुले गरेका छन् । कार्यकर्ताहरुको भावनालाई चोट पु¥याउँदै आफ्नै लागि रमाउनेहरुका लागि आज मस्ति भएको छ । आफुले पद पाउँदा ठिक अर्कोले पाउँदा बेठिक भन्ने चरित्रले गर्दा आज एमाले पराजयको सिकार बन्यो । मुख्यत निर्वाचन क्षेत्र नं. २ मा देखिएको विवादकै कारण आज जिल्लाभरीका एमाले शुभचिन्तकहरुलाई पिडा भएको छ । क्षेत्र नं. २ को लडाई पनि कुनै संस्थागत होइन व्यक्तिगत हो । शिवप्रसाद उपाध्याय र यामलाल कँडेलका विचको पदकै विषयको कटराव हो । दुवैले संस्थागत हितलाई समेत ख्यान नगरी व्यक्तिगत पद लोलुपताकै कारण आज जिल्लाव्यापी एमालेका कार्यकर्ताहरु रोएका छन् । पिडामा छटपटाई रहेका छन् । विपक्षी दल नेपाली काँग्रेसले आज गाउँमा घर वरपर भोजभतेर गरेको छ । मोज मस्ति गरेको छ । तर हाम्रा शुभेच्छुकहरु आत्मग्लानी सहित बसिरहेका छन् । यो पार्टी एक दुई जना तीन नेताहरुको पनि त होइन् । एउटा विधि, पद्यति, सिस्टममा चलेको पार्टी आज अन्यौलको अवस्थामा पुगेको छ ।
क्षेत्र, अञ्चल, जिल्ला हुँदै एमालेका स्थायी कमिटीले निर्णय गरेर देशव्यापी रुपमा नीति बनाएर पहिला जितेका, निकटतम प्रतिद्धन्द्धीलाई टिकट दियो । टिकट ल्याउनका लागि जिल्लाबाट सिफारिस भएका सबै जसो नेताहरु काठमाण्डौं पुगे । आफ्नो पहुँचले पुगे सम्म सिफारिसका लागि दवाफ दिए तर कसैको केही लागेन । अन्य दलको जस्तो टिके सिस्टमबाट माननियको टिकट वितरण भएन् । एउटा विधि, प्रक्रिया र सिस्टम बनाएर एमालेले देशव्यापी रुपमा टिकट दियो । टिकट वितरण गर्नुभन्दा पहिले केन्द्रमा सिफारिस भएका नेताहरुले जसलाई जिल्लामा टिकट दिएपनि सहयोग गर्न मञ्जुर छौं भनेर मञ्जुरी नामा गरेका छन् । दायाँ, बाँयाको ल्याप्चे, सहि ठोकेर फर्किएका नेताहरु किन आफ्नै ल्याप्चेको मसि सुक्न नपाउँदै आफैबाट अनुशासनको उलंघन गरे ।
एमाले पनि हुँ भन्ने अनि एमालेको निर्णयका विरुद्धमा आफ्नो गतिविधिहरु गर्दै जानु के हामी एमालेका शुभेच्छुक, कार्यकर्तालाई त्यो सैह्रय होला । आफ्नो पार्टीमा लामो समय सम्म बसेका नेता भएकाले केही सहानुभुति हुन ठिकै हो तर कुनै अर्को सामान्य व्यक्ति त्यस्तो हर्कत देखाउँथ्यो भने त्यसको जवाफ फरक हुन सक्थ्यो ।
दुवै जनाको पद लोलुपताको कुरा अगाडी बढ्दै जाँउदा जिल्ला कमिटीले अर्को विकल्प खोज्न सक्नुपथ्र्यो । अहिले धेरैले सुनाउँछन् । जिल्ला अध्यक्षले त्यसको पहल गरेनन् । उनलाई धेरैले दोस दिने गर्छन । तर तिनै उपाध्यक्ष हुन शिवप्रसाद उपाध्याय २०७० असोज २० गते महेश होटलमा आफ्ना पक्षीय नेता तथा कार्यकर्ताहरुको भेला गरी आफैलाई टिकट हुनुपर्ने निर्णय गर्ने । त्यस बेला पनि साझा व्यक्ति खोजी गर्न सक्नुपथ्र्यो । विकल्प सहितको निर्णय गर्न सक्नुपथ्र्यो । यदि एमालेप्रति इमान्दार, नैतिकवान कार्यकर्ता र नेताहरु भएको भए दुवै जनालाई रिङआउट गरेर अर्को साझा व्यक्तिको खोजी गर्न सक्नुपथ्र्यो । आफैले पाएपछि ठिक र अर्कोले पाएपछि बेठिक भन्ने व्यक्तिगत पदलोलुपताले आज सुर्खेतमा एमालेका हामी तल्लो कार्यकर्तालाई चोट पु¥याएको छ ।
शिवप्रसाद उपाध्यालेले पदबाट त राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिए तर एमालेको विभिन्न जिम्मेवारीमा रहने  अनि पार्टीको निर्णय विपरित जाने ती जिल्ला, क्षेत्र र गाउँ कमिटीका नेताहरुले समेत नैतिक रुपमा राजिनामा दिएर फिल्डमा जानुपथ्र्यो । एमाले जिम्मेवारीमा रहने अनि एमालेकै विरुद्धमा उत्रिँदा हामी एमालेका सोझा कार्यकर्ताका आँखामा छारो हालेको होइन ।
यहाँ जसले जे गरेपनि हुन्छ ? तल्लो तहका कार्यकर्ता भएको भए अहिले सम्म सदस्यता समेत खारेज भैसक्थ्यो तर यी ठूलो जिम्मेवारीमा छन् भन्दैमा केही गर्न नसकिने हुन्छ ? असोज २० गतेको महेश होटलमा भेला भएर पार्टीको निर्णय विरुद्धमा उत्रिएका ४२ जना मध्ये केही पछि पार्टी काममा फर्किएका थिए ।
उनीहरुको छानविन गरी पार्टीको निर्णयका विरुद्धमा खुलम खुल्ला हिडने नेताहरुलाई  एमालेको विधानतह कारवाहीको भागेदार बनाईनुपर्छ । पहिलो उनीहरुलेनै नैतिक रुपमा इमान्दार भए राजिनामा दिएर आफ्नो नैतिकता प्रकट गर्नुपर्छ । जिल्ला अध्यक्षको असक्षमताकै कारण यो घटना भएको मैले बुझेको छु । तत्काल बैठक बोलाएर कोठा भित्रै जति लडेपनि हुने थियो तर आज बैरीहरुलाई हँसाउने गरी यो लडाई सडकमा किन पु¥याईयो । समस्याको तत्काल समाधान गर्न नसक्ने जिल्ला अध्यक्षले समेत तत्काल पदबाट राजिनामा दिनुपर्छ भन्ने तर्क पनि आउन सक्छ । किन भने एमालेले तीन वटै क्षेत्रबाट पराजित हुनुप¥यो । अर्को तर्फ राजिनामा दिएर एमाले सुर्खेतमा अनिर्णय बन्दी बनाउनुपनि हुँदैन किन भने अध्यक्षले राजिनामा दिए पछि कार्यकाहक कसले समहाल्ने भन्ने हुन सक्छ । पदाधिकारी सबै विवादमा मुछिएका छन् । त्यसैले अब तत्काल अध्यक्षले राजिनामा दिनुभन्दा पनि जिल्ला कमिटीको उपलब्ध सदस्यहरुको बैठक बोलाएर विधान अनुसार छानविन समिति बनाएर पार्टी निर्णय विरुद्धमा जानेहरुलाई एउटा सिमा सम्मको कारवाहीको भागिदार बनाउँनैपर्छ । किन भने यो एमाले आजका लागि मात्रै होइन यसले दुरगामी असर समेत पार्न सक्छ । भोली स्थानीय निर्वाचन आउँदैछ । आफुले टिकट नपाएको झोकमा अर्कोले स्वतन्त्र उम्मेदवारी दियो भने त्यस बेला के गर्ने त्यसैले अहिले पार्टी निर्णयका विरुद्धमा जानेहरुलाई केही नगरेर छाडेमा भोली पार्टी भित्र अराजकता मौलाउँछ । जसले जे गरेपनि हुन्छ भन्ने विकृत मानसिकता बढ्छ ।
तल्लो तहका कार्यकर्ता, शुभेच्छुकहरुको मनलाई सन्तुष्ट पार्न पनि पार्टी निर्णयका विरुद्धमा उत्रिनेहरुलाई कारवाहीको भागिदार बनाएर साँच्चिकै एमाले कम्यूनिष्ट पार्टी हो र यसका निर्णयका विरुद्धमा जाने जो कोही पनि कारवाहीको भागिदार हुनुपर्छ भन्ने सन्देश दिनुपर्छ । हो बरु जिल्ला कमिटीले कारवाहीको समेत सिमा, तह अनुसार केही समयका लागि गर्नुपर्छ । किन भने आफ्नो संगठनका नेताहरुलाई जवरजस्ति रुपमा अर्को संगठनमा जान बाध्य भने पार्नुहुँदैन् तर एउटा नजिर के हो भने गल्तीको समिक्षा गर्दै कारवाहीको भागिदार बन्न सक्ने नैतिकता ती निर्णय विपरित जाने नेताहरुले प्रकट गर्न सक्नुपर्छ । चुनाव अघि सम्मको जस्तो हामीसंग बहुमत जिल्ला कमिटी सदस्य छन् । उस्तै परे समानान्तर जिल्ला कमिटी बनाउँछौं । केन्द्रीय कमिटीलाई घुँडा टेक्ने बनाउँछौं भन्दै अहिले पनि दम्भ नदेखाए हुन्छ । किन भने तपाईहरुकै कारण आज एमालेले सुर्खेतका तीन सिट गुमाउनु परेको छ । जसले गर्दा राष्ट्रिय राजनीतिमा समेत एमाले दोस्रो स्थानमा पुगेको छ । पिडा हामी सुर्खेती कार्यकर्ताहरुलाई मात्रै छैन् । देशव्यापी रुपमा एमालेले अग्रस्थानमा लिँदा लिँदै सुर्खेतले पछाडी पार्दा त्यसको पिडा अहिले देशव्यापी भएको छ ।
उदाहरणका लागि नेपाली काँग्रेस तर्फ जाऔं संविधानसभा निर्वाचनमा अन्तरघात गरेको आरोपमा कांग्रेस खोटाङले झन्डै दुई दर्जन नेता कार्यकर्तालाई कारबाही गरेको छ । अन्तरघात गरेर कांग्रेस उम्मेदवारलाई चुनाव हराएको आरोपमा महासमिति सदस्य तथा पूर्व वन राज्यमन्त्री शिवकुमार बस्नेत, पूर्व पर्यटन राज्यमन्त्री सर्वधन राई, महासमिति सदस्य महेन्द्रकुमार कटवाल, जनककुमार कार्की, सुवाशकुमार पोखरेल, शान्ति राई, जिल्ला कोषाध्यक्ष देवी राई, २ नम्बर क्षेत्रीय सभापति विष्णुराज राई, १ नम्बर क्षेत्रीय सचिव श्यामकुमार राईलाई कारबाही गरेका छन् ।  २० जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । अन्तरघातले क्षेत्र १ मा नरेशकुमार श्रेष्ठ र क्षेत्र २ मा विष्णुकुमार राईले एमालेबाट हार बेहोर्नुपरेको थियो ।
हामीले इतिहाँसलाई समेत समिक्षा गर्नुपर्छ । एक जना दार्शनिकले भनेका छन् भुतकालको जानकारी लिएर वर्तमानलाई सुधार्ने हो भने भविष्य सुनौलो हुन्छ । पार्टी विभाजन २०५५ सालमा भयो । २०५८ सालमा पार्टीमा पार्टी एकीकरण भएको थियो । २०५६ को ससदीय निर्वाचनमा सुर्खेतका तीन वटै निर्वाचन क्षेत्रमा एमाले पराजय भएको थियो । उक्त हारको कारण पार्टी विभाजन नै भएको निष्कर्ष निकालियो । २०५४ सालको स्थानीय निर्वाचनमा भने जिल्ला विकास समिति र जिल्लाका धेरै गाउँ विकास समितिमा एमालेले कब्जा जमायो ।
२०७० मा भएको निर्वाचनमा पनि एमालेले जिल्लाको तिन वटै क्षेत्र गुमाएको छ । सतहमा केहि कारणहरु स्पष्ट देखिएपनि यसको समिक्षा मैले माथि गरिसकेको छु । पार्टी विभाजनपछि ०५६ मा भएको निर्वाचनमा सुर्खेत क्षेत्र नं. २ मा एमालेका शिवप्रसाद उपाध्यायले र मालेतिर लागेका यामलाल कँडेल मालेबाट उम्मेदवारी दिए ।
त्यतिबेला दोस्रो स्थानमा रहेका उपाध्यायले १५ हजार ७ सय ९१ मत पाएका थिए भने तेस्रो स्थानमा रहेका कँडेलले जम्मा १ हजार ९ सय ३६ मत मात्र प्राप्त गरेका थिए । ०७० मा एमालेबाट उम्मेद्वार बनेर दोस्रो स्थानमा रहेका उनै कँडेलले ९ हजार १ सय १८ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवरी दिएका उनै उपाध्यायले ४ हजार ५ सय ६५ मत ल्याएर चौथों स्थानमा पुगे ।
मुख्यतः तीन वटै निर्वाचन क्षेत्रबाट एमाले पराजित हुनुको कारण क्षेत्र नं. २ को स्वतन्त्र उम्मेदवारलाई धेरैले दोष लगाएका छन् । स्वतन्त्र उम्मेदवारीले पनि एमालेलाई तीन वटै क्षेत्रमा केही असर त पक्कै गरेको छ । हामीले भित्रि रहस्यहरुपनि खोल्न जरुरी छ । क्षेत्र नं. १ को कुरा गरौं निर्वाचनको मुखमै केही जिल्ला कमिटी सदस्य सहितको एउटा टोली नेपाली काँग्रेस र अर्को टोली एमाओवादीमा प्रवेश ग¥यो । त्यसलाई रोक्न र फर्काउन कसैले पहल गर्न सकेनन । जसले आर्थिक प्रलोभनमा परी मतदाताहरुलाई केही प्रभावित पनि ग¥यो । अर्को तर्फ एमालेका जिम्मेवार व्यक्तिहरुनै नेपाली काँग्रेसका उम्मेदवारबाट परिचालित भएको तल्लो तहका कार्यकर्ताहरुको आरोप छ । पार्टीका जिम्मेवार व्यक्ति रहेको गाउँ विकास समितिबाट अपेक्षाकृत मत आउन सकेन ।
निर्वाचन क्षेत्र नं. ३ को कुरा गरौं भुसको आगो बाल्ने अनि मंसिरको निर्वाचन पछि उम्मेदवार सहितलाई ताप्न बोलाउने एमालेको जिम्मेवार कमरेडहरु पनि हुनुहुन्छ । उहाँहरुले खुलम खुल्ला रुपमा एमालेको उम्मेदवारलाई आफ्नो भोट चाहिँदैन रे भन्दै प्रचार गर्नुभयो । जसले गर्दा पार्टीको आन्तरिक जिबन कमजोर भयो र विपक्षीहरुले त्यसैलाई प्रचारको माध्यम बनाए र अपेक्षाकृत उत्तरगंगा गाविसबाट मत आउन सकेन ।
त्यसैले गल्ती गर्नेलाई पहिचान गरी प्रमाण सहित सिमा अनुसार (विधान) अन्याय नहुने गरी कारवाही गरिनुपर्छ र अब एमाले सुर्खेतको जिल्ला अधिवेशन तत्काल हुँदैछ । उक्त अधिवेशनबाट साँच्चिकै एमाले एक ढिक्का भएको छ है भन्ने सन्देश बाहिर दिनका लागि सबैसंग छलफल समन्वय गरेर सर्वसम्मत रुपमा जिल्लामा नेतृत्व चयन गरेर देशव्यापी रुपमा सुर्खेत एमालेको राम्रो सन्देश दिन आवश्यक छ ।

No comments:

Post a Comment