Sunday, August 12, 2012

२५ प्रतिशत युवा रोजगारी खोज्दै भारत

दीपक बुढा÷सुर्खेत, २८ साउन । सुर्खेतका २५ प्रतिशत युवा रोजगारी खोज्दै भारतर्फ जाने गरेका छन् । बढ्दो बेरोजगारीसँगै युवा पलायनको क्रम पनि पछिल्लो समयमा अत्यधिक बढेको छ । भारतबाट मात्रै सुर्खेतमा वार्र्षिक एक करोडभन्दा बढी रेमिटयान्स भित्रिने गरेको तथ्यांक छ । हरेक वर्ष सुर्खेतबाट मात्रै २५ प्रतिशत युवा रोजगारीका लागि भारत जाने गरेका छन् । विशेषगरी १२ वर्षदेखि ४० वर्षसम्मका युवा भारत जानेगरेका छन भने ६५ वर्षसम्मका व्यक्ति पनि कामका लागि भारतमा आश्रित रहेको यसैक्षेत्रसँग कार्यरत विभिन्न संघरसंस्थाले बताएका छन् ।
जिल्लाका अधिकांशको आयआर्जनको मुख्य स्रोत नै रेमिटयान्स बनेको छ । जिल्लाका करिब ३० प्रतिशत घरपरिवारले भारतबाट भित्रिने रेमिटयान्सले नै जीविकोपार्जन गर्दै आएका छन् । उनीहरुले वर्षमा दुईपटक भारतमा गएर पैसा कमाउने र त्यसैले घर खर्च चलाउने गरेका छन् । सुरक्ष्ाित रेमिटयान्स तथा सुदृढ जीविकोपार्जन परियोजना सञ्चालन गरिरहेको वातावारण सुधार समाजका अनुसार जिल्लाको बाबियाचौर, कुनाथरी, राकम, मेहेली, मालारानी लगायतका गाविसबाट अधिकांश युवा भारत गएका छन् ।
उच्च शिक्षा हासिल गरे पनि स्वदेशमा रोजगारी नपाएपछि युवाहरु बिदेसिने गरेको सुरक्षित रेमिटयान्स तथा सुदृढ जीविकोपार्र्जन परियोजनाका कार्यक्रम संयोजक जगत केसीले बताए । विशेषगरी सुर्खेत पश्चिम क्षेत्रका युवाहरु बिदेसिने गरेका छन् । तीमध्ये ८२ प्रतिशत व्यक्ति हरेक वर्ष घरर्खच चलाउनकै लागि भारत जाने गरेको केसी बताउँछन् ।
परम्परागत खेतीले वर्षभरि खानसमेत नपुग्ने भएपछि घरखर्च चलाउन भारतकै भर पर्नुपर्ने उनले बताए । भारत जानेमध्ये ७ प्रतिशत महिला रहेको समेत उनले जानकारी दिए । विशेषगरी ग्रामीण क्षेत्रमा व्याप्त गरिबी, असमानताले गर्दा पनि युवा बिदेसिने क्रम बढेको छ ।

No comments:

Post a Comment