Wednesday, August 22, 2012

सिटिहल निर्माण बारे जानकारी

सुर्खेत, ५ भदौं ।
सुविधा सम्पन्न सिटि हल निर्माणका बारेमा हाल सम्म भए गरेका गतिविधि, प्रगतिका बारेमा जानकारी गराईएको छ । सिटिहल निर्माण समितिको आयोजनामा सोमबार सरोकारवाला निकायका प्रमुख तथा प्रतिनीधिहरुलाई जानकारी गराईएको हो ।
२०६६ सालमा सम्पन्न अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवबाट ५१ हजार एक सय ५१ रुपैयाँ विनियोजन गरि सिटिहल निर्माणको औपचारीक प्रक्रिया सुरु गरिएको थियो । सिटिहल निर्माणका लागि लागत स्टीमेट डिजाई, जिल्ला विकास समिति र वीरेन्द्रनगर नगरपालिकाबाट थप अनुदान र केन्द्रिय तहमा डेलिगेसन सहितका गतिविधि सम्पन्न गरिएको जनाईएको छ ।
सिटिहल निर्माण समितिका संयोजक टिकाराम आचार्यले सर्वपक्षिय, सर्वदलिय प्रतिनिधित्व हुने गरी ५१ सदस्यीय मूल समिति र १३ सदस्यीय सचिवालय समिति गठन गरी सिटिहल निर्माणका लागि स्थानीय स्तरदेखि केन्द्रिय तह सम्म पहल थालिएको जानकारी दिए ।
उनले क्षेत्रीय स्तरका कार्यक्रमहरु सुर्खेतका संचालन गर्न अत्यावश्यक रहेको सिटिहल सुर्खेतमै निर्माण गर्न  राष्ट्रिय योजना आयोग, अर्थमन्त्रालय र भौतिक योजना तथा भवन निर्माण मन्त्रालयमा डेलिगेसन पेश गरिएको जानकारी दिए । त्यसैगरी राष्ट्रिय बजेटमा समावेश गर्न जिल्लाका ६ जना पूर्व सभासदहरुलाई समेत एक एक प्रति सिटिहल निर्माणको अवधारणा पत्र पेश गरिएको जनाईएको छ ।
वीरेन्द्रनगर नगरपालिकाबाट ६ लाख, जिल्ला विकास समितिबाट पहिलो बर्ष दुई लाख र दोस्रो बर्ष ४९ हजार रकम प्राप्त भएको जनाईएको छ । नगरपालिकाबाट प्राप्त रकम ६ लाख मध्ये तीन लाख लागत स्टिमेट र तीन लाख कम्पाउण्डीङमा खर्च हुने जनाईएको छ ।
सिटिहल निर्माणकै लागि सुर्खेत उद्योग वाणिज्य संघले १० लाख रकम दिने प्रतिवद्धता गरेको समेत जनाईएको छ । प्राप्त भएको जम्मा तीन लाख चार सय रकम मध्ये डेलिगेसनमा ४९ हजार ७ सय र खाना, स्टेशनरीमा १६ हजार खर्च भई समितिको खातामा दुई लाख ६३ हजार ८ सय ५६ रुपैयाँ मौज्दात रहेको जनाईएको छ ।
सहरी विकास तथा भवन निर्माण विभाग मार्फत देशका दिपायल, रत्ननगर चितवनगर र सुर्खेतको वीरेन्द्रनगर सहित प्रमुख तीन स्थानको सम्भाव्यता अध्ययन गरेकोमा सुर्खेत सबैभन्दा उत्कृष्ट भएको प्रतिवेदन विभागमा पेश गरिएको थियो । काठमाडौंको म्यानेक्स कन्सल्टेन्सीले तयार गरेको लागत स्टिमेटमा १३ सय सिट क्षमताको उक्त सिटिहल निर्माणमा १४ करोड रकम लाग्ने जनाईएको छ ।
उक्त वीरेन्द्रनगर नगरपालिका कार्यकारी अधिकृत यामलाल ढकाल, झुप्रा बृहद खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटा, राष्ट्रिय लोक तथा दोहोरी गित प्रष्ठिान सुर्खेतका यज्ञ गुरुङ, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुर्यमणि गौतम, जिल्ला अध्यक्ष दुर्गा थापा, नेकपा एमाले नगर अध्यक्ष पुर्णप्रसाद पौडेल, नेपाली काँग्रेस नगर सभापति देवकुमार सुवेदी, कांग्रेस क्षेत्रीय सभापति कमल रेग्मी, एमाले जिल्ला कमिटी सदस्य धुव्रकुमार शाही, एकीकृत नेकपा माओवादीका प्रताव सहितको उपस्थिति रहेको थियो । सहभागिहरुले सुर्खेतमा निर्माणको पहल गरिएको सिटिहल सुर्खेत जनताको हितमा भएकाले सबैले आ—आफ्नो तर्फबाट सक्दो सहयोग पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

No comments:

Post a Comment