Monday, August 13, 2012

स्याकको १८ औं बार्षिकोत्सव अवको लगानी शिक्षा स्वास्थ्य र आयआर्जनमा

खेमराज वली
सुर्खेत, २९ साउन ।
समाज जागरण केन्द्र (स्याक) नेपालको १८ औं बार्षिकोत्सव तथा १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । एक कार्यक्रमकाबीच संस्थाको बार्षिकोत्सव तथा साधारण सभा सोमबार वीरेन्द्रनगरमा सम्पन्न भएको हो ।
१८ औं बार्षिक उत्सव तथा १७ औं साधारण सभामा स्याक नेपालले आर्थिक बर्ष ०६८÷०६९ को आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी आर्थिक बर्ष ०६९÷०७० को लागि नीति कार्यक्रम तथा प्रस्तावित बजेट प्रस्तुत गरिएको छ ।
कार्यक्रममा संस्थाले गत वर्षमा सञ्चालन गरेका कार्यक्रम र तिनको प्रगतिको बारेमा जानकारी तथा आगामी बर्षको संस्थाको नीति कार्यमक्रमको बारेमा जानकारी गराउँदै स्याक नेपालका महासचिव खगेन्द्रप्रसाद सापकोटाले अबको आर्थिक बर्षमा संस्थाले शिक्षा, स्वास्थ्य, आयआर्जन तथा जिविकोपार्जन, शान्ति प्रबद्र्धन र संस्थाको विकासमा क्षेत्रमा काम गर्ने बताए ।
शिक्षा अन्तर्गत निःशुलक शिक्षा घोषण अभियानलाई निरन्तरता दिने, आधारभूततहको लागि विद्यार्थीहलाई आवश्यक पर्ने स्थानीय शैक्षिक सामाग्रीको उत्पादन गर्ने, सूचना केन्द्रको व्यवस्थापन तथा विद्युतिय पुस्तकालयको विकास गर्ने कार्य आगाडी सारिएको छ ।
त्यस्तै स्वाथ्य अन्तर्गत खुला दिसामुक्त क्षेत्र घोषणा तथा खानेपानी गुरु योजना निर्माण गरी स्वच्छ खानेपानीको व्यवस्था गर्ने, मातृ तथा शिशु मृत्युदर कम गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने, एच.आई.भि नियन्त्रण तथा प्रकोप व्यवस्थापनका गर्न जनचेतना जगाउने कार्य संस्थाले अगाडि सारेको छ ।
संस्थाले आयआर्जन तथा जिविकोपार्जनमा कृषि पशुपालनमा जोड दिनक्षमता, सीप, प्रविधिमा सहयोग, पूर्वाधार विकासका कार्यक्रम सञ्चालन, व्यवसायमूलक तालिम, बेमौसमी तरकारी खेती, टनेल प्रविधिलाई नमूनाको रुपमालिने योजना बनाएको छ ।
साथै लघु उद्यम विकास तथा स्वरोजगारमूलक तालिम सञ्चालन गर्ने, सामूहिक खेती प्रणालीको व्यवस्थापन गर्ने बताएको छ । यसैगरी महिला, बालबालिका, फरक क्षमता भएकाहरुका लागि कार्यक्रम सञ्चालन गर्ने द्वन्द्व पीडित र मानविय सहयोग कार्यक्रम लगायतका शान्ति प्रबद्र्धनमा सहयोग गर्ने कार्यक्रमहरु पनि सञ्चालनमा ल्याउने बताइएको छ ।
संस्थाले आगामी कार्यक्रमहरुमा आन्तरिक तथा सम्पूर्ण कार्यक्रमहरुमा जम्मा तीन करोड २८ लाख ४३ हजार ६७ प्रस्तावित गरेको छ भने त्यती नै रकम खर्चको प्रस्ताव गरेको छ जसमा आन्तरिक स्रोतको प्रस्तावित आम्दानी रकम ३० लाख ९३ हजार चार सय ६५ रहेको छ ।
सोही कार्यक्रममा बोल्दै प्रमुख अतिथी स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले संस्थाको आगामी कार्यको लागि शुभाकामना दिँदै ग्रामीण स्तरमा सेवा उपलब्ध गराई गरिबी न्यूनिकरणमा ध्यानदिनुपर्ने बताए ।
उनले संस्था मेहनत, लगनशिल तथा अनुशासनका कारणले सफल भएको भन्दै गैरसरकारी संस्थाको समाज रुपान्तरणमा अझै महत्वपूर्ण भूमिका रहने बताए । त्यस्तै संस्थाका संरक्षक डा.शुरेशकुमार तिवारीले संस्थाले राजनीतिबाट टाढा रहन प्रयास गरेको बताए । अर्का अतिथी नेपाली कांगे्रसका कोषाध्यक्ष गोविन्द कोइरालाले राज्यले मात्रै सबै क्षेत्रमा कामगर्न नसक्ने भएकोले सरकारी निकाय नपुगेका ठाउँहरुमा काम गर्न सुझाब दिए ।
उनले संस्थालाई राजनीतिबाट टाढा राख्नुपर्ने भन्दै जनजाति, महिला, दलित तथा पिछडिएका बर्गहरुलाई लक्षित बनाएर कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष शिवप्रसाद उपाध्यायले सञ्चालन गरेका कार्यक्रमले प्रभाव पार्नुपर्ने बताएका थिए ।
साधारण सभामा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत बुद्धिप्रसाद सापकोटा, राप्रपा सुर्खेतका सचिव टोपबहादुर वली, राप्रपा नेपालका सचिव अमृत राना, समाजवादी जनता पार्टीका अध्यक्ष भगवानप्रसाद अधिकारी, स्थानीय शान्ति समितिका संयोजक मोहन थापा, जिल्ला कृषि बिकास कार्यालयका प्रमुख विजयकुमार गिरी, गैरसरकारी संस्था महासंघका शाखा सुर्खेतका अध्यक्ष डिल्लु घिमिरे लगायत विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरुले संस्थालाई शुभकामना दिएका थिए । यसै कार्यक्रममा संस्थाले संस्थाका उत्कृष्ट कर्मचारी खिम रेग्मी लगायत विभिन्न उत्कृष्ट बाल समूह, क्लव, आमा समूह र उत्कृष्ट कार्यक्रमलाई पनि सम्मान तथा प्रसंशापत्र वितरण गरेको थियो ।

No comments:

Post a Comment