Sunday, August 19, 2012

मप विश्वविद्यालय संचालन समायोजनले रोक्यो

दीपक बुढा÷सुर्खेत ।    साउन महिनादेखिनै कक्षा संचालन गर्ने तयारीमा रहेको मध्यपश्चिम विश्वविद्यालय समायोजन प्रक्रियामा रोकिएको छ । सुर्खेतका तीन वटा पव्लिक साईन्स क्याम्पस, वीरेन्द्रनगर बहुमुखी क्याम्पस र सुर्खेत क्याम्पस शिक्षालाई समायोजन गरी आफ्नो पाठ्यक्रम लागुगर्ने तयारी गरिएपनि त्रिभुवन विश्वविद्यालयले स्वीकृत नदिँदा ढिलाई हुँदै गएको छ ।
त्रिविको आंगिक क्याम्पसका रुपमा रहेको सुर्खेत क्याम्पस शिक्षामा हाल कार्यरत जनशक्ति, भौतिक संचरनाका सम्बन्धमा दुवै पक्षवीचमा सम्झौता हुनसकेको छैन् । राजधानी केन्द्रीत मप विश्वविद्यालयका पदाधिकारी, डिनहरु भने समायोजन प्रक्रिया चलिरहेको बताउँछन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले चालु शैक्षिक सत्रमा संचालन गर्ने कार्यक्रम, विषय, आंगिक क्याम्पसका सम्बन्धमा त्रिभुवन विश्वविद्यालयसंग सम्झौताको तयारी गरिरहेको जनाईएको छ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको सुर्खेत क्याम्पस शिक्षालाई विश्वविद्यालयमा समायोजन गरी कार्यक्रम संचालन गर्ने सम्बन्धमा सम्झौताको तयारी भैरहेको विश्वविद्यालय परिषद सदस्य एवंम् डिन डा. केशरसिं रानाले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग छलफल गरी त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सहित जनशक्ति, भौतिक पूर्वाधार हस्तान्तरणको काम हुने उनले जानकारी दिए । सम्झौताका लागि मप विश्वविद्यालयले आवश्यक रणनीतिक योजना सहितको अवधारणा पत्र त्रिभुवन विश्वविद्यालयमा बुझाईएको छ ।
सुर्खेतका पव्लिक साईन्स क्याम्पस, वीरेन्द्रनगर बहुमुखी क्याम्पस समायोजनका लागि सहमति सहित निर्णय गरेका छन् भने सुर्खेत क्याम्पस शिक्षालाई समायोजन गर्ने सम्बन्धमा आवश्यक छलफल भैरहेको डिन रानाले जानकारी दिए । सुर्खेत क्याम्पस शिक्षाको समायोजन प्रक्रिया लामो भएकाले विश्वविद्यालयले आवश्यक कार्यक्रम समेत ल्याउन नसकेको उनले जानकारी दिए ।
उनले भने ‘साउन महिनादेखिनै कक्षा संचालन गर्ने तयारी गरेका थियौं तर प्राविधिक कुराहरु मिलाउँदै जाँदा समय लागेको छ ।’ उनले थपे ‘दशैं लगत्तै शैक्षिक कार्यक्रम सहित नयाँ भर्नाको कार्यक्रम सुरु गरिन्छ ।’
केही काममा पूर्णता दिएको छ भने धेरै काम सुरुवात चरणमा रहेका छन् । पाठ्यक्रम निर्माणदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञसंग समन्वय गरी नमूना विश्वविद्यालय बनाउन पहल थालिएको म.प. विश्वविद्यालयका उपकुलपति डा. पदमलाल देवकोटाले बताए । विश्वविद्यालयको रणनीतिक पञ्चबर्षिय योजना र चार वटै संकायको शैक्षिक क्यालेण्डर निर्माण कार्य पुरा गरिएको जनाईएको छ । विश्वविद्यालयको शैक्षिक नीति समेत तयार भएको छ । विश्वविद्यालय लक्ष्य, उद्देश्य, कार्यक्रम, नीति सहितको पञ्चबर्षिय कार्ययोजना तयार गरिएको हो । मध्यपश्चिमका १५ जिल्लाको विज्ञान र प्रविधिको विकासमा योजना तयार गरिएको छ ।
विभिन्न तीन चरणमा योजना निर्माण गरिएको छ । प्रत्येक जिल्लामा एउटा साईन्स क्याम्पस स्थापना गर्ने र तीन वटा उच्च माविमा साईन्स विषय अध्यापनको सुरुवात गर्ने योजना बनाईएको छ । पहिलो चरणमा हुम्ला, जुम्ला, मुगु, जाजरकोट जिल्ला, दोस्रो चरणमा दैलेख, कालिकोट, प्यूठान, सल्यान, रोल्पा, रुकुम जिल्ला र तेस्रो चरणमा दाङ, सुर्खेत, बाँके र बर्दिया जिल्लालाई राखिएको जनाईएको छ ।
‘अन्तर्राष्ट्रिय सहयोग जुटाउनेदेखि नयाँ आर्थिक बर्षमा धेरै बजेट विनियोजन गराउन हामी जुटेका छौं’–उपकुलपति डा. देवकोटाले भने ‘विश्वविद्यालयलाई एसियामै नमूना बनाउन हामी त्यसै अनुसारका पाठ्यक्रमको निर्माण गरी अध्ययनको सुरुवात गर्ने गरी अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय विस्तार गरिरहेका छौं ।’ ‘साउन महिनादेखि कक्षा संचालन गर्ने गरी काममा तिव्रता दिईएको भएपनि प्राविधिक काममा ढिलाई हुँदा केही समस्या भएको छ । दशैं लगत्तै हामी कक्षा संचालनको तयारीमा छौं’—उनले बताए ।
जिल्लाका वीरेन्द्रनगर बहुमुखी क्याम्पस, शिक्षा क्याम्पस समायोजनमा सहभागि नभएपनि विश्वविद्यालयले भवन भाडामा लिएर भएपनि कक्षा संचालन गर्ने जनाईएको छ । गत आर्थिक बर्षमा सरकारले दुई करोड ७१ लाख रकम विनियोजन गरेको थियो । उक्त बजेटबाट विश्वविद्यालयको साईन्स एण्ड टेक्नोलोजिको ६ करोड लागतको शैक्षिक भवन निर्माणको प्रक्रिया सुरु भएको छ ।
मध्यपश्चिम विश्वविद्यालयले सुर्खेतमा राष्ट्रिय स्तरको जलस्रोत अध्ययन केन्द्र र व्यवसायीक तालिम केन्द्र संचालनार्थ शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, अर्थ मन्त्रालयमा प्रस्तावित कार्यक्रम पेश गरिएको छ ।
यसै शैक्षिक सत्रदेखि कक्षा संचालन गर्ने गरी कर्मचारी, प्राध्यापक दरबन्दी, भौतिक संरचना निर्माणमा धेरै भन्दा धेरै बजेट विनियोजनका लागि शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, विश्वविद्यालय अनुदान आयोगमा कार्ययोजना पठाईएको छ ।
भारतसंग ८ अर्ब लगानीको भौतिक पूर्वाधार निर्माण र चिन सरकारसंग १५ सयको शैयाका टिचिङ हस्पिटल स्थापना गर्न पहल थालिएको बताईएको छ । ‘चिन र भारत सहयोग गर्न इच्छुक छन् । अन्य देशसंग पनि शैक्षिक तथा भौतिक सहयोगका लागि पहल थालेका छौं’ नेपाल र बाह्य देशमापनि दुर्लभ तथा लोकप्रिय रहेका विषयमा अध्यापन कार्य सुरु गरिने जनाईएको छ ।
भौतिक पूर्वाधार, जनशक्ति, प्रशानिक खर्च सहित ६१ करोड बजेट तथा कार्यक्रम आयोगमा पेश गरिएको हो । बजेट स्वीकृत भएलगत्तै विश्वविद्यालय भित्रको सेवा आयोगको स्वीकृति लिएर खुल्ला विज्ञापन गरी विभिन्न संकायका प्राध्यापक, प्रशासनिक कर्मचारीको पदपूर्ती गरिने छ ।  ८ सय ९ जना दरबन्दी  माग गरिएको छ ।

No comments:

Post a Comment