Friday, August 24, 2012

मध्यपश्चिममा साढे दुई सय स्वास्थ्यकर्मी अभाव

दीपक बुढा÷सुर्खेत
वीरेन्द्रनगर, ७ भदौं ।
रोगहरुबाट बढी संक्रमण हुने बर्षा यामका बेला मध्यपश्चिमका जिल्लाका स्वास्थ्य संस्थाहरुमा औषधीसंगै स्वास्थ्यकर्मीको संकट देखिएको छ । यस क्षेत्रका १५ जिल्लामा १ सय ८० दरवन्दीमा स्वास्थ्यकर्मी मध्य ८० भन्दा बढी डाक्टरहरु नै अनुपस्थित रहेको जनाएको छ । यस्तै १ सय ५५ जना पारामेडिक्स र नर्सिङको दरवन्दी खाली रहेको मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएको छ ।
मध्यपश्चिमका जिल्लामा दरवन्दी भएका ८० भन्दा वढी डाक्टरहरु विभिन्न तालिम तथा अध्ययनमा गएकाले अभाव देखिएको जनाईएको छ । सिअहेव तथा अनमीको अध्ययनका लागि ५५ जना स्वास्थ्यकर्मी सुर्खेतमा रहेका छन भने अन्य विदा तथा सरुवा भएर दरवन्दी खाली रहेको छ ।
दरवन्दी खाली भएका ठाउँहरुमा जिल्लाले नै पदपूर्ति गर्न मिल्ने व्यवस्था भए स्वास्थ्य संस्था कहिल्यैपनि खाली नहुने जानकारी दिईएको छ । स्वास्थ्य संस्थामा भएका स्वास्थ्यकर्मीहरुले जनचेतना फैलाउने काम गरिरहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत खेमराज उपाध्यायले बताए ।  सरकारले स्थानीयस्तरमा खाली दरवन्दी भएको ठाउँमा पदपूर्ति गर्ने व्यवस्था गरे प्रत्येक स्वास्थ्य संस्थामा बाह्रै महिना स्वास्थ्यकर्मीको उपस्थिति हुने उनको भनाई छ ।
झाडापखालालाई रोक्नका लागि सुदूरपश्चिमसंग सीमाना जोडिएका बर्दिया, दैलेख, कालिकोट, मुगु लगायतका जिल्लाहरुमा उच्च सर्तकता अपनाउनका लागि परिपत्रसमेत गरिसकेको छ । औषधी अपुग भएका जिल्लाहरुले माग गरे अनुसार औषधि पु¥याउने व्यवस्था समेत मिलाइएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
अघिल्लो बर्ष जाजरकोटमा फैलिएको महामारीले चेतना जगाएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अधिकृत उपाध्यायले बताए । त्यसैगरी सुर्खेतका सवै स्वास्थ्य संस्थाहरुलाई आवश्यक पर्ने औषधि करिव माघसम्म पुग्ने गरी पठाइएको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख मुकुन्दराज गौतमले बताए । यसवर्ष औषधि नपाएर मान्छे मर्ने अवस्था नहुने दावी उनको छ । सरकारले स्वास्थ्य संस्थाको स्तर हेरी निःशुल्क वितरण गर्ने एक र दुई प्रकारका औषधि बाहेक सवै औषधि स्वास्थ्यसंस्थामा रहेको जानकारी उनले दिए ।

No comments:

Post a Comment