Wednesday, August 8, 2012

विद्यालयको सरसफाई अवस्था चिन्ताजनक

दिपक बुढा
सुर्खेत, असार ।
सरकारी विद्यालयहरुमा शिक्षक र विद्यार्थीले प्रयोग गर्ने छुट्टा छट्टै शौचालय हुने गरेका छन् । शिक्षक स्टाफले प्रयोग गर्ने शौचालयमा ताला लगाईएको हुन्छ भने विद्यार्थीले प्रयोग गर्ने शौचालयको अवस्था चिन्ताजनक हुनेगरेका छन् । विद्यार्थीले प्रयोग गर्ने शौचालय प्रदुषित हुने गरेको जनाईएको छ ।
यस अघि विद्यालयमा स्वास्थ्य, सरसफाईको अवस्थाको अनुगमन गरिएको थियो । क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतको अगुवाईमा जिल्लाका विभिन्न विद्यालयको स्थलगत अनुगमन गरिएको हो । अनुगमनका क्रममा विद्यार्थीले प्रयोग गर्ने शौचालयको अवस्था चिन्ताजनक रहेको कार्यालयले जनाएको छ ।
मेहलकुना, मैनतडा, साटाखानी, लाटीकोइली र उत्तरगंगा गाविसका विभिन्न विद्यालयमा पुगि सर्वपक्षिय टोलीले विद्यालयको सरसफाई अवस्थाका बारेमा अनुगमन सहित अध्ययन गरेको थियो । अनुगमनका क्रममा विद्यालयका शौचालय प्रदुर्षित, प्रयोग विहिन, जिर्ण रहेको जनाईएको छ ।
‘विद्यार्थी अनुपातमा शौचालय छैनन् । भएका शौचालय पनि प्रयोग भएका छैनन् । मर्मत सम्भारको अभाव छ ।’ क्षेत्रीय अनुगमन कार्यालय प्रमुख सुरेश महाजुले भने ‘विद्यार्थीको अगुवाईमा पूर्ण सरसफाई कार्यक्रमको प्रभावकारीताको अध्ययन गर्न स्थलगत अवलोकन गरिएको थियो ।’
शिक्षकले प्रयोग गर्ने शौचालय फरक हुने गरेको हुँदा शिक्षकको शौचालय मात्रै नियमित प्रयोग भएका तर अन्य शौचालयको अवस्था भने चिन्ताजनक रहेको जनाईएको छ । जिल्ला शिक्षा, जिल्ला विकास समिति, सम्बन्धित गाउँ विकास समिति, विभिन्न गैरसरकारी संघ संस्था, पत्रकारको संयुक्त सहभागितामा अनुगमन गरिएको थियो ।
गाविसको खुल्ला दिसामुक्त घोषणालाई सहयोग पु¥याउन विद्यार्थीहरुको महत्वपूर्ण भूमिका हुने भएकाले सबैले विद्यार्थी परिचालन आवश्यक रहेको बताएका छन् । दुई सय सामुदायिक विद्यालय शौचालय बिहीन सरकारले विद्यालयमा शौचालय निर्माणको लागि वर्षेनी ठूलो रकम खर्च गरे पनि सुर्खेतका थुप्रै विद्यालयहरु शौचालयविहीन अवस्थामा रहेका तथ्यांक सार्वजनिक भएको छ । जिल्लाका करिब दुई सय सामुदायिक विद्यालयहरु अहिले पनि शौचालयबिहीन रहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वाटर एडको तथ्यांकमा उल्लेख छ ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा सुर्खेतले प्रस्तुत गरेको तथ्याङ्कमा उक्त कुरा उल्लेख गरिएको छ । तथ्यांकअनुसार सुर्खेतका पाँच सय २२ सामुदायिक विद्यालयहरुमध्ये तीन सय ३० मा मात्र शौचालय सुविधा रहेको छ भने बाँकी स्कुलका विद्यार्थी र शिक्षकहरु अहिले पनि खुला दिशापिशाव गर्नेगरेका छन् ।
शौचालय भएका विद्यालयहरुमध्ये छात्राशुलभ शौचालयको संख्या अत्यन्त कम छ । जिल्लाभरका विद्यालयहरुमा दुई सय ५१ वटा यस्ता शौचालय छन् । समग्रमा एक शौचालय बराबर एक सय २६ विद्यार्थीको अनुपात रहेको जनाइएको छ । सबै विद्यालयमा शौचालय त निर्माण भएका छैनन् । निर्माण भएका शौचालय पनि  दुर्गन्धीत हुने गरेका छन् । विद्यालयका शौचालयहरु दुर्गन्धित हुँदा विद्यालयको शैक्षिक गुणस्तरमा समेत असर पर्ने भएकाले जिल्ला व्यापी रुपमा विद्यालय सरसफाई अभियान चलाउनुपर्ने उपभोक्ता महासंघका केन्द्रीय सदस्य एवंम जिल्ला अध्यक्ष कुलमणि देवकोटाले बताए ।
शौचालय नभएको ठाउँमा शौचालय निर्माण गर्नुपर्ने, शौचालय भएको ठाउँमा प्रयोग गर्ने पानीको व्यवस्था गर्नुपर्ने, बालिकाहरुका लागि महिनावारी हुँदा प्रयोग गर्ने प्याडको व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।
नेपाल शिक्षक युनियन सुर्खेतका अध्यक्ष धनसिंह खड्काले विद्यालयमा शौचालय निर्माण गर्दा आङ्गता मैत्री पूर्वाधार निर्माण गर्नुपर्ने बताए । ‘विद्यालयमा शौचालय सफा गर्ने छुट्टै कर्मचारी छैन् । कार्यालय सहयोगीले मात्रै सबै काम गर्न भ्याउँदैन, त्यसैले सरकारलेनै छुट्टै कर्मचारीको व्यवस्था गर्नुपर्छ’–अध्यक्ष खड्काको भनाई थियो ।
उपभोक्ता महासंघका जिल्ला अध्यक्ष देवकोटा तथ्यांकमा उल्लेख भएझैं सुर्खेतका विद्यालयहरुमा शौचालय र सरसफाईको अवस्था अत्यन्त नाजुक रहेको बताए । ‘विद्यालयमा स्वास्थ्य र सरसफाईको अवस्था राम्रो बनाउन सबै निकायबीच समन्वय हुनुपर्छ,’ उनको भनाई छ ।
जिल्ला शिक्षा कार्यालयका उपसचिव भक्तबहादुर खड्का भने शौचालय निर्माणको लागि सरकारी कोषबाट वर्षेनी ठूलो रकम गए पनि त्यसको उपयोगिता राम्रो नदेखिएको बताए । उनका अनुसार दुई वर्षयतामात्र जिशिकाबाट शौचालय निर्माणको लागि ६ करोड ४६ लाख रुपैयाँ निकासा विद्यालयमा गएको छ । यसबाट एक सय २७ वटा छात्रासुलभ र एक सय ९६ सामान्य शौचालय बनेका उनको भनाई छ । ‘शौचालय त बनेकै छन्, तर तिनको प्रयोग राम्रोसँग भएको छैन,’–उनले भने ।

No comments:

Post a Comment