Wednesday, August 8, 2012

लाटीकोइली नमूना बनाउन सुझाव

दिपक बुढा
सुर्खेत, २४ साउन ।
लाटीकोइली गाउँ विकास समितिलाई जिल्लाकै नमूना बनाउन एक कार्यक्रमका सहभागिहरुले सुझाव दिएका छन् । साधन, स्रोत र जिल्लाको पहुँचमा रहेको गाविस भएकाले यसलाई नमूना बनाउन सबै पक्षले सहयोग गर्नुपर्ने बताईएको छ । लाटीकोइली गाविसद्धारा आयोजित गत आर्थिक बर्षको बार्षिक प्रगति समिक्षा एवंम् सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागिहरुले उक्त सुझाव दिएका हुन् ।
जिल्लाकै महत्वपूर्ण पर्यटकिय क्षेत्रहरु लाटीकोइली गाविस भित्रै पर्ने भएकाले त्यसको संरक्षण, प्रचार प्रसारका साथै गाविसको दिर्घकालिन तथा अल्पकालिन नीति, कार्यक्रम तयार गरी गाविसलाई नमूना बनाउन सुझाव दिईएको हो ।
सोही अवसरमा बोल्दै निवर्तमान गाविस अध्यक्ष अमृत वि.सी.ले गाविस भित्र योजना बनाउँदा, विकास निर्माण गर्दा सबै राजनीतिक दल, नागरिक समाज, लक्षित वर्गसंग छलफल, समन्वय गरी निर्माण र कार्यान्वयन गर्नुपर्ने बताए । उनले भने ‘नगरउन्मुख गाविस भएकाले गाविस सचिवको अगुवाईमा स्थानीयबासीन्दा, राजनीतिक दल, नागरिक समाजको सहयोगमा नमूना गाविस निर्माण गर्नुपर्छ ।’
गाउँ विकास समितिलाई अनिवार्य तथा निःशुल्क शिक्षा प्रदायक घोषणा गरिएको भएपनि गाउँ विकास समितिले प्रोत्साहनमुलक कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव दिईएको थियो । उपभोक्ता समिति गठन गर्दा सार्वजनिक रुपमा सूचना जारी गर्नुपर्ने, प्रत्येक आयोजनाको छुट्टा छुट्टै सार्वजनिक लेखापरिक्षण गर्नुपर्ने, विकास निर्माणको प्राथमिकता निर्धारण गर्नुपर्ने, काँक्रेविहार संरक्षित वनको संरक्षणका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव दिईएको थियो ।
त्यसैगरी लक्षित वर्ग कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने, गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्न परिचय पत्र वितरणमा कडाई गर्नुपर्ने, कर्मचारी नियुक्ति गर्दा सार्वजनिक सूचना जारी गर्नुपर्ने लगायतका सुझावहरु दिईएको थियो ।
सोही अवसरमा गाविस सचिव एवंम् शाखा अधिकृत नवराज थापाले गत आर्थिक बर्षमा गाविसको कुल ६७ लाख ९४ हजार ६ सय १२ रुपैयाँ बरावरको आय—व्यय विवरण, विकास निर्माण आयोजना, खर्च विवरण, प्रगति विवरण प्रस्तुत गरेका थिए । अनुदान, स्थानीय राजश्व, थप अनुदान, बाह्य संघ संस्थाबाट प्राप्त अनुदान कार्यक्रमका बारेमा जानकारी गराईएको थियो ।
एक घर एक चर्पी निर्माण अभियानका लागि क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय, झुप्रा बृहद खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले शौचालयको पिन खरिद गर्न दिएको सहयोग र गाविसको रकममा डुव्लिकेशन भएको सहभागिले गुनासो गरेका थिए । त्यसैगरी बाटो ग्राभिलमा वितरण गरिएको रकममा उपभोक्ता समितिहरुले काम सम्पन्न नगरी अनियमितता गरेकाले लक्ष्य अनुसार काम सम्पन्न गर्नुपर्ने सुझाव दिएका थिए ।
तीनकुने—भेरीपुल सडक निर्माण गर्न गठन गरिएको उपभोक्ता समिति गाविस सचिवले कसैसंग समन्वय नगरी आफुखुसी गरेको सहभागिको आक्रोश थियो । त्यसैगरी आर्थिक बर्ष २०६६÷०६७ मा कोपिला मावि पर्सेनीलाई उच्च मावि स्थापना गर्न दिईएको ३ लाख ३६ हजार रकममा प्रधानाध्यापकले अनियमितता गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागिले बताएका थिए ।
गाविस सचिव नवराज थापाको सभापतित्व एवंम् जिल्ला विकास समितिका प्रतिनीधि श्यामदास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निवर्तमान गाविस अध्यक्ष अमृत वि.सी., जनसेवा उच्च मावि घुस्राका विव्यस अध्यक्ष गणेश वली, एकीकृत नेकपा माओवादीका तारा आचार्य, नेपाली काँग्रेसका प्रेमबहादुर शाही, नेकपा एमालेका नन्दलाल शर्मा सहितका व्यक्तिहरुले आ—आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजिकरण पत्रकार दिपक बुढाले गरेका थिए ।

No comments:

Post a Comment