Sunday, August 12, 2012

युवाहरु भन्छन् ः ‘सरकारी निकायले वास्ता गरेनन्’

दिपक बुढा
सुर्खेत, २८ साउन ।
सुर्खेतका युवाहरुले जिल्लाका सरकारी निकायहरुले युवाहरुलाई वास्ता नगरेको गुनासो गरेका छन् । नेपालको जनसंख्याको आधा जनसंख्या ओगटेका युवा बर्गलाई सरकारी निकायले नै वास्ता नगरेकोमा युवाहरुले दुःख व्यक्त गरेका हुन् ।
१३ औं विश्व युवा दिवसको अवसरमा ‘सुन्दर विश्वनिर्माणका लागि युवासंग सकार्य गरौ’ं भन्ने मूलनाराका साथ सुरक्षित समाज र सेभ द चिल्ड्रेनको सहयोगमा निभा अभियान सुर्खेत र फ्रेन्स क्लव सुर्खेतको आयोजनामा भएको युवाको सवालमा सरकारी निकायको चासो विषयक अन्तरक्रिया कार्यक्रममा युवाहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा आयोजकले सबैजसो सरकारी कार्यालयलाई खबर गरेपनि जिल्ला बिकास समिति, जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रतिनीधि बाहेक अरु कुनै कार्यालयका प्रतिनिधिहरुको सहभागिता नहरेको बताएको छ । सहभागि भएकाहरु निर्धारित समय भन्दा ढिलो आएको बताइएको छ । कार्यक्रममा युवाहरुको समेत कम उपस्थित थियो । कार्यक्रम १२ बजेको लागि तय गरिएको भएपनि एक बजे पछि मात्रै सुरु भएको हो ।
सोही अन्तरक्रियामा बोल्दै जिल्ला बिकास कार्यालय सुर्खेतका योजना तथा अनुगमन अधिकृत कृष्ण खरेलले अघिल्ला आर्थिक बर्षहरुमा युवाहरुका लागि बजेट तथा कार्यक्रमहरु आएको भएपनि यो आर्थिक बर्षमा भने युवाका लागि भनेर छुट्टै कार्यक्रमहरु नआएको बताए । उनले छुट्टै कार्यक्रमहरु नआए पनि युवाहरुलाई सहयोग पुग्ने किसिमका कार्यक्रमहरु भने अन्य कार्यक्रमसंग जोडिएर आएको बताएका छन् ।
खरेलले अन्य कार्यालयले जे गरे पनि जिल्ला बिकास समितिले युवाहरुलाई प्राथमिकतामा राखेको भन्दै युवा नै चलाखभएर जिल्ला परिषद्बाट युवाहरुलाई युवाको बजेट छुट्याउन सुझाब दिए । उनले राजनीतिकदलहरु जस्तै युवाले पनि आफ्नो लागि परिषदबाटै बजेट छुट्याएपछि जिविसले कार्यान्वयनमा ल्याउने बताए ।
साथै जिल्ला प्रहरी कार्यालयका सहायक प्रहरी निरिक्षक देवेन्द्रकुमार मल्लले जिल्ला प्रहरी कार्यालयले विभिन्न दुव्र्यसनमा लागेका युवाहरुलाई सजक बनाउने प्रयास गरेको बताएका छन् । लागु औषधमा लागेका युवालाई नियन्त्रण गर्ने प्रयास गरेको उनले बताएका छन् ।
उनले यो खाना खाए जस्तो लुकि छिपि गरिने कार्य भएकोले यस्तो दुव्र्यसनिबाट युवालाई मुक्त गर्न चुनौति भएको बताए । कार्यक्रममा बोल्ने अन्य अधिकांश युवा तथा युवासंग सम्बन्धित संघ–संस्थाका प्रतिनिधिहरुले युवालाई सरकारी तवरबाट पछि पारिएको बताए छन् ।
अन्तरक्रियामा बोल्दै सुरक्षित समाज सुर्खेतका कार्यक्रम संयोजक रत्ना वि.क.ले बिकास निर्माणमा युवाहरुलाई साझेदार बनाउनुपर्ने भन्दै युवाको विषयमा सरकारी निकायको भूमिका महत्वपूर्ण हुने बताइन् ।
त्यस्तै युवा शसक्तिकरण मञ्च सुर्खेतका अध्यक्ष शिव संगीतले युवाहरुले योजना बनाएका कार्यक्रमहरु जिल्ला बिकास समितिले प्रस्तावनै पारित नगरेको बताए । कार्यक्रम युवा सशक्तिकरण मञ्च, शान्तिका लागि युवा सञ्जाल, जागरण एफएम, सुर्खेत, स्वास्थ्य अधिकार तथा सुर्ती निवारण जिल्ला युवा सञ्जालको समन्वयमा सम्पन्न गरिएको हो । कार्यक्रम सुरु हुनु अघि ग्लोबल पिस एशोसियशन नेपाल, ग्लोवलपिस युथकोर, युवा रेडक्रस सर्कल बहुमुखि क्यापस वीरेन्द्रनगर र क्याम्पस (शिक्षा) को आयेजनामा वीरेन्द्रनगरको मंगलगढी चौकबाट ¥यालीनिकालि बजार परिक्रम गरी कार्यक्रम स्थल पुगेका थिए । कार्यक्रममा करिब ६० जना युवाको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment