Thursday, September 19, 2013


आचार संहिताको उलंघन गर्दै स्वास्थ्य शिविर
सुर्खेत, ३ असोज ।
नेपाली काँग्रेसको सुवेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघले निर्वाचन आचारसंहितको उलंघन गर्दै निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दैछ । निर्वाचनको मुखमा कुनै लक्षित कार्यक्रम संचालन गर्न नपाईने प्राव्धान रहेपनि स्वास्थ्यकर्मी संघले स्वास्थ्य शिविर संचालनको अन्तिम तयारीमा जुटेको छ ।
असोज ४ र ५ गते नेटा गाउँ विकास समितिको चारकुने उच्च माविमा निःशुल्क स्वास्थ्य शिरिव संचालनको अन्तिम तयारीमा जुटेको छ । स्वास्थ्य शिविरका लागि स्थानीय सम्पूर्ण व्यवस्थापन पुरा गरी शिविरका लागि विशेषज्ञ सहितको स्वास्थ्यकर्मीको टोली दशरमुकामदेखि कार्यक्रम स्थल तर्फ प्रस्थान गरेका छन् ।
संविधानसभा निर्वाचनको आचार संहिताले साउन ७ गते देखि सबै राजनीतिक दल, नागरिक समाज, संघ संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, संचार माध्यमलाई समेत धेरै कुरामा नियन्त्रण गरेको छ । 

संविधान सभा सदस्य निर्वाचन आचार संहित २०७० को परिच्छेद ४ अनुसार राजनीतिक दलका पदाधिकारी र सदस्य वा कुनै पनि उम्मेदवारबाट कुनै नयाँ योजनाको शिलान्यास वा उद्घाटन गराउने र अन्य यस्तैकाम गराउनु हुँदैन ।
आफ्नो नामबाट कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचार–प्रसार गर्नु वा गराउनु  हुँदैन, आफ्नो संस्थाको कुनै पनि श्रोत, साधन कुनै राजनीतिक दल वा उम्मेदवारको प्रचार–प्रसारको लागि उपलव्ध गराउनु हुँदैन । 


त्यसैगरी निर्वाचन कार्यक्रमलाई प्रभावित पार्ने गरी मतदातालाई कुनै प्रकारले नगद, जिन्सी वा कुनैपनि किसिमको उपहार वा अनुदान दिनुवा दिन लगाउनुहुँदैन । निर्वाचन सम्पन्न नभएसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुनेगरी सभा, जुलुस, शिविर, प्रर्दशन, गोष्ठी जस्ता कार्य गर्नु वा गराउनु हुँदैन ।
निर्वाचन आचार संहिता लागु भएको हुँदा कुनै पनि नियुक्ति लक्षित कार्यक्रम संचालन गर्न नपाईने सुर्खेतका मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले जानकारी दिए । उनले भने ‘स्वास्थ्य शिविरका बारेमा मलाई कुनै जानकारी छैन् । तर यो निर्वाचन आचारसंहिता विपरित हो ।’ 
निर्वाचन आचार संहिता विपरित भएका कार्यलाई रोक्न आफुले पहल गर्ने बताउँदै मुख्य निर्वाचन अधिकृत अधिकारीले आचार संहिता विपरित कार्य नरोकेमा कानूनि कार्वाहि प्रक्रिया बढाईने जानकारी दिए ।
सुर्खेत निर्वाचन क्षेत्र नं. २ अन्तर्गत नेटा गाउँ विकास समितिको चारकुने उच्च माविमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागिएको स्वास्थ्यकर्मी संघका केन्द्रीय उपमहासचिव किरण वलीले जानकारी दिए ।
नेपाली काँग्रेसको भातृ संगठन भएकाले निर्वाचनको मुखमा पार्टी प्रचारका लागि उक्त शिविरको आयोजना गरिएको एमाओवादीका भेरी–कर्णाली सदस्य कृष्ण जिसीले जानकारी दिए । उनले भने ‘यो चुनावको प्रचारका लागि र आफ्नो पार्टी र उमेदवारको प्रचारका लागि शिविरको आयोजना गरिएको हो । यसलाई तत्काल रोक्नुपर्छ ।’
एउटा दलको भातृ संगठनले चुनावको मुखमा सेवामुलक कामका नाममा शिविर संचालन गरेर निर्वाचनको उलंघन गरेकाले त्यसलाई रोक्न तत्काल सम्बन्धित पक्षले पहल चाल्नुपर्ने उनले बताए । जिसीले पार्टीको प्रचारका लागि शिविर आयोजना गरिएकाले निर्वाचन आयोगले तत्काल रोक्नुपर्ने बताए ।
नेपाल स्वास्थ्यकर्मी संघ नेपाली काँग्रेसको सुवेच्छुक संस्था भएको बताउँदै नेपाली काँग्रेस नगर समिति सभापति देवकुमार सुवेदीले निःशुल्क स्वास्थ्य शिविरका बारेमा कुनै जानकारी नभएको बताए । निर्वाचन आचार संहिता लागु हुने वा नहुने सम्बन्धित कार्यालयलाई जानकारी हुने प्रतिक्रिया दिए ।
स्वास्थ्य शिविरको तयारी तथा व्यवस्थापनका लागि स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष राजेश बुढा सहितको टोली कार्यक्रम स्थलतर्फ लागेको  हुँदा फोन सम्पर्क हुन सकेन । उपमहासचिव वलीले दिएको जानकारी अनुसार शिविरका लागि डा. सर्वेश शर्मा र डा. केशर ढकालको नेतृत्वमा २४ जना भन्दाबढी स्वास्थ्यकर्मीको टोली कार्यक्रम स्थल तर्फ हिँडिसकेको जानकारी दिए ।
निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन तथा कार्यक्रम अवधिमा स्थानीय व्यवस्थापन सहितको जिम्मेवारी नेपाली काँग्रेस गाउँ कमिटीले निर्वाह गरेको स्रोतले जानकारी दिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको औषधी सहयोगमा हिमालयन पर्मा कल्चर ग्रुपको समन्वयमा नेपाल स्वास्थ्यकर्मी संघले शिविरको आयोजना गरेको हो ।
निर्वाचन क्षेत्र नं. २ र १ का धेरै गाउँ विकास समितिका स्थानीयबासीन्दाहरु लाभान्वित हुने गरी शिविरको आयोजना गरिएको हो । निर्वाचन आचार संहितका विषयमा बुझ्दा उपमहासचिव वलीले निर्वाचन कार्यालयलाई शिविरका बारेमा जानकारी गराउन केही साथीहरुलाई जिम्मेवारी दिएर आफु कार्यक्रम स्थल तर्फ हिडेको प्रतिक्रिया दिए । उता जिल्ला निर्वाचन कार्यालय सुर्खेतका प्रमुख तिलक रिजालले शिविरका बारेमा कुनै जानकारी नभएको प्रतिक्रिया दिए । 
आचार संहिता उल्लंघन गरेमा हुने सजाय (निर्वाचन आयोग ऐन, २०६३ को दफा २९) ले कसैबाट आचार संहिता पालना नभएको वा उल्लङ्घन गरेको देखिएमा त्यस्तो काम तुरुन्त रोक्न वा वदर गर्नको लागि निर्वाचन आयोगले सम्वन्धित राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संथा, पदाधिकारी वा निकायलाई आदेश दिनेछ र त्यस्तो आदेशबमोजिम काम कारवाही नरोक्ने वा वदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँ सम्म जरिवाना गर्न सक्नेछ । आचार संहिताको उल्लङ्घन गरेको कारणवाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरवाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्ने व्यवस्था रहेको छ ।

No comments:

Post a Comment