Friday, September 20, 2013

दिपक बुढा
आचार संहिता उलंघन रोक्न प्रहरीलाई निर्देशन
सुर्खेत, ४ असोज ।
निर्वाचन आचार संहिताको उलंघन गर्दै नेटामा संचालन शिविर रोक्न प्रहरीलाई निर्देशन दिईएको छ । शुक्रबार र शनिबार संचालनको योजना बनाईएको थियो । आचार संहिता उलंघनका विषयमा युगआव्हान दैनिक पत्रिकाले समाचार प्रकाशित गरेपछि अटेरी गर्दै आयोजकले पहिलो दिनको शिविर संचालन गरेका थिए ।
निर्वाचन आयोगबाट समेत कुनै प्रतिक्रिया नआएपछि तत्काल निःशुल्क स्वास्थ्य शिविर रोक्न प्रहरीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले जानकारी दिए । उनले भने ‘निर्वाचन आयोगमा जानकारी दिएको वा नदिएको हामी बुझदै थियौं तर निर्वाचन आयोगबाट समेत कुनै जानकारी नआएपछि शिविर रोक्न प्रहरी पठाई सकेका छौं ।’
निर्वाचन आचार संहिता २०७० को उलंघन गर्दै पहिलो दिन निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । दोस्रो दिनको शिविर रोकिएको छ । पहिलो दिनको समयमा सूचना नहुँदा समेत अटेर गरेर स्वास्थ्य शिविर संचालन गरिएको भएपनि दोस्रो दिनका लागि रोक्न आग्रह गरेको सुर्खेत निर्वाचन क्षेत्र नं. २ का मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले जानकारी दिए । 


नेपाली काँग्रेसको सुवेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघको प्राविधिक सहयोग, हिमालय पर्माकल्चर समूहको आयोजना र जिल्ला स्वास्थ्य कार्यालयको निःशुल्क औषधी सहयोगमा स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।
निर्वाचनको मुखमा कुनै लक्षित कार्यक्रम संचालन गर्न नपाईने प्राव्धान रहेपनि तीन वटै संस्थाले नेटा गाउँ विकास समितिको चारकुने उच्च माविमा निःशुल्क स्वास्थ्य शिविर पहिलो दिन संचालन गरेका थिए । आइएनफ कार्यक्रम सुर्खेतका डाक्टर सेली, क्षेत्रीय अस्पतालका डा. पूर्ण घर्ती र डा. नविन पौडेल सहितको स्वास्थ्यकर्मी टोली शिविरमा पुगेको थियो ।
संविधानसभा निर्वाचनको आचार संहिताले साउन ७ गते देखि सबै राजनीतिक दल, नागरिक समाज, संघ संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, संचार माध्यमलाई समेत धेरै कुरामा नियन्त्रण गरेको छ । 
संविधान सभा सदस्य निर्वाचन आचार संहित २०७० को परिच्छेद ४ अनुसार राजनीतिक दलका पदाधिकारी र सदस्य वा कुनै पनि उम्मेदवारबाट कुनै नयाँ योजनाको शिलान्यास वा उद्घाटन गराउने र अन्य यस्तैकाम गराउनु हुँदैन ।
आफ्नो नामबाट कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचार–प्रसार गर्नु वा गराउनु  हुँदैन, आफ्नो संस्थाको कुनै पनि श्रोत, साधन कुनै राजनीतिक दल वा उम्मेदवारको प्रचार–प्रसारको लागि उपलव्ध गराउनु हुँदैन । 
त्यसैगरी निर्वाचन कार्यक्रमलाई प्रभावित पार्ने गरी मतदातालाई कुनै प्रकारले नगद, जिन्सी वा कुनैपनि किसिमको उपहार वा अनुदान दिनुवा दिन लगाउनुहुँदैन । निर्वाचन सम्पन्न नभएसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुनेगरी सभा, जुलुस, शिविर, प्रर्दशन, गोष्ठी जस्ता कार्य गर्नु वा गराउनु हुँदैन ।

No comments:

Post a Comment