Friday, September 6, 2013

दोस्रो संविधान सभा निर्वाचनमा सुर्खेतमा तीन दलको अवस्था यस्तो छ
क्षेत्र नम्बर १
१७ वटा गाविस रहेको यस क्षेत्रमा करिब ५१ हजार मतदाता छन्। अघिल्लो पटक एमाले उम्मेदवार ऋषिप्रसाद शर्मालाई नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काको नेतृत्वमा चुनावी अभियानको क्रममा हत्या गरिएपछि त्यसमा ‘प्रत्यक्ष संलग्न’ कांग्रेस उम्मेदवार लालबहादुर घलेलाई ६ हजार ४ सय ६९ मत अन्तरले ऋषि पत्नी कमला शर्माले विजय हासिल गरेकी थिइन्। यसपालि पनि कांग्रेसबाट हुने सम्भावित धाँधली, गुन्डागर्दीलाई रोक्न सक्दा एमालेले जित्न अप्ठ्यारो छैन। जेठ मसान्तसम्मको मतदाता नामावलीअनुसार सबैभन्दा बढी छिन्चुमा ६ हजार १ सय २९ मतदाता छन्। त्यसपछिको ठूलो मैनतडामा कांग्रेसको प्रभाव अलि बढी देखिन्छ। ३ हजार ५ सय ६६ मतदाता रहेको रामघाट, सोही संख्यामा रहेको गुमीमा एमाले अगाडि छ। ३ हजारभन्दा माथि मतदाता रहेका मेहलकुना, दहचौर, घुम्खरेमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा छ। ४ हजार ७ सय ५४ मतदाता रहेको बारे र २ हजारभन्दा बढी मतदाता रहेको मालारानीमा एमाले निकै अगाडि देखिन्छ। एक हजारभन्दा धेरै मतदाता रहेका धारापानी र राकममा कांग्रेसको स्थिति निकै सुदृढ छ भने सोही अनुपातमा मतदाता रहेका खानीखोला, काप्रीचौर, डाँडाखाली, बोजेडीचौर, आग्री गाउँ र भोरेटामा एमालेलाई अरूले भेटाउने स्थिति छैन। एमाले र कांग्रेस नै यस क्षेत्रका मुख्य प्रतिस्पर्धी हुन्। यस क्षेत्रमा वैद्य माओवादी मैनतडा गाविसका केही वडामा भए पनि अन्य क्षेत्रमा प्रभाव छैन। एमाओवादी त झन् कमजोर छ। आन्तरिक व्यवस्थापन मजबुत बनाउँदै जनमतको सुरक्षा गर्नु यस क्षेत्रमा एमाले पंक्तिका लागि चुनौती मानिन्छ। एमालेबाट कमला शर्मा, डण्डी शर्मा, बालकृष्ण विसी र ध्रुव शाही चर्चामा रहेका उम्मेदवार हुन् भने कांग्रेसबाट ऋषिको हत्याको आरोप लागेकाले पूर्णबहादुर खड्काले त्यस क्षेत्रमा जाने हिम्मत नगर्ने भएकाले फेरि तिनै लालबहादुर घले उठ्ने सम्भावना छ।

क्षेत्र नं. २
मध्यपश्चिमको सदरमुकाम आसपासको यस क्षेत्रमा १५ वटा गाविस र वीरेन्द्रनगर नगरपालिका छन्। लगभग ५२ हजार मतदाता रहेको यस क्षेत्रमा एमाले र कांग्रेसकै तीव्र प्रतिस्पर्धा छ। फुटको असरसँगै एमाओवादी कमजोर अवस्थामा छ। १५ हजारभन्दा बढी मतदाता रहेको नगरपालिकाभित्र एमाले अगाडि देखिन्छ भने ५ हजारभन्दा बढी मत रहेका लाटीकोइली, साठाखानी, जर्बुटा र कल्यानमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थितिमा छन्। दशरथपुर र लेखफार्सामा पनि उस्तै प्रतिस्पर्धा देखिन्छ। १ हजारभन्दा माथि मतदाता रहेका नेटा, रानीवास, रझेना, काफलकोट औलचिङ र रतुमा तीव्र प्रतिस्पर्धा छ। त्यस्तै, मोटेला, पाम्का र गर्पनमा एमालेभन्दा थोरै मतले कांग्रेस अगाडि देखिन्छ। जातीय पार्टीको कुनै असर नरहेको यस क्षेत्रमा अघिल्लो निर्वाचनमा एमालेका यमलाल कँडेलले १ हजार ६ सय ४ मत अन्तरले कांग्रेसका हृदयराम थानीलाई पराजित गरेका थिए। छिटफुट रूपमा एमालेमा भित्रिने क्रम बढ्दो छ। यसबाट एमाले पंक्ति उत्साहित नहुने कुरै भएन। वैद्यको प्रभाव पनि राम्रै भएकाले एमाओवादी कमजोर अवस्थामा देखिन्छ। यस क्षेत्रमा एमालेबाट यमलाल कँडेल, शिवप्रसाद शर्मा र बालाराम शर्माको चर्चा छ भने कांग्रेसबाट हृदयराम थानी तथा एमाओवादीबाट सीता नेपाली आकांक्षी देखिन्छन्। भेरी किनारका क्षेत्रमा एमालेको स्थिति सृदृढ छ। यस क्षेत्रका केही दुर्गम गाउँमा पनि मतदाताको सुरक्षा भने हुनैपर्ने देखिन्छ। आन्तरिक व्यवस्थापनलाई मिलाउँदैं एकताबद्ध भएर निर्वाचनमा गएमा एमालेको जित यस पटक पनि बलियो देखिन्छ।
क्षेत्र नम्बर ३
अरूभन्दा दुर्गम मानिने यस क्षेत्रमा ४७ हजार ९ सय ५५ मतदाता छन्। १८ गाविसमा फैलिएको यस क्षेत्रका ११ गाविसमा एमाले तीव्र प्रतिस्पर्धाका माझ कांग्रेसभन्दा अगाडि छ भने ६ गाविसमा कांग्रेस थोरै मतले अगाडि देखिन्छ। एमाओवादी हरिहरपुर गाविसमा मात्रै अग्रस्थानमा छ। त्यस्तै, कुनाथरी गाविसमा एमाले–कांग्रेसबीच को ठूलो हुने भन्ने तीव्र प्रतिस्पर्धा छ। ५ हजार ६ सय ३५ मतदाता रहेको उत्तरगंगामा एमाले अगाडि छ। ३ हजार ७ सय ४९ मतदाता रहेको बाबियाचौरमा पनि एमाले अगाडि नै छ। ३ हजारभन्दा माथि मतदाता रहेका गुटु र साल्कोटमा एमाले नै अगाडि छ भने लेखपराजुलमा कांग्रेस बलियो छ। १ हजारभन्दा बढी मतदाता रहेकामध्ये विद्यापुर, तातापानी, हरिहरपुर र पोखरी गानामा कांग्रेसको स्थिति सुदृढ छ भने बिजौरा, ढाडगाउँ, लगाम, देतान, गडी र छाप्रेमा तीव्र प्रतिस्पर्धा छ। यसअघि माओवादीका नरबहादुर विष्टसँग एमालेका नवराज रावत ६ हजार ५ सय ३३ मत अन्तरले पराजित भएका थिए। तर, त्यसबेलाको सन्दर्भभन्दा अहिलेको स्थिति निकै बेग्लै छ। एमाओवादी विभाजनको असर सबैभन्दा बढी यसै क्षेत्रमा परेको छ। हालै बाबियाचौरमा आयोजित सभामा कांग्रेस र एमाओवादीबाट ५ सय ४३ जना एमाले प्रवेश गरेका थिए। त्यसबाट एमाले पंक्ति उत्साहित देखिन्छ। यस क्षेत्रमा एमालेबाट नवराज रावत, तारा गौतम, नन्दा शर्मा र रेशम राना चर्चामा छन् भने कांग्रेसबाट शिवराज जोशी, कमल खत्री र तप्तबहादुर विष्ट तथा एमाओवादीका फेरि नरबहादुर विष्ट नै उठ्ने चर्चा छ। यस क्षेत्रमा पनि जित्नका लागि एमालेलाई मतदाताको सुरक्षा नै प्रमुख चुनौती छ।
Unlike ·  · 

No comments:

Post a Comment