Saturday, September 21, 2013


तीन ठुला सहकारीको साधारणसभा
गंगामालाको कारोबार ८ करोड 
गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था छिन्चु सुर्खेतले गत आर्थिक बर्षमा ८ करोड ७० लाख ५१ हजार ९ सय ३२ रुपैयाँको कारोबार गरेको छ । संस्थाको गत आर्थिक बर्षको अन्तसम्म ४ करोड १७ लाख ६७ हजार ९ सय १९ कुल पुँजीमा ८ लाख शुद्ध नाफा गरेको जनाइएको छ ।
संस्थाको १६ औँ साधारणसभामा शनिबार उक्त जानकारी दिईएको हो । संस्थाको आफ्नै भवनमा आयोजित साधारणसभालाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी लिमिटेड (नेफेस्कुन) का सञ्चालक दामोदर अधिकारीले उद्घाटन गरे । 
उद्घाटन पछि बोल्दै सञ्चालक अधिकारीले सहकारी संस्था सदस्यहरुलाई ऋण खुवाउने भन्दा पनि उनीहरुको फजुल खर्च कटौतीगरी बचत गर्ने बानीको विकास गर्ने माध्यम हुनुपर्ने बताए । उनले गंगामाला सहकारीले मध्यपश्चिममै नमूना र उत्कृष्ठ काम गरेको चर्चा गर्दै आगामी दिनहरुमा राष्ट्रकै नमूना सहकारीका रुपमा विकास गर्न सुझाव दिए ।
संस्थाले लघु वित्त र आयआर्जन मार्फत आर्थिक, समाजिक र नैतिक विकास गर्न अतुलनिय योगदान गरेको बताउँदै उनले कृषिलाई प्राथमिकता दिएर उत्पादनमुखी कार्यक्रममा जोड दिनुपर्ने अधिकारीले बताए । 
जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष ज्ञानेन्द्रबहादुर वलीले सहकारीले गरेको कामको चर्चा गर्दै आगामी दिनहरुमा प्रगतिको कामना गरे । उनले आफ्ना कामलाई गुणस्तरियता हाँसिल गर्न उन्मुख गराउनतर्फ संस्था केन्द्रीत हुनुपर्ने बताए । संस्थाले साधारणसभामा ३१ जना जेहन्दार तथा उत्कृष्ठ विद्यार्थीहरुलाई पाँच सय रुपैँयाका दरले छात्रबृत्ति वितरण गरेको थियो । 


शेयर सदस्यमध्येबाट एस.एल.सी परीक्षामा उत्कृष्ठ अंक ल्याइ उत्तिर्ण हुने सृजना राना र मनिस खरेललाई एक हजारका दरले छात्रबृत्ति प्रदान गरिएको थियो । उत्कृष्ट कर्मचारीमा लघुबित्त उत्प्रेरक घनश्याम घर्तीलाई पुरस्कृत गरिएको थियो भने उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी चार चार जनालाई साधारणसभाको अवसरमा पुरस्कृत गरिएको थियो । लघुवित्त तर्फका चार र बचत तथा ऋण तर्फका उत्कृष्ट चार समूहहरुलाई पुरस्कृत गरिएको थियो । 
संस्थाले बचत ऋण र लघुवित्त कार्यक्रमलाई समूह गठन गरी प्रमुख रुपमा सञ्चाल गरिरहेको छ । गत आर्थिक बर्षसम्म बचत तथा ऋण तर्फ छिन्चु गाविसमा २० वटा समूह गठन गर्नुका साथै ३ सय ३५ सदस्यहरु रहेको र १६ वटा स्थानीय संस्थाहरुलाई सदस्यता प्रदान गरिएको जनाइएको छ ।
लघुवित्त कार्यक्रम अन्तर्गत छिन्चु, दशरथपुर, लेखपराजुल, मैनतडा, रामघाट, मेहेलकुना, कल्याण, गुमी गाविसमा गरी एक सय १४ समूह गठन गरी २ हजार ६ सय ९५ महिलाहरुलाई लघुवित्त कार्यक्रममा समावेश गरिएको संस्थाले जनाएको छ । 
आ.व. ०६९÷०७० सम्म शेयर पुँजी ४३ लाख ६० हजार र जगेडा कोषमा १८ लाख ७८ हजार रहेको जनाइएको छ । संस्थाले शंखे किरा संकलन, डेरी उद्योग सञ्चालन, अतिगरिब उत्थान कार्यक्रमका साथै बाल तथा युवा सचेतना लगाएतका केही नमूना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
संस्थाका अध्यक्ष अध्यक्ष भिमप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभा कार्यक्रमको संचालन संस्थाका सचिव यज्ञबहादुर ढकालले गरेका थिए । भिमप्रसाद पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा पार्वती खत्री, सचिवमा यज्ञप्रसाद ढकाल, कोषाध्यक्ष गोकर्णबहादुर गुरुङ सहित चयन भएका छन् । त्यसैगरी विनोदकुमार गिरीको संयोजकत्वमा लेखा समिति गठन गरिएको छ । लेखा समितिको सदस्यमा हरिबहादुर नेपाली र भरत ढकाल चयन भएका छन् ।
शेयर पूँजी ः ४३,६०,४००।
कोष ः १८,७८,८५६।
कुल सम्पत्ति ः २३,१०,६८४ ।
कुल कारोवार ः ८,७०,५१,९३२।
सदस्य संख्या ः ३०४९।


राष्ट्रसेबकको  २८ करोड कारोबार
सुर्खेत, ५ असोज । 
राष्ट्रसेबक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतले गत आर्थिक बर्षमा २८ करोड १५ लाख २ हजार ५ पाँच सय २६ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको छ । बचत, ऋणको क्षेत्रमा काम गर्दै आईरहेको सहकारीको१५ औँ बर्षिक साधारणसभाको अवसरमा उक्त जानकारी गराईएको हो ।
साधारणसभामा नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष एवं सहकारी विकास क्षेत्रीय समन्वय समितिका संयोजक रेवन्त गौतमले सहकारी क्षेत्रको विकासका लागि केही नीतिगत समस्याहरु रहेकाले परिमार्जनका लागि पहल थाल्नुपर्नेमा जोड दिए । 
त्यस्तै राष्ट्रिय सहकारी विकास बैंकका प्रबन्धक केबी उप्रेतीले समस्या र चुनौतीहरु माझ जुध्दै सहकारी क्षेत्रको उल्लेखनिय विकास भएपनि समस्या समाधानका लागि राज्य सचेत हुनुपर्ने बताए । उनले सहकारी क्षेत्र प्रति नकारात्मक र सकारात्मक दुवै सोचाईहरु रहेकाले सबैभन्दा पहिला जनताको विश्वास जित्न जरुरी रहेकोमा जोड दिए ।

नेपाल निजामति कर्मचारी संगठनका क्षेत्रीय संयोजक मोहन गिरीले सहकारी क्षेत्रमा थुप्रै चुनौती र समस्याहरु रहेपनि सम्भावनाको खोजी गर्दै उन्नतिको दिशा तर्फ उन्मुख हुनुपर्ने बताए । 
कार्यक्रममा डिभिजन सहकारी कार्यालयकी निमित्त प्रमुख निर्मला श्रेष्ठ, जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत बिसी, नेपाल निजामति कर्मचारी संगठन सुर्खेतका अध्यक्ष नन्दबहादुर बिसी लगायतले बोलेका थिए । 
साधारणसभामा संस्थाका अध्यक्ष डोरप्रसाद उपाध्यायले प्रगति वितरण र कोषाध्यक्ष दधिराम कंडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  संस्थाले जिल्ला स्तरीय परिक्षा, प्रवेशिका परिक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका सन्तान मध्ये चार जनालाई पुरस्कृत गरेको छ । 
विवरण ः
शेयर सदस्य संख्याः ४९६ जना
शेयर पुँजीः २३,३०,००० ।
प्रतिशेयर ः १००
कुल बचतः १,२४,७१,९६४
कुल आम्दानीः २२,१५,३७३ 
कुल खर्चः २१,२८,४५१
शुद्ध बचतः ८६,९२२ 
यो बर्ष कुल कारोबार ः २,८१,५२,५२६। 

जनहितकारीको  कारोबार २२ करोड
सुर्खेत, ५ असोज । 
जनहितकारी बचत तथा ऋण सहकारी संस्था वीनपा–३ कालागाउँ सुर्खेतको गत आर्थिक बर्षमा २२ करोड २६ लाख ७४ हजार ९ सय ३४ रुपैयाँ बराबारको आर्थिक कारोबार गरेको छ । एक करोड १२ लाख ५९ हजार ६ सय रुपैयाँको शेयर पुँजी रहेको सहकारीमा १६ सय ६० जना सेयर सदस्य रहेका छन् ।
संस्थाको १५ औ बार्षिक साधारणसभाका अवसरमा शनिबार उक्त जानकारी दिईएको हो । साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका उपाध्यक्ष तिर्थराज गिरीले चालु आर्थिक बर्षभित्रमै एक परिवार न्यूनतम एक पेन्सन बचतकर्ता अभियान सञ्चालन गर्ने जानकारी दिएका थिए । 
गिरीले आर्थिक बर्ष ०७०÷०७१ मा कार्यक्रम सञ्चालन गरी करिव २ सय जनालाई पेन्सन बचतमा सहभागि गराउने बताए । साथै उनले दैनिक बचत कार्यक्रमलाई प्रभावकारी बनाई बचतकर्ताको संख्यामा बृद्धि गर्ने, सदस्य सुरक्षा कार्यक्रम अन्र्तगत बिभिन्न कोषहरु सञ्चालन गरी पूँजीको स्रोतमा वृद्धि गर्ने लक्ष्य रहेको बताए । 
साधारणसभामा संस्थाका कोाषाध्यक्ष रुद्रबहादुर खत्रीले आव ०६९÷०७० को २२ करोड २६ लाख ७४ हजार ९ सय ३४ रुपैँया र आव ०७०÷०७१ का लागि ३२ करोड २७ लाख ७६ हजार २ सय ३४ रुपैँया बराबरको प्रस्तावित आय व्यय रकम प्रस्तुत गरेका थिए । 
साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी विकास बैंकका प्रबन्धक केबी उप्रेतीले सहकारी क्षेत्रलाई दिशा निर्देश गर्ने ऐन नियमहरु नै समय सापेक्ष नहुँदा सहकारी क्षेत्रमा अपेक्षा गरेअनुसारको  प्रतिफल पाउन नसकिएको बताए । उनले सहकारी क्षेत्रको विकासका लागि दिर्घकालिन रणनैतिक योजना बन्न आवश्यक रहेकोमा जोड दिए । संस्थाले पशुपंक्षी पालन, तरकारी तथा फलफुल खेती, साना तथा घरेलु उद्योग र घुम्ति पसल तथा साना व्यापार व्यवसायमा लगानी गर्दै आएको छ । 
शेयर पूँजीः ११,२५९,६००
कोषः ३,८१४,६३६।
कुल सम्पत्तिः १०५,०१६,४६२ ।
कुल कारोवारः २,२२,६७४,९३४ ।
सदस्य संख्याः १६६० ।

No comments:

Post a Comment