Monday, September 30, 2013


सुर्खेतमा पुरानै उम्मेदवार प्राथमिकतामा  

दीपक बुढा
सुर्खेत, १४ असोज । 
सुर्खेतमा रहेका प्रायः राजनीतिक दलहरुले आसन्न संविधानसभा निर्वाचनका लागि पुरानै उम्मेदवारलाई प्राथमिकता दिएका छन् । भदौ अन्तिमसम्म क्षेत्रीय र जिल्ला संगठनबाट संभावित उम्मेदवारको नाम सिफारीस गरेका नेकपा एमाले, एकीकृत नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाली कांग्रेस उम्मेदवार छनौटको अन्तिम चरणमा पुग्दा गत संविधानसभा निर्वाचनका उम्मेदवारलाई नै प्राथमिकता दिएका हुन् । 

अधिकांस दलहरुमा गत निर्वाचनमा उठाइएका उम्मेदवारलाई नै यसपटक पनि प्रत्यक्ष वा समानुपातिक कोटामा उठाउने भएका छन् । मंसिर ४ मा हुन लागेको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट सुर्खेतका तीन वटै निर्वाचन क्षेत्रमा पुरानै उम्मेदवार हुने भएका छन् ।  एमाले स्थायी समितिको सोमबार बसेको बैठले पुरानै उम्मेदवारलाई टिकट दिने निर्णय गरेको सुर्खेत जिल्ला अध्यक्ष नवराज रावतले जानकारी दिए । 
अघिल्लो निर्वाचनमा विजयी भएकाहरुलाई नै यस पटकको निर्वाचनमा उम्मेदवार उठाउने एमाले पार्टीको निर्णय अनुसार क्षेत्र नं. १ बाट निर्वतमान संविधानसभा सदस्य कमला शर्मा र क्षेत्र.नं. २ बाट यामलाल कंडेललाई उम्मेदवार उठाएको छ । 
क्षेत्रीय र जिल्ला कमिटिले पहिलो नंम्बरमा राखेर सिफारीस गरेकालाई प्राथमिकता दिने निर्णय अनुसार  अघिल्लो निर्वाचनमा समेत उम्मेदवार बनेका पार्टी अध्यक्ष नवराज रावतलाई क्षेत्र नं.३ बाट उठाउने स्थायी समितिले निर्णय गरेको हो । 
एकिकृत नेकपा माओवादीले क्षेत्र नं. १ बाट ठम्मर बिष्ट, २ बाट जिल्ला सेक्रेटरी भिमबहादुर मल्ल “सुभास” नयाँ अनुहार हुने भने क्षेत्र नं. तीनबाट नरबहादुर बिष्टलाई उम्मेदवार बनाउने आईतबार नै घोषणा गरिसकेको छ । विष्ट निवर्तमान सभासद हुन । 
एमाओवादी स्रोतका अनुसार गत संविधानसभा निर्वाचनमा क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवार उठेकी सीता नेपालीलाई समानुपातीकबाट उठाउने पक्का भएको बुझिएको छ । समानुपातिकबाट संविधानसभा सदस्य बनेका मंगल बिक भने मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीमा छन् । नेपाली कांग्रेसले पनि गत संविधानसभा निर्वाचनमा उम्मेदवार उठेकालाई नै यस पटक पनि उम्मेदवार बनाउने बुझिएको छ । 
कांग्रेस निकट एक पत्रकारका अनुसार सुर्खेत क्षेत्र नं. १ मा गत निर्वाचनमा उम्मेदवार उठेका लालबहादुर घले र २ बाट हृदयराम थानीलाई उम्ेदवार बनाउने लगभग निश्चित जस्तै भएको छ ।  उनका अनुसार क्षेत्र नं. ३ मा भने पार्टी अध्यक्ष तप्तबहादुर बिष्ट र यज्ञ विसी मध्ये कसलाई उम्मेदवार उठाउने भन्ने विषयमा कुरा नमिल्दा घोषणा हुन सकेको छैन् । 

समानुपातिकबाट संविधानसभा सदस्य बेनेका पूर्णबहादुर खड्का र क्षेत्र नं. तीनमा प्रत्यक्ष तर्फका उम्मेदवार शिराज जोशी भने यस पटक समानुपातिकमा उठ्ने जनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि सुर्खेतमा प्रत्यक्ष तर्फका उम्मेदवारको अन्तिम टुङ्गो लगाएको छ । राप्रपा नेपालले क्षेत्र नं. १ बाट ओमबहादुर जिसी, २ बाट मुकुन्दश्याम गिरी र ३ बाट बसन्त श्रेष्ठलाई उम्मेदवार उठाउने बताइएको छ । 

No comments:

Post a Comment