Friday, November 23, 2012

व्यक्तित्व परिचय
सरसफाईका अगुवा देवकोटा
सरसफाई विषय धेरैलाई अपत्यारिलो लाग्छ । सरसफाईका कुरा गर्न धेरैले रुचाउँदैनन् । घर, समुदाय र आफ्नो शारिरीक सरसफाई गर्नुनै मुख्य काम भएको धेरैको बुझाई छ  तर सुर्खेत एक अगुवा भने खानेपानी तथा सरसफाईका विषयमा सबै जना जिम्मेवार हुनुपर्ने तर्क राख्छन् ।

सुर्खेतका सरसफाई अगुवा कुलमणि देवकोटाको बुझाईमा खानेपानी तथा  सरसफाई गहन विषय भएकाले यसमा कसैलेपनि वेवास्ता गर्न नहुने तर्क राख्छन् । राजनीतिक संक्रमणकालिन अवस्थामा धेरै राजनीतिकर्मीहरु राजनीतिबाट विस्थापित भएका छन् । धेरै जनाले राजनितिलाई सहि रुपमा पहिचान गर्न नसक्दा दुःख पाएको बताउँने देवकोटा खानेपानी तथा सरसफाईको क्षेत्रबाटै आफ्नो पहिचान बनाउँन सकिने बताउँछन् । उनी खानेपानी तथा सरसफाईको विषयका विभिन्न सञ्जालहरुमा आवद्ध भएर त्यसै मार्फत आफूलाई स्थापित गर्ने दौडानमा रहेका छन् ।

सुर्खेत उपत्यकाको खानेपानीको मुख्य स्रोत झुप्रा वृहत खानेपानी आयोजना हो । सुर्खेत उपत्यकाका वीरेन्द्रनगर, लाटीकोइली, जर्वुटा, उत्तरगंगा गाउँ विकास समितिका ११ हजारबढी उपभोक्ताहरु प्रत्यक्ष लाभान्वित भएका छन् । देवकोटा झुप्रा बृहद खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्षमा निर्वाचित भएका थिए ।
धेरै राजनीतिक दलको संयुक्त प्यानललाई उछिन्दै उनी नेकपा एमाले बृतबाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष बनेका हुन् । नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहेका देवकोटा २०२८ साल चैत्र १० गते हालको वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ नौलापुरमा जन्मिएका थिए ।
बुवा भक्तिराम देवकोटा र आमा नन्दादेवी देवकोटाको पहिलो सुपुत्रको रुपमा जन्मिएका देवकोटाले छोटो समयमानै धेरै जिम्मेवारी पनि लिएका छन् । विगतको स्थानीय निर्वाचनमा स्वतन्त्र रुपमा वडा अध्यक्ष जितेर नेकपा एमालेमा हामफालेका देवकोटा पछिल्लो समय राजनीतिसंग संगै खानेपानी तथा सरसफाईको मुद्धामा आवाज उठाउँदै आफ्नो पहिचान त्यसैमा खोज्दैछन् ।
उनी सामाजिक सेवा मार्फत बाँच्न गाह्रो हुने भएकाले खेती किसानी मार्फत परिवारको खर्च टार्नु परेको बताउँछन् । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ मध्यपश्चिम संयोजक तथा केन्द्रीय सचिवालय सदस्य, फ्रेस वाटर एक्सन नेपालको केन्द्रिय सदस्य रहेर जिल्लाको खानेपानी तथा सरसफाईको अवस्थाका बारेमा स्थानीय तथा राष्ट्रिय स्तरमा आवाज उठाउँदै आएका छन् ।
पछिल्लो समय सुर्खेत उपत्यकामा बढ्दो सहरीकरण र खानेपानीको स्रोतमा कमि आउँदा खानेपानी समस्यामा दिर्घकालिन समस्या देखा पर्ने उनको पूर्वानुमान छ । खानेपानी तथा सरसफाईमा मुद्धामा राजनीति गर्न नहुँने बताउँदै उनी सबैको साझा मुद्धा भएकाले जिल्ला स्थित राजनीतिक दलहरु एक भएर सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधान गर्न एक जुट हुनुपर्ने उनको सुझाव छ ।
सामाजिक सेवा प्रति रुची पारिवारीक प्रेरणा, व्यक्तिगत उत्सुकता र सामाजिक परीवेसले बढाएको उनको भनाई छ  । विद्यालयको तर्फबाट कदर—पत्र, सामाजिक क्षेत्रमा प्रशंसा—पत्र, दोसल्ला, कदर—पत्र सहित दर्जनौं पटक उनी सम्मानित भएका छन् ।
समाजको आर्थिक, सामाजिक र शैक्षिक उन्नतीका लागी योगदान पु¥याउन निरन्तर प्रयत्नशिल रहने र आफु संलग्न भएका संघ संस्थाले प्रदान गर्ने सेवालाई सर्वसुलभ, दिगो र प्रभावकारी वनाउन अधिकतम् रुपमा लागी रहने साथै संस्थागत परिवर्तनका लागी इमान्दारीताका साथ संधै कार्यगर्ने उनको प्रतिवद्धता छ ।
‘सामाजिक सद्भाव कायम गर्नका लागी गाली, गलौज, अपमान आक्रोस होइन प्रशंसा प्रेम स्नेह वाड्न सक्नु पर्छ ।’ उनले भने  ‘अरुलाई परिवर्तन गर्न खोज्नेहरुले परिवर्तन र सुधारको सुरुवात आफुबाटै गर्नुपर्छ ।’
पौरखी, ईमान्दारीता, लगनशिलता, मिलनसार, अध्ययनशिल साथै सधै समाज र अरुको सेवामा रमाई रहने, आफुले सिकेको ज्ञान व्यवहारमा लागुगर्न सक्ने भावना भएको व्यक्तिनै सफल व्यक्तित्व हुने उनको भनाई छ ।

No comments:

Post a Comment