Thursday, November 22, 2012

सुकुम्बासीलाई परिचय—पत्र
दीपक बुढा
सुर्खेत, ७ मंसिर ।
जिल्ला सुकुम्बासी समस्या समाधान आयोग जिल्ला कार्यसमिति सुर्खेतले सुकुम्बासी परिचय—पत्र वितरण कार्य सुरु गरेको छ । विहिबार एक कार्यक्रमवीच लाटीकोइली गाविसबाट परिचय—पत्र वितरण कार्य सुरु गरेको हो ।
जिल्लामा सुकुम्बासीको पहिचान गरी पहिलो पटक परिचय—पत्र वितरण कार्य सुरु गरिएको छ । सुकुम्बासी समस्या समाधान आयोगका सुर्खेत अध्यक्ष, लाटीकोइली गाउँ विकास समितिका शाखा अधिकृत नवराज थापा, मालपोत कार्यालय सुर्खेतका प्रमुख चन्द्रबहादुर डांगी सहितको टोलीले सुकुम्बासी परिचय—पत्र वितरण कार्य सुरु गरेका हुन् ।
लाटीकोइली गाविसका ७ सय ६७ जनालाई परिचय—पत्र वितरण गरिने जनाईएको छ । पहिलो चरणमा दशरथपुर, कल्याण, नेटा, डाँडाखाली, घुमखहरे, मालारानी, साहारे, साटाखानी, घाटगाउँ, वीरेन्द्रनगर नगरपालिका सहितका २३ गाउँ विकास समितिका १४ सय ९२ परिवारलाई परिचय—पत्र वितरण गरिने आयोगका सदस्य मोहन बडुवालले जानकारी दिए ।

जिल्ला भरीबाट संकलन भएका ५ हजार ८ सय ९२ सुकुम्बासी भएको दावि सहितका निवेदनहरु कार्यालयमा प्राप्त भएको हुँदा छानविन गरी परिचय—पत्र वितरण कार्य थालिने जनाईएको छ । एउटा घर परिवारमा आम्दानीको आय स्रोत नभएको, परिवारको सदस्यको नाममा नेपालभरी जग्गा नभएको व्यक्तिको निवेदन गाविस, सर्वदलिय संयन्त्रबाट पास हुँदै आयोग सम्म पुगेको जनाईएको छ । आयोगले समेत आफ्नै संयन्त्रबाट छानविन गरी वितरण गर्नेछ । 
पहिलो दिन लाटीकोइली गाविसबाट सुरु गरिएको भएपनि अन्य गाउँ विकास समितिका सुकुम्बासीहरुको परिचय—पत्र भने आयोगको कार्यालयबाटै वितरण हुने जनाईएको छ । आयोगले विगत ०६६ सालको सकुम्बासी समस्या समाधान आयोगले स्वकृति गरेका एक हजार आठ सय पुर्जाको तिरो चलाउने भएको छ । 

No comments:

Post a Comment