Thursday, November 29, 2012

सुर्खेतमा तीन सय ९० संक्रमित
सुर्खेत, १४ मंसिर ।
सुर्खेतमा हाल सम्म तीन सय ९० जना एचआईभी संक्रमितहरु फेला परेको जनाईएको छ । आर्थिक बर्ष २०६४÷०६५ देखि २०६९ भदौं मसान्त सम्म उक्त संख्यामा संक्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
जसमा दुई सय १६ जना पुरुष र एक सय ७४ जना महिला संक्रमित रहेका छन् । क्षेत्रीय अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र मेहलकुना र दिगो विकास कोषद्धारा संचालित रक्त परीक्षण केन्द्रबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।
एचआईभी÷एड्सको वर्तमान अवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले विहीबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिईएको हो । एचआईभी संक्रमित मध्य अधिकांश २५ देखि ४९ बर्ष उमेर समूहका उत्पादनमूलक जनशक्ति रहेको जिल्ला एड्स समन्वय समितिका चेतनीधि वाग्लेले जानकारी दिए ।
बसाईसराई गर्ने, यौनकर्मीका ग्राहक र गृहिणीहरु एचआईभी संक्रमित बढी रहेका छन् । २००६८÷०६९ मा एक सय ६२ जनाको रक्त परिक्षणपछि ४८ जनामा एचआईभी संक्रमण र २०६९ साउन र भदौं महिनामा ८९ जनाको रक्तपरिक्षणपछि ९ जना संक्रमित फेला परेको जनाईएको छ ।

नेपालमा २०६९ असार सम्म २० हजार ५ सय ८३ जना संक्रमित फेला परेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । जसमा १३ हजार १ सय ५७ पुरुष छन् भने ७ हजार ४ सय १७ जना महिला रहेका छन् ।
सुर्खेतमा एचआईभीका क्षेत्रमा दिगो विकास कोष, समाज जागरण केन्द्र (स्याक) नेपाल, अन्तरनिर्भर समाज, महिला प्लस, नवकिरण प्लस, आईएनएफ, नेपाल रेडक्रस, परिवार नियोजन संघ लगायतका संघ संस्थाहरुले जनचेतनामूलक तथा रोकथाम, उपचार र हेरचाह कार्यक्रम संचालन गरिरहेका छन् ।
संक्रमितहरु आयआर्जन मार्फत समूदायमा राम्रो काम गरेको समेत जनाईएको छ । घाटगाउँका संक्रमितहरुले आपत्कालिन कोष निर्माण गरी संक्रमितहरुको औषधी उपचारमा प्रयोग गर्ने गरेको अन्तरनिर्भर समाजका विवेक शाहीले जानकारी दिए ।
संक्रमित मध्य—मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट दुई सय १७ जनाले एआरटी औषधी नियमित रुपमा प्रयोग गरिरहेको जनाईएको छ । नवकिरण प्लस सुर्खेतका प्रमुख देवेन्द्र शर्माले सुर्खेतका ३६ वटा गाउँ विकास समितिमा एचआईभी संक्रमितहरु रहेको जानकारी दिए । एचआईभीकै कारण हालसम्म सुर्खेतका २५ जनाको मृत्यु भएको छ ।
असुरक्षित यौन सम्पर्क, परिक्षण नगरिएको रगत लिँदा वा दिँदा, मानव अंग प्रत्यारोपण गर्दा, संक्रमित आमाबाट बच्चा जन्माउँदा एचआईभी एड्स सर्ने प्रवल सम्भावना रहेको हुन्छ । संगै सुत्दा, जुठो खाँदा, एउटै शौचालय प्रयोग गर्दा, एउटै एैना प्रयोग गर्दा भने एचआईभी सर्दैन् ।
जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले जिल्लामा बढ्दो एचआईभी नियन्त्रण गर्न सबै क्षेत्रबाट सक्रिय सहयोग हुनुपर्ने बताए । उनले भने ‘एचआईभीका बारेमा गाउँ गाउँमा जनचेतना प्रवाह गर्न आवश्यक छ । संक्रमित व्यक्तिलाई लामो समय सम्म बचाउन सकिन्छ ।’ पत्रकार सम्मेलन नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष दुर्गा थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment