Saturday, November 10, 2012

पूर्वी नेपालका नगरपालिकाहरुको भ्रमण
सुर्खेत, २५ कात्तिक ।
वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा पूर्वी नेपालका विभिन्न नगरपालिकाहरुको अध्ययन भ्रमण गरिएको छ । नगर क्षेत्रको सरसफाई र पर्यटन विकासलाई अगाडी बढाउने उद्देश्यले ती नगरपालिकाहरुको भ्रमण गरिएको हो ।
जिल्लाका विभिन्न सरकारी कार्यालय, उद्योग बाणिज्य संघ, पत्रकार महासंघ, ग्रीनल्याण्ड एकेडेमी र नगरपालिकाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको भ्रमण टोलीले इलाम, धनकुटा, सुनसरीको इटहरी र चितवनको रत्ननगर नगरपालिकाका गरी जम्मा चार वटा नगरपालिकाहरुको अध्ययन तथा अवलोकन गरेको छ । नगरलाई सफा, स्वच्छ तथा पर्यटकिय नगरका रुपमा विकास गर्नका लागि अन्य नगरपालिकाहरुले गरेका कार्य तथा अनुभवहरु जानकारी लिन भ्रमण सफल भएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत यामलाल ढकालले भ्रमणबाट आफूहरुले नगरको सरसफाई तथा पर्यटन क्षेत्रको विकास सम्वन्धि धेरै कुराहरु सिकेको बताए ।  पूर्वी नेपालका नगरपालिकाहरुमा प्लाष्टिक नियन्त्रणलाई कडाई गरिएकै कारण नगर क्षेत्र सफा रहेको पाईएको भन्दै उनले आफूहरुले पनि तत्काल प्लाष्टिक नियन्त्रणलाई जोड दिने जानकारी दिए । वीरेन्द्रनगरलाई सफा र स्वच्छ शहरको रुपमा विकास गर्ने आफूहरुको सपना रहेको र त्यो पुरा गर्न भ्रमणबाट सिकेका कुराहरु समावेश गरेर कार्ययोजना बनाउने उनको भनाई छ ।
यही कात्तिक १७ गते त्यसतर्फ प्रस्थान गरेको २८ सदस्यीय भ्रमण टोली सात दिने भ्रमण सकेर विहीबार मात्र सुर्खेत फिर्ता भएको छ । भ्रमण टोलीले अन्य नगरपालिकाहरुमा जस्तै सबैको साझा प्रयासबाट मात्र वीरेन्द्रनगरलाई पनि सफा र पर्यटकीय नगरका रुपमा विकास गर्न सकिने निष्कर्ष निकालेको भ्रमणमा सहभागि नेपाल पत्रकार महासंघ सुर्खेतका सहसचिव ललित बुढाले जानकारी दिए । 

२८ माओवादी लडाकू  सम्पर्कमा आएनन्
सुर्खेत, २५ कार्तिक ।
माओवादीका पूर्व लडाकूलाई अन्तिम किस्ता वापतको रकम वितरण कार्य शनिबार सम्पन्न भएको छ । गते १५ गतेदेखि सुरु भएको रकम वितरण कार्य शनिबार सम्पन्न भएको हो । अन्तिम दिनसम्म अवकास रोजेका मध्ये २८ जना माओवादी पूर्व लडाकुहरु सम्पर्कमा नआएको सेना समायोजन बिशेष समिति अन्तर्गतको सचिवालय सदस्य दिपकप्रकाश भट्टले जानकारी दिए । 
२८ जना बाहेक सबैले अन्तिम किस्ता वापतको रकम लिएको उनले जानकारी दिए । उनले बहुविवाह गरेको भन्दै रकम रोकिएका ६ जना मध्ये एक जनाले मात्रै रकम नपाएको समेत बताए । अन्य पाँच जनाले पहिलाको श्रीमतीसँग मिलेर रकम लिएको भट्टले बताए । रकम लिन नआएका लडाकुले अवको १० दिन भित्र सचिवालयमा सम्पर्क गर्नुपर्ने सचिवालय सदस्य भट्टले बताए ।

No comments:

Post a Comment