Friday, April 20, 2012

शिक्षकको पनि सरसफाई अभियान
विनोद लम्साल
सुर्खेत, ८ वैशाख ।
जिल्लालाई सन् २०१५ सम्ममा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानलाई सफल बनाउन शिक्षकहरुले पनि विद्यालयमार्फत अभियान थाल्ने भएका  छन् ।  नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र जिल्ला शिक्षा कार्यालय सुर्खेतको संयुक्त आयोजना तथा जिल्ला खानेपानी स्वास्थ्य तथा सरसफाई  समन्वय समिति सुर्खेतको समन्वयमा गरिएको सरसफाई प्रवद्र्धन र सरसफाई गुरुयोजना–२०६८ सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यशालामा सहभागि शिक्षकहरु  यस्तो अभियान थाल्ने भएका  हुन् । 
विद्यालयमा स्वच्छ वातावरण सिर्जना गर्ने तथा विद्यालयका शिक्षक विद्यार्थी, आमा समूहमार्फत विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने  बताएका छन् । कार्यक्रममा बोल्दै जिल्ला प्रविधिक कार्यालय सुर्खेतका इन्जिनियर    ओमदत्त रेग्मीले सरसफाई अभियानलाई सफल बनाउन सबैजना सरसफाई कार्यकर्ताको  रुपमा लाग्नुपर्ने बताए । उनले अहिले सम्म जिल्लाका १० वटा गाविसहरु खुला दिशामुक्त क्षेत्र घोषणा भएको भन्दै अन्य गाविसहरुलाई पनि दिशामुक्त क्षेत्र घोषणा गर्नको लागि प्रक्रियामा रहेको रेग्मीले बताए । 
कार्यक्रममा  जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले स्वास्थ्य र सरसफाई शिक्षास“ग जोडिएको विषय भएकोले विद्यालयबाट अभियान थालेमा प्रभावकारी हुने बताए । सरसफाईलाई सैद्धान्तिक नभई व्यवहारमा प्रयोग गरिनुपर्ने बताए । अन्य क्षेत्रमा अगाडि भएता पनि सरसफाई क्षेत्रमा १९ औं शताब्दिबाट माथि नउठेको भन्दै उपाध्ययाले सरसफाईको लागि व्यवहार परिवर्तन गर्न जरुरी रहेको टिप्पणी गरे  । 
विद्यालयमा सरसफाई अभियानको लागि उपयुक्त शौचालयको निर्माण, फोहोर व्यवस्थापन लगायतका विषयमा सम्पूर्ण विद्यालयका शिक्षक विद्यार्थीहरु सक्रिय भएर लाग्नुपर्ने उपाध्यायको भनाई रहेको थियो । कार्यक्रममा सरस्वती उच्च माविका शिक्षिका सुशिला शर्मा, विद्यालय निरिक्षक लोकप्रसाद ढकाल, खानेपानी तथा सरसफाई पत्रकार समूह सुर्खेतका सह–संयोजक लक्ष्मी भण्डारी लगायतले सरसफाई अभियानलाई सफल बनाउन जिल्लाका सम्पूर्ण सरोकारवाला निकायहरु एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । 
सरसफाई प्रवद्र्धन र सरसफाई गुरुयोजना –२०६८ सम्बन्धी दुई दिने अभिमुखीकरणको सहजिकरण नेवा नेपालगंजका  मनप्रसाद वाग्ले र पुष्प रावल ले गरेका थिए । सरसफाई अभियान लाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि केही दिनमा शिक्षक, विधार्थी, स्थानीय गैरसरकारी संस्थाहरुसंग अभिमुखीकरण गर्ने योजना रहेको नेवाका पुष्प रावल ले बताए ।


No comments:

Post a Comment