Wednesday, June 11, 2014


सुर्खेत उपत्यकामा खानेपानीको स्रोत थपिँदैदीपक बुढा
सुर्खेत, २८ जेठ ।सुख्खा मौसममा पानीको हाहाकार व्यहोर्दै आएको सुर्खेत उपत्यकामा दुई बर्ष भित्र पानीको स्रोत थपिने भएको छ । खरीखोला र बोरीखोलाको पानी झुप्रा खानेपानीको स्रोतमा मिसाएपछि केही राहत हुने भएको हो ।
गर्पन–साटाखानीको सिमानाबाट आउने खरीखोला र रतु–गर्पनको सिमानाबाट आउने बोरीखोलाको दोभानबाट पानी संकलन गरी प्रतिसेकेण्ड ३० लिटर पानी उपत्यकामा पु¥याउने योजना बनाइएको छ । आर्थिक बर्ष २०७१÷०७२ मा ठेक्का प्रक्रिया सुरु भएर दुई बर्षभित्र निर्माण कार्य सम्पन्न हुने झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए । २०७३ सालमा थप खानेपानी पानी उपत्यकामा भित्रिने उनको भनाई छ  । 

गत आर्थिक बर्ष प्रारम्भिक सर्वे, चालु आर्थिक बर्षमा विस्तृत सर्वे गरिएको छ । खानेपानी तथा ढल निकास विभाग र क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयको प्राविधिक टोलीले उक्त अध्ययन गरेको हो ।
आयोजना निर्माण स्थलको पत्रकारहरु सहितको टोलीले स्थलगत अवलोकन गरेको छ । अवलोकनका क्रममा पानीको अवस्था समेत जाँच गरिएको थियो । झुप्रा बृहत खानेपानी संस्थाका प्राविधिक इन्जिनियर डम्मर गौतम र सव–इन्जिनियर बालाराम तिवारीले पानीको तह नापेका थिए । प्रतिसेकेण्ड ८२ लिटर पानी निरन्तर बगिरहेको प्राविधिकले जानकारी दिए ।

साढे ८ किलोमिटर पाइपलाइन विस्तार गरेर झुप्रा खोलाको करेखोलामा रहेको रिजर्भ टङ्कीमा पानी खसालेपछि पुरानै संरचनाबाट पानी उपत्यकामा पुग्ने अध्यक्ष देवकोटाले बताए । खरीखोला र बोरीखोलाको पानी उपत्यकामा पु¥याए ७ देखि १० हजार धारा नयाँ जडान गरी दैनिक साँझ, विहान २÷२ घण्टा पानी वितरण गर्न सकिने योजना रहेको छ । उक्त आयोजनाबाट १० बर्ष सम्मका लागि उपत्यकाको खानेपानी समस्या समाधान हुने  जनाइएको छ ।

करिव ५ करोड लागतमा निर्माण हुने खरीखोला–बोरीखोला खानेपानी आयोजना नेपाल सरकारको ७० प्रतिशत अनुदान र ३० प्रतिशत उपभोक्ता संस्थाको सह–लगानीमा निर्माणका लागि प्रक्रिया अगाडी बढि सकेको झुप्रा बृहतका अध्यक्ष देवकोटाले जानकारी दिए ।
झुप्रा खोलाको पानीको स्रोत घट्दो क्रममा रहेकाले बैकल्पिक स्रोतको रुपमा खरीखोला–बोरीखोलालाई लिइएको छ । साटाखानी गाविसका लागि ८ लिटर प्रतिसेकेण्ड पानी  खरीखोलाबाट आपूर्ति हुनेछ । दुई खोलाबाट ३० लिटर प्रति सेकेण्ड पानी मात्रै संकलन गरी अरु पानी खोलामै छोडिदिने झुप्रा बृहत खानेपानी संस्थाका अध्यक्ष देवकोटाले बताए । तत्कालका लागि खानेपानीको समस्या समाधान गर्न यी आयोजनाहरु उपयुक्त भएपछि दिर्घकालिन उपत्यकाको खानेपानी समस्या समाधान गर्न चिङगाड खोला, भेरी नदिको पानी उपयुक्त हुने अध्यक्ष देवकोटाको भनाई छ ।
अन्य मौसमको तुलनामा खडेरी मौसममा उपत्यकामा खानेपानीको विकराल समस्या हुने गरेको छ । झुप्रा खोलाबाट सुख्खा मौसममा ७६ लिटर प्रतिसकेण्ड पानी उपत्यकामा आपूर्ति हुने अध्ययन गरिएको थियो । पानीको स्रोत प्रत्येक बर्ष घट्दो क्रममा रहेको छ । पानीको स्रोत घट्दै जाँदा सुख्खा मौसममा ४८ घण्टामा धारामा पानीको पालो लाइएको थियो ।
२०६८ साल जेठ महिनामा ५६.५ लिटर प्रतिसेकेण्ड पानी उपत्यकामा भित्रिएको थियो । २०६९ सालमा ३१ लिटर प्रतिसेकेण्ड, २०७० जेठमा ५२ लिटर प्रतिसेकेण्ड पानी उपत्यकामा आपूर्ति भएको जनाइएको छ । २०७१ बैशाखमा ७५.५ लिटर प्रतिसेकेण्ड र २०७१ जेठमा ४९.२ लिटर प्रतिसेकेण्ड पानी मात्रै आपूर्ति भएको संस्थाले जनाएको छ ।
झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानी संचालनमा आएपछि नीजि धारा ११ हजार ९ सय ९३ वटा, सामूहिक धारा १ सय ५२ वटा र कार्यालय संघ संस्थाको २ सय ८६ धारा गरी कुल  १२ हजार ४ सय ३१ वटा धारा संचालनमा छन् । झुप्रा बृहत खानेपानी संस्थाको जुर्वटा, लाटीकोइली, उत्तरगंगा, वीरेन्द्रनगरका ३४ वटा वडाहरुमा कार्यक्षेत्र रहेको छ ।

No comments:

Post a Comment