Tuesday, June 3, 2014


कार्यकर्ता रिझाउन ८६ लाख बजेट आयो

दीपक बुढा
सुर्खेत, २० जेठ ।
आर्थिक बर्षको अन्तिम तिर जिल्ला विकास समिति सुर्खेतमा २७ वटा आयोजनाका लागि ८६ लाख रकम आएको छ । अर्थ मन्त्रालयबाट भएको रकमान्तर अन्तर्गत स्थानीय विकास मन्त्रालय मार्फत सुर्खेतका २७ आयोजनाका लागि उक्त रकम आएको हो । आर्थिक बर्षको अन्तिम तिर आएको उक्त रकम बास्तविक रुपमा विकास निर्माण नभई कार्यकता रिझाउनका लागि भएको विपक्षि दलहरुले आरोप लगाएका छन् ।
निर्वाचन क्षेत्र नं. २ को लाटीकोइलीमा मात्रै १३ वटा आयोजनामा रकम आएको छ । गाउँ विकास समितिबाट समेत रकम विनियोजन गरी बाटो निर्माण गरिएका १० वटा मोटर बाटोको स्तरोन्नतीका लागि भन्दै २० लाख बजेट आएको छ ।
कालीमाटी थारु बस्ति सडक स्तरोन्नती, तिलपुर थारु बस्ति सडक स्तरोन्नती, नयाँ गाउँ थारु वस्ति सडक स्तरोन्नती, भवनापुर थारु वस्ति सडक स्तरोन्नती, घोक्रेनी थारु वस्ति सडक स्तरोन्नती, पातलगंगा थारु वस्ति सडक स्तरोन्नती गर्न दुई÷दुई लाखका दरले आएको छ ।
त्यसैगरी तल्लोपर्सेनी थारु वस्ति सडक स्तरोन्नती, माथिल्लो पर्सेनी थारु वस्ति सडक स्तरोन्नती, रहरपुर थारु बस्ति सडक स्तरोन्नती र नयाँ घुस्रा थारु बस्ति सडक स्तरोन्नतीमा दुई लाखका दरले लाटीकोइलीका १० वटा सडक स्तरोन्नती गर्न २० लाख रकम आएको छ ।


कालिमाटीमा ४० हजार, पातलगंगादेखि मिलनचोक जाने बाटोमा १ लाख, भवनापुरमा ४० हजार, नयाँ घुस्रादेखि रहरपुर सम्म १ लाख रकम गाविसबाट विनियोजन गरी काम गरिसकिएको छ । निर्वाचन क्षेत्र नं. २ मा लाटीकोइली बलघारी मस्जिद जिर्णोद्धार, गंगामाला देउती बज्यै मन्दिर जिर्णोद्धार, बौद्ध गुम्वा जिर्णोद्धार र प्रतिज्ञा चर्च वीरेन्द्रनगर–१ लाई दुई÷दुई लाखका दरले रकम आएको छ ।
कालिका मन्दिर वी.न.पा.–५ देखि बैद्य डाँडा सडक निर्माणमा २ लाख, कालीखोला खारोल आग्री सडक स्तरोन्नती घोरेटालाई ३ लाख, सिंहवाहानी दुर्गा मन्दिर जिर्णोद्धार २ लाख, बुद्धपठ पतेनी सडक स्तरोन्नती ६ लाख, बाँगेसिमल उत्तरगंगा सडक स्तरोन्नती ५ लाख, तातापानी बच्छी सडकलाई ५ लाख रकम जिविसमा आएको छ ।
त्यसैगरी सुभाघाट पिपलटार लामिडाँडा सकड स्तरोन्नती ५ लाख, पोखरे धारापानी सडक स्तरोन्नती ५ लाख, छिन्चु मुनली खोला सडक स्तरोन्नती ५ लाख, नेप्टेकाडा बेतनी सडक स्तरोन्नती ५ लाख, रामघाट वडा नं. ७,८ र ९ सकड स्तरोन्नती ५ लाख, मैनतडा रिङरोड सडक स्तरोन्नती ५ लाख र उत्तरगंगा हरिडिलभुमि जाने बाटो स्तरोन्नती गर्न ५ लाख बजेट आएको छ ।
जिल्ला विकास समिति, सडक डिभिजन कार्यालयबाट समेत काम भैरहेका ठाउँमा बजेट पठाएर आफ्ना कार्यकर्तालाई पोस्याउने काम भएको भन्दै तीन दलले विरोध जनाएका छन् । एमाले, एमाओवादी, राष्ट्रिय जनमोर्चाले विकास निर्माणमा जनसहभागिता र पारर्शीताको आशंका गर्दै विरोध जनाएका छन् ।
आर्थिक बर्षको अन्तिममा आएको उक्त रकममा अनियमित हुने भन्दै जिल्ला स्थित तीन राजनीतिक दलले सोमबार जिल्ला विकास समितिमा ध्यानाकर्षण गराएका छन् । छोटो समयमा आएको विकास निर्माणको उक्त रकम जिल्लाका लागि स्वागत योग्य भएपनि एकपक्षिय रुपमा निर्माण समिति बनाई रकम दुरुपयोग हुन नदिन निमित्त स्थानीय विकास अधिकारीलाई ध्यानाकर्षण गराइएको छ ।
एमाले अध्यक्ष नवराज रावतले विकास निर्माणका लागि बजेट सुर्खेतमा आउनु राम्रो पक्ष भएको बताउँद एक महिनामा हुने विकास कति प्रभावकारी हुने आशंका रहेको बताए । सर्वपक्षिय, सर्वदलिय सहमतिबाट सहकार्यबाट नयाँ आएका आयोजनाहरु संचालन हुनुपर्ने अध्यक्ष रावतले बताए ।
एमाओवादी सुर्खेतका अध्यक्ष नरबहादुर विष्टले आयोजना स्वीकृत भएर परिपत्र सुर्खेतमा नआउँदै उपभोक्ता समितिहरु गठन गर्ने काम भएको बताउँदै एकलौटी, एकपक्षिय भए राम्रो नहुने चेतावनी दिए । ‘कार्यान्वयन तहमा व्यापक जनसहभागिता होस, पारदर्शीता होस, सर्वदलिय, सर्वपक्षिय छलफल, सहभागितामा अगाडी बढोस’–अध्यक्ष विष्टले भने ‘चोर ढोकाबाट ल्याएर राजनीति गर्न खोजेमा राम्रो हुदैन ।’
राष्ट्रिय जनमोर्चाका सचिव लालबहादुर नेपालीले आयोजना परेका गाविसमा सर्वदलिय, सर्वपक्षिय भेला गरेर विकास निर्माणमा सबैको सहभागिता गराउँदै विरोध नआउने गरी काम गर्न सुझाव दिएका थिए । गाविस स्तरमा सर्वदलिय संयन्त्र, वडा नागरिक सचेतना केन्द्र, सहजकर्ता र गाविस प्रतिनीधिको सहभागितामा उपभोक्ता समिति गठन गरी काम गर्न सुझाव दिइएको छ ।
राजनीतिक दलका प्रतिनीधिहरुको कुरा सुनेपछि निमित्त स्थानीय विकास अधिकारी राजेन्द्र केसीले आयोजना तोकिएर आएका सम्बन्धित गाविसहरुलाई सर्वदलिय, सर्वपक्षिय छलफल गरी सबैको सहकार्यमा समिति गठन गरी पठाउन निर्देशन दिने प्रतिवद्धता जनाए । ढिलो गरी आएको उक्त रकमबाट प्रभावकारी विकास निर्माण र सर्वपक्षिय जनसहभागिता धेरै गराउने पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

No comments:

Post a Comment