Saturday, June 14, 2014


संस्थागतबाट ५ गुणाबढी विशिष्ट श्रेणीमा उत्तिर्णसुर्खेत, ३१ जेठ ।
सरकारको बर्षेनी करोडौं रकम खर्च हुने सरकारी विद्यालयको शैक्षिक अवस्था भने कमजोर रहेको छ । जिल्लाका नीजि विद्यालयहरुको उत्तीर्ण प्रतिशतले संधै अग्रता कायम गर्दै आएको छ । संस्थागत विद्यालयको उत्तीर्ण प्रतिशत बृद्धि हुँदा समग्र जिल्लाको नतिजा बढेको देखिएको विश्लेषण गरिएको छ ।
२०७० सालको एसएलसी परीक्षामा सुर्खेतका सामुदायिक भन्दा संस्थागत विद्यालयका ५ गुणाबढी विद्यार्थी विशिष्ट श्रेणीमा उत्तिर्ण भएका छन् । सामुदायिक तर्फ २१ जना र संस्थागत तर्फ १२० जना विशिष्ट श्रेणीमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
२०६९ सालको प्रवेशीका परीक्षामा २ जना मात्रै विशिष्ट श्रेणीमा उत्तिर्ण भएकोमा बढेर २१ जना विशिष्ट श्रेणीमा पास हुन सफल भएको जनाइएको छ । सामुदायिक एउटा विद्यालय निल भएको छ भने अधिकांश संस्थागत विद्यालयहरुले सतप्रतिशत नतिजा हाँसिल गर्न सफल भएका छन् । सरस्वति माध्यमिक विद्यालय सिमदमार साटाखानी निल भएको हो । 
९ जना विद्यार्थी परीक्षामा सहभागि भएकोमा एक जना पनि उत्तिर्ण नभएको जिल्ला शिक्षा परीक्षा शाखा प्रमुख भोजप्रसाद लम्सालले जानकारी दिए । मावि तह संचालन अनुमति लिएपनि दरबन्दी नभएको विद्यालय भएकाले थप सुधारको खाँचो रहेको उनले बताए ।
“निल भएका विद्यालयलाइ थप स्रोत साधनमा सहयोग गरेर नतिजा सुधार गर्न प्रोत्साहन गर्ने गरेका छौं” परीक्षा शाखाका लम्सालले भने “५ वटा विद्यालय निल भएकोमा उनीहरुको यस पटकको नतिजामा सुधार आएको छ ।”
२०७० को प्रवेश परीक्षामा ८६ वटा सामुदायिक र २९ वटा संस्थागत विद्यालयले प्रवेशीका परीक्षामा सहभागिता जनाएका थिए । कुल जिल्लाको उत्तिर्ण ४४ प्रतिशत रहेको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
२०६९ सालको एसएलसी परीक्षामा ५ वटा विद्यालय निल भएका थिए । त्यस बर्ष ८२ वटा सामुदायिक र २७ वटा संस्थागत विद्यालयले प्रवेशीका परीक्षामा सहभागिता जनाएका थिए ।
पहिलाको तुलनामा जिल्लाको उत्तिर्ण प्रतिशत बृद्धि भएको प्रमुख लम्सालले जानकारी दिए । सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्थामा सुधार भैरहेको छ । “हामी जिल्लामा कुन विद्यालय के भयो भन्ने नतिजा निकाल्न जुटेका छौं” लम्सालले भने “सामुदायीक र संस्थागत तर्फ कुन विद्यालय उत्कृष्ट भयो निकाल्दै छौं ।”
संस्थागत विद्यालयहरु जन उच्च माविबाट ८ जना, अमरज्योति नमूना उच्च माविबाट ३ जना, त्रिपुरेश्वर उमावि ढोडेखालीबाट २ जना, उच्च मावि इत्रामबाट २ जना र जीवनज्योति उमावि दशरथपुरबाट २ जना विद्यार्थी विशिष्ट श्रेणीमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।
त्यसैगरी सारदा उच्च मावि छिन्चु, सूर्यप्रकाश मावि पलैँटे, नेरामावि बडाखोली र नेरामावि गाग्रेतालबाट एक÷एक  जना विद्यार्थी विशिष्ट श्रेणीमा उत्तिर्ण भएका छन् । यस पटक उच्च मावि वडाखोली मेहलकुना सामुदायिक तर्फ उत्कृष्ट विद्यालय भएको परीक्षा शाखा प्रमुख लम्सालले जानकारी दिए । वडाखोलीको उत्तिर्ण ८० प्रतिशत भन्दा बढी रहेको जनाइएको छ ।
सामुदायिक विद्यालय तर्फ सुर्खेत उपत्यकामा अमरज्योति नमूना उच्च मावि नेवारे उत्कृष्ट भएको छ । विशिष्ट श्रेणी ३ जना, प्रथम श्रेणी ३५ जना, द्धितीय श्रेणीमा ५४ जना सहित ६७.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको प्रधानाध्यापक डिल्लीप्रसाद उपाध्यायले जानकारी दिए ।
संस्थागत विद्यालयहरुबाट पनि विशिष्ट श्रेणीमा उत्तिर्ण हुने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । सबैभन्दाबढी सैनिक आवासीय माविबाट २३ जना विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन् । इगरव्रीज उमाविबाट १४ जना, उषाबालबाटिकाबाट १३ जना, जेपि स्कुल र सेन्टमेरिजबाट ८÷८ जना विशिष्ट श्रेणीमा विद्यार्थी उत्तीर्ण भएको प्याव्सन सुर्खेतका अध्यक्ष नैनसिंह खत्रीले जानकारी दिए । हार्भेष्टमुनबाट जिल्ला प्रथम सहित ६ जना, आदर्शराजबाट ३ जना, इन्टरनेशनलबाट १ जना विद्यार्थी विशिष्ट श्रेणीमा उत्तिर्ण भएको अध्यक्ष खत्रीले जानकारी दिए ।
गत चैत १ गतेदेखि १० गतेसम्म चलेको एसएलसी परिक्षाको लागि सुर्खेतमा तय गरिएका २९ वटा परीक्षा केन्द्रवाट ९ हजार ४ सय ६१ जना विद्यार्थीले परीक्षा दिएका थिए । कुल परीक्षार्थी मध्य ५ हजार पाँच सय नियमित् र ३ हजार ९ सय ६१ जना आंशिकतर्फ तर्फका रहेका थिए

जिल्ला प्रथम नारायण शाहको डाक्टर बन्ने सपना

जिल्ला प्रथम बनेका नारायण शाह डाक्टर बनेर ग्रामीण क्षेत्रमा सेवा गर्ने सपना बोकेका छन् । आर्थिक अवस्था कमजोर र पारिवारीक सहयोग कम पाएका शाह अध्ययनमा सहयोग मिले डाक्टर बन्ने सपना रहेको बताउँछन् ।
अछाम बाटुलासैन–५ स्थायी ठेगाना भई हाल उत्तरगंगा स्थित हार्भेष्टमुन बोर्डिङ्ग स्कुलमा अध्ययनरत नारायण शाहलाई ०७१ साल जेठ ३० गते ऐतिहासिक दिन बन्न पुग्यो । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले शुक्रबार प्रकाशित गरेको एसएलसी परीक्षाको नतिजामा सोचे भन्दा उत्कृष्ट नतिजा ल्याएको  दिन नै उनको लागि स्मरणिय मात्र होईन यसले सफल भविष्यको यात्रा तय गरेको छ ।
९३ दशमलव ३७ प्रतिशत ल्याएर उत्तिर्ण भएका १६ वर्षीय शाह यसवर्षको एसएलसीमा जिल्ला प्रथम मात्र भएका छैनन् जिल्लामा हालसम्म कै सबैभन्दा बढी अंक ल्याउन सफल भएका छन् । शाहले अंग्रेजीमा ८९, नेपालीमा ८५, ऐच्छिक गणितमा ९९, अनिवार्य गणितमा १००, सामाजिकमा ८९, कम्युटर साइन्समा ९७, विज्ञानमा ९७ र जनसंख्यामा ९२ अंक गरी ७ सय ४७ अंक प्राप्त गरेका छन् ।
‘मेरो लागि यो दिन जीवनकै ऐतिहासिक बन्यो,’ शाह भन्छन्, ‘उच्च शिक्षा हाँसिलका लागि पनि यसै दिनले मलाई जीवनभर प्रेरित गरिरहनेछ ।’ ‘परीक्षाफल प्रकाशित हुन्छ भन्ने बिषयमा अघिल्लो दिन नै जानकारी पाएको थिए, त्यस दिनभर कौतुहुलतामै बित्यो,’ उनी भन्छन्, ‘शुक्रबार साँझमा मेरो नतिजा हेर्दा सोचे भन्दा राम्रो पाए ।’
हार्भेष्टमुन बोर्डिङबाट निमावि र माध्यमिकतह उत्तीर्ण गरेका शाहले सानो उमेरदेखि नै  डाक्टर बन्ने लक्ष्य लिएको बताए । डाक्टर पढ्ने अवसर पाएमा डाक्टर बनेर नेपालका विकट क्षेत्रका गरिब दुखी जनताको सेवा गर्ने आफुले लक्ष्य राखेको उनको भनाई छ । दक्ष जनशक्ति विदेश पलायन हँुदा नेपालीहरुले थुप्रै समस्या झेल्नुपरेको बताउदै जस्तोसुकै अवसर पाएपनि आफू भने विदेश विदेश पलायन नहुने बताए  । २०६९ सालको एसएलसी परीक्षामा पनि हार्भेष्टमुनकै नारायण आचार्य ८८ दशमलव २५ प्रतिशत अंक ल्याएर जिल्ला प्रथम भएका थिए ।

No comments:

Post a Comment