Wednesday, June 11, 2014

खानेपानीको जोहो गर्न रातभरी
सुर्खेत, २८ जेठ ।
आग्रीगाउँ गाउँ विकास समिति वडा नं. १,७,८ र ९ मा खानेपानीको चरम संकट रहेको छ । खानेपानीका मुहानहरु सुक्दै गएपछि पानीको संकट बढ्दै गएको हो । खानेपानीका लागि स्थानीयबासीन्दाहरु रातभरी जागराम बस्ने गरेका छन् ।
आग्रीगाउँ गाविस वडा नं. १ को पुन्यौटा, वडा नं. ७ को धारी, वडा नं. ८ को धुरपैरा खोला र वडा नं. ९ को बडासीमाको खोलामा पानीको सानो स्रोत रहेको छ । अन्य समयको तुलनामा गर्मी मौसममा पानीको स्रोत सुक्दै जाँदा थप समस्या हुने गरेको छ । पानीको जोहो गर्न रातभरी कुर्ने गरेका छन् ।

एउटा मुहानबाट करिव ८० घरधुरीले पानीको प्रयोग गर्ने गरेका छन् । प्रयाप्त खानेपानीको समेत असुविधा हुँदा शौचालयहरु प्रयोग विहिन भएका छन् । निर्माण गरिएका शौचालय समेत प्रयोगमा नआएको सामाजिक परिचालक चन्द्रबहादुर शाहीले जानकारी दिए ।
गाविसलाई २०७० चैत्र महिना सम्म खुला दिसामुक्त घोषणा गर्ने योजना बनाएपछि पानीको असुविधाका कारण शौचालय प्रयोग नहुँदा घोषणा समेत अनिश्चित बनेको छ । खानेपानीका लागि धेरै संघ–संस्थाहरुले सर्वे गरेपनि आयोजना निर्माण स्वीकृति नहुँदा स्थानीयबासीन्दा आक्रोशित बनेका छन् । खानेपानी निर्माणमा लागत बढी लाग्ने भन्दै संघ संस्थाहरु पन्छिने गरेका छन् । “पहिला खानेपानी देउ अनि मात्र चर्पी प्रयोग गर्छौ” एक स्थानीयले भने “खानेपानीनै पाइदैन चर्पीमा कसरी पानी हाल्ने ।”
गाविसलाई खुला दिसामुक्त घोषणा गर्नका लागि विभिन्न चरणका गतिविधिहरु संचालन भैरहेका छन् । ५ सय घरधुरी रहेको गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्न मुख्य चुनौति नै चार वडा भएको सामाजिक परिचालक शाहीले जानकारी दिए । 

No comments:

Post a Comment