Sunday, June 8, 2014

पत्रकार महासंघका अध्यक्षले पौडी खेल्न नजानेपछि ......................
सुर्खेत, २५ जेठ ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले पौडी खेल्न नजानेपछि खैलाबैला भएको छ । विस्तारै पोखरीमा गएका भारती पौडी खेल्न नजानेपछि टुवमा तैरिएका थिए ।
वीरेन्द्रनगर स्थित घण्टाघर पार्क भित्र अत्याधुनिक पौडी पोखरीको आइतबार उद्घाटन गरिएको छ । वीरेन्द्रनगरमा नीजि लगानीमा राष्ट्रिय तथा क्षेत्रीय स्तरको पौडी प्रतियोगिता गर्न सकिने स्वीमिङ पुल (पौडी पोखरी) को औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

जिल्ला स्थित उद्योगी, व्यापारी, पत्रकारहरुको उपस्थितिमा जिल्ला ट्राफिक प्रहरी प्रमुख जीवन बुढाथोकी, झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटा र वीरेन्द्रनगर नगरपालिका कार्यकारी अधिकृत होतराज लम्सालले संयुक्त रुपमा पौडी पोखरीको उद्घाटन गरेका हुन ।
घण्टाघर पार्क रिसोर्टले पश्चिम नेपालकै सबै भन्दा ठूलो पौडी पोखरी (स्वीमिङ पुल) को आइतबारदेखि संचालनमा ल्याएको छ । वीरेन्द्रनगर–६ मा रहेको घन्टाघर पार्कका सञ्चालक चिन्तामणि शर्माले आफ्नै लगानीमा पार्क भित्रै पौडी पोखरी सञ्चालन गरेका हुन् ।
झन्डै ६५ लाख रुपैयाँमा पौडी पोखरी सञ्चालन गरिएको सञ्चालक शर्माले जानकारी दिए । पर्यटकीय स्थलको रुपमा सोे ठाउँलाई विकास गर्न र पौडी खेलमा खेलाडीलाई प्रोत्साहित गर्न स्वीमिङ पुल सञ्चालन गरिएको शर्माले बताए ।

वीरेन्द्रनगर नगरपालिकाबाट प्राविधिक जाँच गराएर पौडी पोखरी निर्माण गरिएको हो । पोखरीको १३ मिटर चौडाइ, २६ मिटर लम्बाइ छ भने पानीको तह पौने चार फिट रहेको सञ्चालक शर्माले बताए ।

सुर्खेतमा यसअघि शनि भिलेज एन्ड रिसोर्टमा स्वीमिङ पुल निर्माण गरिएको भएपनि पार्कमा निर्माण गरिएको पुलमा मात्रै पौडी प्रतियोगिता सञ्चालन गर्न सकिन्छ । खुला पार्कमा निर्माण गरिएको जस्तो पौडी पोखरी मध्यपश्चिममै नभएको सञ्चालक शर्माको भनाइ छ ।
यस पोखरीमा एकै पटक ५०–६० जना पौडी खेल्न सक्नेछन् । प्रतियोगितामा भने १० जनालाई सहभागी गराउन सकिने शर्माको भनाइ छ । पौडी पोखरीमा एक घन्टामा ५० हजार लिटर पानी शुद्ध गर्न सक्ने फिल्टर जडान गरिएको छ ।
पौडी खेल्नको लागि एक जनाको लागि दुई घण्टाको दुई सय रुपैयाँ र बार्षिक रुपमा पाँच हजार रुपैयाँ, विद्यार्थीलाई १ सय ५० प्रति पटक शुल्क तोकिएको सञ्चालक शर्माले जानकारी दिए ।

No comments:

Post a Comment