Thursday, June 5, 2014

विद्यार्थीको गुरु बन्यो “कम्प्यूटर”
करिस्मा चौधरी
सुर्खेत, २१ जेठ ।

कक्षा–९ मा अध्ययरत बसन्त यौगीले पढाईको गुरु कम्प्यूटरलाई बनाएका छन् । कक्षाका महत्वूर्ण विषयमा शिक्षकहरुबाट सहयोग लिँदै आएका उनको इ–लाइबेरी सुरु भएपछि पहिलो सहयोगी कम्प्यूटर बनेको छ । कक्षामा अध्ययन गरेका महत्वपूर्ण विषय र शव्दका बारेमा बुझनुप¥यो भने शिक्षक भन्दा पहिले सिधै कम्प्यूटरको सहयोग लिने गरेका छन् । कम्प्यूटरबाट उनले बुझने गरी शव्दका अर्थ, कुनैपनि विषयको विस्तृत जानकारी, इतिहाँसका बारेमा जानकारी लिने गरेका छन् ।
अमरज्योति नमूना उच्च मावि  विद्यालयमा अध्ययन गर्ने यौगी मात्र होइन उनी जस्तै धेरै विद्यार्थीको सहयोगी कम्प्यूटर बनेको छ । विद्यालयले कक्षा–९ देखि १२ सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीका लागि इ–लाइबेरी २०६८ देखि सञ्चालनमा ल्याएको थियो ।
यौगीले भने “विद्यालयमा कम्प्युटर विषयको अध्ययन र इ–लाइब्रेरीको प्रयोगले मैले नौ कक्षा पढ्दापढ्दै कम्प्युटरमा टाइपिङ गर्न, आधारभूत सिप जानेको छु” उनले थपे “खोल्न र बन्द गर्न नजान्ने भन्दा आफुले धेरै जानेको जस्तो लाग्छ ।”

इ–लाइवेरीको प्रयोग मार्फत विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि गर्दै कम्प्यूटर शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयले इ–लाइबेरी संचालन गरेको छ । विद्यालयमा इ–लाइबेरी सञ्चालन भएपछि कक्षागत विद्यार्थी संख्यामा समेत बृद्धि भएको विद्यालयको तथ्याङ्क रहेको छ ।
त्यस्तै कक्षा–१० मा पढ्ने कमला लामिछाने भन्छिन्, “कम्प्युटर भाषागत र प्रयोगात्मक सम्बन्धि जानेको छु, विद्यालय पढ्दापढ्दै यति जानेकोमा खुसी लाग्छ ।” बत्ति नहुँदा जेनेरेटर मार्फत संचालन गरिन्छ । कक्षागत रुपमा पालो लगाएर विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा, यसको उपयोगिताको बारेमा जानकारी दिने गरिएको छ । कक्षा दशमै पढ्ने अर्की विद्यार्थी मेघा सुवेदी भन्छिन् “कम्प्युटर नभएको विद्यार्थी भन्दा भाग्यमानी र अगाडी छु जस्तो लाग्छ ।” यिनीहरुजस्तै शैक्षिक सत्र २०७१ मा विद्यालयका १ सय ८९ जना विद्यार्थीले कम्प्युटर शिक्षा नियमित पाएका छन् ।
विद्यालयले शैक्षिक सत्र २०६८ सालदेखी इ–लाइब्रेरी सुरु गरेको छ । इ–लाइब्रेरी सञ्चालनको लागी विद्यालयमा एघार कम्प्युटर रहेका छन् भने यी कम्प्युटर हेल्प नेपाल, स्याक नेपालको सहयोग र विद्यालयकै पहलमा ल्याइएको बताईएकोे छ ।
हाल विद्यालयमा जम्मा २८ कम्प्युटर रहेकोमा ७ कम्प्युटर जडान गर्न बाँकी रहेको र शैक्षिक सत्र २०७० देखी इन्टरनेटको सुविधा पनि पुगेको प्रधानाध्यापक डिल्लीप्रसाद उपाध्यायले बताए ।
कम्प्युटको युगमा विद्यार्थीलाई कम्प्युटर शिक्षाबाट टाढा नराख्ने उद्देश्यले यो विषयको अध्यापन सुरु गरेको विद्यालयको भनाई छ । कम्प्युटर कक्षाबाट विद्यार्थी लाभान्वित भएको प्रधानाध्यापक उपाध्यायले बताए ।

९८ वटा विद्यालयमा इन्टरनेट सुविधा

जिल्लाका ९८ वटा विद्यालयमा इन्टरनेट सुविधा पुगेको छ । जिल्ला शिक्षा कार्यालय सुर्खेतले विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत आ.व. २०६७÷०६८ देखि हाल सम्म ९८ विद्यालयमा इन्टरनेट सेवा पु¥याएको हो ।
शिक्षा कार्यालयले विद्यालयलाई कम्प्युटर खरिदमा अनुदान दिएपछि विद्यालयहरुले कम्प्यूटर सहित इन्टरनेट सेवा समेट जोडेका छन् । नयाँ पाठ्यक्रम अनुसार कक्षा–६ बाटै कम्प्युटर विषय पढाईहुने भएपछि जिल्लाका सबै विद्यालयमा कम्प्युटर सहित इन्टरनेट सुविधा पु¥याउने तयारी भैरहेको छ ।
आर्थिक वर्ष २०६७÷०६८ मा पाँच वटा विद्यालयमा, २०६८÷०६९ मा पाँच विद्यालयमा र २०६९÷०७० मा बाह्र विद्यालयमा मात्र इन्टरनेट जोडने र कम्प्युटर सहयोग अनुदान दिइएको थियो । चालु आर्थिक वर्षको जेठ महिना सम्ममा ७६ विद्यालयले कम्प्युटर सहयोग प्राप्त गरी विद्यालयमा इन्टरनेट सुविधा जडान गरेको सहायक जिल्ला शिक्षा अधिकारी दिपा हमालले जानकारी दिईन ।
जिल्लामा रहेका निम्नमाध्यमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयमा कार्यक्रम लागु भएको छ । आर्थिक वर्ष २०७०÷०७१ मा एक सय सोह्र विद्यालयका लागि प्रति विद्यालय १ लाख ४० हजारका दरले कम्प्यूटर खरिद रकम जिशिकामा आएको जनाइएको छ ।
सहायक जिल्ला शिक्षा अधिकारी हमालले भनिन ‘अहिलेसम्म ७६ विद्यालयलेमात्र यो सेवा पाएका छन् भने चालिस विद्यालय प्रकृयामा रहेका छन् ।’ एउटा विद्यालयलाई इन्टरनेट जडान र कम्प्युटर सहयोग अनुदान दिनको लागि विद्यालयमा वत्ति तथा सोलारको ब्यवस्था, कम्प्युटर पढाउने शिक्षक, कम्प्युटर कक्षा, फर्निचरको ब्यवस्था तथा मर्मत विद्यालयले गर्न सक्ने लगायतका ब्यवस्था हुनुपर्ने प्राव्धान रहेको सहायक जिशिअ हमालको भनाई छ ।
उक्त कार्यक्रममा सहभागि हुन विद्यालयले साठी हजार रुपैयाँ बनाउनुपर्ने र जिल्ला शिक्षा कार्यालयले एक लाख चालीस हजार रुपैयाँ दिएमा विद्यालयले पाँच वटा कम्प्युटर, एउटा प्रिन्टर खरिद गरी इन्टरनेट जोडने गदर्छन ।
छनोटका आधार भएका विद्यालयले माग गरेमा जिल्ला शिक्षा कार्यालयले रकम दिने गरेको सहायक जिशिअ हमालले बताईन् । इन्टरनेट जडान र कम्प्युटर सहयोग अनुदान कार्यक्रम सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा रहेका ४ विद्यालय, त्यस्तै गाविसहरु गुमीमा २, छिन्चुमा ४, मैनतडामा ३, कल्याणमा २, लेखपराजुलमा १, रामघाटमा २, सहारेमा ३ वटा विद्यालयले सहयोग लिएका छन् ।
त्यसैगरी मेहलकुनामा १, वावियाचौरमा २, कुनाथरीमा ५, छाप्रेमा १, जर्वुटामा ३, लाटीकोइलीमा ३, उत्तरगंगमा ३, साटाखानीमा ३, दशरथपुरमा १, दहचौरमा १, लेखगाउँमा १, बेतानमा १, बिजौरामा १, गुटुमा १, पोखरीकाँडामा २, गढिमा १, मटेलामा १, डाँडाखालिमा १, घुमखहरेमा १, पाम्कामा १, घोरेटामा २, आग्रिगाउँमा १, राकममा १, बजेडिचौरमा १, हरिहरपुरमा २, तरंगामा १, मालारानीमा १, अवलचिङमा १, रानीवासमा १, खानीखोलामा २, लेखपराजुलमा १,काप्रिचौरमा १, काफलकोटमा १, लगाममा १, विद्यापुरमा १, घाटगाउँमा १, विजौरामा १ र तातापानीमा १ गरी ७६ विद्यालयमा इन्टरनेट जडान गरिएको छ ।
विद्यालयले सामान खरीद गर्दा एसर, डेल, एचपि, लिनोभ र इक्युभ्यालेन्ट ब्रान्डको मात्र खरिद गर्ने शिक्षा विभागको निर्देशन रहेको जनाइएको छ । कार्यक्रम लागु भएका विद्यालयमा कक्षा–६ देखि माथिका विद्यार्थीले कम्प्युटर चलाउने गरेका छन् ।

No comments:

Post a Comment