Wednesday, June 18, 2014


भेरी–बबई ड्राइभर्सनमा १३ कम्पनीको प्रस्ताव
सुर्खेत, २ असार ।
प्रस्तावित भेरी बबई डाइभर्सन परियोजनाको सुरुङ निर्माणमा १३ विदेशी कम्पनीले आशयपत्र पेस गरेका छन् । आशयपत्र पेस गर्ने अन्तिम दिन असार २ गते (सोमबार) भारत, चीन, इटाली, स्पेन र मलेसियाका कम्पनीले भाग लिएका छन् । आगामी २ महिनाभित्र कम्पनी छनोट गरी आयोजनाको सुरुङ निर्माणका लागि बोलपत्र आह्वान गर्ने आयोजना प्रमुख शिवकुमार बस्नेतले बताए । बोलपत्रमा भाग लिने कम्पनीले भेरीदेखि बबई नदीसम्म १२ किलोमिटर लामो सुरुङ खन्नुपर्नेछ ।
पटक–पटक बोलपत्र रद्ध भएपछि परियोजनाको काम १ वर्ष ढिलाइ हुनुका साथै लागत पनि बढ्ने भएको छ । ठेकेदारले बढी दर प्रस्ताव गर्नुका साथै धेरै कम्पनीको प्रस्ताव नपरेपछि  सुरुङको दुईपटक र परामर्शदताको एकपटक बोलपत्र रद्ध भएपछि यस्तो अवस्था आएको हो । परियोजना समय बढेर २०१८  पुग्नेछ । यो वर्षदेखि काम सुरु गरी आगामी सन् २०१७ सम्म सक्ने भेरी–बबई डाइभर्सन बहुद्देश्यीय परियोजना कार्यालयको लक्ष्य थियो ।
यसअघि परियोजनाको अनुमानित लागत १६ अर्ब रुपैयाँ निर्धारण गरिएकोमा ढिलाइसँगै आयोजनाको लागत पनि बढ्नेछ । पुनः सुरुको प्रक्रियाबाट काम थाल्नुपर्ने भएकाले ढिलाइ हुने भएको छ । बोलपत्रदाताको पूर्वयोग्यताको छनोटदेखिको नयाँ प्रक्रिया सुरु हुनेछ । आगामी आर्थिक वर्षको सुरुमा ठेक्का सम्झौता गर्ने परियोजनाको लक्ष्य छ । सुरुङ र परियोजना सुपरिवेक्षण गर्ने परामर्शदाताको छनोट एकै समयमा हुनेछ ।
भेरीको पानी बबई नदीमा मिसाएर सिँचाइका साथै विद्युत् उत्पादन गर्न भेरी–बबई डाइभर्सन बहुद्देश्यीय परियोजनाको सुरु हुन लागेको हो । यो परियोजनाबाट बर्दिया र बाँकेका ६० हजार हेक्टर जमिनमा सिँचाइका साथै ४८ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
परियोजनाको पहिलो चरणमा भेरी नदीको पानी बबईमा ल्याउन १२ किलोमिटर लामो सुरुङ खन्न परियोजनाको कार्यालयले प्रस्ताव आह्वान गर्नेछ । भेरीबाट ४० क्युसेक पानी बबई नदीमा मिसाइनेछ । सुरुङ खन्ने काम साढे ४ वर्षमा सक्ने लक्ष्य छ । आयोजनाको बाँध सुर्खेतको चिप्ले र विद्युत गृह बर्दियाको बिलवामा हुनेछ ।
मुहान, सुरुङ खन्ने र विद्युतगृह निर्माणको ३ पक्ष भए पनि पहिलो चरणमा परियोजनाको सुरुङ निर्माण थालिने उनले बताए । परियोजनाले पहिलो पटक सुरुङ खन्नका लागि टनेल बोरिङ मेसिन (टीबीएम)  प्रयोग गर्ने भएको छ । विश्वका अन्य मुलुकमा सुरुङ खन्नका लागि यो उपकरण प्रयोग हुँदै आएको छ । हाल तामाकोसी लगायत अन्य विद्युत् आयोजनाको सुरुङ खन्ने काममा विस्फोटक पदार्थ प्रयोग हँुदै आएको छ ।
ठेक्का हस्तान्तरण भएपछि कम्पनीले टीबीएम बनाउन अर्डर गर्ने र यसका लागि १५ महिना लाग्नेछ । यो मेसिनको मूल्य डेढ अर्ब पर्नेछ । सुरुङ खन्ने काम सबैभन्दा जटिल र महत्वपूर्ण भएकाले पहिलो चरणमा यो काम सुरु गर्न लागिएको परियोजनाले जनाएको छ । आयोजनाबाट वर्षभरि ४८ मेगावाट विद्युत् उत्पादन हुनेछ । यो विद्युत् बिक्रीबाट परियोजनालाई वार्षिक १ अर्ब रुपैयाँ आम्दानी हुनेछ ।

आयोजनाको ९७ करोड रकम फिर्ता
बहु आयमिक भेरी बबइ सिंचाइ आयोजनाको काम सुरु नभएपछि आयोजनाका लागि  सरकारले विनियोजन गरेको बजेट फिर्ता जाने भएको छ ।  राष्ट्रिय गौरवको योजनामा समावेश गरी सरकारले चालु आर्थिक बर्षको बजेटमा भेरी–बबई सिंचाइ आयोजनाका लागि १ अरब रुपैयाँ बिनियोजन गरेको थियो । विनियोजित रकम अध्ययन तथा कार्यालय सञ्चालन, तलब भत्ता गरी ३ करोड खर्च भएको र बाँकी ९७ करोड रुपैयाँ फिर्ता गर्ने आन्तरिक जानकारी भएको आयोजनाका निर्देशक शिवकुमार वस्नेतले बताए ।
चालु आर्थिक बर्षभित्रमा परामर्श र सुरुङ निर्माणका लागि कम्पनी छनोट गर्ने भने पनि अब भने कात्तिक महिनासम्म छनोटको काम सक्ने वस्नेतको भनाइ छ । सरकारले आ.ब ०६९÷०७० मा भेरी—बबई ड्राईभर्सन आयोजनका लागि दश करोड विनियोजन गरेकोमा गत बर्ष पनि ७ करोड रकम फिर्ता गएको थियो ।
निर्देशक वस्नेतले बिनियोजित बजेट पूर्ण रुपमा खर्च गर्न कात्तिक महिना भित्रैमा सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीको छनौट काम सुरु गरेपनि प्रस्ताव प्रक्रिया नटुङ्गीएपछि रकम खर्च नभएको बताए । आउँदो आर्थिक बर्षमा पनि सरकाले १ अर्ब १६ करोड बजेट विनियोजन गर्ने जानकारी दिएको आयोजनाका निर्देशक बस्नेतले बताएका छन् ।
निर्देशक बस्नेतका अनुसार सुरुङ निर्माणका लागि निर्माण कम्पनी छनोटको काम नसकिएपछि रकम खर्च हुन नसकेको हो । २०६९ सालबाट सुरु भएको आयोजनाको सुरुङ निर्माण कम्पनी छनोटको काम चालु आर्थिक बर्षमा पनि सम्पन्न नहुने निश्चित भएको छ  । ठेक्काको सम्झौता हुन नसकेपछि हाल कम्पनी छनौटका लागि तेश्रो पटक प्रस्ताव (टेण्डर) आह्वान गरिएको छ । पहिलो बर्ष २०६९ मा टेण्डर आह्वान गर्दा तीन वटा कम्पनी सम्पर्कमा आएकोमा अनुमानित लागत भन्दा महँगो रकम प्रस्ताव पेश गरेपछि रद्ध गरिएको निर्देशक वस्नेतले बताए ।
दोस्रो पटक ०७० भदौमा गरिएको प्रस्ताव आह्वानमा माघमा रद्ध गरी नयाँ प्रक्रिया सुरु भएको थियो । सुरुङ निर्माणका लागि सिन्हो हाईड्रो (चाइना), सिस्मसी (इटाली) र जेगर वाउ (यूरोप) गरी तीन कम्पनीले प्रस्ताव पेश गरेपनि यूरोपेली कम्पनीले स्वतह आफूलाई दिए मात्रै काम गर्ने भन्दै प्रतिस्पर्धामा जान नचाहेपछि दुई कम्पनीबीच प्रतिस्पर्धा नगराइ रद्ध गरिएको निर्देशक वस्नेतले बताए ।

No comments:

Post a Comment