Monday, May 7, 2012


सुर्खेतका १४ औषधी पसलको अनुगमन
अधिकांशमा म्याद नाघेका औषधी फेला
 दीपक बुढा÷सुर्खेत
औषधी व्यवस्थापन विभाग काठमाडौ र शाखा कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय सुर्खेत र राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतको संयुक्त टोलीले सोमबार सुर्खेतका १४ वटा औषधी पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाताभित्र रहेका सम्झना मेडिकल स्टोरबाट भारी मात्रामा म्याद नाघेका र फिजिसियन स्याम्पल औषधीहरु फेला परेका छन् ।
त्यस्तै कर्णाली मेडिकल हल र गौरी मेडिकल हलबाट औषधी व्यवस्थापन विभागमा दर्ता नभएका यौन वद्र्धक औषधीहरु फेला परेका छन् । यसैगरी बुलबुले स्वास्थ्य क्लिनिक, भेरी कर्णाली मेडिकल, बोहरा मेडिकल, काँक्रेविहार मेडिकल, सिर्जना मेडिकलहरुले दर्ता विनानै प्रयोशाला सञ्चालन गरिरहेको पाइएको छ । त्यसैगरी बुलबुले स्वास्थ्य क्लिनिक, भेरी कर्णाली मेडिकल, काँक्रेविहार मेडिकल हल, बोहरा फार्मेसी, तृप्ति मेडिकल हलहरुको औषधी व्यवस्थापन विभागमा दर्ता नभएका र केहीमा अरुको नाममा दर्ता गरेर सञ्चालन गरिरहेका छन् ।
अनुगमनका क्रममा सुर्खेतमा लागु तथा मनोदीवपक  रेकर्ड नभएकाले अधिकांश पसलहरुलाई रेकर्ड राख्ने निर्देशन दिइएको छ । दर्ता नभएका औषधी पसलहरुलाई औषधी व्यवस्थापन विभाग र जिल्ला प्रशासनमा एक हप्ताभित्र दर्ता गर्न निर्देशन दिएको छ । 
त्यसै गरी गौरी मेडिकल हल वीरुेन्द्रनगर, सम्झना मेडिकल स्टोर, काँक्रेविहार मेडिकल हल, कर्णाली मेडिकल हल, भेरी कर्णाली स्वास्थ्य क्लिनिक, नवरत्न एग्राभेट, तृप्ती मेडिकल हललाई दर्ता नभएका औधषीहरुको अत्याधिक मात्रामा संचय गरेकोले थप बयानका लागि औषधी व्यवस्था विभागमा उपस्थिति हुने आग्रह गरिएको छ ।  बोहरा फार्मेसी बांगेसिमलाई सक्कल प्रमाणपत्र नराखेकाले प्रमाण पत्रसहित विभागमा उपस्थिति हुन आदेश दिइएको छ । 
अनुगमनमा विभागका औषधी निरिक्षकद्धय श्यामकुमार अधिकारी, भरत पौडेल, विभागको शाखा कार्यालय नेपालगन्जका औषधी निरिक्षक सुरज गौतम, राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष आकाशतारा बयक, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुर्खेतका अधिकृत हेमन्त कार्कीलगायतको सहभागीता रहेको थियो ।  अनुगमनमा करिब ५० हजार मुल्य बराबरको औषधी जफत गरिएको छ । औषधी व्यवस्थापन विभागमा दर्ता नभएको ६ प्रकारका, म्याद नाघेका ५ प्रकारका र फिजिसियन स्याम्पल प्रशस्त मात्रामा जफत गरिएको छ । 

No comments:

Post a Comment