Friday, May 18, 2012

विद्यालयमा अबैध काठ
सुर्खेत, ५ जेठ ।पूर्व मैनतडा–१ घारीवनको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय सहित एउटा घरमा लुकाई राखेको अवस्थामा ठूलो परिमाणाम काठ बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय, इलाका वन कार्यालय, जिल्ला वन कार्यालय सुर्खेत, सशस्त्र प्रहरी बेस क्यापको संयुक्त टोलीले काठ बरामद गरेको हो ।
विद्यालय नजिकै घर भएका पहलमान वलीको घरगोठबाट र विद्यालयको कक्षाकोठाबाट करिव २ सय ५० थान सालको चिरान काठ नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरिक्षक रमेश तामाङले जानकारी दिए ।
पहलमान वली हाल सम्पर्क विहिन भएकाले विद्यालयमा भएको काठ समेत उनकै हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बरामद गरिएको काठ इलाका वन कार्यालय छिन्चुमा ल्याउने तयारी भैरहेको जनाईएको छ । यता वीरेन्द्रनगरमा पनि बिहिबार राती सामुदायिक वनको नाममा काठ ल्याउँदै गरेको अवस्थामा एउटा टेक्टर प्रहरी नियन्त्रणमा लिईएको छ ।
स्रोतका अनुसार एक सयबढी क्यूफिट काठ ल्याउँदै गरेको टेक्टर प्रहरीले पक्राउ गरेको थियो । विहिबार पक्राउ परेको उक्त टेक्टर र काठका सम्बन्धमा भने जिल्ला प्रहरी कार्यालय सुर्खेतले कुनै जानकारी दिएको छैन् । अधिकांश समय घटना भए लगत्तै संचार माध्यमलाई जानकारी दिने प्रहरी प्रशासनको उक्त व्यवहार प्रति संचारकर्मीले आशंका गरेका छन् । प्रहरी र काठ माफियाकावीचमा केही रहस्य हुन सक्ने अनुमान गरिएको छ ।
सोही सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक आनन्द मरठाले काठ सहितको गाडी जिल्ला प्रहरी कार्यालयमा ल्याईएको भएपनि आफूलाई थप कुनैपनि जानकारी नभएको बताए । जिल्ला वन कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने काठ सहितको गाडी प्रहरीले आफ्नै नियन्त्रणमा राख्नुलेपनि थप रहस्यमय बनाएको छ ।

No comments:

Post a Comment