Tuesday, May 22, 2012

होटल व्यवसायी चुनावी रौनकमा
सुर्खेत, ८ जेठ ।
सुर्खेतका होटल व्यवसायीहरु चुनावी रौनकमा छन् । होटल अर्गनाईजेसन सुर्खेतको नयाँ नेतृत्वका लागि छुट्टा छुट्टै प्यानल खडा गरी चुनावी मैदानमा उत्रिएका हुन् । होटल व्यवसायीहरु पनि राजनीतिक विभाजनमा परेका छन् ।
सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा घुसेको राजनीतिले होटल व्यवसायीलाई समेत प्रभावित पारेको छ । उद्योग वाणिज्य संघकै झल्को दिनेगरी होटल व्यवसायीहरु चुनावी प्रचार–प्रसार, पर्जा पम्पलेटिङमा जुटेका छन् ।
वामपन्थी र प्रजातान्त्रिक पक्षका दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । अर्गनाईजेसनको प्रथम साधारण सभाले सर्वसहमत कार्यसमिति चयन गर्न नसकेपछि चुनावी प्रक्रिया सुरु भएको हो । मतदान यही जेठ १० गते तोकिएको छ ।
१३ सदस्यीय कार्यसमितिमा महासचिव, प्रथम उपाध्यक्ष र तीन सदस्य निर्विरोध भैसकेका छन् । प्रथम उपाध्यक्षमा तर्कबहादुर शाही, महासचिवमा धर्मराज आचार्य, महिला सदस्यमा लालसरी लामा गुरुङ, दलित सदस्यमा खड्कबहादुर विश्वकर्मा र महिला सदस्यमा पार्वती थकाली निर्विरोध भएका हुन् ।
अध्यक्ष, द्धितीय उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र चार जना सदस्यका लागि निर्वाचन हुने भएको छ । प्रथम कार्यसमितिको निर्वाचनमा शशीराम देवकोटाको अध्यक्षतामा संयुक्त प्यानल चुनावी मैदानमा उत्रिएको छ । उक्त प्यानलबाट द्धितीय उपाध्यक्षमा मोहनलाल राना, सचिवमा जयबहादुर बुढा, कोषाध्यक्षमा हर्षबहादुर चन्द, सदस्यमा चिन्तामणि शर्मा, मोहनबहादुर शाही, कविलाल जैसी, देवेन्द्रमान थापा निर्वाचनमा उमेदवारी दिएका छन् ।
त्यसैगरी लोमनकुमार बुढाको अध्यक्षतामा अर्को समावेशी प्यानल निर्वाचनमा होमिएको छ । द्धितीय उपाध्यक्षमा ऐनबहादुर शाही, सचिवमा सनत आचार्य, कोषाध्यक्षमा उदयबहादुर शाही, सदस्यहरुमा हरिप्रसाद अधिकारी, मोहन शाही, मानबहादुर बडुवाल र रामलाल भट्टराईले उमेदवारी दिएका छन् ।
आगामि १० गते हुने होटल अर्गनाईजेशनको निर्वाचनमा आफुहरुको नाम फरक प्यानेलमा समावेश भएकोमा कमलबहादुर शाही, रत्नबहादुर क्षत्री र शेरबहादुर शाहीले आपत्ती जनाएका छन् । उनीहरुले संयुक्त रुपमा प्रेश विज्ञप्ति निकाली आफुहरु अन्य कुनै प्यानलमा नभई लोमनकुमार बुढाको अध्यक्षतामा भएको प्यानललाई सहयोग गर्ने बताएका हुन् ।
उनीहरुले बुढाको अध्यक्षताको प्यानललाई समर्थन गर्दै आफुहरुले अर्काे प्यानलबाट उम्मेदवारी फिर्ता लिएको बताएका छन् । पत्रपत्रिकारितामा आफुहरुको फोटो सहितको समाचारमा भ्रम नपार्न सबैलाई अनुरोध समेत गरिएको छ ।

No comments:

Post a Comment