Tuesday, May 29, 2012

अभावै अभावमा क्षेत्रीय अस्पतालमा सुधारको प्रयास
सरसफाईको जिम्मेवारी बाँडफाँड, १३ जना डाक्टरद्धारा सेवा प्रदान,
एक जनाले दिनमा १२ जना विरामीको उपचार, पत्थरीको सस्तोमा अप्रेशन,
२२ स्वास्थ्यकर्मीको दरबन्दी रिक्त
हिमा उपाध्याय÷खेमराज वली
सुर्खेत, १६ जेष्ठ ।
प्रयाप्त जनशक्ति, भौतिक संरचनाको अभावमा रहेको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा केही सुधारका प्रयास भएका छन् । अस्पताल विकास समितिले हाम्रो अस्पताल र राम्रो अस्पताल भन्ने नारा सहित अस्पतालमा पहिलो चरणमा सरसफाई अभियान थालेको छ ।
अस्पताल भित्रको वातावरण फोहोर, प्रदुर्षित भएको भन्दै धेरै क्षेत्रबाट आलोचना हुन थालेपछि अस्पताल विकास समितिले जिम्मेवारी बाँडफाँड गरेर सरसफाईको कार्य गरेको जनाईएको छ । विकास समितिका अध्यक्ष जीतबहादुर रानाले मंगलबार पत्रकार सम्मेलन गरी अस्पतालको वर्तमान अवस्था र सुधारका लागि भएका प्रयासहरुका बारेमा जानकारी गराएका थिए ।
अस्पतालका प्रमुख डा. भोलाराम श्रेष्ठको संयोजकत्वमा सम्पूर्ण शाखाका प्रमुख सदस्य रहने गरी सरसफाई मूल समिति गठन गरिएको छ । इमरजेन्सी शाखालाई रेड गार्डेन, इन्डोर शाखालाई एलो गार्डेन र ओपीडि शाखालाई ग्रीन गार्डेन निर्माणको जिम्मेवारी दिईएको अध्यक्ष रानाले जानकारी दिए । प्रत्येक शुक्रबार अस्पतालको हाता सरसफाई गरिने समेत जनाईएको छ ।
‘अस्पतालबाट निस्किएको फोहोर, प्रदुर्षणलाई सहि व्यवस्थापन गर्दै हाम्रो र राम्रो अस्पताल बनाउन पहल थालेका हौं ।’ अध्यक्ष रानाले भने ‘विस्तारै सुधारको सुरुवात भएको अस्पतालका बारेमा प्रचारमा ल्याउन आवश्यक रहेको छ ।’ त्यसैगरी क्षेत्रीय अस्पतालले नेपालमै सस्तोमा पित्त थैलिमा पत्थरीको अप्रेसन सहित उपचार गरिरहेको समेत सोही अवसरमा जनाईएको छ ।
काठमाण्डौंको विर अस्पतालपछि सबै भन्दा सस्तो र भरपर्दो पत्थरीको अप्रेसन सेवा क्षेत्रीय अस्पतालले संचालन गरेको बताईएको छ । ‘भवन, प्रयाप्त जनशिक्त, साधन स्रोतको अभावमा पनि गुणस्तरीय सेवा उपलब्ध गराउन सफल भएका छौं’ अध्यक्ष रानाले भने –‘दरबन्दी अनुसार प्रयाप्त जनशक्ति नभएपनि मन्त्रालयको समन्वयमा अन्य डाक्टरहरु ल्याउन सफल भएका छौं ।’
सरकारी छात्रवृत्तिमा एमविविएस पास गरेका डाक्टरहरुले कम्तीमा दुई बर्ष सरकारी जुनसुकै अस्पतालमा अनिवार्य सेवा गर्नुपर्ने प्राव्धान अनुसार ७ जना डाक्टरहरु हाल मध्यपश्चिम क्षेत्रीय अस्पतालमा अस्थायी रुपमा कार्यरत रहेका छन् । विशेषज्ञ सहित २४ जना डाक्टरको दरबन्दी रहेको क्षेत्रीय अस्पतालमा हाल विषेशज्ञ सहित ६ जना स्थायी डाक्टर कार्यरत रहेका छन् ।
मेडिकल जनरलिष्ट डा. भोलाराम श्रेष्ठ, जनरल सर्जरी डा. गणेश थापा, अर्थोपेडिक सर्जनमा डा. हरी सापकोटा, गाईनोकोलोजिष्टमा डा केशब ढकाल, मेडिकल अधिकृत डा. मोहमद एनामुल हक र काजका डा. डमर खड्का क्षेत्रीय अस्पतालमा कार्यरत रहेका छन् ।
अस्पतालमा तीन जना काजमा कार्यरत डाक्टर छन् भन्े सात जना अस्थायी रहेका छन् । जम्मा १३ जना एम.वि.वि.एस डाक्टरहरु अस्पतालमा कार्यरत रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । अस्पतालमा जम्मा ८० जना कर्मचारीको दरवन्दि छ जसमा २२ जना स्वास्थ्यकर्मीको रिक्तता रहेको जनाईएको छ । अस्पताल विकास समितिले नियुक्ति गर्ने ४७ जनाको दरबन्दी स्वीकृत रहेकामा चार जना विशेषज्ञ डाक्टर सहित १२ जनाको दरबन्दी रिक्त रहेको छ ।
चालु आर्थिक बर्षको साउनदेखि चैत्र मसान्त सम्ममा ३४ हजार ८ सय ६३ जना विरामीको स्वास्थ्य उपचार गरेको अस्पताल विकास समितिले तथ्यांक सार्वजनिक गरेको छ । आयोजित पत्रकार सम्मेलनमा विकास समितिका अध्यक्ष रानाले जानकारी दिए । चालु आर्थिक बर्षको ८ महिनाको समयमा इमरजेन्सीमा ३ हजार ८ सय ४० जना, ओपीडिमा २७ हजार ५८ जना इन्डोरमा ३ हजार ९ सय २५ जना विरामीको उपचार गरिएको छ ।
१३ जना डाक्टर मध्य एक जना डाक्टरले एक दिनमा १२ जना विरामीको उपचार गरेको तथ्यांक विश्लेषणबाट आएको छ । विरामीको बढ्दो चाप संगै विशेषज्ञ डाक्टरको अभाव हुँदा धेरै विरामीहरु रिफरमा पर्ने गरेका छन् । चालु आर्थिक बर्षको आठ महिनाको अवधिमा इन्डोरमा भर्ना भएका ३ हजार ९ सय २५ जना विरामी मध्य ६१ जना विरामी रिफर (बाहिर उपचार) गरिएको जनाईएको छ । । इन्डोरमै भर्ना भएका विरामीहरु मध्येमा २० जनाको मृत्यु भएको र ४४ जना विरामीहरु भने अस्पतालका कुनै पनि कर्मचारीहरुलाई थाहा नदिएर अस्पतालबाट बाहिरिएको बताइएको छ ।
आमा सुरक्षा कार्यक्रम अन्तर्गत दश महिनाको समयमा २ हजार ७१ जनाको प्रसुती गराईएको छ । ३ सय ४३ जनाको अप्रेसन, ६ सय ९९ जनाको जटिल अप्रेसन, ६९ जना मध्यम र ८ सय ५४ जनाको सामान्य अप्रेसनका माध्यमबाट सुरक्षित प्रसुती गराईएको छ ।
अस्पतालले ११ जना अतिगरिब, १ हजार १ सय ८ गरिब, अपाङ्ग ३८, जेष्ठ नागरिक १ हजार ४ सय ७२ जना, महिला स्वयमसेविका २७ जना, गर्भवती सात सय ७७ जना, प्रसूती एक हजार ५५ जना, अस्पतालका स्टापहरु तीन सय ७१ जना, ए.आर.टी अर्थात एच.आइ.भि संक्रमित ३६ जना र सामान्य नागरिक तीन हजार ३६ जनालाई गरी जम्मा सात हजार नौ सयलाई निः शुल्क औषधी सहित स्वास्थ्य सेवा उपलब्ध गराएको बताइएको छ ।
उपचारका लागि अस्पतालमा भर्ना भएकाहरु मध्ये ८५ प्रतिशत बिरामीहरु महिला भएको ओ.पि.डि इन्चार्ज दिपा भट्टराईले जानकारी दिईन । अस्पतालमा आमा सुरक्षा कार्यक्रम सञ्चालन, फिस्टुला, पाठेघर खस्ने विरामीहरुका कारण अस्पतालमा धेरै महिला आउने भएकोले महिलाहरुको प्रतिशत बढेको भट्टराइले बताइन् ।
प्रयाप्त भौतिक संरचनाको अभावमा साँघुरो भवनमा आफ्नो सेवा दिन बाध्य क्षेत्रीय अस्पतालको नयाँ भवनहरुले समयमै पूर्णता नपाउँदा झन समस्या थपिएका छन् । जेष्ठ मसान्तसम्मा निर्माण कार्य पुरा गरी हस्तान्तरण गरिसक्ने सम्झौता भएको छ ।
निर्माण कम्पनीले तीन तीन पटक निर्माण सम्पन्न गर्ने म्याद थप गरेपनि निर्धारित समयमा भवन निर्माण पुरा नहुँदा सेवा विस्तारमा अप्ठयारो परेको जनाईएको छ । भवन निर्माण डिभिजन कार्यलय सुर्खेतले भवन निर्माणको जिम्मेवारी लिएको छ । निर्माण कम्पनीले असार समान्त सम्म हस्तान्तरण गर्ने जनाईएको छ ।

No comments:

Post a Comment