Tuesday, May 22, 2012

असिना पीडित कृषकले ज्ञापन बुझाए
सुर्खेत, ८ जेठ ।
सुर्खेतको जुर्वटा र गढी गाउँ बिकास समितिका असिना पीडितले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमबार ज्ञापन पत्र पेश गरेका छन् । क्षतिपूर्ति सहित राहतको माग गर्दै उनीहरुले निमित्त प्रमुख जिल्ला अधिकारी बुद्धिप्रसाद सापकोटालाई बुझाईएको थियो ।
असिनापानीले तरकारी खेती अन्नवालीमा व्यापक क्षती पु¥याएको छ । असिनापानीले गढी–९ को चन्दने र रातानाङला तथा जर्वुटा–८ को नलखोला र रातानाङलामा लगाएको तरकारी खेती नष्ट गरेको किसानले जनाएका छन् ।
जेठ–५ गते दिउँसो २ बजेदेखि ६ बजेसम्म लगातार परेको असिना पानीले आलु, सिमी, टमाटर, फर्सी लगायतको तरकारी खेती सखाप पारेको किसान कृष्णप्रसाद ढकालले बताए । हावाहुरीसँगै आएको असिनापानीले २० देखि २५ वटा बाख्रा र ४ देखि ५ वटा गाईगोरुपनि मरेको किसानहरुको भनाई रहेको छ ।
असिनापानीबाट दुई करोड बढीको क्षति भएको कृषकहरुले बताएका छन् । ‘मन्डीबाट पहिलेनै हामी चामल, दाल लिन्छौं अनि आलु उत्पादन गरेर पठाउँछौं तर यस पटक आलु सबै असिनाले नष्ट ग¥यो कसरी छाक टार्ने’–कृषक कृष्णप्रसाद ढकालले बताए ।
आम्दानीको मुख्य स्रोत तरकारी खेती नष्ट भएपछि करिव डेढ सय किसान पिरलोमा परेका छन् । तरकारी खेतीमा मात्रै आश्रित रहेका चन्दने, रातानाङला र नलखोला किसानहरुले गाउँमा बेलैमा भोकमारी समस्या उत्पन्न हुनसक्ने दावी गरेका छन् ।
राहतको माग गर्न बीरेन्द्रनगर आइपुगेका किसानहरुले जग्गा जोत्नै नमिल्ने गरी चिरा परेको भन्दै उचित राहतको माग समेत गरेका छन् । एक किसानले भने ‘एक क्वीन्टलबाट १० क्वीन्टल सम्म आलु फल्छ ।’
ज्ञापन पत्र बुझदै निमित्त प्रमुख जिल्ला अधिकारी सापकोटाले असिना पीडित किसानको विवरण संकलन गर्न जिल्ला कृषि विकास कार्यालयलाई अनुरोध सहितको पत्र पठाईने र कृषि विकासको रिपोर्ट अनुसार राहतका लागि सिफारिस गरिने जानकारी दिए ।

No comments:

Post a Comment