Monday, May 14, 2012


पुल निर्माणमा ढिलाई, 
समन्वयनै छैन् ः शान्ति समिति
दीपक बुढा÷हिमा उपाध्याय
सुर्खेत, १ जेठ । 
धलियाविट–भेडाबारी सडक खण्डमा निर्माणाधिन दुई वटा बेलिव्रिज पुल निर्माणमा ढिलाई हुने भएको छ । ठेकेदार कम्पनी मार्फत सडक निर्माणको जिम्मेवारी पाएको सडक डिभिजन कार्यालयको बेवास्ताका कारण पुल निर्माणमा ढिलाई हुने भएको हो ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा दुई वटा चालु आर्थिक बर्षभित्र निर्माण गरी सक्नेगरी सम्झौता भएको थियो । डिभिजन कार्यालय प्रमुख सुर्यबहादुर भाट अधिकांश सयम राजधानीमै विताउने भएकाले पुल निर्माणमा ढिलाई भएको हो ।
कनकाई–मल्ल–जे.भि निर्माण कम्पनीले झुप्रा खोलामा र चिङगाड खोलामा दुई वटा पुल २०६९ जेठ १५ गतेभित्र निर्माण गरिसक्ने सम्झौता गरेको थियो ।  कार्यप्रगतिका विषयमा स्थानीय शान्ति समिति सुर्खेतको अगुवाईमा अनुगमन गरिएको छ ।  समितिका पदाधिकारी, संचारकर्मी सहितको टोलीले स्थलगत अवलोकन गरेको छ । झुप्रा र चिङगाड खोलामा चालु आर्थिक बर्षभित्र दुई वटा पुल निर्माणाधिन अवस्थामा रहेका छन् । अनुगमनका क्रममा डिभिजन कार्यालयको लापर्वाहिका कारण पुल निर्माणमा ढिलासुस्ती भएको स्थानीयबासीन्दाले बताएका छन् ।
२०६९ जेठ १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी कनकाई–मल्ल–जे.भि. निर्माण कम्पनीले जिम्मेवारी लिएका थिए । हाल सम्म ५० प्रतिशत मात्रै काम सकिएको र सम्झौता अनुसार काम पुरा नहुने निर्माण कम्पनीका प्रतिनीधि दुर्गा नगालले बताए । 
झुप्रा खोला पुलका लागि १ करोड ९७ लाख र चिङगाड खोलाको पुल निर्माणमा ३ करोड ७५ लाख बजेटमा ठेक्का स्वीकृत भएको छ । सडक डिभिन कार्यालय सुर्खेतले शान्ति समितिसंग कुनैपनि समन्वय नगरी काममा लापर्वाहि गरेको बताईएको छ ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा शान्ति समिति सचिवालय सदस्य धुर्वकुमार शाहीले डिभिजन कार्यालय प्रमुखको बेवास्ताका कारण निर्माण कार्यमा ढिलाई भईरहेको बताए । उनले भने –‘कार्यालय प्रमुख सुर्खेत वस्नुपर्नेमा अधिकांश समय राजधानी जान्छन् । शान्ति मन्त्रालयबाट आएको बजेटमा स्थानीय शान्ति समितिसंग कुनै समन्वय छैन् ।’
स्थानीय शान्ति समितिले जिल्लामा मासिक रुपमा समन्वय बैठकमा खवर गर्दा समेत कार्यालयको तर्फबाट कोही पनि हाल सम्म उपस्थित नभएको बताए । त्यसैगरी नेपाली कांग्रेसका नेता तथा शान्ति समितिका सचिवालय सदस्य अनन्त पौडेलले सडक डिभिजन प्रमुखले शान्ति समितिलाईनै वाईपास गरेको बताए ।
‘समन्वय र अनुगमनको जिम्मेवारी शान्ति समितिलाई छ तर डिभिजन कार्यालय प्रमुख भने आफूखुशी काम गरिरहेका छन् । सचिवालय सदस्य पौडेलले भने–‘जिल्लाको विकास निर्माणमा खेलबाड भैरहेको छ ।’ सोही सम्बन्धमा सडक डिभिजन कार्यालय प्रमुख सुर्यबहादुर भाटलाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । 
सम्झौता मितिभित्र पुल निर्माण हुने निश्चित नभएपछि त्यस क्षेत्रका स्थानीयबासीन्दाहरु आक्रोशित बनेका छन् । सुर्खेत क्षेत्र नं. १ र २ का धेरै गाविसका हजारौं स्थानीयबासीन्दाहरुको आवत जावतमा समस्या हुने भएको छ । उक्त आयोजनाको अनुगमन तथा समन्वयको जिम्मेवारी स्थानीय शान्ति समितिलाई दिएको भएपनि सडक डिभिजनले वेवास्ता गरेको शान्ति समितिका संयोजक मोहन थापाले बताए ।

No comments:

Post a Comment