Friday, June 1, 2012

झुप्राको मुहानमै पानी सुकेपछि समस्या
हिमा उपाध्याय
सुर्खेत, १९ जेष्ठ ।
झुप्रा वृहत खानेपानीको मुहानमै पानी सुकेपछि उपत्यकामा पानी वितरणमा समस्या आएको छ । झुप्राको मुहानबाट गतवर्षमा प्रतिसेकेण्ड ४७ लिटर पानी आएकोमा हाल यो घटेर ४० लिटर प्रतिसेकेण्डमा झरेको छ । उपत्यकाका सबै वडाहरुका लागि वनाइएको यो खानेपानी योजनाबाट हाल आएर सबै स्थानहरुमा पुग्ने गरी पानीको वितरण हुन सकेको छैन् ।
झुप्रा वृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सुर्खेतका सव–इन्जिनिएर बालाराम तिवारीको नेतृत्वमा पत्रकारहरुको टोलीले मुहानको अनुगमन समेत गरेको छ । उपभोक्ताहरुले पानी नआएको भन्दै आक्रोसित भएपछि समितिले पत्रकार सहितको टोलीलाई मुहानको अनुगमन गराएको हो ।

मुहानमा पानीको बहाव घटेकोले मुहानमा राखेका दुई वटा ग्रेट च्याम्बर मध्ये एउटामा मात्रै पानी खसालिएको छ । हालसम्ममा पनि मुहानमा रहेका च्याम्बरहरु खुला अवस्थामा रहेका छन् । यी च्याम्बरहरुको यो आर्थिक बर्ष भित्रैमा तारजाली लगाउने प्रक्रियामा रहेको इन्जिनिएर तिवारीले बताए । समितिलेले हालै उपत्यकामा पानी वितरण गर्नका लागि सहज हुने योजना सञ्चालन गर्न नसकिने भएपछि निर्माणाधिन रिजर्ववायरहरु सञ्चालनमा ल्याएर पानी जम्मा गरी केही हदसम्म सममस्या समाधान गर्ने प्रयास थालेको छ ।
चार लाख लिटर (चार सय घनमिटर) का रिजर्ववायरहरु स्किम नं. ९ वीरेन्द्रनगर नगरपालीका ५ चिसापानीमा र स्किम नं. ८ खोर्केखोलामा निमार्ण भइहेका छन् । गत असार पाँच देखि सुरु भएको ९ स्किमको रिजर्ववायर निमार्ण कार्य पूरा भएको र अवको तीन चार दिनमा सञ्चालनमा आउने बताईको छ ।
साथै स्किम ८ को रिजर्ववायर निर्माणको काम भने ७० प्रतिशत सम्पन्न भएको बताइएको छ । यी रिजर्ववायर सञ्चालनमा ल्यापछि भने ३६ घण्टामा एक घण्टाको दरमा पानी उपलब्ध गराउन सकिने बताइएको छ । यी रिजर्ववायरहरुमा झुप्राबाटै आएको पानी जम्मा गरेर र वीनपा–५ पूरै, ६ को बजारको पश्चिमपट्टि, लाटिकोइली र उत्तरगंगाको ८ नं. वडाहरुमा पानी वितरण गरिनेछ ।
यी क्षेत्रमा पानी वितरण गरिसकेपछि अन्य रिजर्वहरको पानी यो क्षेत्रमा खर्च गर्न नपर्ने र केही मात्रामा पानीको अभाव रोक्न सकिने इन्जिनिएर तिवारीको भनाई छ । यी रिजर्ववायर ट्याङ्की बनाएपछि यस्ता ट्याङ्कीको संख्या बीस पुगेको छ ।
हालै सम्पन्न हुनलागेका यी दुईवटा रिजर्ववायरका लागि खानेपानी विभागले छुट्टाछुट्टै ३५÷३५ लाख रकम उपलब्ध गराएको र यस मध्येमा पाँच लाख बराबरको फिटिङ् सामाग्रि पठाएको हो । अन्य रकम भने संस्थालेनै लागानी गरेको छ ।
हाल उपत्यकामा सरकारी कार्यालय सेना, प्रहरी वाहेक एक लाख ५० हजार उपभोक्ताका लागि १२ हजार धाराहरु जडान गरिएको छ । जडान गरेका धारहरुमध्ये करिब तीन सय धाराहरुमा पानी दुई महिना देखि पानी उपलब्ध हुन सकेको छैन् । खानेपानीका मुहानमा रहेको रतु र जर्वुटा गाविसका विभिन्न समुदायमा प्रत्येक घरमा निजि र सार्वजनिक रुपमा पानी ल्याइएको कारणले पनि मुहानको पानीमा संस्थाले जनाएको छ ।
उपत्यकाका केही स्थानहरुमा भने पानी नपुग्नुको कारण पाइपमा हावाको चाप बढेको र हावाले पूर्ण रुपमा पानी बन्द गरेको संस्थाले जनाएको छ । बृहतले आयोजनाको डिजाएन गर्दा उपत्यकाको जनसंख्या कम भएको र हाल यो संख्या बढेको कारण पनि समस्या उत्पन्न भएको छ । संस्थामा हाल १८ जना कर्मचारीहरुले काम गरिरहेका छन् । संस्थामा कर्मचारीको संख्यापनि घटाईएको बताइएको छ ।

No comments:

Post a Comment